टेबलमा राखेको मोबाइल फोनले कसैको उपस्थितिको संकेत दिइरह्यो । निकैबेरसम्म आइरहेपछि उठाएर कानमा लगाएँ ।
“निशा ! सुनिस् नि नयाँ कुरा । इन्दु दिदी त भागिछन् नि बुढेसकालमा,” रमाले गरेकी रहिछ फोन ।
“अमेरिका कि क्यानडा ..? पत्तै नदिई पो भागछिन् त !” मैले सोधेँ ।
“केको अमेरिका र क्यानडा ? अर्कैसँग चाहिँ भागिछन् नि ! पोइला गइछन् रे क्या ..पोइला ! त्यो पनि कोसँग भन् न, आफ्नै ड्राइभरसँग,” रमाले उपेक्षित भावमा भनी ।
“धत् मोरी ! जे पायो त्यही भन्छे,” हपारेँ मैले ।
“जे पायो त्यही होइन यार ! कुरा साँचो हो के ! यहाँ टोलभरि कत्रो हल्ला छ । उसले त ठट्टा पो सोचिछे,” स्पष्टीकरण दिई उसले ।
“हँ ! हो र ..?” म स्तब्ध भएँ सुनेर । के के कुरा सुनाउँदै थिई अरु पनि, मेरा कानले मात्र सुने होलान् तर मन अन्तै उडिसकेकोले केही बुझिनँ । आफैँले उसको फोन काटेँ । मलाई पो झट्का लागेजस्तै भयो । हात खुट्टा फतक्क भए ।
कुनै अकल्पनीय घटना अप्रत्याशित रुपमा देख्दा मात्र हैन, सुन्दा पनि पो यस्तो हुँदोरहेछ । पहिलोपटक नौलो अनुभव गरेँ । एकाएक गाउँबाट उनी र उनको ड्राइभर हराए । साँच्चै नै उनले आफ्नै ड्राइभरसँग बिहे गरेकी नै रहिछन् सभ्य भाषामा भन्दा । नत्र गाउँले भाषामा पोइला गएकी नै रहिछन् ।
सबैको चर्चाको विषय नै बनिन् उनी । नेपाली समाज न हो, सानो कुरा पनि महाभारत हुने ठाउँमा यो त झन् अकल्पनीय र सोच्दै नसोचिने घटना थियो ।
सबैले उनलाई नै गाली गरे । उनको कुबुद्धिलाई थुके । “सम्पत्तिको अमत्याइँ लागेको” भने कसैले र कसैले “कुकुरलाई घिउ नपचेको” भने । “कुन दुःख थियो र कुन सुख पाउँला भनेर गाकि होली,” भने धेरैले । “विनासकाले विपरीत बुद्धि” पनि भन्न बाँकी राखेनन् उनलाई ।
“राजेन्द्रले टुप्याएर राखेको थियो, जे भनो त्यही पुर्याइदिएर देखाइदिई…,” कसैको मुखमा यस्तो पनि सुनियो ।
“आइमाईको बुद्धि र कुकुरको चिहान हुँदैन” भनेर सरापे पनि कतिले त । जे होस्, उनको विपक्षमा नै टिप्पणी गरे धेरैले ।
एक हप्तासम्म एकदम नै राँकिएको उनको बारेको कुराको डढेलो बिस्तारै सेलाउँदै गयो । सबैले आ–आफ्नै खालका तर्क र अनुमान गरे पनि किन होला त्यो उमेरमा पनि त्यति राम्रो लोग्ने, त्यस्तो वैभव र सुख छोडेर अर्कै बिहे गरिन्, त्यो पनि आफ्नै ड्राइभरसँग ..? त्यो जिज्ञाशाले सताइरह्यो मलाई पछिसम्म पनि । गाउँ शान्त भएपछि राजेन्द्र दाइको बिहे गराउने तँछाडमछाड भयो धेरैको । त्यस्तो वैभवमा आफ्नै मान्छे पार्न खोज्थे सबैजना । दुवै छोराछोरी अमेरिकामा थिए । बिग्रिएको घर सम्हालिदिने निहुँले इन्दु दिदीको शेख मार्न भए पनि धुमधामले बिहे गरे राजेन्द्र दाइले पनि । हाम्रो समाज, संस्कार, परम्परा र रीतिरिवाज वा सामाजिक संरचना अनि नागरिक समुदाय प्रति नै वितृष्णा जाग्यो त्यतिबेला मलाई, जतिबेला राजेन्द्र दाइले आफ्नो घर सम्हाल्ने निहुँमा एउटी कन्ये केटी नै बिहे गरेर भित्र्यााए असमान उमेर बोकेकी ।
