“मालती मैले काम गरुन्जेल मेरो छेउमा आएर बसिदेऊन प्रिये, तिमीछेउमा बसिदिँदा मलाई काम गर्न मजा आउँछ ।”

उनीहरूको जोडी त खै के भनौँ?

उदाहरणीय । साह्रै उदाहरणीय ।

लैला मजनुजस्तो कि मुनामदनजस्तो ।

कि के उपनाम दिऊँ । जति दिए पनि थौरै हुन्छ । शब्दै पुग्दैन ।

तिनीहरूको प्रेम देखेर डाहा नगर्ने थोरै हुन्थे होलान्, अनुकरण गर्न खोज्न प्रशस्तै । साँच्चै भनौँ त अघिल्लो जन्ममा धेरै तपस्यापश्चात् भगवान् खुसी भएर जुराइदिएको जोडी पो हो व्यवहार हेर्दा लाग्थ्यो त्यस्तै ।

उमाकान्त आफ्नी स्वास्नीलाई छेउमा बोलाउँथे र भन्थे- “मालती मैले अलिकति अफिसको काम लिएर आएको छु, मैले काम गरुन्जेल तिमी मेरो छेउमा बसिदेऊ न प्रिये । तिमीछेउमा बसिदिँदा मलाई काम गर्न ज्यादै आनन्द आउँछ ।

उनी थोरै लज्जावती झारझैँ बन्थिन् ।

आँखाको इसाराले बोलाउँथे फेरि- “आऊ न के प्रिये, आऊ न बस छेउमा ।”

मालती छेउमा आएर बसिदिन्थी, उमाकान्त आफ्नो काम गरिरहन्थे, मालतीले खाजा बनाएर ल्याउँथी, दुवै जनाले खान्थे सँगै । कहिले खाजाका बटुका साटिन्थे । साटीसाटी खानुपर्ने । जुठो समेत अमृतसरि हुने । कहिले चियाको कप एउटैले काम चल्थ्यो । पालैपालो खान्थे हाँस्दै रमाउँदै ।

विष्णु भण्डारी आचार्य

मालती आफ्नो लोग्नेलाई बोलाउँथी मायालु बोलीले- “मैले भात पकाउन्जेल भान्सामै आएर बसिदेऊ न प्राण । मेरो छेउमा बसिदिएर गफ गर्दै पकाउन मजा आउँछ । एक्लै बस्नुपर्दा मलाई अति शून्य लाग्छ । खै ! तिमीविनाको संसार त म कल्पना समेत गर्न सक्दिनँ ।” आँखा चिम्रा पार्दै मालती बोलाउँथी ।

“मलाई चैँ तिमीविना दिन कटाउँला भन्ने छ त ?” मालती लछेप्रै देखिन्थी उमाकान्तको प्रेममा । डुबेकी थिई चुर्लुम्मै । शेष बाँकी थिएन । उमाकान्त पनि उसरी नै डुबेका थिए मालतीको प्रेममा ।

देख्नेहरू अड्कल काट्थे- यिनीहरू दुई जोई-पोइ नभएर भर्खर प्रेममा फस्न लागेका प्रेमी जोडी हुन् । छन पनि बिहे भएर सन्तान हुन्जेलसम्म उस्तै नयाँ, ताजा, रोमान्टिक प्रेम । यस्तो कसको हुन सक्ला ?

हरेक बिहानीले ल्याउने ताजा उज्यालोजस्तै थियो दुई आत्माको मिलन । आत्मिक प्रेम ।

बोलीपिच्छे रोमान्स गरिरहनुपर्ने । ठट्टैठट्टा, हाँसो, उमङ्ग । एकैछिन पनि एउटालाई नदेख्दा अर्को छटपटिने । संसारको कुन चाहिँ भोगविलास, सुखसयल, धनदौलतले जित्न सक्ला भलै सक्तैन यस्तो प्रेमलाई । धनदौलत भौतिक सुखसयलविना पनि ढकमक्क फक्रिन सकेको प्रेम आहा ! संसारमा सबैको यस्तो होस् त, कोही मानव धनसम्पत्ति, सुखसयल र भोगविलासको पछि दगुर्थे होलान् र ! त्यस्तो थियो ती दुईबिचको प्रेम, सामीप्य, उर्वर भूमिमा फस्टाएको बिरुवाझैँ ।

