काठमाडौँ । नेपाली लेखक संघले आख्यानकार ध्रुवचन्द्र गौतमलाई १ लाख रुपियाँ नगद राशी सहितको ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गर्ने भएको छ। संघले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख १६ गते मनाइने लेखक दिवसको अवसर पारेर उक्त पुरस्कार प्रदान गरिनेछ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे प्रमुख अतिथि रहनुहुनेछ।

वैशाख १६ गतेलाई लेखक दिवसका रूपमा मनाउने परम्परा राणाकालीन समयदेखि नै चल्दै आएको छ। राणाकालमा काठमाडौँका लेखक तथा बुद्धिजीवीहरूले पुस्तकालय स्थापना गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री भीम शमशेरले दण्डित गरेको घटनालाई पुस्तकालय पर्वका रूपमा चिनिन्छ। सोही घटनालाई स्मरण गर्दै यो दिवस मनाउने गरिएको हो। संघले २०८० सालदेखि औपचारिक रूपमा लेखक दिवस मनाउन थालेको हो ।

पुरस्कार वितरण कार्यक्रममा देशका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित ३० जना साहित्यकारहरूलाई मानार्थ सदस्यता प्रदान गरिनेछ। संघका अध्यक्ष वियोगी बुढाथोकीका अनुसार साहित्यकार बैरागी काइँला, ध्रुवचन्द्र गौतम, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुंगाना, नगेन्द्रराज शर्मा, बलदेव शर्मा मजगैँया, डा. बेन्जु शर्मा, तुलसी भट्टराई, केदारनाथ खनाल, भूपति ढकाल ‘कमल’, मञ्जु काँचुली, कृष्ण गौतम, गोविन्दराज विनोदी, हेमाङ्गराज अधिकारी, गोविन्दराज भट्टराई, व्रतराज आचार्य, कुलप्रसाद कोइराला, गोपाल भण्डारी, रेवतीरमण लाल, वनमाली निराकार, कविराज न्यौपाने, हरि अधिकारी, ध्रुव सापकोटा, सनत रेग्मी, भक्तबहादुर बलायर, देवेन्द्रप्रताप शाह, देवीप्रसाद वनवासी, रामानन्द आचार्य, मिठाराम विश्वकर्मा, गायत्री श्रेष्ठ र ज्ञानुवाकर पौडेललाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय भएको छ। यो कार्यक्रम साहित्य क्षेत्रको लागि महत्वपूर्ण मानिएको छ।