श्रीकृष्ण शर्मा

खोपिल्टे अर्ध अन्डाकारमा पछाडि समाउने बिँड भएको एक चम्चा चाँदीको चमस भएकाले ऊ मालिकको प्रिय थियो चम्चाको काम मलिकलाई खाना खान र पकाउन सघाउनुथ्यो । मालिकले जहिले पनि भात खाँदा उसैको प्रयोग गर्थ्यो । अन्य सामन्य डाडुपन्यु कचौरा थाल र गिलासका अघि उसको छुट्टै सान थियो । उसलाई मालिकका धारिला दाँतको भने असाध्यै डर लाग्थ्यो । भान्सामा चम्चा बजेपछि सबै सतर्क हुन्थे । एकपालि थालले आफूचम्चाभन्दा ठूलो हुँ भन्यो भोलिपल्ट उसको अनुहार कुच्चिनु कुच्चिएको थियो । मिठाई खाँदा चम्चा, अचार खाँदा चम्चा, मासु खाँदा चम्चा तरकारी खाँदा चम्चा, नास्ता खाँदा चम्चा, यतिसम्म कि मालिकले कहिलेकाहीँ जुस पनि चम्चामा सिरप लिन थालेको थियो । चम्चा र मालिक चिन्नै नसकिने गरी पर्याय बनेका थिए । एकदिन मालिकले खसीको मासु चम्चाले खाइरहेको थियो । चम्चाबाटै हाडमा टाँसिएको मासु निकाल्दै थियो । जाबो चाँदीको पित्के चम्चा न थियो कसोकसो दाँतमा टोकिएर दुई टुक्रा भएछ । थालमा एकातिर टाउको र अर्कातिर शरीर भएर चम्चा झऱ्यो । सबै एकाएक जम्मा भए । यस्तो कसरी भयो ?  छाडौँ सबै कुरा यो चम्चा प्रवृत्ति र चाकरी वृत्तिले हारेको दिन आज पाटीमा चिल हुनुपर्छ । यसैबीचमा पिलेटले भन्यो पाटीको शीर्षक ? कचौराले तुरुन्तै जबाफ दियो, “चम्चाको मृत्यु ।”

पोखरा