Chovar Blues Mobile Size

चीनिया ऐतिहासिक उपन्यास “रातो महलको सपना” को सामान्य परिचय

चीनिया ऐतिहासिक उपन्‍यास “रातो महलको सपना” को सामान्य परिचय
“रातो महलको सपना” (चीनिया भाषामा ‘होङ्-लउ-मङ्’) करिब २५० वर्ष पहिले चीनमा चीनिया हान् भाषामा लेखिएको एक प्रसिद्घ उपन्यास हो । नेपाली भाषामा पूर्ण अनुवाद गर्ने हो भने करिब २००० पृष्ठ हुने यस उपन्यास तात्कालिक चीनिया समाजका चार कुलीन भारदार परिवारको उत्थान र पतनलाई पृष्ठभूमि बनाई लेखिएको छ । उपन्यासमा नायक नायिकाको प्रेमकथाका साथै अरू धेरै घटनाहरू पनि समावेश गरिएको हुँदा यसलाई कतिपय विद्वानहरूले तात्कालिक चीनिया समाजको विश्वकोश पनि भन्ने गरेका छन् ।
चीनमा दुई हजार वर्षदेखि प्रमुख दार्शनिक विचार धाराको रूपमा रहेको कनफ्युसियसवाद (चीनिया भाषामा ‘रूचिया’) ले सामान्यतया मनोरञ्जनलाई महत्त्व दिदैन । कन्फ्युसियसवादले हरेक व्यक्ति (खास गरी पुरुषहरू) ले देश र समाजलाई उपयोगी हुने ज्ञानका पुस्तकहरूको अध्ययनको साथ कर्मकाण्ड, संगीत नृत्य, धनुर्विद्या, रथ चलाउने विद्या, सुलेखन र गणित, यी ६ वटा विषयको ज्ञानको र सीप सिक्न उत्प्रेरित गर्दछ, त्यही नै उनको मनोरञ्जनको विषय हुनु पर्दछ भन्‍ने मान्‍यता राख्‍दछ । कन्फ्युसियसवादको यस विचारको प्रत्यक्ष असर चीनिया साहित्यमा पनि परेको थियो, प्राचीन चीनिया साहित्यमा आफ्ना भावनाहरू (विशेष गरी दुःख पूर्ण भावनाहरू) अभिव्यक्त गर्न गीत−कविता विधा र विचारहरू अभिव्यक्त गर्न निबन्ध प्रबन्ध विधामात्र विकास भएको पाइन्छ । विशुध्द मनोरञ्जनका लागि लेखिने कथा उपन्यास विधा धेरैपछि, खास गरी थाङ् राजवंश (ई. ६१८-९०७) देखि मात्र विकास भएको पाइन्छ । चीनिया साहित्यको इतिहासमा मीङ् राजवंश (ई. १३६८-१६४४) र छीङ् राजवंशको (ई. १६३६-१९१२) समयमा मात्र कथा उपन्यास साहित्य पूर्ण विकसित अवस्थामा पुगेको थियो । यी दुई राजवंशको समयमा लेखिएका हजारौ कथा उपन्यास मध्ये चारवटा उपन्यास विशेष उल्लेखनीय मानिन्छ । “रातो महलको सपना” ती चारवटा उपन्यास मध्ये एक हो ।
“रातो महलको सपना” उपन्यासका लेखक छाओ स्य्वेछीन् (ई. १७१५-१७६३) हुन् । वहाँ राजपरिवारसंग निकट एक धनी शक्तिशाली परिवारमा जन्मिनु भएको थियो, वहाँको बाल्यकाल ठूलो धनी पारिवारिक वातावरणमा बितेको थियो, तर युवावस्थामा वहाँको धनी परिवारको पतन भएर वहाँ आर्थिक विपन्नताको अवस्थामा पुग्नु भयो । उपन्यासको प्रारम्भमा एक ठाउँमा “यी विवश निराश दिनहरूमा पुराना दिनहरू सम्झिंदै, एक्लोपनाको समयमा मेरा निश्छल भावनाहरूलाई व्यक्त गर्ने प्रयास गरी “रातो महलको सपना”को रचना गरें” भनी लेखिएको हुँदा केही विद्वानहरूले उक्त उपन्यास लेखकको आत्मकथामा आधारित हुन सक्ने बताएका छन् । उपन्यासमा भएका ४४० भन्दा बढी पात्रहरू मध्ये ५ दर्जन भन्दा बढी पात्रहरूको आन्तरिक विरोधाभास नहुने गरी सूक्ष्म चरित्रचित्रण गरिएको हुँदा लेखकले आफूले भोगेका, अनुभव गरेका कुराहरूलाई नै उपन्यासमा कलात्मक रूपमा उतारेका हुन् भन्ने भनाइलाई अरू बल मिल्दछ ।
उपन्यासको रचना भएर मुद्रित रूपमा प्रकाशन हुन अघि नै हातले लेखेर सारेर धेरै प्रति बनाई त्यसको बिक्री वितरणबाट प्रचार भइसकेको थियो । त्यसबेलादेखि अहिलेसम्म यस उपन्यासको आकर्षणमा कुनै कमी आएको छैन । धार्मिक पुस्तकहरू बाहेक लाखौं पाठकहरूले एक एक शब्द गरी बारम्बार पढ्ने गरेको साहित्यिक पुस्तक विश्वमा सायद यही मात्रै छ होला । “रातो महलको सपना” उपन्यासको अध्यययन अनुसन्धान गर्ने एउटा छुट्टै विषय नै बनेको छ, जसलाई चीनिया भाषामा ‘होङ्-स्य्वे’ भनिन्‍छ ।
यस उपन्यास चीनमा मात्र होइन विश्वका अन्य देशहरूमा चर्चित भएको छ । सय वर्षभन्दा पहिले नै यस उपन्यासको अंग्रेजी र फ्रेञ्च भाषामा अनुवाद भइसकेको थियो । अहिले विश्वका १३ भन्दा बढी भाषाहरूमा ५० भन्दा बढी पटक यसको सम्पूर्ण अथवा संक्षिप्त अनुवाद भइसकेको छ । यस उपन्यासको कुनै घटनाको आधारमा बनाइएका चलचित्रहरू दर्जनौं छन् भने, सम्पूर्ण उपन्‍यासलाई समेटेर अहिलेसम्म चार पटक धेरै खण्ड भएका टेलि श्रृङ्खलाहरू पनि निर्माण गरिएका छन् । तीमध्ये चीनको सिसिटिभीले सन् १९८७ मा निर्माण गरेको ३६ खण्ड भएको टेलिश्रृङ्खला सबैभन्दा लोकप्रिय रहेको छ ।

  “रातो महलको सपना” उपन्यासको प्रारम्भमा एउटा पौराणिक कथा जोडिएको छ । उक्त चीनिया पौराणिक कथा अनुसार एकपटक आकाशमा प्वाल परेर आकाशगंगा नदीको पानी पृथ्वीमा बग्न थालेछ । त्यो पानीले पृथ्वीलाई नै डुबाएर सम्पूर्ण मानवजातिकै विनाश हुन सक्ने देखेर मानवजातिकी माता न्य्वीवाः देवीले त्यो प्वाल टाल्नका लागि साधना गरी ३६ हजार ५ सय १ टुक्रा अलौकिक ढुङ्गा बनाउनु भएछ । ३६ हजार ५ सय टुक्रा अलौकिक ढुङ्गाबाटै आकाश टाल्ने कार्य सम्पन्न भएको हुँदा एक टुक्रा अलौकिक ढुङ्गा बाँकी रह्यो । न्य्वीवाः देवीले त्यसलाई त्यतिकै राख्नुभयो । त्यो अलौकिक ढुङ्गाले लामो समयसम्म घाम पानीमा रहेर सिद्धि प्राप्त गरेछ र त्यो आफै ठूलो, सानो, हलुका, गह्रौं जस्तो पनि बन्न सक्ने भएछ । त्यो अलौकिक ढुङ्गाले कुनै दिन मानव जगत्‌मा जन्म लिनजाने निधो गरेछ ।

एक दिन एक ताउ धर्मावलम्बी उहिले न्य्वीवाः देवीले आकाश टालेको ठाउँमा पुग्दा उनले त्यहाँको एउटा ढुङ्गामा केही लेखिएको देखे । नजिक गएर हेर्दा त त्यसमा एउटा लामो कथा नै लेखिएको रहेछ । त्यस ढुङ्गामा लेखिएको कथा हुनाले यसलाई ढुङ्गाको कथा (चीनिया भाषामा “श्‌र्‌थउचि”) पनि भन्ने गरिन्छ । यही कथालाई भेट्टाएर त्यसको गहन अध्ययन गरी, काँटछाँट गरी “रातो महलको सपना” उपन्यासको रचना गरेको हुँ भनेर लेखक छाओ स्य्वेछीन्‌ले लेख्नुभएको छ । यही नै “रातो महलको सपना” उपन्यासको अलौकिक उत्पतिको कथा हो । अब बल्ल “रातो महलको सपना” उपन्यासको कथाको प्रारम्भ हुन्छ ।

चीनको राजधानी पेइचीङ् शहरमा चिया थर भएका दुई दाजुभाइको साथ जोडिएका दुई महल थिए । ती दाजुभाइले आफ्नो ज्यानको परवाह नराखी नयाँ सम्राटलाई साम्राज्य स्थापना गर्न सैन्य सहयोग गरेको हुँदा सम्राट्ले उनीहरूलाई नीङ्-कुओ-कुङ् र रोङ्-कुओ-कुङ्को अति उच्च पदवी र बिर्ता जमीन र अन्य सुविधाहरू दिएर राखेका थिए । दाजु नीङ्-कुओ-कुङ्को महलको नाम नीङ्-कुओ-फू र भाइ रोङ्-कुओ-कुङ्को महलको नाम रोङ्-कुओ-फू थियो । ती दुई महललाई नै उपन्यासमा रातो महल भनिएको हो ।

नीङ्-कुओ-कुङ् र रोङ्-कुओ-कुङ् दुबै दाजुभाइको मृत्यु भइसकेको थियो । नीङ्-कुओ-कुङ्को छोराको पनि मृत्यु भइ सकेको हुँदा नाति चिया चिङ्ले पुर्ख्यौली पदवी पाएका थिए, तर उनलाई ताउ धर्ममा बढी नै अभिरुचि भएको कारणले आफ्नो पदवी छोरा चिया चन्‌लाई दिएर आफू घरबार छोडेर ताउ मन्दिरमा बस्न गएका थिए । यसरी अहिले नीङ्-कुओ-फूका चौथो पुस्ताका पनाति चिया चन् नीङ्-कुओ-फू महलका मालिक बनेका थिए । चिया चन्‌की एक बहिनी थिइन्, उनीको नाम चिया सीछुन् थियो ।

यता रोङ्-कुओ-फूमा रोङ्-कुओ-कुङ्का छोराको पनि मृत्यु भएको भए पनि बुहारी भने जिउँदै थिइन् । उनीको स्वास्थ्य एवं मनस्थिति पनि राम्रो थियो । उनी चिया परिवार जस्तै अर्को उच्च सरकारी पदवी प्राप्त नान्‌चीङ् शहरको श्‌र्‌ परिवारकी छोरीबेटी थिइन् । घरपरिवारमा उनीलाई सबैले “चिया माता” अथवा “बज्यै” भनेर सम्बोधन गर्दथे । चिया माताका दुई छोरा चिया श र चिया चङ् र एक छोरी चिया मीन् थिए । जेठा छोरा चिया शले बाजेको पुर्ख्यौली पदवी पाएका थिए । उनकी अहिलेकी श्रीमतीको थर सीङ् थियो, सबैले उनीलाई “सीङ् फूरेन्” भनेर सम्बोधन गर्दथे । चिया शकी पहिलेकी (अहिले मरिसकेकी) श्रीमतीबाट एक छोरा र एक छोरी थिए, छोराको नाम चिया लियान् र छोरीको नाम चिया यीङ्छुन् थियो ।

चिया माताका सानो छोरा चिया चङ्को विवाह अर्को उच्च सरकारी पदवी प्राप्त वाङ् थरका परिवारकी छोरीबेटीसंग भएको थियो । उनीलाई सबैले “वाङ् फूरेन्” भनेर सम्बोधन गर्दथे । वाङ् फूरेन्‌का तीन सन्तान थिए जेठो छोरोको बीस वर्ष नपुग्दै मृत्यु भएको थियो, उनको ली वान् नामकी केटीसंग विवाह भएर चिया लान् नामको एक छोरा पनि थियो । वाङ् फूरेन् की छोरीको नाम चिया य्वीयान्‌छुन् थियो, सुन्दरी एवं तीक्ष्ण बुद्धिकी भएर उनी सम्राट्को सेवाका लागि राजदरबारमा गएकी थिइन् । वाङ् फूरेन्‌का सबैभन्दा सानो छोरा, यस उपन्यासका प्रमुख नायक चिया पाओय्वि थिए । चिया पाओय्वि जन्मिंदा माथि उल्लेख भएको अलौकिक ढुङ्गा बहुरङ्गी जेडको रूपमा उनको मुख भित्र रहेको थियो । यस अद्‌भुत घटनाबाट विस्मित चिया परिवारले उनमा कुनै अलौकिक गुणहरू हुने विचार गरी उनको नाम पनि बहुमूल्य जेडको अर्थमा “पाओय्वि” राखेका थिए । जन्मेदेखि नै त्यो जेड राखेर माला बनाई उनलाई सधै लगाइ राख्न लगाएको थियो । पाओय्वि एक वर्षको हुँदा चीनिया चलन अनुसार उनको अगाडि कलम, कागत, पुस्तक, खेलौना आदि वस्तुहरू राखेर उनलाई टिप्न लगाउँदा उनले कलम कागत पुस्तक कुनै पनि नलिई केटीहरूको श्रृङ्गार साधन हातमा लिए । यो देखर उनका बाबु चिया चङ् यसले ठूलो भएपछि नचाहिने कुरा गरेर दुःख दिने भयो भनेर चिन्तित हुनुभयो र वहाँलाई आफ्नो त्यो छोरो मन पर्न छोड्यो ।

चिया चङ्को महलमा पहिले सेविकाको रूपमा रहेकी चाउ थरकी उपपत्नी चाउ यी नियाङ्बाट पनि एक छोरी र एक छोरा थियो । ठूली छोरीको नाम चिया थान्‌छुन् र सानो छोरोको नाम चिया हुवान् थियो । चीनको त्यो बेलाको चलन अनुसार मालिकको उपपत्नीबाट जन्मिएका सन्तानको हैसियत मालिक वर्गको हुने, तर उनीहरूका आमाको हैसियत चाहिं पछिसम्म पनि मालिक वर्गको नहुने हुन्थ्यो ।