तिनीहरूको पेट पाल्ने बाटो सामान्य । स्कुलको सानो जागिर । स्कुलको शिक्षक भनेपछि तल्लै तह माने भयो अरूको तुलनामाा आर्थिक हिसाबले न फाल्टु भत्ता, आवास भत्ता । ती सब शून्य । महिना मरुन्जेल पर्खनै हम्मे पर्ने ।

“यसो ट्युसनस्युसन पढाउने कोसिस गरे कसो हुन्थ्यो प्रिये ? अलिकति भरथेग त हुन्थ्यो होला केही नभए पनि । छोराको खाजा खर्च त टर्थ्यो होला ।” मालतीले आफ्नो लोग्नेसँग नराखेको हैन यो कुरा ।

“अहिले ट्युसन पढाउने एकसे एक टिचर निस्केका छन् सहरमा । कोही-कोही त पेसै त्यही गरेर जीवन पाल्ने छन् त्यसमा पनि आफू परियो नेपालीको टिचर, नेपाली टिचरसँग ट्युसन पढ्न आउने को हुन्छ र?”

उमाकान्तले आनेकाने गरे । थामथुम पारे । कुरा अन्तै मोडेर पचाउँदै आएका थे । आफ्नी रामप्यारी हृदयले पुजेकी देवीको कुरा कति मात्रै आलटाल गरेर पन्छाऊँ कति आघात पुग्ला उनको हृदयमा । के-के मात्रै भनेर टारूँ, अब उनले धर नपाउने नै भए । सोचे केही । अँ हँ, काँ पाउनु ? के भनेर खोज्नु खोज्न पनि लाजै मर्दो । नेपाली विषय पढाउने आफू, कसरी ट्युसन पढाउँछु भन्नु । त्यसका बारेमा मुख बाउ नै लाज लाग्छ । भन्नै सकेनन् ।

“नेपालीको के महत्त्व ? आजकल हरेक कुरा अङ्ग्रेजीमै चल्छ । नेपालीहरूले नेपाली भासै बिर्सिने बेला भइसक्यो । मान्छेहरू अङ्ग्रेजीमै बोल्ने, खाने, हिँड्ने, अङ्ग्रेजीमै सबथोक । अङ्ग्रेजीविना सास फेर्न, पाइला चाल्न समेत नसकिने भैसको । हुँदा-हुँदा अब त अक्षरै नचिन्ने निरक्षरले समेत आधा अङ्ग्रेजी मिसाएर बोल्न थालिसके । अङ्ग्रेजी बोल्दा आफूलाई टाठोबाठो सम्झिन्छन् मान्छेहरू । नेपाली भाषा अब त जँड्याहाले प्रयोग गर्ने शब्द ककटेलझैँ भइसक्यो । कुन नेपाली कुन अरू छुट्याउनै गाह्रो । यही क्रम बढ्दै गएमा केही पछि त नेपाली शब्द प्रयोग गर्न नेपाली शब्दकोश पल्टाउनुपर्ने हुनेछ । नेपाली शब्दहरू शब्दकोशमै मात्र सीमित नरहला भन्न सकिन्न ।”

उमाकान्तलाई अप्ठ्यारो महसुस भइसक्यो । ट्युसन नपढाऊँ त आफ्नी रामप्यारीको अनुरोधलाई नकारेजस्तो हुने । पढाऊँ त खै कसलाई ? को आउँछ नेपाली पढ्न, एकपटक उनले आफ्ना एक जना हितैसी मित्रसँग लर्कासर्कामा कुरा गरेका थे । भनेका थे सङ्कोचाउँदै “मलाई पनि ट्युसन पढाउन खुब रहर लाग्छ तर आफू परियो नेपालीको टिचर ।”

नभन्दै मित्रले कुरो बुझेछन् क्यार । एक दिन उमाकान्तसँग आएर भने- “उमाकान्त जी ! तपाईँ ट्युसन पढाउने रहर गर्नुहुन्थ्यो । एक जना कपडा पसलेकी छोरी पढ्छिन् अरे, बिचरी ! बोर्डिङ टु बोर्डिङ पढेकी हुन् । नेपालीमा निकै कमजोर रछिन् क्यार । अरू विषयमा राम्रो नम्बर ल्याएर पास गर्छिन् रे, नेपालीमा चैँ पासमार्क नै आउन पनि मुस्किल हुन्छ भनेर साहूजीले नेपाली ट्युसन पढाउन भेटेदेखि ट्युसन हालिदिन्थे छोरीलाई भनेकाले मैले तपाईँलाई सम्झेँ । “साहूजी परे, दिन्छन् महिनाको एक हजार त ।”

