२०८१ सालको ‘शम्भु-निर्मला विशिष्ट साधक सम्मान’ वरिष्ठ कवि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई (साहित्यतर्फ) र ‘शम्भु-निर्मला विशिष्ट साधक सम्मान’ वरिष्ठ गायक ईश्वर अमात्यलाई (गीतसङ्गीततर्फ) अर्पण गरिएको छ ।
स्रष्टा तथा वरिष्ठ गायक कीर्तिशेष शम्भुकुमार मिलनको चौथो वार्षिक स्मृति दिवसका अवसरमा प्रमुख आतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीबाट मिलनको तस्वीरमा माल्यार्पणगर्दै पानसमा दियो बालेर सूचना विभाग, सञ्चारग्राममा उक्त समारोहको शुभारम्भ गरिएको थियो ।
विशिष्ट अतिथि तथा प्रमुख वक्ता प्रा. जगत्प्रसाद उपाध्यायले सम्मानित व्यक्तित्वकहरूको बारेमा कृति, जीवनी र योगदान समेटेर प्रकाश पार्नुभएको थियो ।
सम्मानित व्यक्तित्व वैरागी काइँलाले मन्तव्यका क्रममा मिलनसहित उहाँका साहित्यिक र सांगीतिक दुई बृहत् क्षेत्रलाई अमरत्व दिन शम्भु-निर्मला कला साहित्य समाज अझै सक्रिय रहन सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो।
समारोहमा सभापति देवी नेपालले असल प्रतिभाको पहिचान गरेर शम्भुकुमार मिलनलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा पुर्याउने साहित्य साधक वैरागी काइँलालाई यसरी सम्मानित गर्न पाउनु गौरवको कुरा भएको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष टीका भण्डारीले मिलनको गजल “पथ्थरको मुटु बनाई तिमी अन्तै सरेपछि” तथा सम्मानित साङ्गीतिक व्यक्तित्व ईश्वर अमात्यले “रित्तिएछन् नयन मेरा” गाएर सुनाउनु भयो । अन्य वक्ताहरूमा डा. विष्णुविभु घिमिरे, मिलनपुत्र शैलेश रेग्मी, संस्थाका कोषाध्यक्ष सृजना रेग्मी लगायत रहनुभएको थियो ।
संस्थाका संरक्षक निर्मला रेग्मीले आ-आफ्ना क्षेत्रका शिखर व्यक्तित्वहरूले सम्मान ग्रहण गरिदिएर संस्थाको उचाइ अझ बढेको बताउँदै संस्थालाई अगाडि बढाउन दिलोज्यान लगाउने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिहरू प्रा. दिनेशराज पन्त, सुलोचना मानन्धर, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. भागवत ढकाल, प्रा. मोहन सिटौला, डा. घनश्याम खतिवडा, प्रा. ठाकुर शर्मा, प्रतीक ढकाल, वाग्मती प्रदेश सांसद मानानीय सुनिल केसी, श्रीहरी फुयाल, राधेश्याम लेकाली, सन्ध्या पहाडी, सुरेन उप्रेती, डा. टंकप्रसाद बाराकोटी, भरतजङ उप्रेती, रत्ननिधी रेग्मी, गीता कार्की, आलोक चालिसे लगायत साहित्यकारको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचीव कृष्ण पाण्डेबाट भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।