चिया माताकी कान्छी छोरी चिया मीन्‌को विवाह नान्‌चीङ् नजिकैको सूचउ शहरका लीन् थर भएका एक सरकारी पदाधिकारीसंग भएको थियो । सानी छोरी लीन् ताइय्वि पाँच वर्षकी हुँदा उनकी आमा चिया मीन्‌को मृत्यु भयो । छोरी तीक्ष्ण बुद्धि भएकी भएर आमाबाबुले सानै उमेरमा लीन् ताइय्विलाई त्यहींका स्थानीय पढे लेखेका व्यक्ति चिया य्वीछुन्‌लाई नियुक्त गरी अक्षर चिन्ने बनाएका थिए ।

आफ्नी छोरीको अकाल मृत्यु भएको, ज्वाइँ पनि सरकारी पदाधिकारी भएर विभिन्न ठाउँहरूमा गइ रहनु पर्ने, घरमा नातिनीको हेरचाह गर्ने कोही नहोला भन्ने पीरले चिया माताले नातिनी लीन् ताइय्विलाई आफ्नो साथमा राखी हुर्काउने विचार गरी उनीलाई लिनका लागि जहाज पठाउनु भयो । पेइचीङ्देखि सूचउ नजिकैसम्म जहाज चलाउन मिल्ने ठूलो नहरको निर्माण त्यसबेला भइसकेको थियो । लीन् ताइय्वि पेइचीङ् जाने भएपछि उनीका अध्यापक चिया य्वीछुन्‌ले पनि पेइचीङ् गएर सरकारी सेवामा नियुक्त हुने इच्छा लीन् ताइय्विका बाबु समक्ष व्यक्त गरे । लीन् ताइय्विको बाबुले आफ्ना जेठान चिया चङ्लाई एक पत्र लेखी चिया य्वीछुन्‌लाई कुनै सरकारी पदमा नियुक्त गरिदिन अनुरोध गर्नुभयो र लीन् ताइय्विलाई लिन आएको जहाजमै राखी पेइचीङ् जान बिदाइ गर्नुभयो ।

चिया परिवारका सदस्यहरूको विवरण उपन्यासका विभिन्न ठाउँमा उल्लिखित छ र उपन्यासको संरचना अति जटिल छ, पाठकहरूलाई बुझ्न सजिलो होस् भन्ने उद्देश्यले पहिले नै चिया परिवारका सदस्यहरूको सम्बन्ध यहाँ प्रस्तुत गरिएको हो । उपन्यासको मूलकथाको प्रारम्भ लीन् ताइय्वि पेइचीङ्‌मा मामाघर पुगेको घटनाबाट हुन्छ ।

बज्यै चिया माताले पठाइदिनु भएको जहाजमा बसी लीन् ताइय्वि पेइचीङ्‌मा रहेको मामाघर रोङ्-कुओ-फू पुगिन् । नातिनी लीन् ताइय्विलाई देखेर चिया माता खुशी पनि हुनु भयो र आफ्नी बितेकी छोरी सम्झिएर दुःखी पनि हुनु भयो । चिया माताले लीन् ताइय्विलाई भेट्न जम्मा भएका सबैलाई एक एक गरी चिनाइदिनु भयो । त्यति नै बेला बाहिरैदेखि ठूलो स्वरले हाँस्दै बोल्दै एक नवयुवती आइन् । उनी चिया माताका ठूलो छोराको बुहारी, चिया लियान्‌की श्रीमती वाङ् सिफङ् थिइन् । वाङ् सिफङ्ले लीन् ताइय्विलाई नियालेर हेरिसके पछि भनिन् “संसारमा यति राम्री, कुनै दोष नभएका मानिस पनि हुने रहेछन्, मैले त कहिले पनि देखेकी थिइन्… ।” लीन् ताइय्विकी सानी माइजु वाङ् फूरेन्‌ले भन्नुभयो, “अति राम्री र चलाक रहिछिन्, तर अलि दुब्ली कमजोर देखिन्छिन्… ।” लीन् ताइय्विले आफू सानैदेखि कमजोर र रोगी रहेको बताइन् । वाङ् फूरेन्‌ले भन्नुभयो, “तिमीलाई यहाँ केही समस्या पर्ने छैन, केही चाहियो भने हामीलाई भन्नू, यहाँ भएका दिदी बहिनीहरू सबै जाती छन्, खालि मेरो एउटा उपद्र्याहा छोरो छ, उसले तिमीलाई केही दुःख दिए तिमी उसंग नबोले हुन्छ ।” त्यही बेला वाङ् फूरेन्‌को उपद्र्‌याहा छोरो चिया पाओय्वि दौडेर त्यहाँ आइपुग्यो । लीन् ताइय्विलाई देखेर मुग्ध भएर टोलाएर बस्यो । अनि एक छिन पछि सोध्यो, “लीन् मेइमेइ (बहिनी) संग पनि जेड छ ?” लीन् ताइय्विले “छैन” भनिन् । त्यो सुन्नासाथ पाओय्विले रिसाएर आफूले लगाइ राखेको जेड भुइँमा बजार्दै “लीन् मेइमेइको पनि जेड छैन रे, मलाई मात्र किन चाहिएको यो ढुङ्गो” भन्दै उफ्रिन थाल्यो । त्यो जेड बचाउन त्यहाँ भएका सबैजना दौडादौड गर्न थाले । भुइँमा बजारे पनि जेड फुटेन । आफ्नो कारणले पाओय्विले जेड निकालेर मिल्काएको देखेर लीन् ताइय्वि आत्तिएर रुन थालिन् । चिया माताले “लीन् मेइमइको पनि जेड थियो, तिम्री फुफू बित्नुहुँदा उनीले त्यो जेड आमालाई चढाइन्” भनेर पाओय्विलाई शान्त पार्न खोज्नु भयो । त्यसपछि चिया माताले लीन् ताइय्विलाई महल भित्र बस्ने व्यवस्था मिलाउनु भयो, उनीको सेवा गर्न च्‌च्य्वीयान्‌ नाम गरेकी सेविकालाई खटाउनु भयो ।

केही दिन नबित्दै वाङ् फूरेन्‌की बहिनी स्य्वेयीमा वहाँहरूलाई भेट्न रोङ्-कुओ-फू आउनु भयो । स्य्वेयीमाको परिवार राजदरबारसंग सम्पर्क भएको ठूलो व्यापारी परिवार थियो । स्य्वेयीमाका एक छोरा स्य्वे फान् र एक छोरी स्य्वे पाओछाइ थिए, तर स्य्वेयीमाका श्रीमान्‌को चाहिं मृत्यु भइसकेको थियो । उचित नियन्त्रणको अभावमा स्य्वे फान् गुण्डागर्दी गर्दै हिंड्ने भएका थिए । अर्काको ज्यान मार्नुलाई समेत उनले सामान्य सम्झिएका थिए । हालै एकजना दासी केटीलाई हात पार्न उनले केटीको मालिकको हत्या गरेका थिए । ज्यान मुद्दाको सुनुवाइ पेइचीङ्को एक अड्डा अदालतमा हुन लागेको थियो । ज्यानमारालाई प्राणदण्ड हुने कनुन भएको हुँदा स्य्वेयीमा आत्तिएर आफ्नी दिदीकहाँ आएकी थिइन् । संयोगवश स्य्वे फान्‌को मुद्दाको सुनुवाइ हुने अदालतमा चिया चङ्ले सिफारिश गरेर नियुक्त भएका चिया य्वीछुन् पदाधिकारी भएर बसेका रहेछन् । चिया चङ्ले उनलाई अनुरोध गरी स्य्वे फान्‌लाई प्राणदण्डबाट बचाए । स्य्वे फान्‌को बानी व्यहोराबाट चिन्तित चिया चङ्ले आफ्नी श्रीमती वाङ फूरेन् मार्फत् वाङ् फूरेन्‌की बहिनी स्य्वे यीमालाई आफूहरूसंग बस्न आग्रह गर्नुभयो, पेइचीङ् बसुन्जेल आफूसंग राख्न पाए स्य्वे फान्‌ले अरू ठूलो उपद्रव नगर्ला भन्ने वहाँको विचार थियो ।

स्य्वेयीमा आफ्ना छोराछोरी सहित रोङ्-कुओ-फू महल भित्रको दश बाह्रवटा कोठा भएको एउटा चोकमा बस्न थाल्नु भयो । स्य्वेयीमाकी छोरी स्य्वे पाओछाइ पाओय्विभन्दा एक दुई वर्ष जेठी थिइन् । हेर्दा अति सुन्दरी, तीक्ष्ण बुद्धि भएकी पाओछाइ बाबु पनि बितिसकेको, दाजु पनि उपद्रव गर्दै हिंड्ने भएकोले सानै भए पनि आमालाई ढाडस दिनसक्ने, कुरा बुझ्ने भइसकेकी थिइन् । रोङ्-कुओ-फू महलभित्र बस्न थालेको केही दिन मै स्य्वे फान् र स्य्वे पाओछाइ महलभित्रका सबैसंग बिस्तारै घुलमिल हुन थाले ।

लीन् ताइय्वि रोङ्-कुओ-फूमा बस्न थालेदेखि सधै पाओय्विसँगै बस्थिन्, उनीसँगै खाने, खेल्ने, सुत्ने गर्दथिन् । चिया माताले पनि उनीहरू दुई जनालाई सबैभन्दा बढी माया गर्नुहुन्थ्यो । अहिले स्य्वे पाओछाइ पनि महलभित्र बस्न थाले पछि मानिसहरूले लीन् ताइय्विभन्दा स्य्वे पाओछाइ कुरा बुझ्ने छिन् भन्ने गरेकोले लीन् ताइय्विको मनमा ईर्ष्या हुन थालेको थियो ।

एक दिन नीङ्-कुओ-फूका चिया चन्‌की श्रीमती यउश्‌र्‌ले वाङ् सिफङ्लाई आफू कहाँ निमन्त्रणा गरिन् । वाङ् सिफङ् उता महलमा जान तयार भएको देखेर चिया पाओय्विले म पनि सँगै आउँछु भन्यो । वाङ् सिफङ्ले चिया पाओय्विलाई साथ दिएर नीङ्-कुओ-फूमा गइन् । वाङ् सिफङ् र यउश्‌र्‌ कुरा गर्न लागे पछि पाओय्विलाई नरमाइलो लाग्न थाल्यो र त्यहीं “एक छिन सुत्न पाए हुन्थ्यो” भन्न थाल्यो । चिया चन्‌को छोरो चिया रोङ् र बुहारी छीन् खछीङ्‌ले उनलाई उनीहरूको सुत्ने कोठामा लिएर गए । पाओय्वि त्यहाँ एक छिन निदाउन पुग्यो । एकैछिनमा उनले सपना देख्न थाल्यो । सपनामा उनले रोङ्-कु‌ओ-फू र नीङ्-कुओ-फूमा बसिरहेका सबै महत्त्वपूर्ण नवयुवतीहरू र केटीहरूको भाग्य लेखिएको पुस्तक देख्यो र त्यो पढ्न थाल्यो । अस्पष्ट कविताको रूपमा लेखिएको त्यो पुस्तक पढेर उनलाई आफ्ना वरपरका नवयुवतीहरू र केटीहरूको भाग्य र भविष्यबारे केही ज्ञान भयो । केही छिनपछि देखेको डरलाग्दो दृश्यबाट उनी सपनाबाट ब्युँझे । पाओय्विले त्यसबखत देखेको सपनालाई “रातो महलको सपना” उपन्यासको सबै भन्दा महत्त्वपूर्ण मानिन्छ र त्यही सपनालाई “रातो महलको सपना” भनिएको हो भन्ने पनि गरिन्छ ।

नीङ्‌-कुओ-फूबाट फर्किनु अघि पायोय्विले नातामा भतिजा बुहारी पर्ने छीन् खछीङ्को भाइ छीन् चुङ्लाई भेटे । शान्त स्वभावका सुकोमल छीन् चुङ्लाई भेटे पछि पाओय्विले आफू विद्यालयमा पढ्न जाँदा उसैलाई सँगै लिएर जाने विचार गरे । फर्केर पाओय्विले बज्यैसंग त्यसबारे कुरा गर्दा बज्यैले खुशी भएर उनको कुरा मान्नु भयो । केही समयपछि उनीहरू चिया परिवारका पुर्खाले आफ्नो महल नजिक खोलेको विद्यालयमा पढ्न जाने भए।

यसबीच लेउ लाओलाओ नाम भएकी एक वृद्धा रोङ्-कुओ-फूमा आउनु भयो । वहाँ वाङ् फूरेन्‌को टाढाको नातेदार हुनुहुन्थ्यो, वाङ् फूरेन्‌की भदै भएर पनि वाङ् सिफङ्लाई वहाँको बारे थाहा थिएन । वाङ् फूरेन्‌कहाँ सोध्न पठाउँदा वाङ् फूरेन्‌ले वहाँले आफै नभेट्ने, तर “लेउ लाओलाओले केही माग्नु भए दिइ पठाउनू” भनेर भन्नु भयो । लेउ लाओलाओ आफ्नो नाति हुर्काउन पैसा नभएर आउनु भएको भन्ने थाहा भए पछि वाङ् सिफङ्ले बीस तोला चाँदी दिएर पठाइन् । लेउ लाओलाओ खुशी भएर फर्केर जानु भयो ।

लेउ लाओलाओ फर्केर जानुभएको कुरा वाङ् फूरेन्‌लाई बताउन एक प्रौढ सेविका जाँदा वहाँ आफ्नी बहिनी स्य्वेयीमा कहाँ कुरा गरिरहनु भएको थाहा पाएर उनी पनि उतै गइन् । दिदी बहिनी कुरा गरिरहेको सुनेर प्रौढ सेविका पहिले स्य्वे यीमाकी छोरी स्य्वे पाओछाइलाई भेट्न गइन् । स्य्वे पाओछाइ जडीबुटी औषधि खान लागेकी थिइन् । त्यसबारे जिज्ञासा राख्दा पाओछाइले त्यो औषधि बनाउने तरिका सुनाइन् । त्यो सुनेर प्रौढ सेविकाले यस्तो औषधि बनाउन त सबै साइत जुरे पनि तीन वर्ष, नभए त दश वर्ष लाग्ने रहेछ भनेर हाँसिन् ।

स्य्वे पाओछाइ बिरामी भएर औषधि खाँदै छिन् भन्ने धेरैलाई थाहा भयो । ताइय्वि स्य्वे पाओछाइलाई हेर्न जाँदा त्यहाँ पाओय्विलाई स्य्वे पाओछाइसंग कुरा गर्दै रहेको देखिन् । लीन् ताइय्विले तुरुन्तै, “उ यहाँ आएको छ भन्ने थाहा पाएकी भए म आउने नै थिइन” भनिन् । “किन तिमीहरू दुईजना सँगै आउनु हुँदैन थियो र ?” भनेर स्य्वेयीमाले सोध्नु भयो । लीन् ताइय्विले “हामी अलग अलग समय आएका भए तपाईंहरूकहाँ धेरै समय पाहुना भइ रहन्थ्यो” भनिन् । स्य्वेयीमाले उनीहरूलाई त्यहीं खाना खुवाउनु भयो । पाओय्विले केही रक्सी पनि पियो ।

