काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले आज बागबजारस्थित हार्दिक होटलमा एक कार्यक्रम आयोजना गरी दुई सर्जकलाई सम्मान गर्दै वरिष्ठ साहित्यकार बैरागी काइलाको अभिनन्दन ग्रन्थ विमोचन गरेको छ।

प्रतिष्ठानले हरेक वर्ष नेपाली भाषा साहित्य र कलामा उल्लेखनीय योगदान पुर्‍याउने सर्जकहरूलाई सम्मान र पुरस्कृत गर्दै आएको छ। यस वर्ष ताप्लेजुङ निवासी राजेश्वर थापालाई सम्मान र सिक्किम निवासी सन्ध्या सिङजाङगो सुब्बालाई पुरस्कृत गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति बैरागी काइलाले थापालाई सम्मानपत्रसहित रु. ५० हजार नगद र कार्यक्रमका सभापति टंक वनेमले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। सुब्बालाई सम्मानपत्रसहित रु. १ लाख नगद पुरस्कार प्रदान गरिएको थियो।

काइलाले सम्मानित र पुरस्कृत सर्जकहरूलाई शुभकामना दिँदै पुरस्कृत सर्जक सुब्बाको उपनाम ‘सिङजाङगो’ को बारेमा चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, ”नेपालीमा धसिङघरे अर्थ लाग्ने भए पनि लिम्बु भाषामा सिङजाङगोको अर्थ मगमगाइरहने फूल हो। छोटो समयमै लेखनमार्फत सुब्बा मगमगाइरहनुभएको छ।”

दुई वर्षअघि धरानमा प्रतिष्ठानबाट आफू अभिनन्दित हुँदाको स्मरण गर्दै उहाँले भन्नुभयो, ”नागरिक अभिनन्दनको निम्ति म योग्य थिएँ कि थिइनँ, उहाँहरूले योग्य सम्झेर सम्मान दिनुभयो। यसको निम्ति आभारी छु। हिसाब गर्दा पनि कविताको सङ्ख्या तीस जति होला। उमेर धेरै भए पनि काम त्यति धेरै गरेको छैन जस्तो लाग्छ।” उहाँले तेस्रो आयामको कुरा उठाउँदै भन्नुभयो, ‘कविता लेख्दा गाली खाइयो, तर जसको आलोचना हुन्छ ऊ स्थापित हुँदो रहेछ। अहिले पनि केही नेताहरू आलोचित हुँदै स्थापित हुँदैछन्। हाम्रो तेस्रो आयामलाई स्थापित गर्न समालोचक अभि सुवेदीको ठूलो हात छ।”

बैरागी काइला नागरिक अभिनन्दन ग्रन्थका सम्पादक संयोजक प्रदिप मेन्याङबोले काइलाको बारेमा लेख्न जो कोहीले आँट नगर्ने बताउँदै ग्रन्थ तयार गर्न धेरै दुःख गरेको बताउनुभयो।

पुरस्कृत सर्जक सुब्बाले काइलाबाट सम्मान पाउँदा खुसी व्यक्त गर्दै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो। उहाँले काइलाबाट एघार वटा मुन्धुमको पुस्तक अनुवाद गर्ने अनुमति पाएको बताउनुभयो।

सम्मानित सर्जक थापाले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै आफूले कहिल्यै सम्मानको अपेक्षा नगरी लेखेको बताउनुभयो। उहाँले लेखक तथा अनुसन्धानकर्ताहरूको दुःख सुनाउँदै ताप्लेजुङका लिम्बूहरूको बारेमा किताब लेखिरहेको जानकारी दिनुभयो।

समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले बैरागी काइलालाई मुन्धुम र साहित्यका लागि पूर्वको मुक्कुमलुङ भएको बताउनुभयो। उहाँले अङ्ग्रेजीमा अनुवाद गरिएको काइलाका नेपाली कविताका प्रकाशोन्मुख किताब कार्यक्रमका सभापतिलाई हस्तान्तरण गर्नुभयो। समालोचक अभि सुवेदीले तेस्रो आयामेली चिन्तनको बारेमा चर्चा गर्नुभयो।

कार्यक्रमका सभापति टंक वनेमले बेलायत बसेर पनि नेपाली भाषा, कला र संस्कृतिलाई जोगाउन सर्जकहरूलाई प्रोत्साहन दिइरहेको बताउनुभयो। जिविकोपार्जनको लागि नेपालीहरू जुन जुन देश पुगेपनि नेपाली भाषा कला संस्कृति भुल्न नसक्ने बताउनुभयो ।

कार्यक्रमको सन्चालन शशी लुमुम्बुले गर्नुभएको थियो ।