विष्णु भण्डारी आचार्य

“मालती मैले काम गरुन्जेल मेरो छेउमा आएर बसिदेउ न प्रिये, तिमी छेउमा बसिदिँदा मलाई काम गर्न मजा आउँछ ।”

उनीहरुको जोडी त खै के भनौँ ? उदाहरणीय । साह्रै उदाहरणीय । लैला मजनुजस्तो कि मुनामदनजस्तो ! कि के उपनाम दिऊँ ? जति दिएपनि थौरै हुन्छ । शब्दै पुग्दैन ।

विष्णु भण्डारी आचार्य

तिनीहरुको प्रेम देखेर डाहा नगर्ने थोरै हुन्थे होलान् । अनुकरण गर्न खोज्ने प्रशस्तै । साँच्चै भनौँ त अघिल्लो जन्ममा धेरै तपस्यापश्चात् भगवान् खुसी भएर जुराइदिएको जोडी पो हो कि ? व्यवहार हेर्दा लाग्थ्यो त्यस्तै ।

उमाकान्त आफ्नी स्वास्नीलाई छेउमा बोलाउँथे र भन्थे– “मालती मैले अलिकति अफिसको काम लिएर आएको छु । मैले काम गरुन्जेल तिमी मेरो छेउमा बसिदेऊ न प्रिये । तिमी छेउमा बसिदिँदा मलाई काम गर्न ज्यादै आनन्द आउँछ ।”

उनी थोरै लज्जावती झारझैँ बन्थिन् ।

आँखाको इसाराले बोलाउथे फेरि– “आउ न के प्रिये, आऊ न बस छेउमा ।”

मालती छेउमा आएर बसिदिन्थी, उमाकान्त आफ्नो काम गरिरहन्थे । मालतीले खाजा बनाएर ल्याउँथी, दुवै जनाले खान्थे सँगै । कहिले खाजाका बटुका साटिन्थे । साटीसाटी खानुपर्ने । जूठो समेत अमृतसरी हुने । कहिले चियाको कप एउटैले काम चल्थ्यो । पालैपालो खान्थे, हाँस्दै रमाउँदै ।
मालती आफ्नो लोग्नेलाई बोलाउँथी मायालु बोलीले– “मैले भात पकाउन्जेल भान्सामै आएर बसिदेऊन, प्राण । मेरो छेउमा बसिदिएर गफ गर्दै पकाउन मजा आउँछ । एक्लै बस्नुपर्दा मलाई अति शून्य लाग्छ । खै ! तिमी बिनाको संसार त म कल्पनासमेत गर्न सक्दिनँ ।” आँखा चिम्रा पार्दै मालती बोलाउँथी ।

“मलाई चैँ तिमीबिना दिन कटाउँला भन्ने छ त ?” मालती लक्षेप्रै देखिन्थी उमाकान्तको प्रेममा । डुबेकी थिई चुर्लुम्मै । शेष बाँकी थिएन । उमाकान्त पनि उसरी नै डुबेका थिए मालतीको प्रेममा ।

देख्नेहरु अड्कल काट्थे– यिनीहरु दुई जोइपोइ नभएर भरखर प्रेममा फस्न लागेका प्रेमीजोडी हुन् । छन पनि बिहे भएर सन्तान हुन्जेलसम्म उस्तै नयाँ, ताजा, रोमान्टिक प्रेम । यस्तो कस्को हुन सक्ला ?

हरेकबिहानीले ल्याउने ताजा उज्यालोजस्तै थियो दुई आत्माको मिलन । आत्मिक प्रेम ।

बोलीपिच्छे रोमान्स गरिरहनुपर्ने । ठट्टैठट्टा, हाँसो, उमङ्ग । एकैछिन पनि एउटालाई नदेख्दा अर्को छटपटिने । संसारको कुन चाहिँ भोगविलास, सुखसयल, धनदौलतले जित्न सक्ला ? धनदौलत भौतिक सुखसयलबिना पनि ढकमक्क फक्रिन सकेको प्रेम आहा ! संसारमा सबैको यस्तो होस् त, कोही मानव धनसम्पत्ति, सुखसयल र भोगविलासको पछि दगुर्थे होलान् र ! त्यस्तो थियो ती दुईबीचको प्रेम, सामीप्य, उर्वर भूमिमा फस्टाएको विरुवाझैँ ।