केही दिनमा पाओय्वि साथी छीन् चुङ्‌संग विद्यालयमा पढ्न गए । उनीहरूले त्यहाँ केही वर्ष सँगै पढ्ने विचार गरेका थिए । तर विद्यालयमा पढ्न गएको पहिलै दिन त्यहाँ ठूलो झगडा पर्‍यो । त्यसदिन विद्यालयका गुरु काम परेर आउनु भएको थिएन, गुरुका नातिले विद्यालय चलाइरहेका थिए । चकचके विद्यार्थीहरूलाई नियन्त्रण गर्ने क्षमता उनमा थिएन । केही चकचके बदमास विद्यार्थीहरूले पाओय्वि र छीन्‌ चुङ्‌माथि आक्रमण गरे । पाओय्विको रक्षाका लागि गएका सेवकहरूले पनि ती बदमास बिद्यार्थीहरूलाई पिटे । त्यस्तो अमैत्रीपूर्ण विद्यालयमा नपढ्ने निधो गरी पाओय्वि र छीन् चुङ् त्यहाँबाट फर्के । केही समय नबित्दै छीन् चुङ् बिरामी पर्न थाले र केही दिनमै मरे । छीन् चुङ्‌को मृत्युले पाओय्विको मनमा ठूलो चोट पुग्यो । उनले रोएरै केही दिन बिताए।

केही समय पछि नीङ्-कुओ-फूबाट छीन् खछीङ् बिरामी भएको समाचार आयो । उनीलाई हेर्न वाङ् सिफङ् नीङ्-कुओ-फू पुगिन् । “कुनै ठूलो रोग लागेको होइन होला, ठीक भई हाल्छ नि” भनेर वाङ् सिफङ्लाई लागेको थियो । त्यसको केही दिन पछि एक रात वाङ् सिफङ्ले छीन् खछीङ्को सपना देखिन् । सपनामा छीन् खछीङ्ले चिया परिवार अहिले समृद्ध भए पनि छिटै त्यसको पतन हुनसक्ने बताई त्यसबेलाका लागि तयारी गर्ने सल्लाह दिइन् । वाङ् सिफङ्ले सपनामै छीन् खछीङ्लाई अझ स्पष्टरूपमा बताउन भन्दै थिइन्, बाहिर बजाइएको घण्टाको आवाजले उनी ब्युँझिइन् । त्यो घण्टा छीन् खछीङ्को मृत्यु भएको समाचार दिन बजाइएको रहेछ ।

छीन् खछीङ्को मृत्युले दुबै महलका चिया परिवारहरू अत्यन्त दुःखी भए । उनी चिया माताको मन पर्ने पनाति बुहारी थिइन् । उनीका ससुरा चिया चन् पनि असंयमित भएर रुन थाले । ठूलो परिवारको सदस्य मर्दा अन्येष्टि संस्कार भव्यरूपमा गर्नुपर्ने भएकोले त्यसको व्यवस्थापन गरिदिन चिया चन् ले चिया मातासंग वाङ् सिफङ्लाई उता नीङ्-कुओ-फूमा पठाइदिन अनुरोध गर्न आए । त्यस्तो विशेष अवस्थालाई विचार गरी चिया माता र वाङ् फूरेन्‌ले सल्लाह गरी वाङ् सिफङ्‌लाई नीङ्-कुओ-फूमा अन्त्येष्टि स‌ंस्कार हेरिदिन अह्राउनु भयो । वाङ् सिफङ्‌लाई अघिपछि पनि यस्तो काम मन पर्दथ्यो, उनीले खुशीसाथ त्यस कामको जिम्मेदारी लिइन् र केही समय उता नीङ्-कुओ-फूमै बसेर छीन् खछीङ्को अन्त्येष्टि संस्कार भव्यताका साथ सम्पन्न गरिन् ।

यसैबीच लीन् ताइय्विका बाबु सिकिस्त बिरामी हुनु भएको पत्र आयो । चिया माताले चिन्तित भएर नातिनी लीन् ताइय्विलाई आफ्ना बाबु भेट्न सूचउ पठाउनु भयो । सानी नातिनीलाई बाटोमा हेरचाह गर्न वहाँले जेठा छोराको छोरा नाति चिया लियान्‌लाई लीन् ताइय्विसँगै पठाउनु भएको थियो । लीन् ताइय्विका बाबु साँच्चै नै गम्भीर रूपले बिरामी हुनुभएको रहेछ, केही महिना उपचार गर्दा पनि वहाँलाई सञ्चो भएन र त्यहीं रोगले वहाँ बित्नु भयो । वहाँ बित्नु भएपछि लीन् ताइय्वि पूर्णरूपले अनाथ भइन्, आफ्ना बाबु तर्फका नातदारहरू पनि धेरै नभएको हुँदा सूचउको घरसम्पत्ति बेचबिखन गरी लीन् ताइय्वि चिया लियान्‌संग पेइचीङ्को मामाघरमै सँधैका लागि बस्ने गरी फर्किन् । सूचउबाट फर्किंदा लीन् ताइय्विले धेरै पुस्तकहरू र सबैलाई पुग्ने गरी सानातिना उपहार ल्याएकी थिइन् । उनीले आफ्ना सबै दिदी बहिनीहरू र पाओय्विलाई आफूले ल्याएका उपहारहरू बाँडिदिइन् ।

 

एकदिन राजदरबारबाट एक दूत आएर राजकीय आदेश सुनाएर पाओय्विका बाबु चिया चङ्लाई राजदरबारमा लिएर गयो । के कामका लागि दरबारबाट बोलावट भएको हो, थाहा नभएको हुँदा चिया माता लगायत महलका सबैजना चिन्तित भए । चिया चङ् दरबार भित्र गएको केही घण्टा पछि दरबारबाट फेरि अर्को दूत आएर चिया चङ्की छोरी, पाओय्विकी दिदी चिया य्वीयान्‌छुन् रानी बन्न छनोट भएको शुभ समाचार सुनाएर गयो । त्यसपछि त तुरुन्तै दुबै महलमा खुशी छायो, सबैले परिवारका मूली चिया मातालाई बधाइ दिए ।

केही वर्षदेखि दरबारमा बस्दै आएकी य्वीयान्‌छुन्‌ले दरबार पसेदेखि आफ्नो घर फर्किन पाएकी थिइनन् । अब रानी बने पछि सम्राट्ले उनीलाई एकपटक माइती फर्केर आमाबाबु परिवार भेट्ने अनुमति दिए । य्वीयान्‌छुन् रानी माइती फर्किने समय चीनिया नयाँ वर्षको पन्ध्रौं दिन य्वीयान् सियाउ चाडका निश्चित गरियो ।

आफ्नी छोरी रानी बनेर माइती फर्किन लागेको हुँदा उनीको स्वागत एउटा ठूलो उपवन निर्माण गरी त्यहीं गर्ने निर्णय गरियो । दुई महलसंग जोडिएको एउटा ठूलो जमिनमा उपवन निर्माण गर्ने काम छिटै थालियो । यस्ता व्यावहारिक कामहरूमा चिया चङ्को अभिरुचि नभएको हुँदा उनका दाजु चिया श र भतिजाहरू चिया लियान्, चिया चन् आदि उपवन निर्माण कार्यको रेखदेखमा व्यस्त हुन थाले । निर्धारित समयमा उपवन निर्माण कार्य पनि सम्पन्न भयो । सूचउतिरका उद्यानहरूको आधारमा बनाइएको उक्त उपवनमा करिब दशवटा घरचोकहरू बाहेक मानव निर्मित पहाड, ठूला ढुङ्गाहरू, पोखरीहरू, खोल्साहरू र पूलहरू पनि थिए । निर्माण कार्य सम्पन्न भए पछि चिया चङ्लाई निरीक्षण गर्नका लागि आमन्त्रित गरियो । त्यति बेला चीनिया प्रचलन अनुसार उपवनको भित्र भएका घरहरू र विभिन्न स्थानहरूको नामाकरण गर्न बाँकी थियो । रानीको स्वागतका लागि बनाइएको उपवन भएको हुँदा रानीले नै ती स्थानहरूको नामाकरण गरिदिनु भए सबैभन्दा राम्रो हुन्थ्यो । फेरि देख्दै नदेखेको भवन र स्थानहरूको नामाकरण रानीले पनि कसरी गर्न सक्लान् ? नामाकरण नगरिकन त्यतिकै छोड्दा पनि खाली देखिने भयो । यी कुराहरू सम्झेर चिया चङ् केही चिन्तित हुनुभयो । त्यसैबेला वहाँले आफ्ना छोरा पाओय्विलाई सम्झिन पुग्नुभयो, पाओय्वि सरकारी सेवा प्रवेश परीक्षाका लागि पढ्नु पर्ने पुस्तकहरू पढ्न मन नगर्ने भए पनि गीत कविता आदिमा त उनको ठूलो अभिरुचि थियो, उनले भवन र स्थानहरूको नामाकरणको काम गर्न पो सक्दछ कि भन्ने विचार गरी चिया चङ्ले पाओय्विलाई डाकेर आफूसंग उपवन डुलाउन लैजानुभयो । बाबुले डाकेपछि सधै एकदम डराउने पाओय्वि त्यस दिन पनि एकदम डराएका थिए । नयाँ बनाइएको उपवनको कुनै एक दर्शनीय स्थानमा पुगेपछि चिया चङ्ले पाओय्विलाई यो ठाउँको नाम के राख्नु पर्ला भनेर सोध्नुहुन्थ्यो । पाओय्विले पनि विचार गरेर यो नाम राख्नु पर्ला भनेर जवाफ दिन्थे । बाबुले “किन त्यस्तो नाम राखेको, के आधार छ त्यसको ?” भन्नुभए पछि पाओय्विले आफ्नो व्याख्या सुनाउँथ्यो । चिया चङ् र पाओय्वि सँगै उपवन घुम्न आएका सबैजनालाई पाओय्विले राखेका नामहरू र तिनीहरूको व्याख्या उचित लागेको थियो, मनमा चिया चङ् खुशी पनि हुनुहुन्थ्यो, तर वहाँले अघिपछिको स्वभाव अनुसार पाओय्विलाई “यो भएन, त्यो भएन” भनेर गाली गर्दै जानुभयो । चिया चङ्को गाली गराइ पहिलेभन्दा फरक भएकोले वहाँलाई पनि पाओय्विको उत्तर चित्त बुझेको रहेछ भन्ने सबैले बुझे ।

उपवन घुमेर विभिन्न स्थानहरूको नामाकरण गर्ने काम सकिए पछि चिया चङ्ले एक दुई स्थानमा बाहेक अरू सबैमा पाओय्विले राखेका नामहरू नै लेखेर टाँगिदिन निर्देशन दिएर जानुभयो । चिया चङ् त्यहाँबाट जानु हुनासाथ पाओय्विका साथी सहपाठीहरू पाओय्विलाई बधाइ दिँदै “आज बाबुबाट समेत प्रशंसा पाएको दिन हामीलाई के इनाम दिने ?” भनेर कराउन थाले । पाओय्विले सबैलाई सय सयवटा सिक्का दिन्छु भने । तर साथी सहपाठीहरूले “पैसा दिएर हुँदैन” भन्दै पाओय्विले लगाएको माला, जीउमा भएको रुमाल, पङ्खा आदि खोसेर लगे ।

पाओय्वि त्यहाँबाट आफ्नो कोठामा फर्किंदा सेविकाहरूले खुशी मनाए, उनीहरूले पनि आज पाओय्वि आफ्ना बाबुबाट प्रशंसित भएको पहिलै नै सुनिसकेका थिए । पाओय्विको मुख्य सेविका सीरेन्‌ले पाओय्विलाई हेर्दै “अघिपछि लगाउने माला आदि खोइ त ?” भनेर सोधिन् । त्यसैबेला लीन् ताइय्वि पनि पाओय्विलाई भेट्न आइन् । आफूले सूचउबाट ल्याएर उपहार दिएको सानो थैली पनि पाओय्विको जीउमा नदेखेर लीन् ताइय्विले “त्यो सानो थैली खोई ?” भनेर सोधिन् । पाओय्विले “ती सबै वस्तुहरू साथीहरूले लुटेर लगे” भन्यो । लीन् ताइय्वि चाहिं “मैले दिएको थैली पनि तिमीले उनीहरूलाई दियौ” भनेर रिसाउन थालिन् । अनि रिसाएर “अबदेखि म तिमीलाई केही पनि दिन्न, केही पनि” भन्न थालिन् र आफूले पाओय्विका लागि बनाउँदै गरेको रेशमको सानो थैली झोलाबाट निकालेर त्यसलाई कैंचीले काट्न थालिन् । पाओय्विले त्यसलाई बचाउन खुब कोशिश गरे, तर त्यो दुई टुक्रा भइसकेको थियो । पाओय्विले पनि केही रिसाएर आफ्नो लुगाको भित्री खल्तीबाट पहिले उनीले उपहार दिएको थैली निकालेर लीन् ताइय्विको हातमा राखिदिँदै भन्यो, “तिमीले दिएका कुराहरू मैले कहिले अरूलाई दिएको छु ? ल यही होइन ?” लीन् ताइय्वि आफू छिटै रिसाएर बनाउदै गरेको थैली काटेकोमा अप्ठ्यारो मान्दै थिइन्, पाओय्विले त्यसरी पहिले उपहार दिएको थैली निकालेर देखाए पछि उनी फेरि रिसाएर त्यसलाई पनि काट्न खोजिन् । त्यसलाई चाहिं पाओय्विले कुनै उपायले बचाए । लीन् ताइय्वि “तिम्रो के कुरा सही, के कुरा झुठो, मैले कसरी थाहा पाउने ? किन मलाई यसरी दुःख दिन्छौ” भन्दै रुन थालिन् । पाओय्विले धेरै पटक माफी मागेपछि बल्ल उनी शान्त भइन् ।

