पोखराको हङ्कङ बजारमा एउटा सानो पसल छ । श्रीकृष्णको सस्तो पसल । पसलको अगाडिपट्टि एउटा टेबल छ । टेबलमा विभिन्न ट्याग लगाएर सामान राखिएको छ । श्रीकृष्ण पसलको कुनामा मोबाइल चलाउँदै चुपचाप बसिरहेको छ । एउटा फ्लेक्स प्रिन्टमा लेखिएको छ, “यहाँ विभिन्न सामान सस्तो मूल्यमा पाइन्छ ।”
– पीडा दुःख कष्ट जम्मा दुई सय मात्र
– शोक, व्यथा, क्लेश एक सय मात्र
– आँशु, रोदन, चिन्ता, ग्लानि जम्मा पचास रुपियाँ मात्र
– चिन्ता, उद्वेग, वितृष्णा, व्याकुलता तिरस्कार, घृणा सबै उनन्चास रुपियाँ मात्र
यत्तिकैमा एउटी बत्तिसे महिला आइन् । उनले सरसरती आँखा डुलाइन् । छ्या कसले किन्छ, यस्ता सामान भन्दै उनी हाँस्दै अगाडि बढिन् ।
पालैपालो धेरै मानिस आए । सबैले सामानका ट्याग पढ्थे अनि हाँस्दै अगाडि बढ्थे ।
श्रीकृष्ण टोलाइरहेकै बेलामा कृतिका नाम बताउने एउटी लगभग चौध वर्षकी जस्ती देखिने बच्ची आइन् । उनले ओठ लेप्राउँदै भनिन्, “यस्ता सामान पनि कहिलेबाट बिक्री हुन थालेछन् फेरि ?”
मान्छेकै भिडबाट टाउको ठड्याउँदै कसैले व्यङ्ग्य गर्यो, “कस्तो पागल रहेछ, पीडा बिक्री हुने भए त सबैले बेच्थे नि !”
श्रीकृष्णले मनमनै सोचिरह्यो, “म त यी सबै बेच्न पाए हावामा उडेको बेलुन जस्तै हलुका हुन चाहन्छु । यो संसारमा त्यस्तो कोही रहेनछ, जसले अरूको पीडा किन्न चाहोस् ।”
साँझ पर्नै लाग्दा श्रीकृष्णले टेबुल भित्र हाल्यो र सबै कागज च्यातचुत पार्यो । उसले बिस्तारै भन्यो, “घटाभावे घटाभाव भनेको त्यसै होइन रहेछ । संसारमा सबैले सुख किन्न खोज्ने रहेछन् । दुःख त सबैसँग पर्याप्त छँदैछ । सस्तो हुँदैमा सबै सामान बिक्री हुन्छ भन्ने छैन ।”
घर जानै लाग्दा सडकको छेउमा एउटी बुढी आमा फलाक्दै थिइन्, “दुःख, पीडा बेचेर होइन भोगेर सकिने चिज हुन् ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