तिनीहरुको पेट पाल्ने बाटो सामान्य । स्कुलको सानो जागीर । स्कूलको शिक्षक भनेपछि तल्लै तह माने भयो । अरुको तुलनामा आर्थिक हिसाबले न फाल्टु भत्ता, आवास भत्ता । ती सब शून्य । महिना मरुन्जेल पर्खनै हम्मे पर्ने ।

“यसो ट्युसन–स्युसन पढाउने कोसिस गरे कसो हुन्थ्यो पृये ? अलिकति भरथेग त हुन्थ्यो होला केही नभए पनि । छोराको खाजा खर्च त टथ्र्यो होला,” मालतीले लोग्नेसँग नराखेको हैन यो कुरा ।

“अहिले ट्यूसन पढाउने एकसे एक टिचर निस्क्याछन् शहरमा । कोहीकोही त पेशै त्यही गरेर जीवन पाल्ने छन् । त्यसमा पनि आफू परियो नेपालीको टिचर । नेपाली टिचरसँग ट्युसन पढ्न आउने को हुन्छ र ?”

उमाकान्तले आनेकाने गरे । थामथुम पारे । कुरा अन्तै मोडेर पचाउँदै आएथे । आफ्नी रामप्यारी हृदयले पुजेकी देवीको कुरा कति मात्रै आलटाल गरेर पन्छाउँ ? कति आघात पुग्ला उनको हृदयमा ! के के मात्रै भनेर टारुँ ? अब उनले धर नपाउने नै भए । सोचे केही । अँहँ, काँ पाउनु ? के भनेर खोज्नु खोज्न पनि ! लाजैमर्दो । नेपाली विषय पढाउने आफू, कसरी ट्यूसन पढाउँछु भन्नु ? त्यसको बारेमा मुख बाउनै लाज लाग्छ । भन्नै सकेनन् ।

“नेपालीको के महत्त्व ? आजकल हरेक कुरा अंग्रेजीमै चल्छ । नेपालीहरुले नेपाली भाषै बिर्सिने बेला भै सक्यो । मान्छेहरु अंग्रेजीमै बोल्ने, खाने, हिड्ने, अंग्रेजीमै सबथोक । अंग्रेजीबिना सास फेर्न, पाइला चाल्न समेत नसकिने भैसको । हुँदाहुँदा अब त अक्षरै नचिन्ने निरक्षरले समेत आधा अंग्रेजी मिसाएर बोल्न थालिसके । अंग्रेजी बोल्दा आफूलाई टाठोबाठो सम्झिन्छन् मान्छेहरु । नेपाली भाषा अब त जँड्याहाले प्रयोग गर्ने शब्द ककटेलझैँ भैसक्यो । कुन नेपाली कुन अरु छुट्याउनै गाह्रो । यही क्रम बढ्दै गएमा केही पछि त नेपाली शब्द प्रयोग गर्न नेपाली शब्दकोश पल्टाउनु पर्ने हुनेछ। नेपाली शब्दहरु शब्दकोशमै मात्र सीमित नरहला भन्न सकिन्न ।”

उमाकान्तलाई अप्ठ्यारो महसुस भैसक्यो । ट्युसन नपढाऊँ त आफ्नी रामप्यारीको अनुरोधलाई नकारेजस्तो हुने । पढाउँ त खै कसलाई ? को आउँछ नेपाली पढ्न ?

एकपटक उनले आफ्ना एकजना हितैषीमित्रसँग लर्कासर्कामा कुरा गरेकाथे । भनेकाथे सङ्कोचाउँदै, “मलाई पनि ट्युसन पढाउन खुब रहर लाग्छ तर आफू परियो नेपालीको टिचर ।”

नभन्दै मित्रले कुरो बुझेछन् क्यार ! एक दिन उमाकान्तसँग आएर भने– “उमाकान्तजी ! तपाईं ट्यूसन पढाउने रहर गर्नुहुन्थ्यो । एकजना कपडा पसलेकी छोरी पढ्छिन अरे, विचरी ! बोर्डिङ टु बोर्डिङ पढेकी हुन् । नेपालीमा निकै कमजोर रछिन् क्यार ! अरु विषयमा राम्रो नम्बर ल्याएर पास गर्छिन रे, नेपालीमा चैँ उत्तीर्णाङ्क नै आउन पनि मुस्किल हुन्छ भनेर साहुजीले नेपाली ट्यूसन पढाउन भेटेदेखि ट्यूसन हालिदिन्थे छोरीलाई भनेकाले मैले तपाईंलाई सम्झेँ ।

“साहुजी परे, दिन्छन् महिनाको एक हजार त !”

