साहित्यकार गीता केशरी, बेञ्जु शर्मा, मन्दिरा मधुश्री तथा ध्रुवचन्द्र गौतम

काठमाडौँ, जेठ २८ / डम्बर कुमारी-गणेश कोइराला प्रतिष्ठानले चार वटा आख्यान पुरस्कार प्रदान गरेको छ ।

कार्यक्रमको अवसरमा प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङबाट आख्यानकार गीता केशरी, परशु प्रधान, वेञ्जु शर्मा र डा. ध्रुवचन्द्र गौतमलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरियो ।

चरणमा डम्बर कुमारी र गणेश कोइरालाको ६८ औँ विवाह उत्सवको सम्झनास्वरूप स्वयम्वर शैलीमा उहाँहरू दुवैले एक अर्कालाई दुबोको माला सिन्दूर पोते लाउने र औँठी साटासाट गर्ने कार्य भयो ।

डम्बर कुमारी-गणेश कोइराला प्रख्यात साहित्यकार मन्दिरा मधुश्रीका मातापिता हुनुहुन्छ । मातापिताको नाममा स्थापित प्रतिष्ठानकी उहाँ अध्यक्ष पनि हुनुहुन्छ ।

पुरस्कृत श्रष्टाको हैसियतमा डा. ध्रुवचन्द्र गौतमले पुरस्कार दिने व्यक्ति र संस्था चोखो छ भने रूद्राक्षको माला नै भए पनि सहर्ष स्वीकार्दै आएको बताउनुभयो । पुरस्कार लिँदा दिनेको नियत र स्रोतमा विचार गर्ने उहाँको भनाइ थियो ।

यसैगरी अर्की सम्मानित र पुरस्कृत साहित्यकार डा. बेञ्जु शर्माले फरक शैलीको यो कार्यक्रममा आफू सम्मानित र पुरस्कृत हुन पाएकोमा खुसी लागेको बताउनुभयो।

डम्बर कुमारी गणेश कोइरालाको बिवाह उत्सवसहित पुरस्कार कार्यक्रम नौलो भएको र बेहुला‑बेहुलीको झल्को दिने यो कार्यक्रम नौलो लागेको उहाँले बताउनु भयो।

प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले नारी जागरणको युग आएको बताउनुभयो ।

छोराहरूले गर्नु पर्ने काम छोरीबाट हुन थालेको भन्दै उहाँले मन्दिराको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘मन्दिराको आर्थिक हैसियत जे जस्तो भए पनि उनले ठूलो काम गरेकी छन् । शास्त्रमा पनि मातृदेवो भव:, पितृदेवो भव: भनिएको छ। यहाँ पनि डम्बर कुमारी गणेश कोइराला भएको हुँदा यो नामाकरण पनि उल्टो होइन सुल्टो नै भएको छ।’

वरिष्ठ कथाकार माया ठकुरीले मन्दिरा मधुश्री लेखनका साथै जन्म दिने आमा बाबुको नाममा पुरस्कार स्थापना गरेर राम्रो कार्यको थालनी गरेको र बेला बेलामा आफूले सल्लाह दिने गरेको बताउनुभयो ।

कार्यक्रममा कवि तथा गीतकार एस्पी कोइरालाले पनि आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकारहरू हिरण्य कुमारी पाठक, लव गाउँले, पवन आलोक, दिव्य गिरी, रवि प्राञ्जल, निशा के.सी., शान्ति शर्मा, बाबा न्यौपाने, गोविन्द मानसिँह कार्की, कुमार कोइराला, मुरारि सिग्देल, श्रीओम श्रेष्ठ रोदन , प्रकाश घायल, जय छाङ्छा राई, विनोद नेपाल, रेणुका भट्टराई, गोकुल अधिकारीलगायत अन्य अतिथिहरूको उपस्थिति थियो ।

साहित्यकार तुलसीहरि कोइरालाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्वागत मन्तव्य कृष्णमोहन कोइरालाले दिनु भएको थियो ।