नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न दिवसहरू मनाइँदै आएको सन्दर्भमा लामो समयदेखि नेपाली लेखकहरूका लागि राष्ट्रिय लेखक दिवस मनाउने आवश्यकताबोध गर्दै नेपाली लेखक संघले आउँदो वैशाख १६ देखि हरेक वर्ष राष्ट्रिय लेखक दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।

वि.सं. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवं बुद्धिजीवीहरूले हस्ताक्षर गरी श्री ३ भीम शमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवाहरूलाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन (वैशाख १६) लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको हो । यस दिनलाई नेपालको इतिहासमा पुस्तकालय पर्वका रूपमा पनि चिनिन्छ ।

यसै सन्दर्भमा नेपाली लेखक संघ केन्द्रीय समितिले १ लाख रूपैँया राशिको राष्ट्रिय लेखक पुरस्कारसमेत घोषणा गरेको छ । पहिलो पटक यस वर्षको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई अर्पण गरिने भएको छ । उक्त पुरस्कार राष्ट्रिय लेखक दिवसको अवसरमा अर्पण गरिने संघका महासचिव सोझो गाउँलेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।