हरेक वर्ष वर्ल्ड ह्यापिनेस रिपोर्ट सार्वजनिक गरिन्छ । विगतका पाँच वर्षयता संसारकै खुसी मुलुकको सूचीमा नम्बर एकमा फिनल्यान्ड पर्ने गरेको छ ।

सन् २०२२ को रिपोर्ट बनाउने बेलामा सूची निर्माताहरूले संसारभरिका १ सय ५६ वटा देशका बासिन्दालाई तपाईंले आफ्नो जीवनलाई कति धेरै महत्त्व दिनुहुन्छ ? धेरै वा शून्य भनेर शून्यदेखि १० नम्बरको सूची दिएको थियो ।

जुन देशका नागरिकले आफ्नो जीवनलाई कम अंक दिए, ती देशको खुसी निकै कम रहेको निष्कर्ष निकालियो ।

हुन त कुनै पनि व्यक्ति खुसी वा दुःखी के छन् भन्ने जान्न कुनै एउटा तत्त्व बुझेर वा जानेर हुँदैन । त्यहाँ सामाजिक सहयोग, जीवनको लम्बाई, कृतज्ञता र दानदातव्य, मुलुकमा रहेको भ्रष्टाचार शून्यता वा भ्रष्टता आदिजस्ता कुराले ठूलो भूमिका खेलेको हुन्छ । ती देशप्रति आशावादी जनता नै खुसी जनता हुन सक्छन् ।

फिनल्यान्डका जनता खुसी हुन कुन तीन वटा काम गर्दा रहेछन् भनी एक जना फिलोसफर तथा मनोविज्ञानका ज्ञाता फ्राङ्क मार्टेलाले सर्भे गरेका थिए । ती कुरा लागू गरे, मानिस सुखी हुन फिनल्यान्डमै जन्मनु नपर्ने उनको दाबी थियो ।

उसो भए हामी पनि जानौँ न त, खुसी हुन कुन कुन काम नगर्दा फिनल्यान्डबासीहरू खुसीपूर्वक जीवन बाँचिरहेका रहेछन् ।

 

१. छिमेकीसँग दाँजिनु हुँदैन
फिनल्यान्डको एउटा प्राचीन भनाइ छ, तुलना नगर । गर्छौं भने खुसी छैन भनेर गनगन नगर ।

यो भनाइलाई फिनिसहरूले साँच्चिकै हृदयतः स्वीकार गरेको देखिन्छ । उनीहरूका लागि अरूको भौतिक तथा आध्यात्मिक प्रगतिले खासै अर्थ राख्दैन । धनी हुन चाहनेले त्यसैमा काम गर्छ र धनी हुन्छ, गरिब हुन चाहनेले जीवनमा केही काम गर्दैन र त्यसैमा रमाएर बस्छ । तर अर्काको कुरा काटेर ऊ बस्दैन ।

मार्टेलाका अनुसार, तुलना गर्नु खुसी खोस्नु हो । खासगरी जब कसैले प्रदर्शनी गरेको सम्पत्ति वा भौतिक भव्यतामा चित्त दुखाउनु हुँदैन वा लोभ देखाउनु हुँदैन । यसो हुनेबित्तिकै आफ्नो खुसी खोसिदैन ।

मार्टेला भन्छन्, एकताका म फिनल्यान्डकै धनी व्यक्ति हुन चाहन्थेँ । तर जब फिनल्यान्डकै धनी मान्छे आफ्नो बच्चालाई बोक्दै ट्याक्सी खोज्दै गरेको देखेँ, चकित परेँ । चाहेका भए तिनले निजी गाडी ल्याउन सक्थे । रेल हुँदाहुँदै वा रेलयात्राको सहजता हुँदाहुँदै गाडी चलाउनु इन्धनको सत्यानाश हो भन्ने सोचेर उनी विरलै निजी गाडी चलाउँदा रहेछन् ।

जब सबैभन्दा धनी मानिसले सार्वजनिक यातायात चढेको अरूले देख्छन्, उनीहरूलाई आफ्नो गाडी प्रदर्शन गरेकामा लज्जाबोध हुन थाल्छ र उनीहरू पनि रेल वा सार्वजनिक यातायातमै यात्रा गर्न चाहन्छन् ।

फिनल्यान्डमा भएकै यही हो । एक त देखासिकी गरेर दुःखी हुँदैनन्, अर्को निजी स्वार्थका लागि वृहद् स्वार्थलाई बलिदान दिँदैनन् । सामूहिक सफलतामा फिनिसहरूको ध्यान जाने हुनाले पनि त्यहाँका मानिसहरू अन्यत्र भन्दा खुसी छन् ।

मार्टेला भन्छन्ः सफल देखिने कुरामा होइन, खुसी हुने कुरामा हामीले जोड दिनुपर्छ । खुसी तुलनाले दिँदैन, आफूले तय गर्ने लक्ष्यले र त्यो लक्ष्यप्राप्तिले दिने गर्छ ।

 

२. प्रकृतिको फाइदालाई नजरअन्दाज गर्नुहुन्न
सन् २०२१ मा गरिएको सर्भेमा ८७ प्रतिशत फिनल्यान्डबासीहरूले प्रकृतिलाई बढी महत्त्व दिन्छन् । प्रकृतिबाट नै मानिसले मानसिक शान्ति, ऊर्जा र सन्तुष्टि प्राप्त गर्दछ ।

