मन्दिरा मधुश्री

पोखरा, भदौ ३१ / आख्यान क्षेत्रमा उल्लेखनीय योगदान गरे बापत हरेक दुई वर्षमा प्रदान गरिने प्रेम शान्ति सम्मान तथा पुरस्कार कथाकार मन्दिरा मधुश्रीलाई प्रदान गरिने लमजुङ-पोखरा सम्पर्क समितिले जनाएको छ ।

साहित्यकार कल्याण पन्तको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय पुरस्कार छनोट समितिबाट नेपालभरका ओझेलमा परेका प्राप्त प्रतिभाहरू मध्येको नामबाट मधुश्री छनोटमा परेकी हुन् । पुरस्कार छनोट समितिका सदस्य दीपक समीप, विश्वलाल श्रेष्ठ, विपिन अधिकारी र अक्षयकोषदाता प्रेमकुमारी गुरुङको सिफारिसमा कथाकारलाई दस हजार रुपैयाँ र दोसल्ला ओढाइ सम्मान गरिनेछ । उक्त सम्मान पुरस्कार लमजुङ-पोखरा सम्पर्क समितिकी सल्लाहकार तथा समाजसेवी प्रेमकुमारी गुरुङले आफ्नो र दिवंगत भएकी आमा शान्ति गुरुङको नामबाट प्रेम शान्ति साहित्य सम्मान पुरस्कार स्थापना गरिएको हो ।

एक लाख २५ हजारको अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट हरेक दुई वर्षमा विशेषतः आख्यान क्षेत्रमा समर्पित व्यक्तित्वलाई सम्मान गरिनेछ । साहित्य सम्मान पुरस्कार वितरण कार्यक्रम असोज महिनाको ८ गते शनिबार पोखरामा सम्पन्न गरिने आयोजक लमजुङ-पोखरा सम्पर्क समितिका अध्यक्ष विपिन अधिकारीले जानकारी दिनु भएको छ ।