“किन हाम्रो समाज एकल पुरुषको चाहिँ पीडा देख्नै सक्दैन तर एकल महिलाको पीडालाई चाहिँ भाग्य वा कर्मको दोष दिँदै जुनीजुनीसम्म पनि पचाएर बस्न सक्छ ? किन पुरुषलाई महिला बिनाको संसार सम्भव नै हुँदैन भनेर सोच्छ तर महिलालाई पुरुष बिनाकै संसार भोग्नै पर्नै बाध्यता देखाउँछ ?” यस्तै प्रश्न बारम्बार आइरह्यो मेरो मनमा त्यो बिहे देखेर ।
“औसत नेपालीको आयु बाँचिसकेका एकल पुरुष राजेन्द्र दाइको बिहे गराउनपर्ने आवश्यकताबोध गरेको समाजले गाउँकै तीस वर्षीया एकल महिला तारा भाउजूको बिहेको आवश्यकता किन कहिल्यै देखेन ? दश वर्षदेखि एकल जीवन बिताउँदै आएकी उनलाई कति कठिन छ समाजमा निर्धक्कसँग बाँच्न । एकल महिला, उमेर अनि सुन्दरता..। त्यसमाथि गरिबी पनि । सबैको आँखाको तारो छिन् उनी । आफ्नै घर परिवार र समाजबाटै असुरक्षित छिन् । तर अहँ ! उनको सामाजिक सुरक्षा र आर्थिक टेवाप्रति कसैले सोचेनन् । न त उनको आवश्यकता प्रति कसैको ध्यान गयो । कति राम्रो हुन्थ्यो, यदि राजेन्द्र दाइ र तारा भाउजूको नै बिहे गराइदिन पाएको भए ? दुवैको सामाजिक तथा शारीरिक आवश्यकता पनि पूरा हुन्थ्यो । तारा भाउजूले पनि मान–सम्मान र सुरक्षा सबै पाउँथिन् । ”
यो प्रस्ताव मैले दाइका आफन्तलाई राखेँ पनि । तर सबैले मेरो प्रस्तावलाई खिल्ली उडाए । कसैले विधवा विवाह गर्न स्वीकार गरेनन् । मलाई लाग्यो- नागरिक समाजमा बौद्धिक चेतना जति छ, त्यो भन्दा पनि बढी परम्पराको धङधङी रहेछ अझै ।
इन्दु दिदी रुपदेखि लिएर सबै सीप र कलामा पोख्त र दक्ष थिइन् । बिहे गर्दा सामान्य नै भएका दाइको अवस्था पछि उनको मिहिनेत र दिदीको व्यवहार कुशलता मिलेपछि निकै वैभवशाली भएको थियो रे ! कुनै कुराको पनि कमी थिएन उनलाई । सबै उनको ईर्ष्या गर्थे । तर एकदिन यो सबै वैभव चटक्क छोडेर उनी कता हराइन् । केही दिनपछि उनीसँगै हराए उनका चर्चा पनि । कहीँ देखे, भेटेको कुरासम्म पनि उप्काएन कसैले कसैसँग ।
यस पटकको दशैँमा आमाको हातबाट टीका लगाउन म काठमाडौँ गएकी थिएँ । बानेश्वरमा अप्रत्यासित रुपमा इन्दु दिदीसँग मेरो जम्काभेट भयो । मलाई उनका बारेमा सबै कुरा जान्ने इच्छा थियो । सायद उनलाई पनि गाउँको हालखबर सोध्ने मन थियो होला । दाइको बारेमा जान्ने उत्सुकता थियो होला । त्यसैले नै त होला चियाको प्रस्ताव राखिन् उनले नै । त्यो पनि उनकै कोठामा ।
म पनि उत्सुक थिएँ, उनीसँग कुरा गर्न । सहर्ष स्वीकारेँ उनको अनुरोधलाई । तर उनले भोलिपल्टको समय मगिन् । त्यतिखेर उनी पूर्वनिर्धारित कार्यक्रममा कतै घुम्न जाने बताइन् तर मैले आफ्नै अनुमान लगाएँ । उनी आत्मग्लानि वा हीनताबोधले गर्दा भागेकी होलिन् हतार-हतार मदेखि ।
उनी वचनकी पक्का छन् मलाई थाहा छ । अघिल्लो दिनको निर्धारित समय र तोकिएको ठाउँमा मलाई लिन आइन्, देखेँ मैले उनीहरु दुवै जनालाई । ट्याक्सी उनकै श्रीमानले चलाएका थिए ।
उनको कोठामा पुगेपछि मनमनै मैले पनि पहिलोपटक उनको कुबुद्धिलाई धिक्कारेँ । धिक्कार छ दिदी ! साँच्चिकै तिम्रो बुद्धि घाँस चर्न नै गएको रैछ । मान्छेले त्यसै भनेका त हैन रैछन् नि !