पूर्व निर्धारित दिनमा रानी बनेकी चिया य्वीयान्‌छुन् माइती फर्किन् । त्यसदिन बिहानैदेखि रोङ्-कुओ-फूमा चहलपहल भइरह्यो । बारम्बार राजदरबारबाट दूतहरू त्यहाँ आउँदथे । चिया माता लगायत सबैजना सिंगारपटार गरी रानीको स्वागत गर्न तयार भइरहनुभयो । केही समयपछि सम्राट्का निजी सेवक दूत बनी त्यहाँ आएर “रानीको सवारी हुँदा साँझ हुन्छ होला, अहिले तपाईंहरू आराम गरेर बस्नु भए हुन्छ” भनेर गयो । चिया माता आदि सबै आराम गरेर बस्नु भयो । साँझ हुन थाले पछि राजसी ठाँटबाँटका साथ चिया य्वीयान्‌छुन् रानी माइती फर्किन् । उनीलाई स्वागत गर्न बनाइएको नयाँ उपवन देख्नासाथ उनीले “यो त साह्रै खर्चिलो भयो” भनिन् । त्यसपछि डुङ्गामा राखेर उपवनभित्रका खोल्सा (नहर) बाट उपवन घुमाउने काम भयो । उपवनभित्रको मुख्य भवनमा रानीलाई विराजमान गराए पछि चिया परिवारका महिला र पुरुषहरू छुट्टाछुट्टै क्रमबद्ध भएर रानीको सामुहिक दर्शनभेटका लागि आए । उनीहरूले घुँडा देखेर अभिवादन गर्न खोज्दा रानीले “पर्दैन” भनेर फर्काइ दिइन् । सामुहिक दर्शन भेट पछि चिया चङ्ले टाढै बसेर घुँडा टेकेर औपचारिक रूपमा स्वागत गर्नुभयो । स्वागत गर्दा वहाँले कतै पनि आफ्नी छोरी भनेर सम्बोधन गर्नुभएन, सँधै रानी भनेर मात्र सम्बोधन गर्नुभयो । वहाँले रानीलाई स्वागत गर्न पाएकोमा आफू धन्य भएको र जीवनभर सम्राट्प्रति वफादार रहने प्रतिबद्धता जाहेर गर्नुभयो । रानीले प्रतिउत्तरमा पिता भनेर सम्बोधन गरे पनि खास गरी सम्राट्प्रति वफादार रही कर्तव्य गरिरहन भन्नेमा जोड दिइन् र पितामाताले स्वास्थ्यको विचार गर्नु होला भनेर पनि भनिन् । रानीले चिया माता र आमा वाङ् फूरेन्‌लाई अनौपचारिक रूपमा भेटिन् । रानीले चिया मातालाई झुकेर अभिवादन गर्न खोज्दा चिया माता र वाङ् फूरेन् नै पहिले घुँडा टेक्न पुग्नुभयो । एकै छिनमा रात्रिभोजको आयोजना गरियो । रात्रिभोज पछिको समयमा रानीले भाइबहिनीहरूलाई डाकेर उपवनमा भएका विभिन्न दर्शनीय स्थानहरूको बारे कविता लेख्न लगाइन् । केही घण्टा त्यसरी नै बित्यो । मध्यरात नाघेपछि रानीका सेविकाहरूले रानीलाई राजदरबार फर्किने समय भएको जानकारी गराए । रानी सबैसंग बिदावारी भई रुँदै राजदरबार फर्किन् ।

रानीको स्वागतमा अति व्यस्त भएका हुँदा सबैजना थकित भएका थिए । केही मनोरंजन गरी थकान हटाउन नीङ्‌-कुओ-फूको चिया चनले कलाकारहरू महलमा डाकी नाटक प्रदर्शन गराए । पाओय्विलाई नाटक हेर्ने मन भएन, उनी चाहिं एक जना सेवक साथमा लिई महलबाट बाहिर निस्किए । सेवकले घरमा सोधिकन निस्केको हुँदा धेरै टाढा नजाऔं भनेर सल्लाह दियो । पाओय्विकी प्रमुख सेविका सीरेन् आमा र दाजु भेट्न आफ्नो घर फर्कि रहेकी थिइन्, उनीको आमाको घर धेरै टाढा पनि थिएन, त्यसैले पाओय्वि सेवक साथमा लिएर सीरेन्‌की आमाको घर आइ पुगे । पाओय्वि त्यसरी अकस्मात् आइपुगेको देखेर सीरेन्‌ र उनीका परिवार खुशी भए, तर यो कुरा अरूले थाहा पाए नराम्रो हुने भएकोले चिन्तित पनि भए । पाओय्वि सीरेन्‌की आमाको घरमा केही छिन बसेर फर्किहाले, सीरेन्‌ले पनि त्यही दिन फर्किन्छु भनिन् । सीरेन् फर्केर महलमा आइपुगे पछि पाओय्विले “आमा दाजुसंग के कुरा भयो ?” भनेर सोध्यो । सीरन्‌ले पाओय्विको मन चोर्न “वहाँहरूले अरू एक वर्ष पछि पैसा तिरेर मलाई यहाँबाट निकालेर लैजान्छौं, धैर्य गरेर बस भन्नुभयो” भनिन् । यो सुनेर पाओय्वि झसङ्ग भए र अलि आत्तिएर “अनि तिमीले के भन्यौ त, के तिमीलाई यहाँ बस्न मन लाग्दैन ? भनेर सोध्यो । सीरेन्‌ले भनिन् “मन त लागेको छ नि, तर यो मेरो घर होइन, राजदरबारमा सेवा गर्न गएका केटीहरू त निश्चित समय भएपछि बाहिर पठाइन्छन्, यहाँ महलमा सधै बस्ने भन्ने त कुरै हुँदैन नि ।” पाओय्विलाई उनीको कुरा ठीक त लाग्यो, तर उनीलाई निस्केर जान दिन भने उ पटक्कै चाहदैनथ्यो । पाओय्विले निराश भएर “अब के गर्दा तिमीलाई महल भित्रै राखिरहन सकिन्छ होला त ?” भनेर सोध्यो । सीरेन्‌लाई पाओय्विलाई छोडेर जान त पटक्कै मन लागेको थिएन । उता आमाकहाँ वहाँहरूले पैसा जम्मा गरेर अर्को वर्ष महलबाट छुटाएर लैजान आउँछौं भनेर भन्दा सीरेन्‌ले आमा दाजुलाई “तपाईंहरूका लागि म मरेकै सम्झिनु होला, म महलबाट निस्केर के गर्ने ? उहिले पैसाका लागि मलाई बेचिदिनु भयो, बेचिएर पनि भाग्यले त्यति असल घरपरिवारमा परे, त्यहाँ खाने लाउने मालिकहरू जस्तै पाइन्छ, फेरि गाली गर्ने, पिट्ने कोही छैनन्, आफ्नो मालिक कति असल हुनुहुन्छ देखिहाल्नु भयो, त्यसैले मलाई छुटाउन आउनु पर्दैन, म बाँचे पनि त्यहीं बाँच्छु, मरे पनि त्यहीं मर्छु” भनेकी थिइन् ।

आफूलाई महल भित्र राखिराख्न पाओय्विले जे वाचा गर्न पनि तयार भएको देखेर सीरेन्‌ले “मलाई यहाँ राखिराख्ने विचार छ भने तपाईंले अबदेखि राम्ररी पढेर ज्ञानी बन्छु, महलभित्रका केटीहरूसंग मात्र खेलेर बस्दिन भनेर वाचा गर्नुपर्दछ, तपाईंले त्यति वाचा गर्नु भयो भने, म कसैले आठ जना मान्छेले बोक्ने डोली लिएर आए पनि यहाँबाट निस्केर जाँदिन” भनिन् । पाओय्विले तुरुन्तै “हुन्छ दिदी, हुन्छ, अब देखि म राम्ररी पढने वाचा गर्छु” भन्यो ।

केही दिन पछि स्य्वे पाओछाइको १५ वर्षको जन्मदिन थियो । त्यसबेला चीनमा १५ वर्ष पुग्दा केटीहरू वयस्क भएको मानिने भएको हुँदा १५ वर्षको जन्मदिन अलि भव्य रूपमा मनाउने चलन थियो । रोङ्-कुओ-फू महलको साना ठूला सबै काम सम्हालेर बसेकी वाङ् सिफङ्ले स्य्वे पाओछाइको जन्मदिनमा सँगै खाने पिउनेबाहेक बाहिरबाट कलाकारहरू डाकेर गीति नाटक देखाउने कार्यक्रम बनाइन् । सबैजना नाटक हेर्न जम्मा भए, स्य्वे पाओछाइको जन्मदिन भएको हुँदा चिया माताले उनैलाई के के नाटक हेर्ने हो फर्माइस गर्न भन्नु भयो । सबैलाई रिझाउन जानेकी स्य्वे पाओछाइले चिया मातालाई मन पर्ने नाटकहरू फर्माइस गरिन् । एउटा गीति नाटकमा गाएको गीतको “… केही नलिई आएको थिएँ, केही नलिई नै जानेछु…” भन्ने एक वाक्य सुनेर पाओय्वि गम्भीर भई त्यही वाक्य दोहोर्‌याएर बस्न थाले । त्यो देखेर स्य्वे पाओछाइले “ल, यो भाइले त ज्ञान प्राप्त गरे जस्तो छ” भनेर जिस्काइन् ।

नाटक सकिएपछि वाङ् सिफङ्‌ले ती कलाकारहरू मध्ये एउटीलाई आफूतिर तानेर, “हेर्नुस् त सबैले, यी केटी को जस्ती छिन् ?” भनेर सोधिन् । उनी हेर्दा लीन् ताइय्वि जस्ती देखिन्थिन् । सबैले हेर्नासाथ थाहा पाए, तर लीन् ताइय्वि रिसाउलिन् भनेर कसैले केही बोलेनन् । खालि चिया माताका दाजुका नातिनी श्‌र् सियाङ्य्वीन्‌ले, जो केही दिन बस्न रोङ्-कुओ-फूमा आएकी थिइन्, प्याच्च “उनी हाम्री लीन् दिदी जस्ती छिन्” भनिन् । त्यसबेला पाओय्विलाई लीन् ताइय्वि रिसाउलिन् बन्ने डरले श्‌र् सियाङ्य्वीन्‌लाई आँखाले नभन्नका लागि ईशारा गरे । लीन् ताइय्विले त्यो पनि देखिहालिन्, उनी रिसाएर केही नबोलिकन आफ्नो कोठातिर लागिन् । उनीलाई फकाउन भनी पाओय्वि पनि लीन् ताइय्विको कोठामा गयो । लीन् ताइय्विले पाओय्विलाई कोठामा पस्न दिइनन् र आफूलाई नटुवासंग दाँजेर कुरा गर्ने भनेर रोइन । पाओय्विले कोठा बाहिरबाटै आफूले त्यस्तो भनेको थिइन भन्यो । लीन् ताइय्विले उल्टै “तिमीले सियाङ्य्वीन्‌ बहिनीलाई त्यसरी आँखाले ईशारा गरेको आफ्नै मुखले भनेको भन्दा पनि बढी भयो” भनिन् । पाओय्वि हार मानेर त्यहाँबाट हिँड्यो । उता श्‌र् सियाङ्य्वीन् बहिनी पनि पाओय्विसंग रिसाएर बसेकी रहिछिन्, पाओय्विलाई देख्नासाथ रिसाएर “मलाई जस्तो लागेको थियो भनिदिएँ, मलाई त्यसरी किन आँखाले ईशारा गर्नु पर्ने, के म तपाईंकी लीन् बहिनीसंग तुलना गर्न लायककी छैन भनेर त्यसरी हेप्नु भएको हो ?” भनेर कराइन् । दुई बहिनीबीच सम्बन्ध बिग्रन नदिन आफूले प्रयास गर्दा दुबैजना आफैसंग रिसाएका देखेर पाओय्वि निराश भएर आफ्नो कोठामा गएर रुन थाल्यो । त्यही गीतको हरफ “केही नलिई आएको थिएँ, केही नलिई जानेछु” भन्ने वाक्य दोहोर्‍याउँदै, बरु म अहिले नै मरेर खरानी भएको भए हुन्थ्यो भन्न थाल्यो ।

माइतीमा आएर आफ्ना नातेदारहरू भेटेर फर्केपछि रानी य्वीयान्‌छुन्‌ले एक दिनमा दरबारमा बसेर सोच्न थालिन्, आफ्नो स्वागत सत्कारका लागि बाबुले एउटा नयाँ उपवन नै बनाउनु भएको थियो, त्यो उपवन अहिले बन्द गरेर राख्नु भएको होला । उपवन भित्र धेरैवटा कोठाहरू पनि थिए, ती पनि खाली नै होलान् । त्यसैले रानीले एक दूतलाई आफ्नो बाबुलाई त्यो उपवनमा परिवारजनलाई जान दिन र आफ्ना भाइ पाओय्वि र अरू बहिनीहरूलाई उपवनभित्रका कोठाहरूमा बस्न दिन पत्र दिइपठाइन् । रानीको पत्र प्राप्त भए पछि चिया चङ्ले आफ्नी श्रीमती वाङ्‌फूरेन्‌संग सल्लाह गरी कुनै शुभदिनमा छोरा, छोरी भतिजी भदैहरूलाई उपवनमा बस्न लगाउने निधो गर्नुभयो । त्यही कुरा बताउन चिया चङ्ले पाओय्वि र छोरीहरू भतिजीहरूलाई डाक्नुभयो । आफ्नो बाबुले डाकेपछि सधै डराउने पाओय्वि त्यसदिन पनि डराई डराई गयो । त्यसदिन चिया चङ्ले आफ्नो छोरा पाओय्विलाई खासै गाली गर्नुभएन, खालि “उपवनमा बस्न गएपछि चकचके भएर नहिँड्नू, राम्ररी पढ्नू” मात्र भन्नुभयो । त्यसदिन पाओय्वि आफ्ना बाबुकहाँबाट सकुशल फर्केको देखेर सीरेन् आदि सेविकाहरू पनि खुशी भए ।

यीङ‍्छुन्, थान्‌छुन्, सीछुन्, पाओय्वि, लीन् ताइय्वि, स्य्वे पाओछाइले आपसमा सल्लाह गरी उपवनमा आफूलाई मन पर्ने कोठाहरूमा बस्न गए । उनीहरूले आफ्नो कोठाको नाम अनुसार आ-आफ्नो साहित्यिक उपनाम पनि राखे । लीन्‌ ताइय्विले रोजेको कोठा र पाओय्विले रोजेको कोठा एक अर्कोबाट धेरै टाढा थिएन ।

 