“मैले कुरा गरिदिएको छु । भोलि बिहानदेखि आउलिन् तिनी ।”

उमाकान्तलाई लाग्यो – एक जनामात्रै….?” “नपढाउनु पढाउनु परेपछि दुई चार जना अरू पनि भा हुन्थ्यो ।” ठिकै छ त, त्यही पनि । नभेट्नु भन्दा त एक जनालाई नै पढाउन पाए पनि सन्तोष नै मान्नुपर्‍यो । यति भा पनि आफ्नी मालतीलाई खुसी थप्न पाइने भो । आनेकानेक गर्ने, के-के भनेर टार्नुपर्ने अवस्था त आउँदैन ।

उमाकान्तले आजदेखि ट्युसन पढाउन थाल्छु भनेकाले मालतीको मन फुरुङ्ग भो खुसीले । कल्पना गरी- “अहा, यो पैसाले छोराको दैनिक खाजाखर्च आधाउधी त टर्छ केही नभए पनि । कल्पनाको सुन्दर डोरी बाटी ।

श्रेया ट्युसन पढ्न आई बिहान आठ बजेतिर ।

उसको फेसन एकदम आधुनिक छ । टाइट जिन्स पाइन्टमाथि स्लिभलेस भेस लगाएकी, अगाडिको बुलबुले छोटो कपालले निधार आधी छोपिएको, बाँकी आधा कपाल पछाडि छाडेकी । के-के लगाएकी हो के-के, चम्किलो र आकर्षक कपाल, छुँदै खुन चुहुलान् जस्ता राता-राता गाला, आँखाको कोषमा गाजल लाएर होला ठुला-ठुला चम्किला देखिने, तेजस्वी मुहार, बोलीमा स्टायल छ, बङ्ग्याएर बोल्छे ।

ऊ अत्तरको बास्ना हरर पार्दै आई । सरासर ।

“ए नानी तिमी नै हौ ट्युसन पढ्न आएकी ?” हेर्दै भने उमाकान्तले ।

“हजुर हो त ! ओ, तपाईँ नै हो उमाकान्त सर ?”

उसको बोली गैर नेपाली जस्तो लाग्थ्यो ?

“हो त, ल बसभित्र”

“ओ.के.कता बसौँ ?” आँखाको इसाराले बस्ने ठाउँ कता प्रश्न गरी ।

कस्तो शिष्टताविनाकी केटी, नमस्कार समेत भनिन, उमाकान्तले गमे आफैँ मनमा ।

श्रेयालाई भित्र बस्न भने । देखाए बस्ने ठाउँतिर इसारा गर्दै हातले । उसले आफ्नो आँखाको आधाभाग छोपिएको कपाल टाउको झड्काएर मिलाई, कपाल पन्छियो । ऊ बसी । नेपाली किताब निकाली ।

पढाउन सुरु गर्नुपर्‍यो । सोचे – “कहाँबाट सुरु गरम्….?”

सोच्दै भने श्रेयालाई – “ल तिमीलाई के आउँदैन भन ।”

उसले सोचेझैँ गरी एकछिन । भनी मुख बङ्ग्याउदै- “अँ ……… ग्रामर र अरू पनि आउँदैन ।”

“ग्रामर हैन नानी, व्याकरण भन न । ग्रामर त अङ्ग्रेजी मा पो भनिन्छ त” उमाकान्तले थोरै हाँस्दै भने ।

“अनि अरू के-के आउँदैन ?”

“अँ… त्यो के भन्छ, कोइसन, यान्सर, एस से, समथिङ्ग त्यस्तै-त्यस्तै”

“फेरि अङ्ग्रेजी……?“ उमाकान्तले फिस्स हाँस्दै दिक्दारीको भाका निकाले ।”

“ओच…, सरी सर !” उसले दाहिने हत्केलो चेप्टो पारेर निधारमा छुवाई ।

“कोइसन यान्सर हैन प्रश्न-उत्तर, अनि एससे हैन निबन्ध ।”

“यास यास सर, त्यही भन्न खोजेको मैले त !”