“मैले कुरा गरिदिएको छु । भोलि बिहानदेखि आउलिन् तिनी ।”

उमाकान्तलाई लाग्यो – एक जनामात्रै….?

नपढाउनु पढाउनुपरेपछि दुई चार जना अरु पनि भा हुन्थ्यो । ठिकै छ त, त्यही पनि ! नभेट्नु भन्दा त एक जनालाई नै पढाउन पाए पनि सन्तोष नै मान्नुप¥यो । यति भा पनि आफ्नी मालतीलाई खुसी थप्न पाइने भो । आनेकाने गर्ने, के के भनेर टार्नुपर्ने अवस्था त आउँदैन ।

उमाकान्तले आजदेखि ट्यूसन पढाउन थाल्छु भनेकाले मालतीको मन फुरुङ्ग भो खुसीले । कल्पना गरी– “आहा, यो पैसाले छोराको दैनिक खाजाखर्च आधाउधि त टर्छ केही नभए पनि । उसले कल्पनाको सुन्दर डोरी बाटी ।

श्रेया ट्यूसन पढ्न आई बिहान आठ बजेतिर ।

उसको फेसन एकदम आधुनिक छ । टाइट जिन्स पाइन्टमाथि स्लीभलेस भेष लगाएकी, अगाडिको बुलबुले छोटो कपालले निधार आधि छोपिएको, बाँकी आधा कपाल पछाडि छाडेकी । के के लगाकी हो के के, चम्किलो र आकर्षक कपाल, छुँदै खुन चुहुलान् जस्ता राता राता गाला, आँखाको कोषमा गाजल लाएर होला ठूला ठूला चम्किला देखिने, तेजस्वी मुहार, बोलीमा स्टायल छ, बङ्ग्याएर बोल्छे ।

ऊ अत्तरको बास्ना हरर पार्दै आई । सरासर ।

“ए नानी तिमी नै हौ ट्यूसन पढ्न आकी ?” हेर्दै भने उमाकान्तले ।

“हजुर हो त ! ओ, तपाईं नै हो उमाकान्त सर ?” उसको बोली गैरनेपाली जस्तो लाग्थ्यो ?

“हो त, ल बस भित्र ।”

“ओ.के. । कता बसौँ ?” आँखाको इशाराले बस्ने ठाउँ कता प्रश्न गरी ।

कस्तो शिष्टता बिनाकी केटी ! नमस्कारसमेत भनिन, उमाकान्तले गमे आफैँ मनमा ।

श्रेयालाई भित्र बस्न भने । देखाए बस्ने ठाउँतिर इशारा गर्दै हातले । उसले आफ्नो आँखाको आधाभाग छोपिएको कपाल टाउको झड्काएर मिलाई । कपाल पञ्छियो । ऊ बसी । नेपाली किताब निकाली ।

पढाउन शुरु गर्नुप-यो । सोचे, “कहाँबाट शुरु गरम्….?”

सोच्दै भने श्रेयालाई – “ल तिमीलाई के आउँदैन भन ।”

उसले सोचेझैँ गरी एकछिन । भनी मुख बङ्ग्याउदै– “अँ … ग्रामर र अरु पनि आउँदैन ।”

“ग्रामर हैन नानी, व्याकरण भन न । ग्रामर त अंग्रेजीमा पो भनिन्छ त !” उमाकान्तले थोरै हास्दै भने, “अनि अरु के के आउँदैन ?”