पाओय्विकी सौतेनी आमा चाउयीनियाङ्‌को छोरा चिया हुवान्‌को रूपरङ्ग, बुद्धिविवेक पाओय्विभन्दा धेरै निम्न कोटिको थियो । त्यस बेलाको चीनिया समाजमा भाइले दाजुलाई धेरै सम्मान गर्नु पर्ने, दाजुले भाइलाई हप्काउन, पिट्न पाइने भए पनि, पाओय्विले चिया हुवान्‌लाई कहिले पनि त्यस्तो व्यवहार गरेका थिएनन् । चिया हुवान्‌लाई हिनताबोध भइरहने कुरा थाहा पाएर चिया पाओय्वि उनलाई सधैं मैत्रीपूर्ण व्यवहार गर्दथ्यो, कहिले पनि हप्काउने पिट्ने गरेको थिएन । तैपनि चिया हुवान्‌लाई पाओय्वि पटक्कै मन पर्दैनथ्यो, उनलाई जसरी भए पनि घात गर्नेवारे सोचिरहन्थ्यो । एक दिन वाङ् फूरेन्‌ले चिया हुवान्‌लाई बौद्ध धर्मग्रन्थको एक खण्ड सार्न लगाइरहनु भएको थियो । पाओय्वि त्यहीं टेबुलनिर पल्टेर अरूसंग जिस्किरहेका थिए । चिया हुवान्‌ले अचानक बेहोशीमा गरेको जस्तो गरी आफ्नो अगाडि बलिरहेको बत्तीको तेल पाओय्विको अनुहारमा पोखिदियो । तेलले पोलेर पाओय्वि वेस्सरी कराएर रुन थाल्यो, त्यो तातो तेल आँखामा परेको भए आँखै अन्धो हुन सक्थ्यो, तर गालामा मात्र पर‌्‌यो । त्यस दुर्घटनाबाट दुई महलमा चिन्तित नहुने कोही भएनन् । पाओय्वि आफ्नो कोठामा फर्किएपछि लीन् ताइय्विले पाओय्विलाई हेर्न आइन् । लीन ताइय्विको मन दुख्ला, घाउ देखेर मन नपर्ला भनेर पाओय्विले पोलेको ठाउँ छोपेर देखाउन मानेन । त्यस कुरामा दुईजनाको फेरि झगडा पर्‌यो । पाओय्विले केही नलागेर पोलेको घाउ लीन् ताइय्विलाई देखायो । घाउ देखेर लीन् ताइय्विले दुःखी भएर रुँदै सोधिन् “धेरै दुख्यो ?” पाओय्विले “अघिसम्म दुख्दै थियो, अब तिमीले हेरेपछि दुख्न छोड्यो” भनेर जवाफ दिए ।

केही दिन पछि वाङ्  सिफङ्  स्य्वे पाओछाइ आदि पाओय्विको कोठामा जम्मा भएर कुराकानी गर्दै थिए । लीन् ताइय्वि पनि त्यहाँ आइपुगिन् । उनीलाई देखेर वाङ सिफङ्ले “केही दिन अगाडि विदेशबाट आएको चिया अलिकति पठाइ दिएकी थिएँ, पायौ ?” भनेर सोधिन् । लीन् ताइय्विले “पाएकी थिएँ, तपाईंलाई धन्यवाद छ है” भनिन् । तिमीलाई मनपर्ने भए मसंग अरू पनि छ, दिनलाई भोलि मान्छे पठाउँला, अरू काम पनि छ भनेर वाङ् सिफङ्ले भनिन् । लीन् ताइय्विले “उनीहरूको घरको चिया अलिकति के पिएकी थिएँ, फेरि के काम लगाउने हुनुभयो” भनिन् । वाङ् सिफङ्ले लीन् ताइय्विलाई जिस्काउँदै भनिन् “हाम्रो घरको चिया पिए पछि हाम्रो घरकी बुहारी हुनुपर्‍यो नि ।” फेरि पाओय्विलाई देखाउँदै, “उनमा तिमीलाई नसुहाउने के छ, रङ्‌रूप सुहाउँदैन कि? कुलघराना सुहाउँदैन कि ? धनसम्पत्ति सुहाउँदैन ?” लीन् ताइय्वि लाजले मुख रातो बनाएर त्यहाँबाट निस्कन खोजिन्, स्य्वे पाओछाइले गएर उनीलाई तानेर ल्याइन् ।

तातो तेलले पोलेर पनि खासै केही नभएपछि चिया हुवान्‌की आमा चाउयीनियाङ्‌ले पाओय्विलाई र वाङ् सिफङ्लाई टुनामुना गरेर सिद्ध्याउने विचार गर्न थालिन् । रोङ्-कुओ-फूमा आवतजावत भएकी माः थरकी एक प्रौढ महिला बोक्सी विद्या जान्दथिन् । चाउयीनियाङ्ले उनीलाई केही प्रलोभन देखाई पाओय्वि र वाङ् सिफङ्लाई टुनामुना गरेर सिद्ध्याउन अनुरोध गरिन् । चाउयीनियाङ्को प्रलोभनमा परेर उनीले पाओय्वि र वाङ् सिफङ्‌माथि टुनामुना गरिन् । उनीको टुनामुनाको असरले पाओय्वि पहिले बेहोश भएर ढल्यो र कसैले नबुझिने गरी बर्बराउन थाल्यो । एकछिन पछि जथाभावी चल्न पनि थाल्यो । पूरै रोङ्-कूओ-फूमा रुवाबासी चल्यो । चिया माता, चिया चङ्, वाङ् फूरेन् आदि सबै पाओय्विको कोठामा जम्मा भए । चिया माताले चिया चङ्ले आफ्नो छोरालाई सधै तर्साउने धम्काउने गरेकोले त्यस्तो भएको हो भनेर चिया चङ्लाई गाली गर्न थाल्नु भयो, “यदि पाओय्विलाई केही भइ हाल्यो भने म पनि बाँच्दिन” समेत भन्नुभयो । चिया चङ्ले हालै पाओय्विलाई गाली नगरेको सम्झाउन थाल्नुभयो । त्यसैबेला चाउयीनियाङ् पनि त्यहाँ आएर रोईकराई “अब पाओय्वि नबाँच्ने भयो, अन्त्येष्टिको तयारी गर्नु पर्‍यो” भन्न थालिन् । चिया माताले उनीलाई बेस्सरी हप्काएर “पाओय्वि नबाँच्ने भयो भनेर कसरी थाहा पाइस् ? तैंले नै कुविद्या प्रयोग गरेकी होस्” भन्नु भयो र त्यहाँबाट तुरुन्त निस्केर गइहाल्न भन्नु भयो । पाओय्वि त्यसरी बिरामी परेपछि तुरुन्तै राजवैद्य डाकियो, राजवैद्यले पाओय्विको परीक्षण गरी औषधिहरू लेखिदिए ।

रोङ्-कुओ-फूमा केही पनि ठूलो सानो घटना हुँदा अविलम्ब उपस्थित हुने वाङ् सिफङ् आज पाओय्वि यसरी बिरामी पर्दा पनि उपस्थित नभएकोले चिया माताले “वाङ् सिफङ् कहाँ छिन्, हेर्नू” भन्नुभयो । वाङ् सिफङ्लाई खोज्न जाँदा उनी पनि आफ्नो कोठामा बेहोश भएर बर्बराइ रहेकी थिइन् । उनीको सबै लक्षण पाओय्विसंगै मिल्दोजुल्दो थियो, दुबैजनालाई एकैचोटि कसरी एकै किसिमको रोग लाग्यो होला, कसैले भन्न सकेनन् । राजवैद्यले वाङ् सिफङलाई पनि जाँचेर औषधि दिए । पाओय्वि र वाङ् सिफङ् बिरामी पर्नुमा कसैले चाउयीनियाङ्‌को हात भएको शङ्का गरे, तर त्यसबारे बढी सोधखोज चाहिं गरिएन । तीन दिनसम्म पनि राजवैद्यको औषधिले दुबैलाई केही स्वास्थ्यलाभ भएन । चिया माता, चिया चङ् आदि निराश भएर अन्त्येष्टिकै तयारी गर्ने कि भन्ने समेत सोच्न पुगे । चौथो दिन अकस्मात् रोङ्-कुओ-फूको मूलद्वारमा देखापरेका एक ताउ धर्मी र बौद्ध भिक्षुले पाओय्वि र वाङ् सिफङ्को उपचार गर्न सक्ने बताए । निराश भइसकेका चिया चङ् र चिया माताले उनीहरूलाई भित्र डाकेर पाओय्विलाई देखाउनुभयो । उनीहरूले पाओय्विको जेड मागे र त्यसलाई लिएर केही मन्त्रोच्चारण गरेर फर्काए । र त्यहाँबाट जाने बेलामा पाओय्वि र वाङ् सिफङ् दुबैजना तेंतीस दिन पछि पूर्णरूपमा ठीक हुने बताए । नभन्दै उनीहरूले भनेकै समयमा दुबैजना पूर्णरूपले स्वस्थ भए ।

 

राजदरवारमा रानी भएर बसेकी चिया य्वीयान् छुन्‌ले आफै खर्च गरेर परिवारका सबै सदस्यहरूलाइ नजिकको ताउ मन्दिरमा नाटक हेर्न जाने व्यवस्था मिलाइन् । चिया माता लगायत चिया परिवारका सबैजसो खुशी भएर त्यहाँ नाटक हेर्न गए । नाटकको कार्यक्रम सकिएपछि ताउ मन्दिरका प्रमुख चाङ् थर भएका ताउ साधकले चिया मातासंग पाओय्विका लागि एक सुहाउँदो केटी भएको कुरा निकाले । त्यो कुरा सुनेर पाओय्वि र लीन् ताइय्वि दुबै उदास भए । चिया माताले भन्नुभयो, “तपाईंले भन्नु भएकी केटी पक्कै योग्य होलिन् , तर जोखना हेर्नेले पाओय्विको विवाह कम उमेरमा नगर्नू भनेर पहिले नै सावधान गराएका थिए, त्यसैले अहिले दुई चार वर्ष उनको विवाहको बारे नसोच्ने विचार गरेका छौं ।”

नाटक हेरेर फर्केपछि पाओय्वि र ताइय्वि दुबैजना खुशी थिएनन् । पाओय्विलाई लीन् ताइय्विबाहेक अरू केटीहरूको आफूसंग सम्बन्ध जोडेर कुरा गर्ने मन पर्दैनथ्यो भने, लीन् ताइय्विलाई भने पाओय्विलाई आफू मन पर्ने भए पनि त्यस्तो भन्न आँट नगर्ने, जसले जे कुरा गरे पनि सुनिराख्ने बानी देखेर रिस उठ्थ्यो । लीन् ताइय्विले आज एक चोटी पाओय्विलाई रिस उठाउने कुरा गर्ने विचार गरिन् र “आज ताउ साधकले तपाईंको लागि विवाहको प्रस्ताव ल्याए, खूब खुशी हुनु भयो होला नि” भनिन् । त्यतिकै पनि रिसाइरहेका पाओय्वि लीन् ताइय्विको कुराले अझ बढी रिसाए । त्यसदिन दुई जनाको ठूलो झगडा पर्‍यो, दुबैजना ठूलै आवाज निकालेर रुन पुगे । दुईजनाको मेलमिलाप नहुँदै लीन् ताइय्वि रुँदै आफ्नो कोठामा फर्किन् । भोलिपल्ट बिहान पाओय्विलाई हिजो रिसमा आफूले केही भन्न नहुने कुरा भनें कि भन्ने चिन्ता लाग्न थाल्यो र उनी आफै लीन् ताइय्विको कोठातिर लाग्यो । बाटोमा स्य्वे पाओछाइले देखेर पाओय्विलाई “क्षमा प्रार्थना गर्न जान लागेको जस्तो छ नि” भनेर व्यङ्ग्य गरेपछि पाओय्वि केही पनि नबोली लीन् ताइय्वि कहाँ पुगे । लीन् ताइय्वि कोठामा थिइन, स्य्वे पाओछाइको व्यङ्ग्यले नरमाइलो लागेकोले पाओय्वि लीन् ताइय्विको कोठामा पनि धेरै बेर बसेनन् । त्यहाँबाट पाओय्वि आफ्नी आमा वाङ् फूरेन्‌को कोठामा पस्यो ।

वाङ् फूरेन् खाटमा पल्टेर आँखा चिम्लेर आराम गरिरहनुभएको थियो । चीन्‌छ्‌वान् नाम गरेकी सेविका वाङ् फूरेन्‌को गोडा मिचिरहेकी थिइन् । चीन्‌छ्‌वान् पहिलेदेखि नै पाओय्विप्रति हुरुक्कै थिइन् । अहिले त्यहाँ पाओय्विलाई देखेर अनेक कुरा गरी जिस्किन थालिन् । पाओय्विले पनि “म आमालाई भनेर तिमीलाई मकहाँ लिएर जान्छु” भन्यो । आँखा चिम्लेर आराम गरिरहनुभएका वाङ् फूरेन्‌ले अकस्मात् उठेर चीन्‌छ्‌वान्‌लाई गालामा एक चड्कन लगाउनुभयो र “मालिकहरूलाई बिगार्ने तैं जस्ती केटी त होस् नि” भनेर गाली गर्नुभयो । पाओय्वि डराएर त्यहाँबाट भागिहाल्यो । चीन्‌छ्‌वान्‌लाई एक चड्कन लगाएर गाली गरेर पनि वाङ् फूरेन्‌को रिस मरेन । वहाँले चीन्‌छ्‌वानकी आमालाई बोलाएर उनीलाई आमाको जिम्मा लगाएर रोङ्-कुओ-फूबाट निकालेर पठाउनुभयो । चीन्‌छ्‌वान्‌ले आफूलाई त्यसरी निकालेर नपठाउन रोई कराई धेरै बिन्ती गरिन्, तर वाङ्‌ फूरेन्‌ले उनीलाई राखिराख्न मान्दै मान्नु भएन ।

पाओय्वि आफ्नी आमाको कोठामा निस्केर बाहिर आएको केही बेरमा बेसरी पानी पर्‍यो । उनलाई चीन्‌छ्‌वान्‌को चिन्ता लागि रहेको थियो । आफ्नो कोठा अगाडि पुग्दा मूलढोका बन्द रहेछ, ढोकामा धेरै बेर ढकढकाउँदा पनि नखुलेको देखेर पाओय्विलाई रिस उठ्यो, उनले पूरा बल लगाएर फेरि ढोका ढकढकाए, एक छिनमा ढोका खुल्यो । पाओय्विले रिसाएर ढोका खोल्न आउनेलाई हेर्दै नहेरी एक लात्ती हान्यो । ढोका खोल्न आउने सीरेन् थिइन्, पाओय्विको लात्ती लागेर उनी लड्न पुगिन् । त्यो देखेर पाओय्विलाई तुरुन्तै ठूलो पछुताउ भयो, उनले सीरेन्‌लाई उठाउँदै माफी मागे र तुरुन्तै वैद्य डाक्न पठाए । सीरेन्‌लाई पाओय्विले त्यसरी हेरविचार गरेको देखेर अरू सेविकाहरूलाई ईर्ष्या समेत लाग्यो ।

भोलिपल्ट चीनको परम्परागत त्वान्ऊ चाड थियो । पाओय्वि उदास भएर बसिरहेको थियो । पाओय्विकी अर्की सेविका छीङ्वेन् पाओय्विको सेवा गर्दै थिइन् । पाओय्विको कागजको पङ्खा ल्याएर उनलाई दिन खोज्दा छीङ्वेन्‌ले हातबाट पङ्खा खसाल्न पुगिन् । पङ्खाको एकातिर भाँच्चियो । त्यो देखेर पाओय्विले रिसाएर “कस्ती मूर्ख केटी रहिछिन्” भनेर गाली गरे । छीङ्वेन् पनि चूप लाग्ने वाली थिइनन्, उनीले पनि ठूलै स्वरले “तपाईंलाई अहिले के भयो ? तपाईं पहिले त यस्तो हुनुहुन्थेन, हिजो सीरेन्‌लाई लात्ती हान्नु भयो, आज एउटा कागजको पङ्खा भाँच्चिएकोमा यस्तो रिसाउनु भयो, यहाँ त्योभन्दा बहुमूल्य कुराहरू भाँच्चिएको, फुटेको कम छ र ?” पाओय्विको रिस मरिसकेको थिएन, पाओय्वि अझै गाली गर्दै थिए, त्यसै बेला लीन् ताइय्वि त्यहाँ आइपुगिन् र सबैलाई हँसाएर शान्त बनाइदिइन् । त्यसपछि पाओय्विले छीङ्वेन्‌लाई “ल जति च्यात्न मन लाग्छ च्यात” भनी कागजको पङ्खाहरू ल्याइ दियो, छीङ्वेन्‌ले पनि दङ्ग परी ती पङ्खाहरू च्यात्न थालिन् ।