“लौ सकिएन …… ।” लेग्रो ताने उमाकान्तले ।

सोचेँ । मनमनै धिक्कारे अङ्ग्रेजीलाई – “हे अङ्ग्रेजी तैँले बिगारिस् नेपाली जिब्रालाई । तैँले संसारलाई पेलेर आफ्नो पारामा लाने भइस्, धर्म तेरै, भाषा तेरै, लवाई तेरै । हरेक कुरा तेरै । तेरो कारणले मान्छेले आफ्नो कल्चर बिर्सिसके, संस्कार बिर्सिए । आफ्नोपन भन्ने सब कुरा बिर्सिसके । तैँले नगर्ने बदमास गरिस् । कसरी सुधारौँ नेपाली जिब्रालाई….”

उमाकान्तले फेरि हाँस्दै भने “नेपाली विषयमा त नेपाली नै शब्द प्रयोग गर्नुपर्छ है नानी ! नत्र यस्तै हो भने नेपाली सिकिँदैन ।”

“सरी सर ! आइयाम मिस्टक, आई विल ट्राई ।”

उमाकान्तको हाँसो अहिले झन् चर्कियो । जोडसँग हाँसे ।

मालती भान्साकोठामा भात पकाइरहेकी थिई । अघि नै एकचोटि हेरेर गएकी, उमाकान्त हाँसेको सुनेर फेरि आई हेर्न । हेरी शङ्कालु आँखाले । सोची- आफ्नो लोग्ने म भात पकाउँदा मेरो छेउमा आएर बस्थ्यो, कति मिठा-मिठा गफ हुन्थे हामीबिच । आज त ऊ यसरी त्यो तरुनी केटीसँग, उसका अगाडि हाँस्दै छ । म नभए एकछिन पनि कहीँ नअड्ने मान्छे, यो तरुनीको अगाडि दुई घण्टा भो बसेको ।

ईर्ष्यामिश्रित नजर, फाली उनीहरूतिर तर केही बोलिनँ । दुख्यो कता-कता मालतीलाई भित्र सोला हान्यो चसक्क ।

उमाकान्त यसअघि कुनै आइमाई होस् या तरुनी कसैको अगाडि सम्मुख पारेर यसरी बोलेको सुनेकी थिइन् मालतीले, अब अहिले आएर दुई घण्टासम्म त्यही केटीसँग हाँस्छ, बोल्छ । “हेर न, तिनेरको बसाइको दूरी एक मिटर पनि छैन ।” मालतीको मनमा जलन भो अझ धेरै ।

ट्युसन पढाइ सकेर अफिस तयार भए, जानुपऱ्यो पढाउन कलेज ।

श्रेया उसरी नै ट्युसन पढ्न आउँथी । जान्थी पढेर । उसका पहिरन दिनका दिन फेरिइरहन्थे ।

श्रेयाले योचोटि त झन् खैरो रङ्गको पातलो भेस्ट लगाकी, पातलो भएकाले होला भित्रका आकारप्रकार स्पष्ट देखिन्थे । कम्मरमुनि चाहिँ घुँडाभन्दा माथि-माथिसम्मको कालो टाइट मेडी लगाकी खुट्टा पिँडुला सेता-सेता टल्केला । मालतीले भान्साकोठाको ढोकाछेउबाट चिहाई । देखी, श्रेयाको त्यो रूप र पहिरन ।

उनको मनमा हुन्डरी ल्याइदियो । “हेर न कस्तो भअर आकी । तेल्लाई ट्युसन पढ्न आउँदा पनि खुब काहीँ नभएको फेसन देखाउनुपर्ने । त्यो बसेकी छे त्यस्ती, अगाडि आफ्नो लोग्ने बसेको छ । त्यस तरुनीको तुलनामा म कति कमजोर छु । त्यसको त्यस्ता छुँदै खुन चुहुलान् जस्ता झरिला गाला, अनुहार । मेरो चैँ रस निकालेर फालेको निबुवाजस्तो, फोस्रिएर धर्का-धर्का परेको अनुहार । त्यसको कपालसँग दाँजी आफ्नो । कहाँ त्यसको त्यो सलक्क परेको चिल्लो न चिल्लो सलसलाउँदो, कहाँ आफ्नो भने डडेलाले भेटेको जङ्गलको खरुकीजस्तो । पछाडि लगेर एउटा लावरले टुपुक्क बाँधेकी छु ।

