झाओ वेई चिनियाँ मनोरञ्जन उद्योगमा दुई दशकदेखि लोकप्रिय अभिनेत्रीका रुपमा कार्यरत थिइन् । उनलाई हलिउडको रिजी विदरस्पुनसँग पनि दाँज्न सकिन्छ किनभने अभिनय मात्र होइन, उनले आफूलाई करोडपति व्यापारीका रुपमा पनि स्थापित गरिन् ।
उनले पुरस्कृत फिल्म निर्देशन गरिन् । पप गायिकाका रुपमा लाखौँ गीतिएल्बम बिक्री गरिन् । सामाजिक सञ्जाल वेइबो (चिनियाँ ट्वीटर)मा उनलाई पछ्याउनेहरुको संख्या ८६ मिलियन छन् । उनले चिनियाँ प्रविधि कम्पनीहरुमा मात्र होइन, मनोरञ्जन उद्योगमा पनि उनको राम्रै लगानी छ ।
१६ सेप्टेम्बरमा उनका बारेमा चिनियाँ इन्टरनेटमा खोज्दा केही पनि देखाएन । देशकै सबैभन्दा लोकप्रिय स्टार रातारात इन्टरनेटबाट गायब भइन् । उनका बारेमाभिडियो स्ट्रिमिङ साइटमा खोज्दा पनि केही भेटिदैन, मात्र खाली ठाउँ देखिन्छ । उनको लोकप्रिय टेलिभिजन शृंखला माई फेयर प्रिन्सेस भिडियो स्ट्रिमिङबाट हटाइएको छ ।
इन्टरनेटबाट झाओ गायब हुनु गएको अगस्त २६ मा कम्युनिस्ट पार्टीले गरेको व्यापक निर्णयको प्रभाव रहेको केहीको धारणा छ । सेलिब्रिटी संस्कृति देशका लागि हानि भएको बुझाइसँगै सरकारले उनको लोकप्रिय सबै चिजहरुमा अंकुश लगाइएको छ ।
‘कम्युनिस्ट पार्टीले सेलिब्रिटी संस्कृतिलाई कुन हदसम्म नियन्त्रण गर्न सक्छ भन्ने उदाहरण झाओ वेईको गायबीलाई लिन सकिन्छ,’ युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाका चिनियाँ फिल्म तथा राजनीतिका विशेषज्ञ प्राध्यापक स्टान्ली रोजेनले टिप्पणी गर्दै भने, ‘पार्टीभन्दा यहाँ कोही पनि ठूलो छैन, चाहे त्यो जतिसुकै धनी वा लोकप्रिय किन नहोस् भन्ने प्रमाणित गरिएको छ ।’
झाओको घटनापछि अब देशभरिका सेलिब्रिटीहरु आतंकित हुने, सचेत रहने र राज्यको लक्ष्यलाई सघाउने किसिमको गतिविधिमा देखिने उनको आँकलन छ ।
गएको बुधबारबाट अभिनेत्री झाओका भिडियोहरु हेर्न नमिल्ने भएपछि उनको टिप्पणीका लागि गरिएका प्रयास असफल रहे । उनी अहिले कहाँ छिन्, कसैलाई पनि थाहा छैन । उनी बेइजिङमा आफ्ना अभिभावकसँग रहेको भिडियो सामाजिक सञ्जालमा देखिएको केही समयमै गायब पारिएको थियो ।
अहिले उनको नाममा जुनसुकै फ्यान पेज खोलिए पनि स्वतः हराउने गर्छ ।
यसअघि देशका अन्य चर्चित सेलिब्रिटीहरुलाई झैँ झाओलाई पनि कर छलीको आशंकामा सरकारले सोधपुछ गरेको थियो ।
गएको महिनादेखि चिनियाँ कम्युनिस्ट पार्टीले सामाजिक सञ्जालहरुमा गरिने सबैजसो सेलिब्रिटीहरुको रयाङ्किङमा अंकुश लगाएको थियो । राजनीतिक तथा नैतिक स्तरमा नरहेका कलाकारहरुका खबर तथा उनीहरुसँग सम्बन्धित जानकारी प्रसारण नगर्न टेलिभिजनहरुलाई पार्टीले आदेश दिएको थियो । पार्टीले बालबालिकालाई टेलिभिजनमा निम्त्याउने, रियालिटी सो चलाउनेजस्ता मनोरञ्जनका कार्यक्रमलाई पहिलेदेखि नै आलोचना गर्दै आइरहेको थियो ।
सन् १९९८ मा अभिनयमा छिरेकी उनी माई फेयर प्रिन्सेस टेलिभिजन शृंखलाबाट चर्चामा आएकी थिइन् । उनले एक दशकअघि अर्बपति घरजग्गा व्यापारी हुआङ युलङसँग बिहे गरेकी थिइन् ।
बेलाबेलामा विवादमा आउने गरेकी उनलाई केहीले भने ताइवानको स्वतन्त्रताको पक्षपातीका रुपमा विवादित बनाउने गरेका थिए ।
पछि सरकारले यो दम्पतिलाई मुख्यभूमिका सेयर किनबेचमा प्रतिबन्ध लगाएको थियो । उनीहरुले मानिसहरुलाई भ्रमित पारेको आरोपमा पाँच वर्ष लगानी गर्न प्रतिबन्ध लगाइएको थियो ।
उनको गायबीपछि सरकारले पछिल्लो समय सेलिब्रिटीहरुप्रति चालेको यो कदम सही भएको भन्दै पत्रिकाका एक जना पूर्व सम्पादकको टिप्पणीमूलक लेखलाई सरकारी टेलिभिजनबाट व्यापक प्रचार प्रसार गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।