पल्लो कोठाबाट भित्ता नै छेडेर मज्जाको हाँसो आइरहेको थियो । ‘ल ल साथीहरू, ट्याप ट्याप गर्नुस् । सेयर गर्नुुस् । भएदेखि एक दुईओटा गिफ्ट फाल्नुस् । यो गेम जिताउनुस् अनि म सबैलाई सपोट गर्छु ।’

मैले आमासँग जिज्ञासा राखेँ, “जीवन कति रमाइलो छ है आमा ! यो टिकटकले गर्दा कति सजिलै समय जान्छ । हाँस्न पाइएको छ, रमाउन पाइएको छ, विभिन्न अभिनय देखाएर मन जित्न पाइने गज्जबको ठाउँ ।”

आमाले विस्मयसूचक भावमा मलाई हेर्दै भन्नुभयो, “सारा संसार यसैमा भुलेको छ बाबु । छेवैमा भएको मान्छे भएजस्तै छैन । सबै पुलिसको फन्दामा परेका कैदीजस्तै उँधोमुन्टो लाएका हुन्छन् । संसार जोडेको सञ्जालले मनसार तोडेको छ ।”

“किन हुन्तो र आमा । हेर्नु न, रातारात भाइरल भएर कमाइ पनि त भएको छ नि । विकासको गति अगाडि बढेको छ । सामान्य मान्छेले नि ठाउँ पाएका छन् ।” म सकारात्मक बन्न खोज्छु ।

अर्काे कोठाबाट आएको उत्ताउलो आवाज हाम्रो कानै छेडेर भित्र पस्छ, “तिमी नै हौ नमिता, जम्मा सय सिक्का हाल न पिलिज । सबै साथीहरू स्क्रिनमा डबल ट्याप गरौँ है ।”

“आमा, बाँच्न पाए नाच्न पाइन्छ भन्ते । हेर्नु न, हजुर पनि त टिकटक हेरेर समय काट्नुहुन्छ । हामी सधैँ कहाँ हुन्छौँ र गफ लडाउनलाई ।” मैले आमाको मन जित्ने असफल प्रयास गरेँ ।

“हो बाबु, तिमीले बल्ल सही ठाउँमा आयौ । टिकटक हेरेर समय काट्ने हो, समयले काट्ने होइन । तिमी त पढेलेखेका मान्छे, मभन्दा धेरै बुझ्छौ ।” आमाले नाजवाफ बनाउनुभो ।

मेरो मौनताको कमजोरीमा घाइते मृगलाई बाघले झैँ झम्टँदै आमाले थप्नुभो, ‘हेर बाबु, अलिअलि त ठिकै हो, म पनि मान्छु तर टिकटकको नशाले कवि, पत्रकार, शिक्षक, विद्यार्थी, गृहिणी, जनता, नेता सारा निलेको छ । एक भयङ्कर ब्ल्याक होलले तारा निलेझैँ ।’

आमाको प्रवाह अझै रोकिएन, ‘टिकटक नचलाए यी केटाकेटी एकछिन रोलान्, विचार गर त, संस्कार नपाए जीवनभर रुनेछन्, याद गर ।’

आमाको तरबाररूपी वचनका अघि म अवाक् हुन्छ ।