फिनल्यान्डमा हरेक वर्ष चार साताको गर्मी छुट्टी हुने गर्छ । सबै कर्मचारीहरूले यो चार साताको बिदा अनिवार्य रूपमा लिनुपर्छ । यस्तो बिदाका बेला प्रायः उनीहरू गाउँघरतिर डुल्न निस्कन्छन् । यी चार सातामा सकेसम्म पानीको कम दुरूपयोग होस्, प्रकृतिमा बढी रमाउनु परोस्, कृत्रिमतालाई भरसक अँगाल्नु नपरोस् भन्नेमा फिनिसहरू सचेत रहन्छन् ।

डुल्न ननिस्कनेहरूले पनि घरमा भरसक कम सामग्रीको उपयोग गर्नुपरोस् भन्ने चाहन्छन् । विद्युतको खपत नगर्नु र कम नै गर्नुमा उनीहरूको विशेष जोड रहन्छ । राजधानी हेलसिन्कीमा प्रायः निवासअगाडि पार्क बनाउने चलन छ । यसो गर्दा आँखैअगाडि हरियो देखापरोस् भन्नेमा उनीहरू सचेत छन् । स्वयं मार्टेला पनि बिहान उठ्नेबित्तिकै सेन्ट्रल पार्कको हरियोले आँखा सेक्न पाउँदा खुसी हुन्छन् ।

मार्टेला भन्छन्ः प्रकृतिमा बढीभन्दा बढी समय बिताउँदा मान्छेको श्रमशक्ति बढेर आउने मात्र होइन, उसको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्छ । यसले आत्मोन्नतिको भाव बढाउँछ । त्यसैले हरियोसँग नाता जोड्न एउटै कोठा लिएर बसे पनि हरियो बिरूवा ल्याउने, कोठामा सजाउने गर्नुले तपाईंको मानसिक स्वास्थ्यमा गज्जबको प्रभाव पार्नेछ ।

 

३. समुदायको विश्वास नतोड्नुस्
शोधले देखाउँछ, जुन मुलुकका समुदायहरूबीच घनिष्ठता छ, त्यो देशका जनता बढी नै खुसी देखिन्छन् । जनतालाई खुसी पार्न सरकारले सक्दैन, स्वयंले खुसीको बाटो खोज्नुपर्छ । यसका लागि एकले अर्कालाई विश्वास गर्ने वातावरण बनाउनु जनताकै काम हो ।

सन् २०२२ मा फिनल्यान्डको राजधानी हेलसिन्कीमा एउटा प्रयोग गरिएको थियो । लस्ट वालेट (हराएको थैली) नामकरण गरिएको सो परीक्षणमा केही मानिसले आफ्नो वालेट (पर्स) कतै छाडिदिएका थिए । हेलसिन्कीमा छाडिएका १२ वटा त्यस्ता वालेटमध्ये ११ वटा त वालेटधनीकै हातमा पुर्याइएको थियो । संसारभरिका १६ शहरहरूमा गरिएको यस्तो परीक्षणमा पनि फिनल्यान्ड नै प्रथम भएको थियो ।

इमान्दारी फिनिसहरूको प्रथम महत्त्वको कुरा हो । पुस्तकालयमा तपाईंले ल्यापटप छाड्नुभयो वा रेलयात्राका बेला तपाईंले मोबाइल फोन कतै हराउनुभयो भने अधिकांशतः अवस्थामा ती चिजबिजहरू फिर्ता पाउनु नै हुन्छ ।

प्रायः बालबालिकाहरूलाई स्कुलबाट फिर्ता ल्याउन वा स्कुलसम्म पुर्याउन अभिभावक जाने गर्दैनन् । सार्वजनिक सवारीमा सवार भएर बालबालिकाहरू स्कुल आउनेजाने गर्दछन् । अभिभावकले अतिरिक्त तनाव लिनु नपरेपछि उनीहरूको खुसीको पारो त्यसै पनि बढी नै हुन्छ । उनीहरूले दैनन्दिनीमा तनाव नलिई ध्यानपूर्वक काम गर्न पाउँछन् ।

मार्टेला भन्छन्ः समाजलाई आफूले के योगदान दिनसक्छु, त्यसमा घोत्लिनु होस् । तपाईंले बढीभन्दा बढी विश्वास बढाउन भूमिका खेल्न सक्नुहुन्छ । विश्वासमा आधारित नीति बनाउन वा नीतिलाई कार्यान्वयनमा भूमिका खेल्न सक्नुहुन्छ । कुनै नचिनेको मान्छेलाई बसिरहेको ठाउँको सिट छाड्दा वा नचिनेको मानिसका लागि केही उपकार गर्दा तपाईंलाई मात्र खुसी लाग्दैन, त्यो उपकार पाउने मानिसकै जीवनमा प्रभावकारी असर पार्ने गर्छ ।

हेर्दाका साना सकारात्मक भूमिका वा कार्यले नै ठूलाठूला परिवर्तन गराउँछ भन्ने फ्राङ्क मार्टेलाको विश्वास छ । उनको हालै अ वन्डरफुल लाइफः इन्साइट अन फाइन्डिङ अ मिनिङफुल एक्जिस्टेन्स नामक पुस्तक बजारमा आएको छ । उनले यस पुस्तकमा यिनै विषयको प्रभावकारितामाथि चर्चा गरेका छन् ।