काठमाडौँ । पहिचान पुरस्कार कोषले यस वर्ष कवि बैरागी काइलालाई ‘पहिचान सम्मान’ तथा स्रष्टा गणेश कुमार राई ‘गीलु रातोस’लाई ‘पहिचान युवा सम्मान’ प्रदान गरेको छ ।
कोषका अध्यक्ष नरेश काङमाङ र साहित्यकार खगेन्द्र संग्रौलाले संयुक्त रूपमा काइलालाई नगद रु. ५ लाख २ हजार २ रुपैयाँ, ताम्रपत्र र मेडल प्रदान गर्नुभयो भने राईलाई नगद रु. ५० हजार २ सय २ रुपैयाँसहित ताम्रपत्र र मेडल प्रदान गरिएको थियो । समारोहमा नछुङ मविन्द्र राईले सम्मानित स्रष्टाहरूको मुन्दुमी विधिबाट ‘सारेम्मा’ सम्पन्न गर्नुभएको थियो ।
गत वर्ष ‘पहिचान पुरस्कार’बाट पुरस्कृत लेखक राजु स्याङतान अघिल्लो समारोहमा उपस्थित हुन नसकेको कारण यसपटक उहाँलाई पनि पुरस्कार हस्तान्तरण गरिएको थियो ।
सम्मान ग्रहणपछि कवि बैरागी काइलाले पहिचानको मूल आधार मातृभाषा भएको उल्लेख गर्दै भाषा र संस्कृतिको संरक्षण र उत्थानका लागि स्वयं सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । साहित्यकार खगेन्द्र संग्रौलाले सत्ता विरुद्ध सत्य बोल्ने साहस र प्रतिरोधी चेतनासहित कविता लेख्ने स्रष्टाका रूपमा काइलाको विशेषता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कोषका अध्यक्ष नरेश काङमाङले लेखकहरू श्रम शोषणको मारमा परेको उल्लेख गर्दै उनीहरूको श्रमको सम्मान गरिनुपर्नेमा जोड दिनुभयो ।
यसअघि कोषले लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालाई ‘पहिचान सम्मान’ प्रदान गरिसकेको छ । त्यस्तै राजन मुकारुङको फेरिँदो सौन्दर्य, अर्जुन खालिङको गोयङको सुगन्ध, यज्ञशको भुइया, उन्मुक्त पुस्ताको आफर, सरस्वती प्रतीक्षाको नथिया, श्याम शाहको पथेर, अनन्त वाग्लेको कदम, कविता राईको गुरु, अर्जुन माबुहाङ र अमित थेवेकाे सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट, प्रगती राईकाे थाङ्ग्रा, प्रकाश गुरागाईंकाे जङ्क्सन पिपलबोट नयाँ सडकको कथा, राजु स्याङ्तानको ओ पेङ्दोर्जेलाई पहिचान पुरस्कार प्रदान गरिसकेको छ ।
कोषले चार वर्ष लगातार पहिचान पुरस्कार प्रदान गर्दै आएको छ भने हरेक पाँच वर्षमा पहिचान सम्मान प्रदान गर्दै आएको छ । यस वर्षदेखि ४० वर्षमुनिका स्रष्टालाई लक्षित ‘पहिचान युवा सम्मान’ औपचारिक रूपमा सुरु गरिएको कोषले जनाएको छ ।
बाघबजारस्थित होटल ताजमा आयोजित कार्यक्रमको सहजीकरण चन्द्र रानाहोछाले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










