विष्णु भण्डारी आचार्य

“ए, साँच्ची त… तपाईंले सुगरको औषधी खानुभो ?

म पनि कस्तो सुद्दी हराकी भएछु हुन पनि । सधैँ त खाना पस्किदै गर्दा सम्झिन्थेँ, आज चैँ भुसुक्कै बिर्सेँछु ।”

खाना खादैगर्दा बीचैमा सम्झेर मीराले सुझाइन् बिमललाई ।

“हे….होस् है, कहिलेकाहीँ त नखाँदा नि केही फरक पर्दैन ।”

“लु हेर त्यसो भनेर कहाँ हुन्छ ! खानू,” दोहोर्याइन् मीराले ।

बिमलले झिँजो मान्दै उठे र औषधी ल्याएर खाए ।

औषधी खानुपर्दा हरेक पटक यसरी नै झिँजो मान्ने गर्छन् बिमल । औषधी पनि निकैओटा छन्, सुगरको, प्रेसरको, बिहानै ग्याष्टिकको खानुपर्छ, ती पनि हाइपावरका । यी जम्मै औषधी खान मीराले सम्झाइरहन्छिन् । अघिल्लो हप्ता जँचाउन जाँदा कोलेष्ट्रोलको मात्रा बढेको छ पनि भनेको छ डाक्टरले ।

“ए मनिषाका बुबा, तपाईं अरुबेला जताजता गएनि खाने बेलामा चैँ घरै आउनुपर्छ है, औषधी खानै बिर्सिनुहुन्छ, खानामै परहेज मिल्दैन, जे ते खान मिल्दैन, कतिओटा रोगले गाँजेको छ छ, आफ्नो शरीरको ख्यालै गर्नुन्न ।”

“अँ,अँ, हो तैँलेइ मात्तै जानेकीछस् यस्ता कुरा, हामीले केही जानेको छैन,” आँखा कोप्रा पार्दै झर्किए सदाझैँ बिमल ।

एकदिनको कुरो, बिमल खुट्टा लर्बराउँदै घर आए ।

“रामरामराम तपाईंले आज पनि पिएर आउनुभो हैन ? हेर त खुट्टै भुइँमा टेकिएका छैनन् । लौ नसक्ने भएँ मैले त !”

पहिला जस्तो होइन अब त, नपिई दिनोस्न, यति धेरै रोगले गाँजिसक्याछ । कत्ति भन्नु ! कसरी सक्नु !” उनी दिक्दारिनसम्म दिक्दारिइन् ।

बिमलले आँखा राताराता पार्दै आफ्ना असन्तोष ओकल्न थाले, “हैन, यो सबै तैँले कमाकी होस् हँ… ? किचकिच गर्याछ गर्याछ । तैँले जहिल्यै मेरो इच्छा, मेरो स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने ? लौजा आजदेखि यी तेरै सामुन्ने खाइदिन्छु ।”

गोजीमा भको चेप्टे बोतलको घट्घट् पारे फेरि । झोलाबाट निकालेर रसवरीको बट्टा देखाउँदै भने, ”यी यो मेरो भोलिको खाजा हो देखिस् किचकिचे आइमाई ?”

बिमल स्वास्नीसँग बाझेर घरबाट हिँडेको चार दिन भकोथ्यो, पाँचौँ दिनको बिहान एक्कासि एकजना महिला एक जना पुरुषसहित दुईजना प्रहरी जवानहरु आए घरमा ।

आफ्नो घरमा यसरी एक्कासि प्रहरी आएको देख्दा मीरा झसङ्ग भइन् ।

हन के हो यो ? किन प्रहरी घरमा…? कतै श्रीमानलाई केही त भएन ? प्रश्नवाचक अनुहारले हेरिन् उनीहरुलाई ।

मीरालाई सोधियो, “यो बिमल कार्कीको घर हैन ?”

“हो किन र ?”

“मीरा कार्की को हो ? ”

“मै हुँ किन ?”

“तपाईं उहाँकी श्रीमती हो ?”

“हो किन र ?”

“ल हिड्नोस् तपाईं हामीसँग,” महिला प्रहरीले मीराको हात समातिन् हतकडी लाउन ।

“हैन किन… ?”

“तपाइँको नाममा पक्राउपुर्जी आको छ, तपाईंको श्रीमानले तपाईंविरुद्ध मुद्दा हालेकोछ पुरूष हिंसा भयो भनेर ।”

बेलबारी, मोरङ