ती दिनहरूमा चिया माताका दाजुकी नातिनी श्‌र्‌ सियाङ्य्वीन् रोङ्-कुओ-फू आएकी थिइन् । एक दिन उनी आफ्नी एक सेविकासँगै पाओय्विलाई भेट्न आइन् । उपवन भित्रै बाटोमा उनीले जेडको एउटा गहना भेट्टाइन् । त्यस गहनाको आकार आफूसंग भएको गहनाको आकारसँगै मिल्ने खालको थियो । श्‌र्‌ सियाङ्य्वीन्‌लाई देखेर पाओय्विले “तिमीलाई दिन भनेर एक ताउ धर्मीसंग जेडको एउटा गहना लिएर आएको थिएँ, कता हरायो कता” भन्यो । श्‌र् सियाङ्य्वीन्‌ले त्यो जेडको गहना देखाएर “मैले बाटोमा भेट्टाएको चाहिं हो ?” भनेर देखाइन् । नभन्दै श्‌र्‌ सियाङ्य्वीन्‌ले भेट्टाएको गहना पाओय्विले ताउ धर्मीसंग मागेर ल्याएकै चाहिँ थियो । उनीहरू कुरा गरिरहेको बेलामा एक सेवक आएर “बाजेले एक जना ठूलो मान्छे भेट्न पाओय्विलाई डाक्नु भएको छ” भन्यो । “त्यो ठूलो मान्छे भन्ने को ?” भनेर सोद्धा चिया य्वीछुन् भन्ने थाहा पाए पछि पाओय्विलाई दिक्क लाग्यो । उनलाई चिया य्वीछुन्‌लाई भेट्न मन थिएन तर बाबुले डाकेपछि नजाने भन्ने कुरा पनि भएन । उनको त्यस्तो मनस्थिति देखेर श्‌र् सियाङ्य्वीन्‌ले पाओय्विलाई भनिन् “दाजु, तपाईंलाई अघिपछि सरकारी सेवामा जानलाई चाहिने पुस्तक पढ्न लाग्दैन, कम्तीमा यस्ता सरकारी पदमा भएका मानिसहरूको संगत गर्नु भयो भने पनि तपाईंलाई पछि सरकारी सेवामा जान सजिलो हुन्छ… ।” श्‌र् सियाङ्य्वीन्‌को कुरा सुनेर पाओय्विलाई रिस उठिहाल्यो, उनले रिसाएर “बहिनी, तिमी यस्तो कुरा गर्ने हो भने म कहाँ नबस, अरू दिदीबहिनी कहाँ जाउ, मलाई यस्तो कुरा पटक्कै मन पर्दैन” भन्यो । पाओय्वि रिसाएको देखेर सीरेन् आत्तिएर श्‌र् सियाङ्य्वीन्‌लाई सम्झाउन थालिन्, “तपाईं वहाँसंग यस्तो कुरा गर्दै नगर्नुस्, अस्ति पाओछाइ दिदीले पनि यस्तो कुरा के थाल्नु भएको थियो, वहाँ रिसाएर कस्तो… तैपनि पाओछाइ दिदी रिसाउनु भएन, केही नभए जस्तो गरी जानु भयो । यदि लीन् बहिनी भएको भए फेरि कत्रो समस्या हुन्थ्यो होला ।” यो सुनेर पाओय्विले भन्यो, “लीन् बहिनीले त्यस्तो कुरा कहिल्यै पनि गर्दिनन्, यदि उनीले पनि त्यस्तो करा गर्ने भएकी भए म उनीबाट पहिले नै टाढा भइसकेको हुन्थें । पाओय्विले यस्तो कुरा गरिरहँदा लीन् ताइय्वि उनको कोठा बाहिर आइपुगेकी थिइन्, पाओय्विको कुरा सुनेर उनीलाई आफूले पाओय्विलाई सही रूपमा चिनेकी रहेछु भन्ने लागेर खुशी पनि लाग्यो, तर पछि गएर आफ्नो र पाओय्विको सम्बन्ध कस्तो हुने हो भनेर चिन्ता पनि लाग्यो । लीन् ताइय्वि पाओय्वि कोठा भित्र नपसी आफ्नो कोठातिर लागिन् ।

पाओय्वि मन नलागी नलागी चिया य्वीछुन्‌लाई भेट्न गयो । केही विशेष कुरा भएन, चिया य्वीछुन्‌लाई बिदा गरेर निस्कँदा केही दिन अघि त्यहाँबाट निकालिएकी सेविका चीन्‌छ्‌वानले इनारमा हाम्फालेर आत्महत्या गरेको समाचार आयो । पाओय्वि तुरुन्तै एकदम दुःखी भए, पाओय्विका बाबु चिया चङ् पनि स्तब्ध भएर सोच्न थाल्नुभयो, “चिया परिवारले कहिले पनि सेवक सेविकाहरूलाई दुःख दिने काम गरेको थिएन, किन यस्तो घटना घट्न गयो ?”

चीन्‌छ्‌वान् मरेकी कुरा सुनेर स्य्वे पाओछाइ वाङ् फूरेन्‌लाई सम्झाउन वहाँको कोठामा गइन् । वाङ्‌ फूरेन् कोठामा आँसु बगाउँदै बसिरहनु भएको थियो । स्य्वे पाओछाइलाई देख्नासाथ वाङ्‌ फूरेन्‌ले भन्नुभयो, “मैले उसलाई एक थप्पड के पिटेकी थिएँ, उ त इनारमा हाम्फालेर मरी… यहाँ हुँदा उ मेरी छोरी जस्तै थिई, त्यसरी मर्ली भनेर सोचेकै थिइन ।” स्य्वे पाओछाइले भनिन्, “त्यति सानो कुरामा आत्महत्या गर्ने त मूर्ख हो, अब उनीकी आमालाई अन्त्येष्टिका लागि केही खर्च दिनु भए पुगिहाल्यो नि, धेरै दुःख नमनाउनु होस् ।”

अर्को दिन सम्राट्का टाढाका नातेदार एक रजौटाको महलबाट एकजना दूत चिया चङ्लाई भेट्न आयो । अघिपछि कहिले पनि आवतजावत नभएको महलबाट दूत आएको देखेर चिया चङ्लाई अचम्म लाग्यो । दूतले चिया चङ्लाई आफ्नो मालिकको महलबाट चियाङ् थर भएका एक कलाकार हराएको हुँदा पाओय्विलाई त्यसबारे थाहा छ कि भनेर बुझ्न आएको भन्यो । चिया चङ्ले तुरुन्तै पाओय्वि डाकेर यसबारे सोध्नुभयो । पाओय्विले आनाकानी गर्दै थियो, त्यो आउने दूतले तपाईंको कम्मरमा बाँधेको रुमाल त्यहीं चियाङ् थर भएका कलाकारको हो, तपाईंलाई पक्कै उनको बारे थाहा हुनुपर्छ, भन्नुस्” भन्यो । पाओय्विले “उनले शहरको तीन कोस पूर्व घर किनेकोछु भन्थ्यो, त्यहाँ छ कि हेर्न जानुस्” भन्यो । दूतले “तपाईंले भन्नु भएको ठाँउमा भेटिए ठीकै छ, नभेटिए म फेरि आउनेछु” भनेर त्यहाँबाट गयो । त्यो समयमा चीनिया समाजमा कलाकारहरूको सामाजिक स्थान एकदम तल्लो हुने गर्दथ्यो, पाओय्विले यस्तो तल्लो वर्गहरूकासंग संगत गरेको भनेर चिया चङ्लाई एकदम रिस उठ्यो, तर त्यही बेला वहाँले पाओय्विलाई केही भन्नुभएन ।

त्यसको भोलिपल्ट चिया चङ् महल भित्र ओहोरदोहोर गरिरहनुभएको थियो । वहाँको उपपत्नीतर्फको छोरा चिया हुवान् चिच्याएर दौडेर आइरहेको थियो, चिया चङ्ले छोरोलाई हपारेर “किन त्यसरी चिच्याएर दौडेको” भनेर सोध्नुभयो । चिया हुवान्‌ले “पाओय्वि दाजुले चीन्‌छ्‌वान्‌लाई हातपात गरेकोले चीन्‌छ्‌वान् इनारमा हाम्फालेर मरिन्, उनैको लाश देखेर डराएर चिच्याएको हुँ” भन्यो । चिया चङ्लाई पाओय्विसंग साह्रै रिस उठ्यो, उनले तुरुन्तै पाओय्विलाई बोलाउन मान्छे पठाउनुभयो । आफ्ना बाबु बेसरी रिसाइरहेका छन् भन्ने बुझेका पाओय्विलाई बाबुले आफूलाई बोलाउन मान्छे पठाएको देखेपछि अनिष्टको आभास भइहाल्यो र बाटोमा भेटे जतिलाई आफूलाई बाबुले कुट्न लागेको कुरा चिया मातालाई बताउन भन्दै गए ।

चिया चङ्ले पाओय्विलाई एउटा एकान्तको कोठामा लगेर “तँ जस्तोले आफ्नो मात्र विनाश गर्ने होइन, पूरै वंशकै विनाश गर्ने छस्” भन्दै बेसरी चुट्न लाग्नुभयो । पाओय्विले कुटाइ खाएको थाहा पाउना साथ वाङ्‌ फूरेन् त्यहाँ पुगेर आफ्ना श्रीमान्‌लाई पाओय्विलाई क्षमा गर्न रोएर बिन्ती गर्न थाल्नुभयो । चिया चङ्को रिस मरेको थिएन, उनी अझै कुट्ने तयारी गर्दै हुनुहुन्थ्यो, त्यसैबेला पाओय्विलाई बचाउन चिया माता त्यहाँ आइपुग्नु भयो । चिया माताले चिया चङ्‌लाई हपारेर त्यहाँबाट निकाल्नु भयो र “पाओय्विलाई लिएर नान्‌चीङ् शहरमा बस्न जान्छु” भन्नु भयो । चिया माता रिसाउनु भएको देखेर चिया चङ्ले घुँडा टेकेर क्षमा माग्नुभयो र अबदेखि पाओय्विलाई नकुट्ने प्रतिज्ञा पनि गर्नुभयो ।

पाओय्विलाई बोकेर उनैको कोठामा लगी उपचार सुरु गरियो । पाओय्विलाई हेर्न सबै दिदी बहिनीहरू आए, उनको अवस्था देखेर दिदी बहिनीहरूले दुःखी भएर आँसु झारे । स्य्वे पाओछाइले भनिन्, “त्यहीं बेला हाम्रो कुरा सुनेको भए यस्तो दिन आउँदैनथ्यो … ।” पाओय्विले त्यो सुनेर टाउको अर्को तिर फर्कायो । अरू दिदी बहिनीहरू गइसकेपछि लीन् ताइय्वि त्यहाँ आइन् । पाओय्विको अवस्था देखेर लीन् ताइय्विले आँसु झार्दै भनिन्, “मेरो स‌ंगतमा परेर, मेरो कुरा सुनेर तपाईंलाई यत्रो दुःख भयो, अब तपाईं मेरो कुरा सुन्न छोडेर अरूहरूकै कुरा सुन्नु होस् । पाओय्विले आफूलाई खासै नदुखेको, “अरूको सहानुभूति पाउनका लागि मात्र धेरै दुखेजस्तो अभिनय गरेको हुँ” भने ।

पाओय्विको चोट निको हुन धेरै समय लाग्यो । चोट निको नहुँदासम्म पाओय्वि आफ्नै कोठामा आराम गरी बसे, दिदी बहिनीहरू उनलाई हेर्न दिनदिनै आउँथे । दिदी बहिनीहरूसंग हाँस्दै खेल्दै बस्दा पाओय्वि धेरै खुशी देखिन्थ्यो । यसरी दिदी बहिनीहरू दिनदिनै आउने गरेपछि पाओय्विले केही पनि गर्न नपाउने हुँदा एक दिन पाओय्विकी सेविका सीरेन्‌ले वाङ्‌ फूरेन्‌कहाँ गई पाओय्विलाई उपवनको कोठाबाट बाहिर अरू कतै सार्नु पर्ने कुरा सुनाइन् । आफ्ना छोराका लागि सोचेर भनेको हुँदा वाङ्‌ फूरेन् सीरेन्‌संग धेरै खुशी हुनुभयो र उनीलाई प्रत्येक महिना दिने गरेको खर्च पनि बढाइ दिनुभयो । केही दिनमा पाओय्विको कोठा उपवन बाहिर सार्ने काम गरियो, अब पाओय्वि दिदीबहिनीहरूबाट केही टाढा हुने भए ।

 

एकदिन पाओय्विले सेविका छीङ्वेन्‌लाई लीन् ताइय्वि के गरिरहेकी छिन् हेरेर आउन अह्राए । छीङ्वेन्‌ले “त्यतिकै गएर कसरी हेरेर मात्र आउने ? भन्ने कुरा केही छ भने भन्नुस्, उपहार दिने कुरा केही छ भने दिनुस्” भनिन् । पाओय्विले आफूले प्रयोग गर्दै आएको रुमाल दिंदै “यो रुमाल लीन् बहिनीलाई दिइदिनू” भने । छीङ्वेन्‌ले “यस्तो नयाँ पनि होइन, पुरानो पनि नभएको रुमाल कसरी लगेर दिने?” भनिन् । पाओय्विले लीन् बहिनीले यो देखेपछि कुरा बुझ्नेछिन्, तिमी चिन्ता नगर” भने । छीङ्वेन्‌ले त्यो रुमाल लागेर लीन् ताइय्विलाई दिइन्, लीन् ताइय्विले रुमाल हातमा लिंदै “पाओय्विलाई अहिले कस्तो छ ?” भनेर सोधिन् । छीङ्वेन्‌ले “अहिले राम्रो छ” भनेर त्यहाँबाट फर्किन् । त्यो रुमाल पाएर लीन् ताइय्विले आफू धेरै रुने गरेको थाहा पाएर पाओय्वि आफू पनि रुने गरेको थाहा दिन त्यो प्रयोग गरिसकेको रुमाल दिइ पठाएको अर्थ लगाइन् र मनमनै पाओय्विलाई धन्यवाद दिंदै भावुक भएर आँसु बगाइन् ।