कहाँ त्यो अङ्ग्रेजी बोल्ने अङ्ग्रेजी स्कुल पढेकी, कहाँ आफू गाउँको स्कुलमा नौ पढेर छोडेकी । नेपाली अक्षर कनीकुथी पढ्न समेत मुस्किल पर्ने ।

मालतीको जलन झन्‌-झन् बढ्न थाल्यो, भित्र-भित्र डाह हुन थाल्यो । पोल्न थाल्यो पूरै शरीर ।

श्रेया दिनकादिन आइरहन्छे, उमाकान्तको अगाडि बस्छे, कुरा गर्छे, बोल्छे स्टायल पारी-पारी । मुख बङ्ग्याई बङ्ग्याई, दुईघण्टासम्म बसेर जान्छे, त्यो रूप देखाएर ।

मालती पटक्कै खान रुचाउन छोडी । कति कर गर्दा पनि खाएझैँ गर्छे, त्यत्तिकै छाड्छे, निद्रा पनि पर्दैन उसको । कहिले अधारातमा ब्युँझन्छे । शरीर कमजोर हुन थाल्यो । कमजोर भएपछि रोगले पनि ठाउँ पायो । कति मात्रै अस्पताल, उपचार, ओखतीमुलो गर्नु । पैसा जुटाउने कसरी ? उमाकान्तलाई अत्यास लाग्न थाल्यो ।

अघि उति सारो बिरामी नहुने मालती, अब त हप्तैपिच्छे जस्तो बिरामी पर्न थाली ।

मालती औषधि खाँदै ओर्दै पनि भात पकाउँछे । लोग्नेले अफिस जानुपर्छ, छोरालाई स्कुल पढ्न पठाउनैपऱ्यो । नसकेर पनि त भएन । पकाउनैपरिगो ।

भात पकाउँदै गर्दा ऊ कल्पना गर्छे – “अब यो कोठामा त्यो श्रेया हुनेछे, यी मैले चलाउने गरेको मालतालमा उसको अधिकार हुनेछ । उमाकान्तसँग मिठा-मिठा गफ गर्दै यही भान्साकोठामा भात खानेछे, त्यही पनि यिनै थालबटुकामा ।

उमाकान्तसँग खाजाका बटुका साटी-साटी खानेछे, एउटै कपमा तिनीहरूले चिया खानेछन् । अनि ओछ्यानमा….. मेरो ठाउँमा ऊ …. ।”

यस्ता नमिठा कल्पना गर्दागर्दै ऊ एक्कासि ढली, मूर्च्छा परी । थाहा पाउँदा ऊ अस्पतालको बेडमा छे । सबै अङ्गको भिडियो एक्स-रे भइसक्या हो अघिल्लो चोटि नै । डाक्टरले ब्लड कल्चर लेखिदियो । रिपोर्ट हेर्‍यो केही देँखिदैन । विराम केही देखा नपरेपछि ग्यास्ट्रिककको औषधि लेखिदियो । पठायो ।

मालती पहिलाकी त्यस्ती फरासिली जहिले पनि हाँसीमजाक गरिरहनुपर्ने उसलाई । ठट्टा गरिरहनुपर्ने । अब त उसका ओठमा मुस्कान हराउन थाले । अनुहार चेहरा फिक्का हुँदै जान थाल्यो । त्यति बोल्दिन । हाँसीमजाक र ठट्टा त परैको कुरा । सोधेको कुरा समेत भन्न अल्छी गर्छे । उराठिलो अनुहार परिरहन्छे, सुक्खा मरुभूमिझैँ । आफ्नो छेउमा आउन पनि त्यति मन गर्दिन । टाढिन्छे, लोग्नेको परपर बस्न रुचाउँछे ।

साटिन छोडे अब खाजाका बटुका । अनि भिन्नाभिन्नै हुन थाले चियाका कप पनि । प्रेमको सुन्दर फूलबारीमा खडेरीको सङ्केत देखा पर्न थाल्यो ।

