भगवती बस्नेतको कविताकृति “विश्वम्भरा”माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ, कास्कीको आयोजनामा बस्नेतको पछिल्लो कविताकृति “विश्वम्भरा”माथि विमर्श गरिएकाे हाे ।

वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा कवि भगवती बस्नेतको पुस्तकमाथि युवा कवि तारानाथ पराजुलीले परिचर्चा गरेका थिए । त्यसैगरी,  कविहरू शिव त्रिपाठी, शुभ शर्मा र निकेश गिरीले पुस्तकबाट एक एक थान कविता वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकार माधव वियोगी, नेपाली लेखक संघ गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारी र नेपाली लेखक संघ केन्द्रीय सचिव डा. गणेश शर्माले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै, स्रष्टा भगवती बस्नेतले लेखकीय मन्तव्य र प्रमुख अतिथि प्राज्ञ सरुभक्तले कवितामाथि महत्त्वपूर्ण विचार व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष कवि रीता अधिकारी ‘ऋतु’को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम संस्थाका सचिव प्राञ्जलले सञ्चालन गरेका थिए भने उपाध्यक्ष कमल पौडेल ‘अथक’ले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।