जिन्दगीको विशाल फाँटमा
गुँडुल्किएर पस्रिएको
एक लमतन्न सहारा रहेछ

हो, आज म त्यही
सहारा लेख्दै छु
अन्याय र अत्याचारले
थिचिएको पाटो देख्दै छु

म सम्झन्छु,
सानोमा बुबाआमाले
मलाई कहिल्यै बुझ्नु भएन
हरेक चाडपर्व आउँदा
दिदीहरूलाई झैँ पुज्नु भएन

हिंसाको बीजारोपण त
यही दिनबाट भए जस्तो लाग्छ
खै किन हो
सरल र असरलको भेद
केटा र केटीको विभेद
झन् च्यातिएर गएजस्तो लाग्छ
दुई ध्रुवमा यो समाज
फराकिलो भएर
बाँडिएको थियो हामीमाझ

अझै ताजै छ
मस्तिष्कका रेसाहरूमा
मैले हलो जोत्दै गर्दा
दिदी डुल्थिन् करेसाहरूमा
मेटिएका छैनन् आज पनि
लैङ्गिक विभेदका धर्साहरू
वन्चरो समाएर मैले
एमानका मुढा चिर्दा
जाबो घाँस काट्थे वर्षाहरू

हेक्का रहोस् महोदया
सिंहबाटै बनेको हिंसा
यै शब्दमा अन्याय छ
किनकि सोझा मृगहरूको
दाबत उडाउने त सिंहिनी हो
तर, उसैलाई किन न्याय छ ?

म जवान हुँदा
दिदीको बिहे भैसक्यो
उनी कसैकी श्रीमती भइन्
मेरोमा अर्कै कोही आइन्
ठूल्ठूला भारी मै बोक्थेँ
उनी सुसेधन्दामा अल्झिरहिन्

किन आखिर
जहाँ भत्ककेको छ टाल्नुपर्ने
पुरुषले नै किन चुलो बाल्नुपर्ने
ए महिला हो तिमी पनि केही गर
के ठेक्का छ सधैँसधैँ पाल्नुपर्ने ?

यता मलाई
गरिबीको अत्यास पर्दा
उता उनले
सोह्र शृङ्गारको
विन्यास गर्दा
मैले नै खप्की खानुपर्यो
महँगो पैसामा किनेका
टियुका सस्ता लालपूर्जा
साहुको पाउमा राखेर
धन कमाउन विदेश जानुपर्यो

हो आधा खुला मेरा नयन मोडाएर
अनिश्चित भविष्यको खादा ओढाएर
लम्केका तिनै निरिह गोडालाई हेर
फेरि फर्केनन् कहिल्यै प्राण चढाएर

त्यसैले तिमी
समानताका कुरा होइन
समताका कुरा गर्ने गर
आफ्नो अधिकार मात्र
खोजिरहँदा साँच्चै
कर्तव्य पनि समयमै पूरा गर
किनकि हिंसा हिंसा नै हो
त्यो पुरूष वा महिला जो
कुनैलाई हुन सक्छ
आगो बलेपछि सम्झ
दुवै हातलाई छुन सक्छ ।