
काठमाडौँ । नेपाली लेखक संघले तेस्रो राष्ट्रिय लेखक दिवस मनाएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित समारोहमा आख्यानकार ध्रुवचन्द्र गौतमलाई १ लाख रुपैयाँ नगद पुरस्कार सहित ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गरिएको छ। यस वर्षको पुरस्कार पाउँदै गौतमले साहित्यलाई साधना मानेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो १० वर्षको उमेरदेखि लेखन यात्रा सुरु गरेको र २० वर्षदेखि निरन्तर लेखनमा संलग्न रहेको स्मरण गर्नुभयो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे प्रमुख अतिथि रहनुभएको थियो । मन्त्री पाण्डेले लोकतन्त्रका लागि लेख्ने व्यक्तिलाई सम्मान गर्नु उल्लेखनीय काम भएको बताउँदै स्वतन्त्र लेखनले व्यक्ति र समाजलाई सिर्जनात्मक रूपमा जागरुक बनाउने धारणा राख्नुभयो । उहाँले देशमा लेखन, कला, साहित्य, राजनीति र फिल्म क्षेत्रमा सकारात्मक परिवर्तन आइरहेको बताउनुभयो ।
समीक्षक अनुपमा रेग्मीले आख्यानकार गौतमको परिचय दिँदै उहाँको नेपाली साहित्यमा अतुलनीय योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले गौतमले कथासंग्रह, नाटक, पटकथा, गीत, आख्यान गरी दर्जनौँ कृति प्रकाशित गरेको जानकारी दिनुभयो । हाल गौतम आत्मकथा लेखनमा व्यस्त रहेको पनि रेग्मीले बताउनुभयो ।
कार्यक्रममा साहित्यकार वैरागी काइँलाले नेपालको वर्तमान परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै साहित्यकारहरू सावधान हुनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा राष्ट्रिय भावनाको अभाव, युवा पुस्तामा देशप्रतिको माया कम हुँदै जानु र देशभक्तिप्रति अनास्था बढ्नु चिन्ताजनक रहेको धारणा राख्नुभयो । साहित्यकार रत्नमणि नेपालले लेखक दिवस मनाउनुको महत्वमाथि प्रकाश पार्नुभयो ।
नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकीले लोकतन्त्र बचाउन लेखकहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो । संघले २०८० सालदेखि लेखक दिवस मनाउन थालेको र यस वर्ष उपत्यकासहित जिल्ला तथा प्रदेशस्तरमा पनि दिवस मनाइएको महासचिव सोझो गाउँलेले जानकारी दिनुभयो ।
यस अवसरमा संघले ३२ जना प्रतिष्ठित लेखक तथा साहित्यकारलाई मानार्थ सम्मान प्रदान गरेको छ। सम्मानित हुनेहरूमा बैरागी काइँला, ध्रुवचन्द्र गौतम, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुंगाना, नगेन्द्रराज शर्मा, बलदेव शर्मा मजगैँया, डा. बेन्जु शर्मा, तुलसी भट्टराई, केदारनाथ खनाल, भूपति ढकाल ‘कमल’, मञ्जु काँचुली, कृष्ण गौतम, गोविन्दराज विनोदी, हेमाङ्गराज अधिकारी, गोविन्दराज भट्टराई, व्रतराज आचार्य, कुलप्रसाद कोइराला, गोपाल भण्डारी, रेवतीरमण लाल, वनमाली निराकार, कविराज न्यौपाने, हरि अधिकारी, ध्रुव सापकोटा, सनत रेग्मी, भक्तबहादुर बलायर, देवेन्द्रप्रताप शाह, देवीप्रसाद वनवासी, रामानन्द आचार्य, मिठाराम विश्वकर्मा, गायत्री श्रेष्ठ र ज्ञानुवाकर पौडेल रहनुभएको छ । राणाकालीन पुस्तकालय पर्वको स्मरण गर्दै मनाइने लेखक दिवसले साहित्य जगत्मा महत्वपूर्ण स्थान राख्दछ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