त्यस्तो दरबारजस्तो घर र वैभवमा लडिबुडी गरेकी उनी अहिले एउटा कोठामा कुँजिएकी रहिछन् । त्यहीँ एउटा कुनामा भान्सा । एउटा खाटमा ओछ्यान् । एउटा प्लाष्टिकको बाल्टिन । प्लास्टिककै ठूलो बाटा । सानो किचेन र्याक र एउटा बाँसको र्याकमा केही किताबहरु । दुईवटा मुडा । एउटा टिनको ठिक्कको बाकस । बस ! यत्ति थियो देखिएको उनको वैभव वा सम्पन्नता..। मैलै यति नियालुन्जेल उनले चिया बनाइसकेकी थिइन् ।
हामीलाई कोठामा पुर्याएपछि उनका श्रीमान् हिँडिसकेका थिए ट्याक्सी लिएर । दुवैजना मुडामा बसेर चियाको चुस्की लिन थाल्यौँ । दुवै मौन । सायद उनलाई पनि मलाई जस्तै अप्ठ्यारो लागरहेको पो थियो कि कुराको गेडो उप्काउन ।
एकक्षण पछि मौनता भंग गरिन् उनैले, भनिन्, “निशा बैनी ! मलाई त सबैले नराम्रो नै भने होलान् हगी…?”
“हो त दिदी, तपार्इँलाई बुद्धि बिगारेको पो भन्छन् सबैले । त्यस्तो वैभव र सुखलाई छोड्नुपर्ने कस्तोचाहिँ बाध्यता थियो र दिदी ?” भित्र डराउँदै बिस्तारै सोधेँ ।
“के गर्नु त बैनी, मलाई मेरो बौद्धिक चोतनाले विद्रोह गर्न अह्रायो त ..।” एकछिन चुप लागेर भनिन् ।
“किन दिदी..?” मैले कोट्याउन चाहेँ ।
“हो, बैनी मेरो ठाउँमा अरु भएका भए त्यो वैभव छोडेर यस्तो साधारण जीवनमा आहुति दिँदैनथे होलान् आफूलाई । तर मैले त यही नै रोजेँ ..।”
मैले उनको अनुहारमा हेरेँ । उनी गम्भीर भएर कता टोल्हाइरहेकी थिइन् ।
“साँच्चै बैनी उनको खबर के छ ?” मौनता भङ्ग गर्दै सोधिन् बिस्तारै मतिर फर्केर ।
कैयौँ वर्ष एउटै घरमा अझ भनौँ एउटै ओछ्यानमा सँगै बिताएको मान्छेको माया यति चाँढै के मर्थ्यो होला र ? यस्तै लाग्यो मलाई ।
शुरुवात नै राजेन्द्र दाइको हालखबरबाट गरिन् उनले । बुझ पचाएझैँ गरी सोधेँ मैले, “कस्को ? राजेन्द्र दाइको ..??”
“अँ…उनैको,” उनले भनिन् गम्भीर भएर ।
“राम्रो छ दिदी ..।” एकक्षण रोकिएर बिस्तारै भनेँ, “अर्को बिहे गरे, त्यो सुन्नु भाको छ कि छैन ?”
“सुनेथेँ त्यो त ..। उनी त निकै खुसी होलिन् हगि..?” उनको लक्ष्य उनको ठाउँ लिएकी राजेन्द्र दाइकी पत्नीप्रति थियो ।
“त्यस्तो वैभव र सुखमा पनि को पो खुसी नहोला र ?” मैले भनेँ ।
“म थिइनँ नि..,” उनले अँध्यारो मुख लाइन् ।
मैले आश्चर्य मान्दै प्रश्न झुण्ड्याएँ आँखामा तर मुखले केही सोध्न सकिनँ ।
दुवैका आँखामात्र जुधिरहे धेरैबेरसम्म । उनले ‘हो त’ भनेर विस्वास दिलाइरहेकी थिइन् । मैले ‘कसरी ?’ भनेर उत्तर खोजिरहेकी थिएँ । आँखै आँखामा ।
उनले निःस्वास छोड्दै भनिन्, “यहीँनेर त म बाझिएँ नि बहिनी सबैसँग । किनभने सबै मानीसहरु सुखलाई नै सम्पूर्ण खुसी हो भन्ठान्छन् जबर्जस्ती । तर सुख र खुसी कहिल्यै पनि एउटै हुँदै होइन । सुख त खुसी प्राप्त गर्ने एउटा सानो माध्यम मात्र त हो !”
