विष्णु भण्डारी आचार्य

“हान हान ठोक ठोक” कतै जाँदै गरेको म , बाटामा थिएँ , चोकमा मान्छेको भिडभाड ,खैलाबैला सुनेँ । मेरा जोडी आँखा झ्वाट्टै त्यतातिर तानिए ।
दुईजनाबीच घमासान यूद्ध भइरहेको थियो । तमासा हेर्न जम्मा भएका जमात कोही कपट्टी, भिड्न अझ उक्साइरहेका, कोही खतिर लागेर उक्साइरहेका । बल दिनेहरू ‘दे दे, हानहान, ठोकठोक’पछि नहट गरिरहेका देखिन्थ्यो ।

एकछिन रमिते बनेर हेरिहेँ म । भिड्ने दुवै पक्षकाहरू चोटैचोट रगताम्य भएका थिए । तर दुखाइको परवाह नगरी भिड्ने भिडी नै रहे, उकास्ने उकासी नै रहेका थिए ।

कति भिडून्, चोट पनि लाग्यो, लखतरान भएर थाके दुवै । सम्झौता गर्ने निष्कर्षमा पुगी मैदान छोडेर बाटो लाग्ने तरखर गर्न थाले ।

छेउछेउमा उकास्ने त्यत्रो भीड पनि सल्याङ्गबल्याङ्ग गर्दै बाटो लागे । त्यहीँभित्रबाट आवाज आयो ।

यत्रोबेरको कसरत टुङ्गोमा त पुग्नु । न जित न हार, हिम्मत नभएका हुतिहाराहरू ।