एकदिन पाओय्विका दिदी बहिनीहरूले रमाइलो गर्नाका लागि कविगोष्ठी गर्ने विचार गरे । साहिंली बहिनी थान्‌छुन् कविगोष्ठी गर्न विशेष सक्रिय भइन् । कविगोष्ठीमा सहभागी बनाउन श्‌र् सियाङ्य्वीन्‌लाई पनि निम्तो पठाए । उनी आएर स्य्वे पाओछाइसँगै बसिन् । श्‌र्‌ सियाङ्‌य्वीन्‌ले कविगोष्ठीका दिन आफूले खर्च गरेर सबैलाई गँगटोको परिकार खुवाउने कुरा सुनाइन् । स्य्वे पाओछाइसंग सल्लाह गरेर श्‌र् सियाङ्य्वीन्‌ले त्यस पटकको कविगोष्ठीको कविताको शीर्षक गोदावरी फूल राखिन् । सबै जनाले गोदावरी फूललाई शीर्षक बनाएर कविता रच्नु पर्ने भयो । कविताको मूल्याङ्कन गर्नको लागि पाओय्विकी भाउजु ली वान् नियुक्त हुनुभयो । दिदी बहिनीहरूले गोदावरी फूलबारे धेरै कविताहरू रचे । ली वान्‌ले ती कविताहरूबाट लीन् ताइय्विले रचेका तीन कवितालाई प्रथम, द्वितीय र तृतीय घोषित गर्नुभयो ।

रोङ्‌-कुओ-फूको सबै व्यवस्था वाङ् सिफङ्ले गर्दै आएकी थिइन् । रोङ्‌-कओ-फूका मालिकहरू सेवक सेविकाहरू दासदासीहरू सबैले प्रत्येक महिना आफ्नो स्थान र हैसियत अनुसार निश्चित खर्च पाउँदथे । त्यो खर्च सबैलाई बाँड्ने काम पनि वाङ् सिफङ्‌कै थियो । त्यो महिना मासिक खर्च बाँड्ने समय हुँदा पनि बाँडिएन । सीरेन्‌ले वाङ् सिफङ्की सेविका फीङ्‌अर्‌लाई त्यसबारे सोध्दा फीङ्अर्‌ले “मालिक्नीले पैसा अरूलाई ऋृणमा दिनु भएको थियो । उनीहरूले समयमा नफर्काएको हुनाले केही ढीला भएको हो, उनीहरूले फर्काउनासाथ बाँडिने छ” भनिन् ।

वाङ् फूरेन्‌लाई टाढाको नातेदार भन्ने गाउँले वृद्धा लेउ लाओलाओ आफ‍्ना खेतबारीमा उम्रिएको धेरै सागपात फलफूल लिएर दोस्रो पटक रोङ्-कुओ-फूमा आउनुभयो । लेउ लाओलाओलाई देखेर चिया माता खुशी हुनु भयो र त्यहीं दुईदिन बस्नका लागि अनुरोध गर्नु भयो । चिया माताले लेउ लाओलाओको स्वागत गर्दै दिउँसो सबैले एक साथ खाने व्यवस्था पनि गर्नु भयो । खाना खाइ सकेपछि कविता भन्ने खेल खेल्ने भनी सबै जम्मा भए । चिया माताकी मुख्य सेविका य्वीयान्‌याङ्ले खेल सञ्चालन गरिन् । उनीले गोटी फालेर कसको पालो भन्थिन् र कविता भन्नका लागि शीर्षक भन्थिन्, पालो हुनेले उनीले दिएको शीर्षक अनुसार कुनै पुस्तकको कविताको मिल्ने एक हरफ भन्नु पर्दथ्यो । चिया माता, स्य्वेयीमा, स्य्वे पाओछाइ, लीन् ताइय्वि आदि सबैले आफ्नो आफ्नो पालोमा कविताका हरफहरू भन्दै गए, कसैलाई दण्डित हुनु परेन । अन्तमा लेउ लाओलाओको पालो आयो, उनीले आफूले जाने जस्तो अनुप्रास मिल्ने वाक्यहरू बोल्दै सबैलाई हँसाउदै जानुभयो । वहाँले पनि दण्डित हुनु परेन ।

दिउँसो चिया माता सबैलाई साथ लिएर नजिकैको आफ्नो परिवारले दान दिएर चलाइ राखेको सानो बौद्धविहारमा जानु भयो । उक्त बौद्धविहारमा म्याउय्वि नामका एक भिक्षुणी बस्दथिन् । उनीले चिया परिवारका सबैको स्वागत गरिन् र चिया टक्राइन् । एकछिन पछि लीन् ताइय्वि र स्य्वे पाओछाइलाई अर्कै कोठामा लगी अलग्गै चिया खुवाइन् । पाओय्वि पनि त्यहीं आइपुगे । म्याउय्विले चियाबारे बताउँदै गइन् र चिया र ध्यान बीच घनिष्ट सम्बन्ध रहेको पनि बताइन् ।

लेउ लाओलाओ पहिलो पटक रोङ्-कुओ-फू आउनु हुँदा वाङ् सिफङ्ले वहाँलाई खासै राम्रो व्यवहार गरेकी थिइनन् । यसपटक चिया माताले लेउ लाओलाओको ठूलो सत्कार गर्नु भएको देखेर वाङ् सिफङ्ले पनि लेउ लाओलाओलाई राम्रो व्यवहार गरिन् । उनीले लेउ लाओलाओलाई आफ्नी छोरीको नाम राखिदिन समेत अनुरोध गरिन् । दुईचार दिन बसेर लेउ लाओ लाओ घर फर्किन लाग्दा वाङ् सिफङले वहाँलाई धेरै कोसेली पनि दिई पठाइन् ।

केही दिन पछि लीन् ताइय्वि स्य्वे पाओछाइलाई भेट्न गइन् । लीन् ताइय्विलाई देखेर पाओछाइले उनीलाई “तिमी त्यहाँ घुँडा टेकेर बस, तिमीलाई केही कुरा केरकार गर्नुछ” भनिन् । लीन ताइय्विले अचम्म मानेर “पाओदाइ दिदी बहुलाउन लाग्नु भयो जस्तो छ” भनिन् । स्य्वे पाओछाइले “त्यसदिन बज्यैकहाँ कविता भन्दाखेरि तिमीले के भनेकी थियौ, भन त” भनिन् । लीन् ताइय्विले त्यो कुरा सुन्नासाथ मुख रातो बनाइन् । त्यस दिन उनीले त्यसबेला समाजमा प्रतिबन्धित पुस्तकको शृङ्गार रसको कविताको हरफहरू भनेकी थिइन् । उनीले स्य्वे पाओछाइलाई फकाउँदै “दिदी, यो कुरा अरू कसेलाई नभन्नू है” भन्न थालिन् । स्य्वे पाओछाइले “म कसैलाई भन्दिन, म पनि कुन खालकी हुँ र ? मैले पनि त्यो पुस्तक पढेकी छु, नपढेकी भए मलाई थाहा हुन्थ्यो ?” भनिन् । त्यस दिनदेखि लीन् ताइय्विले स्य्वे पाओछाइलाई असल केटीको रूपमा हेर्न थालिन्, त्यसअघि लीन् ताइय्वि उनीलाई मनमा कालो भएकी स्वाङ्ग पार्दै हिंड्ने केटी सम्झिन्थिन् ।

वाङ् सिफङ्को जन्मदिन आइपुग्न लाग्यो । अरू सबैको जन्मदिन मनाउने व्यवस्था मिलाउने वाङ् सिफङ्को जन्मदिन मनाउन सबैले चासो देखाए । चिया माताले “सबैले अलि अलि पैसा हालेर अलि भव्यरूपमा जन्मदिन मनाउनु पर्ला” भन्नु भयो र वहाँले सबैभन्दा पहिले आफ्नो तर्फबाट पैसा पनि हाल्नु भयो । सबैले आफ्नो क्षमता अनुसार पैसा हाले, एकै छिनमा भव्य रूपमा भोज भतेर गर्न पुग्ने पैसा जम्मा भयो । जन्मदिनमा सबैजनाले जम्मा भएर वाङ् सिफङ्लाई शुभकामना दिँदै मदिरा पिलाउन थाले । त्यस जमघटमा पाओय्वि भने देखा परेनन्, उनकी सेविका सीरेन्‌लाई समेत पाओय्वि कहाँ गए भन्ने थाहा थिएन, उनी आत्तिन थालिन् । पाओय्वि भने अरू कसैलाई नभनी एक जना सेवक साथ लिएर घोडामा चढी टाढाको एउटा बौद्धविहारमा गएका थिए । चीन्‌छ्‌वान् सेविका आफ्नो कारणले मरेकी हुँदा उनी मृतकको नाममा धूप बाल्नका लागि बौद्धविहारमा गएका थिए । त्यहाँबाट फर्केर पनि उनी जन्मदिन मनाइरहेको ठाउँमा नगई सरासर आफ्नै कोठामा गए ।

वाङ् सिफङ् मदिरा पिउनै नसक्ने भएपछि जन्मदिन मनाइरहेको कोठाबाट बाहिर निस्किन् । उनकी सेविका फीङ्अर् पनि साथै निस्किन् । उनीहरूलाई देख्नासाथ बाहिर बसेकी एउटी सेविका केटी दौडेर गइन् । वाङ् सिफङ्लाई शङ्का लागेर उनीलाई डाकेर रोकिन् र “किन त्यसरी भागेको ?” भनेर सोधिन् । केटीले डराएर वाङ् सिफङ्का श्रीमान चिया लियान्‌ले उनीलाई त्यहाँ चियो गर्न राखेको र उनीहरू निस्केको देख्नासाथ खबर गर्नू भनेकोले दौडेको भनिन् । वाङ् सिफङ् र फीङअर् दौडेर आफ्नो कोठामा पुगे । चिया लियान्‌का साथमा अर्की स्वास्नीमान्छे थिइन् । वाङ् सिफङ्ले कोठाभित्र पसेर त्यस स्वास्नीमान्छेलाई पिट्न, भुत्ल्याउन थालिन्, एकैछिनमा उनीलाई पिट्न छोडेर फेरि फीङ्अर्‌लाई पिट्न थालिन्, फीङ्अर् त्यहीं रुन थालिन् । चिया लियान्‌ले वाङ् सिफङ्लाई रोक्न जति प्रयास गरे पनि नसके पछि त्यहीं भएको तरवार म्यानबाट निकाली वाङ् सिफङ्लाई “तँलाई पहिले मार्छु, अनि म पनि मर्छु” भनेर प्रहार गर्न खोजे । वाङ् सिफङ् डराएर दौडेर चिया माताहरू भएको ठाउँमा रुँदै “बचाउ, बचाउ, मलाई मार्न लागे” भनेर कराउँदै गइन् । उनीको जन्मदिन मनाउन सबैजना बसिरहेको कोठामा भर्खरै खुशीयाली छाइरहेको थियो, वाङ् सिफङ् रुँदै कराउँदै पुगेपछि त्यहाँको वातावरण तुरुन्तै तनावग्रस्त भयो । वाङ् सिफङ्को पछि पछि चिया लियान् हातमा नाङ्गो तरवार लिएर आइ पुगे । चिया माताले तुरुन्तै कुरा बुझिहाल्नु भयो र वाङ् सिफङ्लाई आफूतिर डाकेर चिया लियान्‌लाई हपार्नु भयो । चिया लियान्‌को हातबाट तरवार खोस्न लगाएर उनलाई बाहिर पठाइदिनु भयो र आज वाङ् सिफङ्लाई त्यहीं सुत्न लगाएर “भोलि कुरा मिलाउँछु” भन्नु भयो ।

भोलिपल्ट बिहान चिया लियान्‌ले चिया माताको अगाडि आएर घुँडा टेकेर माफी माग्यो । चिया माताले “मसंग मात्र माफी मागेर पुग्दैन, तिम्री श्रीमतीसंग पनि माफी माग” भन्नुभयो । चिया लियान्‌ले वाङ्‌ सिफङ्‍सँग पनि माफी माग्यो । त्यसपछि वहाँले उनीहरू दुबैजनालाई फीङ्अर्‌संग माफी माग्न लगाउनु भयो । चिया लियान्‌को वाङ् सिफङ् र फीङ्अर्‌संगको सम्बन्ध सामान्य भयो । उता चिया लियान्‌संग अवैध सम्बन्ध राख्ने स्वास्नी मान्छेले झुण्डिएर आत्महत्या गरिन् । चिया लियान् उनीका परिवारलाई वाङ् सिफङ्को जन्मदिन मनाउँदा लागेको खर्चभन्दा केही बढी पैसा दिएर कुरा मिलाए ।

शरद ऋतु लाग्न थालेपछि लीन् ताइय्विको स्वास्थ्य समस्या बढ्न थाल्यो । उनीलाई खोकी लागिरहन्थ्यो, कहिले काहीँ ज्वर पनि आउँथ्यो । उनी त्यसरी बिरामी परेको देखे पछि पाओय्विलाई छटपटी हुन्थ्यो । पाओय्वि प्रायः दिन दिनै लीन् ताइय्विलाई भेटेर उनीको स्वास्थ्यको अवस्था सोद्धथे ।

 

चिया माताको साथमा रही सेवा गर्ने सेविका य्वीयान्‌याङ् अविवाहित सेविकाहरू मध्ये सबैभन्दा जेठी थिइन् । चिया माताका जेठा छोरा, पाओय्विका ठूला बाबु चिया शको आँखा उनीमाथि पर्न गयो । य्वीयान्‌याङ्लाई आफ्नी उपपत्नी बनाउन चिया शले अनेक प्रयास गरे । तर य्वीयान्‌याङ्ले चिया माताकहाँ सबैजना भेला भइ रहेको बेला आफू कुनै हालतमा चिया शको कान्छी स्वास्नी नबन्ने प्रतिज्ञा सुनाइन् र “यदि चिया माता आफैले पनि त्यस्तो गर्न दवाब दिनु भएमा अहिले नै कपाल खौरेर बरु भिक्षुणी बन्न जान्छु, तर वहाँको कुरा मान्दिन” भन्दै लुगाभित्रबाट कैंची निकालेर आफ्नो कपाल काट्न खोजिन् । अरूले उनीको हातबाट कैंची खोसेर लगे । चिया माताले सबै कुरा बुझे पछि आफ्ना जेठो छोरा र बुहारीलाई हपार्नु भयो । चिया शलाई आफ्नो ठूलो बेइज्जत भएको अनुभव भयो, उनले कुनै दिन त्यसको बदला अवश्य लिन्छु भनेर प्रतिज्ञा गरे ।