म झन् बढी विस्फारित नेत्रले हेर्छु उनलाई । उनको दार्शनिक कुरा सुनेर ।
“हो बैनी ! त्यस घरमा अझ भनौँ राजेन्द्रसँग म कहिल्यै पनि खुसी हुनै सकिनँ । उनले सबै प्रकारका सुख, सुविधा र सम्पन्नता दिए । उनले पनि मानिसको खुसी त्यही सुखलाई नै हो भन्ठान्थे । तर मैले मागेको र चाहेको खुसी कहिल्यै पनि दिएनन् मलाई ।
“अनि छोराछोरीहरु…?” मैले संकेत मात्र गरेँ । किनकि राजेन्द्र दाइमा नै पो केही दुर्बलता रहेछ र त्यसैलाई लक्ष्य गरेकी हुन् कि दिदीले जस्तो लाग्यो मलाई ।
“हैन शंका गर्नै पर्दैन, उनैका हुन सबै छोराछोरीहरु । मैले शंका गरेको ठानेर विश्वास दिलाइन् उनले, “उनी पूर्ण रुपमा पुरुष नै हुन् ..।”
उनले भनिन्, “मेरो बिहे गरेर आउँदा उनको अवस्था ठिकै नै थियो । उनले मिहिनेत गरे । मैले उनको मिहिनेतलाई सही सदुपयोग गरिदिएँ । अलिअलि गर्दै सबै वैभव र सम्पन्नता हुँदै गयो । त्यहीअनुसार भौतिक सुखका सामग्री जोडिए । ऐश आरामको जिन्दगी बन्यो । सबैले देख्दा हामी ‘सुखी’ देखियौँ । मैले सबैथोक पाउँदै गएँ । तर मैले सोचे, खोजे र भनेनुसारको ‘लोग्ने’चाहिँ पाइनँ कहिल्यै ।”
म उनको अनुहारमा हेरेको हेरैँ भएँ ।
उदासीको भावमा भनिन् उनले, “हामी दुईको अनुहार उस्तै, बानी व्यवहोरा, बौद्धिक स्तर उस्तै थियो । अहँ ! तर भावना र विचार भने भिन्दै। म उनीसँग भावनात्मक सम्बन्धको अपेक्षा राख्थेँ । भन्थेँ र सम्झाउथेँ पनि । तर उनी भौतिक सम्बन्ध मात्र राख्थे वा खोज्थे मबाट । म भावनात्मक खुसी माग्थेँ तर उनी भौतिक सुखको पछि दौडन्थे । हो, यही नै ठूलो अन्तर थियो हामीमा । ”
“भौतिक सम्पन्नता भएपछि त खुसी आफैँ आइहाल्छ नि हैन र दिदी ?” मैले बीचैमा पुष्टि गर्न खोजेँ ।
“वैभवतामा मात्र खुसी हुन्छ र ? वैभवता सुख हो, भोग हो । अपितु खुसी अनुभूति । सुख निर्जीव हो तर खुसी सजीव,” उनले मेरो आँखामा आँखा गाडेर भनिन् ।
उनले जोडिन् पुनः आफ्ना कथा ।
“उनी एउटा मेसिन वा रोबोट जस्तो थिए, जस्को सम्बन्ध केवल कामसँग मात्र हुन्छ । बिहान उठेर काममा जाने रात परेपछि फर्कने । म एक्लै । नत दोहोरो बोल्ने कुनै कुरा न त व्यक्ति नै । मनलाग्दा खान्थेँ नत्र एक्लै छटपटिन्थेँ पिरोलिन्थेँ ।
उनी नौलो खुसी लिएर घरमा आउन् भन्ने लाग्थ्यो । अत्यन्तै उमंग र उत्साहका साथ उनको आगमनको तीव्र प्रतीक्षामा बित्थ्यो दिन । बेलुका उनलाई खुसी पार्न विभिन्न सरप्राइज दिन्थेँ । कहिले नौलो खाना पकाएर बस्थेँ ताकि उनले मीठो मानेर खाऊन । मेरो सीपको वर्णन गरुन् । मलाई माया गरुन् । तर कहिले उनले पार्टी त कहिले साथीसँग बाहिर नै खाएर आएका हुन्थे । मेरो खुसी र त्यो खाना एकैसाथ उसैगरी सेलाएर जान्थे र बासी हुन्थे ।
कहिले म आफूलाई श्रृंगार गरेर चिटिक्क परेर बस्थेँ । घर पस्दा उनी मेरो रुप वा श्रृंगारप्रति आकर्षित होऊन् । फूलमा भमरा जस्तै । मलाई अँगालोमा च्यापेर म्वाइ खाऊन् । मेरो सुन्दरताको वर्णन् गरुन् । यस्तै खुसीको अपेक्षा गरेर फक्रिएको फूल भएर बस्थेँ म । कतिबेला दिन बित्ला भनेर । तर मेरो खुसीको काल्पनिक महल त्यतिबेला धराशायी हुन्थ्यो, जतिबेला उनी काममा व्यस्त भएको वा फिल्डमा जानु परेको बहानामा राति अबेर आउँथे । कहिले आउँदैनथे । त्यतिबेला म भित्रको खुसी ओइलाएर त्यही फूलजस्तै खुम्चिसकेको हुन्थ्यो । श्रृंगार बासी भएर जान्थ्यो रात जस्तै । मेरो सजावटले उनमा कुनै प्रभाव पर्दैनथ्यो । परे पनि कुनै शब्द निस्किदैनथ्यो ।
यदाकदा मात्र हामी सँगै खाना खान्थ्यौँ । तर मैले भान्साको काम सक्दा नसक्दै उनी कोठामा पसेर निदाइसकेका हुन्थे । उनको उपस्थितिमा पनि म सधैँ एक्लै नै हुन्थेँ । केटाकेटी जन्मेर हुर्केर बाहिर नजाउन्जेलबाहेक बाँकी दिनहरु मेरा यसैगरि नै कटे बैनी ।”