“अँ… त्यो के भन्छ, कोइसन, यान्सर, एस्से, समथिङ्ग तेस्तै–तेस्तै ।”

“फेरि अंग्रेजी…?” उमाकान्तले दिक्दारीको भाका निकाले ।

“ओच…, सरी सर !” उसले दाहिने हत्केलो चेप्टो पारेर निधारमा छुवाई ।”

“कोइसन यान्सर हैन प्रश्न उत्तर, अनि एस्से हैन निबन्ध ।”

“यस यस सर, तेही भन्न खोजेको मैले त !”

“लौ सकिएन ….,” लेग्रो ताने उमाकान्तले ।

सोचे मनमनै धिक्कारे अंग्रेजीलाई, “हे अंग्रेजी, तैँले बिगारिस नेपाली जिब्रोलाई । तैले संसारलाई पेलेर आफ्नो पारामा लाने भइस् । धर्म तेरै, भाषा तेरै, लवाई तेरै । हरेक कुरा तेरै । तेरो कारणले मान्छेले आफ्नो संस्कृति बिर्सिसके, संस्कार बिर्सिसके । आफ्नोपन भन्ने सबकुरा बिर्सिसके । तैँले नगर्ने बदमास गरिस् । कसरी सुधारौँ नेपाली जिब्रोलाई…!”

उमाकान्तले फेरि हाँस्दै भने, “नेपाली विषयमा त नेपाली नै शब्द प्रयोग गर्नुपर्छ है नानी ! नत्र यस्तै हो भने नेपाली सिँकिदैन ।”

“सरी सर ! आइ विल ट्राई !” उमाकान्तको हाँसो ऐले झन चर्कियो । जोडसँग हाँसे ।

मालती भान्साकोठामा भात पकाइरहेकी थिई । अघि नै एकचोटि हेरेर गकी, उमाकान्त हाँसेको सुनेर फेरि आई हेर्न । हेरी शंकालु आँखाले । सोची– आफ्नो लोग्ने म भात पकाउँदा मेरो छेउमा आएर बस्थ्यो, कति मिठामिठा गफ हुन्थे, हामीबीच । आज त ऊ यसरी त्यो तरुनी केटीसँग, उसका अगाडि हाँस्दै छ । म नभए एकछिन पनि कहीँ नअड्ने मान्छे, यो तरुनीको अगाडि दुई घण्टा भो बसेको ।

ईर्ष्यामिश्रित नजर फाली उनीहरुतिर तर केही बोलिन । दुख्यो कताकता मालतीलाई भित्र, सोला हान्यो चसक्क ।

उमाकान्त यसअघि कुनै आइमाई या तरुनी कसैको अगाडि सम्मुख पारेर यसरी बोलेको सुनेकी थिइन मालतीले । अब ऐले आएर दुई घण्टासम्म त्यही केटीसँग हाँस्छ, बोल्छ । “हेर न, तिनेरको बसाईको दूरी एक मिटर पनि छैन,” मालतीको मनमा जलन भो अझ धेरै ।
०००

श्रेया उसरी नै ट्युसन पढ्न आउँथी । जान्थी पढेर । उसका पहिरन दिनका दिन फेरिइरहन्थे ।

श्रेयाले यो चोटी त झन् खैरो रङको पातलो भेस्ट लगाएकी थिई । पातलो भएकाले होला भित्रका आकार प्रकार स्पष्ट देखिन्थे। कम्मरमुनि चाहिँ घुँडाभन्दा माथिमाथि सम्मको कालो टाइट मेडी लगाकी खुट्टा पिँडुला सेतासेता टल्केका थिए । मालतीले भान्साकोठाको ढोकाछेउबाट चिहाई । देखी, श्रेयाको त्यो रुप र पहिरन ।

उनको मनमा हुण्डरी ल्याइदियो । “हेर न कस्तो भअर आकी ! तेल्लाई ट्युसन पढ्न आउँदा पनि खुब काहीँ नभएको फेसन देखाउनु पर्ने ! त्यो बसेकी छे त्यस्ती, अगाडि आफ्नो लोग्ने बसेको छ । त्यस तरुनीको तुलनामा म कति कमजोर छु । तेस्का तेस्ता छुँदै खुन चुहुलान् जस्ता झरिला गाला, अनुहार । मेरो चैँ रस निकालेर फालेको निबुवाजस्तो, फोस्रिएर धर्का धर्का परेको अनुहार !