उमाकान्तलाई नरमाइलो लाग्न थाल्यो अब ।

उमाकान्तले मायालु बोलीले बोलाए एकचोटि “मालती, मालती प्रिये” परैबाट बोली ऊ “किन बोलाउनुभएको?” बिरक्तिँदो भावको बोली निस्कियो उसको मुखबाट ।

“तिमी यहाँ आएर मेरो छेउमा बसिदेऊ न । म मेरो काम गर्छु” ।

उही बिरक्तिएको स्वर “भ्याउँदिनँ…. कोठा साफ गर्दै छु…. ।”

“अहिले एकछिनमा गर्नू नि के, आऊ न ।”

“भ्याउँदिनँ काम धेरै छ ।” यति भनेर पन्छिन खोजी ।

“आऊ न आऊ” कर गरेर बोलाए अझै ।

मालतीले पुक्लुक्क हेरी उमाकान्तपट्टि फेरि दृष्टि पन्छाई अन्यत्रै । आफ्नै सुरमा काममै अलमलिइरही । चासो देखाइन लोग्नेको छेउमा आउन ।

विरक्त लाग्दा दिनहरू बित्न थाले । भित्र घाम लाग्न छोड्यो । प्रेमको फूलबारी उजाडिन थाल्यो । फूलका रङ्ग फिक्का-फिक्का हुन थाले । प्रेमविनाको सुक्खा मरुभूमिझैँ दैनिकी हुँदै गयो ।

हुन छाडे प्रेमपूर्ण बाचचित, करकापको बोलीले काम चल्न थाल्यो । ओछ्यान उस्तै बिरसिलो । एउटै छ ओछ्यान तर गफ निस्किन छोडे, जोईपोइ सँगै सुतेका छन् तर एकअर्काको शरीर छोइएलाझैँ गरी । ओछ्यानको ओल्लो छेउ र पल्लो छेउ ।

अति भो, मन बहकिन थाल्यो कता कता । हावामै बतासिन थाल्यो मन । कुनै कुराको सीमा हट्दो रहेछ सीमा नाघेपछि …………

“के भयो, कुन तत्त्वले फाटो ल्याइदियो हाम्रो प्रेममा । कुन चिज बाधक बनेर आइदियो ?” उमाकान्तलाई अन्योल भो ।

“अलिक ओर आऊ न प्रिय, किन त्यति पर सुतेकी?”

ओछ्यानको डिलमा अर्कातिर फर्केर सुतेकी मालतीलाई उमाकान्तले बोलाए ।

ऊ डगमगाइन । उही प्रकारमा उसरी नै सुतिरही । उमाकान्त आफैँ सरेर नजिकै गए ।

“तिमी किन रिसाएकी जस्ती छ्यौ प्रिये, के भयो ?

किन यसरी बिरक्तिएकी? मबाट के भूल भयो? भन न, म केही पनि बुझ्न सकिरहेको छैनँ । भन ।”

उमाकान्तले धेरैचोटि सोधेपछि मालतीको मुखबाट उसरी नै बिरक्तिएको आवाज निक्ल्यो, “को… रिसाएको छ र….! छैन…. रिसाएको ?”

“अनि किन त त्यस्तो व्यवहार देखाइरहन्छ्यौ ? मबाट कुनै विलम्ब हुन गएको भए मौका देऊ मलाई । के हो यस्तो ?”

उमाकान्तले सम्झने हर प्रयार गरे । घडीको काँटाझैँ आफ्नो मनको काँटा घुमाए । आफूले उनको हृदयमा चोट पुग्ने कुनै काम गरियो कि ।

“अन्जानमा केही भनियो त ?”

जति सम्झिन प्रयास गरे पनि असफल भए उनी । यादमा आएन त्यस्तो कुनै कुरा ।

कति मात्रै फकाउनु, के-के मात्रै भनेर अनुरोध गर्नु, बोली नै निस्केन मालतीको मुखबाट ।

धेरै बेरसम्म बाटो हेरे, उमाकान्त आजित भए ।

निकै बेरको प्रतीक्षापछि बल्ल बोली निस्क्यो मालतीको मुखबाट- “के अझै ऊ आउँछे त ?”