मनभित्रको गाँठोलाई उनले आँखा चिम्लेर घुटुक्क पारिन् । आँखा चिम्लँदा उनका आँखाबाट बरर आँसु झरे र गालातिर बगे ।
गालाको आँसु पुछिन् र रुन्चे हाँसे मुस्कुराइन् मतिर हेरेर एकफेरा । अनि बोल्न थालिन्, “कहिलेकाहीँ कोठामा म उनको पुरुष उपस्थितिले नै पनि पग्लन्थेँ छताछुल्ल भएर । उन्मुक्त खुसी लिएर म नै उनीछेऊ पुग्थेँ । तर उनी कहिले दिनभरीको कामले थाकेको छु टेन्सन नदेऊ न भन्थे । कहिले मेरो धेरै काम छ भनेर कम्प्युटरमा बस्थे ।
म जसरी पग्लन्थेँ, त्यसैगरी जम्थेँ बरफ भएर ।
अधिकांशतः उनी नै लोग्नेको अधिकार जमाउँथे मसँग । म स्वास्नी हुनुको नाताले चुपचाप स्वीकार गरेर समर्पण गर्थेँ आफूलाई । मलाई इच्छा होस् या नहोस् । अहँ हामीबीच कहिल्यै पनि सहवास भएन । मात्र बलात्कार गर्थे उनले मसँग । त्यही बलात्कारको पीडामा नै म उनको स्पर्श सुख वा मायाको सूक्ष्म अंश खोज्ने प्रयास गर्थेँ सधैँ ।
महिलाहरु थोरै सहानुभूतिका आशे हुन्छन् । थोरै तारिफका लोभी हुन्छन् । अनि थोरै मायाका भोका हुने रैछन् । थोरै माया वा आत्मीयतामा पनि झुसी… खुसी बटुल्ने ।
म पनि त्यस्तै त थिएँ । र त्यस्तै खुसी बटुल्न खोज्थेँ । तर उनीसँग त कुनै कुराको लागि पनि कुनै शब्द नै थिएन । न त तारिफका, न नै सहानुभूतिका । न त कुनै कुरामा माया झल्कने मायालु व्यवहार नै । न त हाँसी मजाक र माया प्रेमका कुरा ।
सधैँ म त उनकी पूर्णतः स्वास्नी वा मायालु श्रीमती हुन चाहन्थेँ । यसको विपरीत एउटी महिला मात्रै थिएँ म । अझ भनौँ मनचिन्ते भाँडो मात्र थिएँ उनका लागि जो उसका सबै आवश्यकता र इच्छा पूरा गरिदिन्छ सजिलैसँग ।
म उनकी श्रीमती थिएँ । सधैँ घरमा उनीसँगै बसेकी थिएँ । तर अफिसको कर्मचारीजस्तै मात्र लाग्थ्यो उनको र मेरो सम्बन्ध । उनको मुड र इच्छानुसार जीवन चलाउनु पर्थ्यो मैले । त्यसैगरी चलाइदिन्थेँ म पनि लाचार भएर ।
कामपछि उनको प्यारो वस्तु मदिरा थियो । दिनभर काम । साँझको समय साथीभाइ, खानपिन अनि मात्र घर । लाग्थ्यो उनी घर परिवारको वा मेरो माया लागेर भन्दा पनि दायित्वबोधले मात्र घरमा आउँथे । पेइङ गेष्टजस्तो मात्र थिए उनी आफ्नै घरमा पनि ।
म मदिराविरोधी थिएँ । मलाई मदिरा प्रेमी पुरुषहरुको घर बिग्रिएको थाहा थियो । त्यसैले म मेरो घर व्यवहार कहिल्यै पनि नबिग्रियोस् भन्थेँ । दुई जनामा कहिल्यै पनि झगडा र किचलो नहोस् । एउटा मायालु, अनुशासित, आदर्श परिवार होस् भन्ने चाहना थियो मेरो तर ठीक विपरीत थियो यथार्थमा आफ्नैचाहिँ ।
म उनलाई आग्रह गर्थेँ मदिरा नपिउन । परिवार, स्वास्थ्य अनि आफ्नो मानसम्मान सबैमा पर्नसक्ने संभावित परिणामबारे बताएर सतर्क गराउन खोज्थेँ पटकपटक ।
उनका लागि पिउने बहाना वा विषयवस्तु सधैँ नयाँ नयाँ हुन्थ्यो तर मेरा लागि भने सधैँ एउटै पीडा । उनी सधैँ मदिरासँग आफ्नो खुसी साट्थेँ तर म आँशुसँग आफ्नो पीडा ।
दिनभर उनी नभए पनि घरमा आएपछि रमाइलो वातावरण होस् । माया प्रेमको मीठामीठा कुरा हुन् । एकअर्काको भावना सेयर होस् । यस्तै मेरो चाहना हुन्थ्यो तर उनी मेरो भावना वा चाहना पटक्कै नबुझ्ने । चाडपर्व, जन्मदिन, एनिभर्सरी कुनैमा पनि कुनै प्रकारको उपहार वा शुभकामना लिनुदिनु पनि अनावश्यक ठान्थे उनी ।
छोराछोरी भएपछि म अलिक व्यस्त नै रहन थालेँ । काम नै यस्तै महिलाहरुको । कहिल्यै नदेखिने पनि, नसकिने पनि ।
उनी घरमा आउँदा म कुनै घर धन्दामा नै व्यस्त । दैनिकी सकेर कोठामा पुग्दा उनी निदाइसकेका हुन्थे भने म बिहान उठेर दैनिकीमा लाग्दा उनी सुतिरहेका नै । निदाएर अचेत भएको मान्छेलाई के थाहा कि रातभर टाँसिएर स्वास्नी सुती कि कुकुर बिरालो ?
