काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको सभ्यतालाई विश्वसामु उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ मा खुसी व्यक्त गर्नुभएको छ। मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित यस सम्मेलनको तयारीबारे बालुवाटारमा आयोजित परामर्श सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपाली पहिचानको जग भएको बताउनुभयो।
प्रधानमन्त्री ओलीले हिमवत्खण्डलाई ज्ञान, योग र दर्शनको उद्गमस्थलको रूपमा चित्रण गर्दै यस क्षेत्रमा त्रेतायुगदेखि नै औषधि विज्ञानको आविष्कार भएको स्मरण गराउनुभयो। उहाँले हिमवत्खण्डको यस गौरवमय इतिहासलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनुभयो।
वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाले सम्मिलनको आयोजना गौरवको विषय भएको बताउँदै यसको भव्य सफलताको कामना गर्नुभयो। सभाका सभापति प्रा. केशव सुवेदीले सम्मिलनले हिमवत्खण्डको गौरवमय परम्परालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले सम्मिलनको औचित्यबारे प्रकाश पार्दै, कोषाध्यक्ष फूलमान वलले २०७५ मा काठमाडौँमा भएको पहिलो सम्मिलनको स्मरण गर्नुभयो। उहाँले मौलिक संस्कृतिको खोज, संरक्षण र संवर्धन, हिमवत्खण्डका नेपाली भाषी स्रष्टाहरूको पुनर्मिलन र हिमवत्खण्डको गौरवलाई उँचो बनाउनु सम्मिलनका प्रमुख उद्देश्य रहेको बताउनुभयो।
अन्तर्राष्ट्रिय सम्पर्क समितिका संयोजक शशी लुमुम्बूले आगामी चैत १ देखि ३ गते (२०२५ मार्च १४ देखि १६) सम्म काठमाडौँमा हुने सम्मिलनमा नेपालसहित भारत, चीन, बंगलादेश, म्यान्मार, भुटान, थाइल्यान्डलगायत देशका सयभन्दा बढी साहित्यकार तथा कलाकारहरूको सहभागिता रहने जानकारी दिनुभयो। उहाँले देशका सातै प्रदेशबाट लोकसंस्कृतिविद् र कलाकारहरूको सहभागिता रहने र विभिन्न सत्रमा नेपाली लोकसंस्कृति, हिमवत्खण्डका भाषा, साहित्यलगायत विषयमा बहस तथा सांस्कृतिक प्रस्तुति हुने बताउनुभयो।
सांस्कृतिक समितिका संयोजक अशोककुमार राईले बृहत् सांस्कृतिक उत्सव र त्यसमा प्रस्तुत हुने सांस्कृतिक विषयवस्तुबारे जानकारी गराउनुभयो। सम्मिलनमा प्रधानमन्त्री ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङको समेत उपस्थिति रहने जानकारी दिइएको छ।
सभाको सञ्चालन कलाकार दिनेश डिसीले गर्नुभएको थियो। परामर्श सभामा नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिहरू, बुढानिलकण्ठ र काठमाडौँ महानगरपालिकाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१४ असार २०८३, आईतवार 