क्रमैसँग उसले कपाल दाँजी । कहाँ तेस्को त्यो सलक्क परेको चिल्लो न चिल्लो सलसलाउदो, कहाँ आफ्नो भने डढेलोले भेटेको जंगलको खरुकी जस्तो । पछाडि लगेर एउटा लावरले टुपुक्क बाँधेकी छु ।

कहाँ त्यो अंग्रेजी बोल्ने अंग्रेजी स्कुल पढेकी, कहाँ आफू गाउँको स्कुलाँ नौ पढेर छोडेकी । नेपाली अक्षर कनीकुथी पढ्नसमेत मुस्किल पर्ने !

मालतीको जलन झन् झन् बढ्न थाल्यो । भित्रभित्र डाहा हुन थाल्यो । पोल्न थाल्यो पूरै शरीर ।

श्रेया दिनका दिन आइरहन्छे, उमाकान्तको अगाडि बस्छे, कुरा गर्छे, बोल्छे स्टायल पारीपारी । मुख बङ्ग्याई बङ्ग्याई, दुई घण्टासम्म बसेर जान्छे, त्यो रुप देखाएर ।

मालती पटक्कै खान रुचाउन छोडी । कति कर गर्दा पनि खाएझैं गर्छे, त्यत्तिकै छाड्छे, निन्द्रा पनि पर्दैन उस्तो । कहिले अधारातमा ब्यूँझन्छे । शरीर कमजोर हुन थाल्यो । कमजोर भएपछि रोगले पनि ठाउँ पायो । कति मात्रै अस्पताल, उपचार, ओखतमूलो गर्नु ? पैसा जुटाउने कसरी ? उमाकान्तलाई अत्यास लाग्न थाल्यो ।

अघि उतिसारो बिरामी नहुने मालती, अब त हप्तैपिच्छे जस्तो बिरामी पर्न थाली ।

मालती औषधी खाँदैओर्दै पनि भात पकाउँछे । लोग्नेले अफिस जानुपर्छ, छोरालाई स्कूल पढ्न पठाउनै परो । नसकेर पनि त भएन ! पकाउनै परिगो ।

भात पकाउँदै गर्दा ऊ कल्पना गर्छे – “अब यो कोठामा त्यो श्रेया हुनेछे, यी मैले चलाउने गरेको मालतालमा उसको अधिकार हुनेछ । उमाकान्तसँग मिठामिठा गफ गर्दै यही भान्साकोठामा भात खानेछे, त्यही पनि यिनै थालबटुकामा । उमाकान्तसँग खाजाका बटुका साटीसाटी खानेछे, एउटै कपमा तिनीहरुले चिया खानेछन् । अनि ओछ्यानमा… मेरो ठाउँमा ऊ… ।”

यस्ता नमिठा कल्पना गर्दागर्दै ऊ एक्कासि ढली, मूर्छा परी । थाहा पाउँदा ऊ अस्पतालको बेडमा छे । सबै अङ्गको भिडियो एक्स–रे भइसक्या हो अघिल्लो चोटि नै । डाक्टरले ब्लड कल्चर लेखिदियो । रिपोर्ट हे¥यो, केही देखिदैन । बिराम केही देखा नपरेपछि ग्यास्टिकको औषधी लेखिदियो ।

मालती पहिलाकी त्यस्ती फरासिली जहिले पनि हाँसीमजाक गरिरहनु पर्ने उसलाई । ठट्टा गरिरहनुपर्ने । अब त उसका ओठमा मुस्कान हराउन थाले । अनुहार चेहरा फिक्का हुँदै जान थाल्यो । त्यति बोल्दिन । हाँसीमजाक र ठट्टा त परैको कुरा ! सोधेको कुरा समेत भन्न अल्छी गर्छे । उराठिलो अनुहार परिरहन्छे, सुख्खा मरुभूमिझैं । आफ्नो छेउमा आउन पनि त्यति मन गर्दिन । टाढिन्छे, लोग्नेको परपर बस्न रुचाउँछे ।