म उनको स्पर्श सुखको लोभले उनीसँग टाँसिएर सुत्न खोज्थेँ तर उनले पिएको मदिराको नमिठो गन्धलेँ नजिकै झन सुत्नै सक्तिनथेँ । मलाई उनीसँग बिताउने चार प्रहर रात पनि “नखाउँ भने दिन भरिको शिकार खाउँ भने कान्छा बाको अनुहार” हुन्थ्यो । केटाकेटी सानो हुन्जेल त तिनैलाई अंगालोमा च्यापेर सुत्थेँ । आत्मीयताको मीठो स्पर्शको अनुभूत गर्दथेँ । यसैमा तृप्त हुन्थेँ ।
मेरा छोराछोरीले राम्ररी बाबु पनि चिन्न सकेनन् किनभने बाबु आउँदा उनीहरु सुतिसकेका हुन्थे । बिहान उनीहरु उठ्दा बाबु हिँडिसकेका । के खान्छन् ? के कस्तो पढ्छन् ? के गर्छन् ? मेरो नभए पनि उनीहरुको समेत चासो गर्ने फुर्सद वा मतलब केही पनि थिएन उनको ।
उनी पनि अरु आम मानिस जस्तै सोच्थे । र भन्थे पनि, “जीवनमा पैसा नै सबैभन्दा ठूलो सुख र खुसी हो । जीवनमा पैसाबाहेक अरु केही पनि चाहिन्न र पैसाले नै सबैथोक किन्न पाइन्छ ।”
खुसीको नाउँमा पैसा ल्याएर मलाई थमाइदिन्थे । कहिले गरगहना कहिले साडी । भन्थे, “पहिला जस्तो होइन नि इन्दु ! अहिले त आफ्नो स्तर र वैभव अनुसारको हुनुपर्छ लवाई खवाई पनि । साथीभाइले देख्दा फलानोकी स्वास्नी भनेर चिनाउँदा मलाई लाज नलागोस् ।”
म कठपुतली बनिँदै गएँ । सायद उनी ठान्थे, “मैले स्वास्नीलाई सबैलेभन्दा बढी सुख दिएको छु ।” तर मलाई कस्तो सुख चाहिएको छ ? म केमा खुसी हुन्छु ? त्यो कहिल्यै पनि बुझ्दैनथे ।
उनको भौतिक सम्पन्नताको आडमा पछि काम गर्ने सहयोगी राखिदिए घरमा । प्रत्यक्ष त मलाई सुख दिन राखे तापनि अप्रत्यक्ष झन् कुन्ठित भएँ म त त्यसबाट । किनभने अब झन् दूरी बढ्यो उनको र मबीच । उनले एक ग्लास पानी र एक कप चियाको लागि मात्र नभएर कट्टु गन्जी र मोजाका लागि पनि उसलाई नै गुहार्न थाले । यसबाट त झन् उनको नजिक पर्ने बहाना पनि खोसियो मेरो । साँच्चै ! हामी झन् टाढा पो हुँदै गयौँ ।
कस्तो बिडम्बना ! म जीवनभर उनको नजिक हुन चाहन्थेँ उनको सामीप्य चाहन्थेँ । आत्मियता र स्पर्ष चाहन्थेँ तर उल्टो झन् टाढा हुँदै पो गइरहेकी थिएँ । अब त मेरो आवश्यकता उनले र उनको शरीरले चाहेको बेलाबाहेक अरुबेला हुन नै छोड्यो उनका लागि ।
पछि त उनले गाडी किने । ड्राइभर राखे । बिहे, भोज, पार्टी, किनमेल, मन्दिर जहाँ जान परे पनि उनी आफू अघि सरेर साथ दिँदैनथे । गाडी लिएर जाऊ न भन्थे ।
मेरो लोग्नेसँग भन्दा पनि बढी समय (यिनी) ड्राइभरसँग बित्न थाल्यो । यिनीबाहेक मुख बोल्ने तेश्रो व्यक्ति पनि त थिएन घरमा । ड्राइभर भए पनि यिनी इमान्दार, परिपक्व र व्यवहारिक थिए । केही दिनको सहयात्रामा उनी मेरो अभिन्न मित्र बने । उनमा मैले मेरा जीवनको सधैँ खोजेको तर नपाएको कुरा पाउँछु भन्ने आभाष भयो । आधा जीवन त आशै आशमा बित्यो । बाँकी जीवनको पनि के भर छ र ? मैले केही क्षण भए पनि खुसी हुन चाहेँ । त्यसैले मैले उनको निरसिलो भौतिक सुख छोडेर मानसिक सुखको लागि यिनीपछि लागेँ ।”
यी सबै बोल्दा उनमा निर्धक्क र दृढता देखिन्थ्यो ।
म ट्वाँ परेर उनको आँखाको भाव पढिरहेकी थिएँ ।
“के हामी महिलालाई जीवनमा खुसी हुने अधिकार छैन र ? आफ्नो जीवनको निर्णय गर्ने अधिकार छैन र ? भन्नुस् त बैनी ? मैले अलिकति खुसी बाँच्न चाहेँ, मैले यो गल्ती गरेँ कि ठीक ?”
उनले त मलाई नै प्रश्न पो तेर्स्याइन् । उत्तर दिन सकिनँ मैले । कोठाभिर आँखा डुलाउँदै हतार हतार उनैपट्टि फर्काएँ ।
“अनि दिदी, अहिले खुसी हुनुहुन्छ त तपाईं ?”
“अँ बैनी ! जीवनमा नै म अहिले जति खुसी त कहिल्यै पनि थिइनँ । मैले उनको घर छोड्दा उनको एक रुपैञाँ पनि लगिनँ । अहिले हामी दुवैजना काम गर्छौँ, कमाउँछौँ । म एउटा स्कूलमा काम गर्छु । केटाकेटीसँग खेल्छु रमाउँछु । उनी एउटा ट्याक्सी चलाउँछन् । दुवै कमाउँछौँ । बेलुका दुवैजना मिलेर पकाउँछौँ । दिनभरिका कुरा सेयर गर्छौँ । बेलाबेला घुम्न जान्छौँ । कहिले बाहिरै खान्छौँ । रमाइलो छ । छोराछोरीले पनि बेलाबेलामा फोन गर्छन् ।
“अनि तपाईंका छोराछोरीले तपाईंलाई घृणा गरेनन् र दिदी ?” शंकाले सोधेँ ।
“किन गर्ने ? उनीहरु थोडै बीसौँ शताब्दीका हुन् र ? उनीहरु पनि एक्काइसौँ शताब्दीका र आधुनिक समाज र शिक्षा पढेका व्यक्ति हुन् । उनीहरुले पनि जिन्दगीलाई तपाईं हामीले भन्दा पनि छर्लङ्ग बुझेका छन् । पुरानै जमानाको भए पनि मैले त जसरी बुझेँ जिन्दगीलाई र यसरी विद्रोह गरेँ । उनीहरुले के सहन्थे त यस्तो कुरा ? त्यसैले मेरो निर्णय प्रति कुनै आपत्ति र गुनासो छैन उनीहरुको ।”
खुसी देखिइन् दिदी । उनको आँखाभरि ममता छचल्केको प्रष्टै देखिन्थ्यो । कोसौँ टाढा भएका छोराछोरीको याद मात्रले पनि आमा छताछुल्ल हुन्छिन् ममतामा । र, सन्तुष्टिको पोखरीमा चुर्लुम्म हुन्छिन् । यसको अनुभूति त मलाई पनि राम्रोसँग थाहा थियो ।
“अनि कि दिदी ! तपाईंले आफ्नो खुसीका लागि अर्काको परिवारको खुसी खोसेजस्तो लाग्दैन ?” डराउँदै मैले उनलाई सोधेँ ।
मेरो संकेत उनको हालको पतिको श्रीमती र घरपरिवार प्रति थियो ।
निकैबेर मेरो मुखमा हेरेर टोल्हाइरहहिन् दिदी । अनि बिस्तारै हातको चियाको कप खेलाउँदै भावुक भएर भनिन्, “सत्य कुरा भनौँ बहिनी ! उनको त कोही पनि छैनन् परिवारमा । न त आमाबाबु । न त दाजुभाइ । न त श्रीमती । न त छोराछोरी नै । आमाबाबु बितेपछि उनी एक्लै नै थिए उनको परिवारमा ।”
“अनि बिहे गरेर किन घरजम नगरेका रैछन् त दिदी यत्रो उमेरसम्म पनि ?” मैले कौतुहल पस्केँ ।
“सानैमा कुनै दुर्घटनामा परेर उनले आफ्नो गोप्य अंग नै गुमाएका रहेछन्, त्यसैले उनले बिहे नै गरेका थिएनन् अहिलेसम्म ।”
उदास मुद्रामा कारुणिक सत्य कथा बताइन्, उनले आफ्ना पतिको । घटना सुनेर मेरो पनि जिउमा काँडा उम्रिए ।
“आम्मै नि ! कस्तो नराम्रो घटना भएछ है दिदी विचराको जिन्दगीमा ! अनि यी सबै कुरा त तपार्इँलाई पहिला नै थाहा थिएन होला है दिदी ?” अत्तालिँदै सोधेँ मैले ।
“अँ ! थाहा थियो त पहिले नै ! मलाई उनको बारेमा सबैकुरा थाहा थियो,” सहजै भनिन् उनले । मलाई आश्चर्य लाग्यो दिदीको कुरा सुनेर ।
“दिदी एउटा कुरा सोधौँ हजुरलाई ?” अनुमति मागेँ मैले ।