साटिन छोडे अब खाजाका बटुका । अनि भिन्नाभिन्नै हुन थाले चियाका कप पनि ।

उमाकान्तलाई नरमाइलो लाग्न थाल्यो अब । उमाकान्तले मायालु बोलीले बोलाए एकचोटि, “मालती, मालती प्रिये ।”
परैबाट बोली ऊ, “किन बोलाउनु भएको?” विरक्तिदो भावको बोली निस्कियो उसको मुखबाट ।

“तिमी यहाँ आएर मेरो छेउमा बसिदेऊ न । म मेरो काम गर्छु” ।

उही विरक्तिएको स्वर आयो, “भ्याउँदिन म… कोठा साफ गर्दैछु…।”

“ऐले एकछिनमा गर्नु नि के, आऊ न !”

“भ्याउँदिन काम धेरै छ,” यति भनेर पन्छिन खोजी ।

“आऊ न आऊ,” कर गरेर बोलाए अझै ।

मालतीले पुक्लुक्क हेरी उमाकान्तपट्टि फेरि दृष्टि पन्छाई अन्यत्रै । आफ्नै सुरमा काममै अलमलिइरही । चासो देखाइन लोग्नेको छेउमा आउन ।

विरक्तलाग्दा दिनहरु बित्न थाले । भित्र घाम लाग्न छोड्यो । प्रेमको फूलबारी उजाडिन थाल्यो । फुलका रङ फिक्का फिक्का हुन थाले । प्रेम बिनाको सुख्खा मरुभूमिझैँ दैनिकी हुँदै गयो ।

हुन छाडे प्रेमपूर्ण बाचचित, करकापको बोलीले काम चल्न थाल्यो । ओछ्यान उस्तै बिरसिलो ! एउटै छ ओछ्यान तर गफ निस्कन छोडे, जोइपोई सँगै सुतेका छन् तर एकअर्काको शरीर छोइएलाझैँ गरी । ओछ्यानको ओल्लोछेउ पल्लोछेउ ।

अति भो, मन बहकिन थाल्यो कता कता । हावामै बतासिन थाल्यो मन । कुनै कुराको सीमा हुँदोरहेछ सीमा नाघेपछि…।

“के भयो ? कुन तत्त्वले फाटो ल्याइदियो हाम्रो प्रेममा । कुन चिज बाधक बनेर आइदियो ?” उमाकान्तलाई अन्यौल भो ।

“अलिक ओर आउन प्रिय, किन तेती पर सुतेकी ?” ओछ्यानको डिलमा अर्कोतिर फर्केर सुतेकी मालतीलाई उमाकान्तले बोलाए ।

ऊ डगमगाइन । उही प्रकारमा उसरी नै सुतिरही । उमाकान्त आफैँ सरेर नजिकै गए । “तिमी किन रिसाएकी जस्ती छ्यौ प्रिये, के भयो ? किन यसरी विरक्तिएकी? म बाट के भुल भयो? भन न, म केही पनि बुझ्न सकिरहेको छुइन । भन न ।”

उमाकान्तले धेरै चोटि सोधेपछि मालतीको मुखबाट उसरी नै विरक्तिएको आवाज निक्ल्यो, “को… रिसाएको छ र…., छैन…. रिसाएको ?”

“अनि किन त तेस्तो व्यवहार देखाइरहन्छेउ ? म बाट कुनै विलम्ब हुन गएको भए, मौका देऊ मलाई । के हो तेस्तो ?”

उमाकान्तले सम्झने हर प्रयार गरे । घडीको काँटाझैँ आफ्नो मनको काँटा घुमाए । आफूले उनको हृदयमा चोट पुग्ने कुनै काम गरियो कि ।
अन्जानमा केही भनियो त ?

जति सम्झिन प्रयास गरे पनि असफल भए उनी । यादमा आएन त्यस्तो कुनै कुरा ।

कति मात्रै फकाउनु, के के मात्रै भनेर अनुरोध गर्नु, बोली नै निस्केन मालतीको मुखबाट । धेरैबेर सम्म बाटो हेरे, उमाकान्त आजित भए ।

निकैबेरको प्रतीक्षापछि बल्ल बोली निस्क्यो, मालतीको मुखबाट– “के अझै ऊ आउँछे त ?”

 

बेलबारी, मोरङ