“सोध्नु न बहिनी ! जे जे सोध्न मन छ निर्धक्क सोधे हुन्छ,” मुसुक्क मुस्कुराइन् उनी ।
“बिहे गर्नु भनेको लोग्ने स्वास्नी बन्नु हो । अनि लोग्ने स्वास्नी भनेको ‘त्यही’ काम गर्नु हो । दाइलाई छोडेर अर्को बिहे गरेर पनि यस्तो मान्छे जुन काम गर्ने कुनै माध्यम नै छैन भने कसरी खुसी हुनुहुन्छ त ?” मैले संकेतमा मात्रै बताएँ ।
दिदीले हातको खाली कप भुइँमा राखिन् । पुलुक्क मलाई हेरिन् र गम्भीर भएर भनिन्, “हो बहिनी । बिहे भनेकै लोग्नेस्वास्नी बीचको यौन वा सहवास हो । र, हरेक प्राणीको लागि सहवास आवश्यक तत्त्व नै हो । तर हामी दुवै जना अलिक फरक प्रकारले जीवन भोगेका प्राणी थियौँ । हामी दुवैलाई यौनको आवश्यकता नै थिएन । भोक थियो त केवल माया, प्रेम र स्नेहको । एक अर्काको साथको । आत्मीयताको । आफ्नोपनको ।
यौनको लागि यिनीसँग अंग थिएन भने मसँग तृष्णा थिएन । तीसौँ वर्ष राजेन्द्रले जसरी मलाई एउटा उनको सन्तुष्टि प्राप्त गर्ने भाँडोको रुपमा मात्र भोग गरे, त्यसबाट मलाई यौन शब्दमा नै वितृष्णा थियो ।
यिनले केही र कोही नभएर माया पाएका थिएनन् । सबै भएर पनि मायाको अभाव थियो ममा । त्यसैले हामीले सँगै बस्ने निर्णय गर्यौँ । हामीले सहवास होइन सहसाथ रोज्यौँ ।
“सहवास बिना पनि लोग्नेस्वास्नीको सम्बन्ध सम्भव होला त दिदी ?” अविश्वासिलो प्रश्न राखेँ मैले ।
“सहवास भनेको आनन्दको पराकाष्ठाको बोध गर्नु हो । तनावबाट मुक्ति पाउनु हो । तर जीवनमा आनन्दको पराकाष्ठामा पुग्न सहवास नै हुनुपर्छ भन्ने पनि छैन । ध्यानबाट र हृदयको आत्मिक प्रेमबाट पनि चरम आनन्दको बोध गर्न सकिन्छ । तनावमुक्त हुन सकिन्छ ।”
एकाएक उनी त ज्ञानी ध्यानी दार्शनिक योगी जस्ती पो बनिन् ! उनका कुराले जीवनबोध भयो मलाई पनि । साँच्चिकै सलाम गर्यो मनले उनलाई ।
“यत्रोबेर तपाईंले मलाई मेरा धेरै कुरा सोध्नुभयो । बहिनी म तपाईंलाई एउटा कुरा सोधौँ है ?” उनले पनि अनुमति मागिन् ।
सहमतिमा टाउको हल्लाएँ मैले ।
“तपार्इंले त मैलेजस्तो जीवन भोग्नुपरेको छैन नि ? तपाईं त सुखी हुनुहुन्छ है वैवाहिक जीवनमा ?” एक्कासि मेरो हात समाएर सोधिन् दिदीले ।
“सबै तिमीजस्ता बहादुर कहाँ हुन्छन् र दिदी आफ्नो खुसीका लागि बाँच्न बिद्रोह गर्नसक्ने ! अझैसम्म पनि हामीलाई त लोग्ने रोज्ने आँखामा पाड्को र सुख सुँघ्ने नाकमा फेसो ठोकिएकै छ नि (पुष्कर समशेरले भनेजस्तो) । धेरै नारीहरुले केवल भाँडोकै रुपमा मात्रै आफूलाई खियाइरहेकै छन् नि मैलेजस्तै ।” आँखा भुइँमा गाडेर मनमनै मात्रै भनेँ यति कुरा ।
“अँ दिदी खुसी नै छु, एकदम असल हुनुहुन्छ उहाँ त !” कृत्रिम मुस्कान ल्याउँदै भनेँ ।
एक्कासि चरक्क चर्किेएको स्तनको घाउमा पुग्यो देब्रे हात जुन यता आउने अघिल्लो दिनमा मेरो पति परमेश्वरले रक्सीले मातेर झगडा गर्दा चुरोटले पोलिदिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।