चिया परिवारमा पुस्तौंदेखि सेवकको रूपमा बस्दै आएका एक बृद्ध सेवकको छोरोले त्यहीं जन्मेर पढेर सरकारी जागीर पाएको खुशीयाली मनाउन चिया परिवारका सबै जनालाई भोजमा आमन्त्रण गरेका थिए । त्यहाँ नाटक पनि मञ्चन गरिएको थियो । उक्त भोजमा स्य्वे पाओछाइका दाजु स्य्वे फान् पनि पुगेका थिए । उनले नाटकमा केटी भएर अभिनय गर्ने लेउ थर भएका एक पुरुष कलाकारलाई केटी सम्झेर जिस्काउन थाल्यो । लेउले चेतावनी दिंदा पनि स्य्वे फान्‌ले जिस्काउन छोडेनन् । अनि लेउ घर भएका कलाकारले स्य्वे फान्‌लाई त्यसो भए आज दिउँसो हामी शहरको दुई कोस उत्तरको पुलमा भेटौं न, है?” भनेर भन्यो । स्य्वे फान् ढङ्ग पर्‌यो र दिउँसो घोडा चढेर उनले भनेको ठाउँमा गयो । त्यहाँ लेउ कलाकारको पुरुष रूप देखेर स्य्वे फान् अकमक्क पर्‍यो र उनीसंग मीत लगाउने कुरा गर्न थाल्यो । स्य्वे फान्‌संग अति रिसाएका लेउले उनलाई बेसरी कुटेर घाइते बनाई त्यहीं छोडेर गए । अर्धचेत अवस्थामा त्यहीं भुईंमा पल्टिरहेको अवस्थामा स्य्वे फान्‌लाई चिन्ने मान्छेले देखेर उनलाई घरसम्म पुर्‍याइदियो । त्यसरी घाइते हुने गरी पिटाइ खाए पछि स्य्वे फान् महिनौंसम्म लाजले बाहिर निस्केन । आफूले पिटेको मान्छे चिया परिवारका नजिकका नातेदार भन्ने थाहा पाएपछि लेउ कलाकार पनि डराएर बेपत्ता भए । स्य्वेयीमाले आफ्नो छोरालाई घाइते हुने गरी कुटपिट गर्ने लेउलाई पक्राउ गर्न उजुरी गर्ने विचार गर्नुभएको थियो, तर छोरी स्य्वे पाओछाइले वहाँलाई रोकिन् ।

स्य्वे फान्‌को घाउचोट निको भएपछि उनले अर्को शहरमा गएर पारिवारिक व्यापार सम्हाल्ने विचार गर्‌यो । आमा स्य्वेयीमाले त्यसो गर्दा व्यापारबारे बुझ्दै जाने विचार गरी उनलाई अर्को शहरमा पठाउनु भयो । स्य्वे फान् अर्को शहरमा गए पछि उनकी मुख्य सेविका सियाङ्लीङ् स्य्वे पाओछाइसंग बस्न आइन् । सियाङ्लीङ् सानैमा बेचिएकी दासी सेविका भए पनि उनीलाई पढ्ने, लेख्ने, खास गरी कविता रच्ने ठूलो अभिरुचि थियो । उपवनमा बस्ने सबै दिदी बहिनीले कविता रच्ने भए पनि उनीलाई लीन् ताइय्विको कविता सबैभन्दा बढी मन पर्ने भएको हुँदा उनीले लीन् ताइय्विलाई गुरु थापी कविता रच्ने तरिका सिकाइ दिने अनुरोध गरिन् । सियाङ्लीङ्को कविताप्रति साँच्चै नै अभिरुचि भएको देखेर लीन् ताइय्विले पनि खुशी भएर कविता रचना गर्न पहिले कुन कुन कविहरूको कविता कण्ठ पारेर त्यसबारे मनन गर्ने त्यसपछि आफ्नो कवितामा कसरी शब्द चयन गर्ने आदि कुराहरू सिकाइ दिइन् ।

पहिले नै छः सात जना कवयित्रीहरू भएको उपवनमा फेरि अरू छःसातजना केटीहरू थपिए । तिनीहरू पाओय्विकी भाउजू ली वान्‌का काकाका छोरीहरू, स्य्वे पाओछाइको काकाकी छोरी, पाओय्विकी ठूली आमा सीङ्‌ फूरेन्‌को भाइकी छोरी आदि थिए । नयाँ बस्न आएका केटीहरू पनि सबै पढे लेखेका, गीत कवितामा अभिरुचि भएकाहरू थिए । त्यतिका नयाँ केटीहरू थपिएका हुँदा पाओय्वि पनि धेरै खुशी थियो । फेरि छिटै एकचोटी कविगोष्ठी आयोजना गरियो । केटीहरूले भान्छाबाट मृगको मासु ल्याएर आफै पोलेर खाँदै कवि गोष्ठीलाई अझ रमाइलो बनाए ।

पाओय्विकी मुख्य सेविका सीरेन्‌की आमा सिकिस्त भएको खबर आयो । सीरेन बिदा लिएर आमाको हेरचाह गर्नका लागि गइन् । अर्की सेविका छीङ्वेन्‌ले सीरेन्‌को काम गर्न थालिन् । कामको भार बढेको र राम्ररी आराम गर्न नपाएकी भएर केही दिनमै छीङ्वेन् बिरामी परिन् । पाओय्विले वैद्य डाकेर छीङ्वेनको परीक्षण गराए । वैद्यले छीङ्वेन्‌का लागि लेखिदिएको औषधि हेरेर पाओय्विले “कस्तो वैद्य रहेछ, केटीहरूलाई पनि यस्तो औषधि दिइन्छ ? राजवैद्य डाक्नू” भन्यो । राजवैद्यले आएर छीङ्वेन्‌लाई जाँचिसके पछि अर्कै औषधि लेखिदियो । राजवैद्यले लेखिदिएको औषधि हेरेर पाओय्विले केटीहरूलाई यस्तो पो औषधि दिनुपर्दछ त” भन्यो ।

केही समय अघि चिया माता बज्यैले पाओय्विलाई एउटा बहुमूल्य बाहिरी पहिरन दिनु भएको थियो । दुई दिनअघि मामाको जन्मदिनको उपलक्ष्यमा मामाघर जाँदा पाओय्विले त्यहीं बहुमूल्य पहिरन लगाएर गएका थिए । मामाघरमा बालिरहेको तेल बत्तीबाट फिलिङ्गो झरेर त्यो पहिरनमा परी जलेर देखिने ठाउँमै एउटा ठूलो प्वाल परेको रहेछ । आज मात्र त्यो प्वाल देखेर पाओय्वि छट्पटाउन थाले । भोलिको कार्यक्रममा पनि त्यहीं पहिरन लगाउनु पर्ने थियो । पाओय्वि छटपटाएको देखेर पूरा सञ्चो भइनसकेका छीङ्वेन्‌ले आफूले त्यो मिलाएर टाल्न गर्न जान्ने बताइन्, र त्यसको लागि चाहिने धागो र सियो मगाइन् । छीङ्वेन्‌ले रातभर मेहनत गरी त्यो काम पूरा गरिदिइन् । पाओय्विलाई बिरामी छीङ्वेन्‌लाई त्यस्तो मेहनत पर्ने मसिनो काम गराउनु परेकोमा साह्रै अप्ठ्यारो लागेको थियो ।

चीनिया परम्परागत नयाँ वर्ष वसन्त उत्सव आउनै लागेको थियो । आफूहरूले बिर्ताको रूपमा पाएको भूमिबाट उठ्नु पर्ने कर र बाली समयमा नपुग्ला भनेर नीङ्‌-कुओ-फूका चिया चन्‌लाई ठूलो चिन्ता लागिरहेको थियो । तर कर र बाली लिएर आफ्नो बिर्ता भूमि हेर्न खटाएको मान्छे समयमै आइपुग्यो । उनीहरूले केही अन्न, केही नगद र सयौंको संख्यामा बोका, मृग, सुँगुर ल्याएका थिए । नीङ्-कुओ-फू र रोङ्‌-कुओ-फूको मुख्य आर्थिक स्रोत ती बिर्ता भूमि नै रहेको थियो । त्यसवर्ष नीङ-कुओ-फूको कर र बाली पहिले पुगेकोले चिया चन्‌ले केही अन्न र केही बोका, मृग आदि रोङ्-कुओ-फूमा पुर्‌याउन पठाए ।

नयाँ वर्ष मनाएको धेरै समय नहुँदै वाङ् सिफङ्को गर्भपतन भयो । उनीले केही महिना आराम गर्नु पर्ने भयो । उनीको अनुपस्थितिमा रोङ्-कुओ-फूको व्यवस्थापनको कार्यभार पाओय्विकी भाउजू ली वान् र साहिंली बहिनी थान् छुनलाई सुम्पियो । स्य्वे पाओछाइले पनि उनीहरूलाई सघाउने भइन् । थान्‌छुन्‌ले रोङ्-कुओ-फूको व्यवस्थापन गर्न थालेपछि एकदिन उनीको आफ्नै मामा, चाउयीनियाङ्‌को दाजुको मृत्यु भयो । रोङ्‌-कूओ-फूमा सेविका सुसारे भएर बसेकाहरूको घरमा कोही मर्दा केही पैसा दिइन्थ्यो । थान्‌छुन्‌की आमा चाउ यीनियाङ्सँग चिया चङ्ले विवाह गरेको भए पनि उनीको हैसियत सेविकाकै मात्र थियो । चाउयीनियाङ् आफ्नी छोरीले महलको काम सम्हालिरहेको बेलामा आफ्ना दाजुको अन्त्येष्टि संस्कारका लागि अलि बढी खर्च देओस् भन्ने चाहन्थिन्, तर थान्‌छुन्‌ले मर्ने व्यक्ति आफ्नो मामा नै भए पनि नियम भन्दाबढी एक पैसा पनि दिन मानिनन् । आमा छोरीको लामो भनाभन भयो, तर थान्‌छुन्‌ले नियम मिचेर एक पैसा पनि बढी दिइनन् ।

ली वान् र थान्‌छुन्‌ले महलको व्यवस्थापन गर्न थाले पछि त्यहाँ धेरैवटा समस्यामा भएको देखे । त्यसबेला सबै महिलाहरूको प्रसाधन सिंगारपटारका सामग्री एक साथ ठेक्कामा दिएर किनिन्थ्यो, जसले गर्दा तिनीहरूको मूल्य बढी, गुणस्तर निम्नस्तरको हुने गर्दथ्यो । थान्‌छुन्‌ले सबैसंग सल्लाह गरी अबदेखि प्रत्येक महिलालाई खर्च दिएर आफैले ती वस्तुहरूको बन्दोवस्त गर्ने व्यवस्था गरिन् । लीन् ताइय्वि, स्य्वे पाओछाइ, पाओय्विका तीन दिदी वहिनी बस्दै आएको “ता कुवान् य्वीयान्” उपवन निकै ठूलो क्षेत्रफलको भएको हुँदा त्यसको सरसफाइका लागि नै धेरै खर्च भइरहेको अवस्था थियो । र उपवनको व्यवस्थापन पनि राम्ररी हुन सकेको थिएन । थान्‌छुन्‌ले रोङ्-कुओ-फूमै काम गर्ने सेवक र प्रौढ सेविकाहरूलाई उपवनको निश्चित क्षेत्रहरू जिम्मा लगाइन् र त्यसको सरसफाइ गर्नु पर्ने, त्यहाँ उम्रिएका फूलहरू बाहिर लगेर बेच्न पाइने र त्यसबापत वर्षको निश्चित रकम महललाई बुझाउनु पर्ने नियम बनाइन् । त्यसबाट फाइदा हुने देखेर उपवनको क्षेत्रहरूको जिम्मा लिन धेरै जना आए । सरसफाइका लागि धेरै खर्च भइरहेको उपवनमा अब बिना खर्च सरसफाइ हुनेमात्र होइन, त्यसबाट आर्थिक लाभ समेत हुने भयो ।

 

लीन् ताइय्विकी मुख्य सेविका च्‌च्य्वीयान्‌लाई लीन्‌ ताइय्वि र पाओय्विबीचको प्रेमसम्बन्धबारे राम्रो थाहा थियो । उनीहरूको प्रेमको कारणले लीन् ताइय्वि बारम्बार बिरामी परिरहने कुरा पनि उनीले बुझेकी थिइन् । उनीहरू दुईजना बीचको प्रेमबारे ठूला मानिसहरूलाई पनि थाहा होस् र पछि गएर दुई जनाको विवाह होस् भन्ने उनी चाहन्थिन्, तर त्यसका लागि उनी केही पनि गर्न सक्दिनथिन् । यदि कुनै प्रकारले पाओय्विलाई दवाब दिन सकियो भने केही होला कि भन्ने उनीलाई लागेको थियो । एक दिन पाओय्वि लीन् ताइय्वि बस्ने कोठामा आउँदा लीन् ताइय्वि त्यहाँ थिइनन्, च्‌च्य्वीयान् मात्र थिइन् । च्‌च्य्वीयान्‌ले पाओय्विलाई देखेर “अब तपाईं र मेरी मालिक्नी दुबै ठूलो भइसक्नु भयो, तपाईं  हामीकहाँ धेरै नआउनु होस्, अरू देखे भने कुरा काट्छन्” भनिन् । पाओय्विले अचम्म मानेर अलि नजिक गएर सोध्दा च्‌च्य्वीयान्‌ पर गइन्, र “अहिले यसरी नजिक बस्नु पनि उचित हुँदैन” भनिन् । पाओय्वि छक्क पर्‌यो र “किन आज यस्तो कुरा गरेकी ?” भनेर सोध्यो । च्‌च्य्वीयान्‌ले कुरा बनाएर भनिन्, “अब छिट्टै मेरी मालिक्नीलाई लिन वहाँको सूचउ घरका नातेदारहरू आउँदैछन्, अनि मेरी मालिक्नी वहाँका नातेदारहरूसँगै सूचउ गएर बस्नु हुन्छ ।” च्‌च्य्वीयान्‌को कुरा सुन्ना साथ पाओय्वि टोलाउन थाल्यो र एकनाशले “……म जान दिन्न, म जान दिन्न” मात्र रट्न थाल्यो । उनको त्यो अवस्था देखेर च्‌च्य्वीयान् पनि आत्तिइन् ।

उनीले गएर पाओय्विका सेविकाहरूलाई खबर गरे पछि सबैले आएर पाओय्विलाई डोर्‌याएर उनको कोठामा लगे । आफ्नो कोठामा पुगेपछि पनि पाओय्विको अवस्था ठीक भएन । उनको राम्रो होश थिएन, एकैछिन शान्त रहने, एकै छिन रुने एकै छिन बर्बराउने, “म जान दिन्न …. म जान दिन्न,” भनेर कराउने गरिरह्यो । सीरेन्‌ले आत्तिएर गएर चिया माता र वाङ् फूरेन्‌लाई पाओय्वि बिरामी भएको कुरा सुनाइन् । पाओय्विलाई हेर्न चिया माता, वाङ् फूरेन् आदि आउनु भयो । चिया माताले कसरी त्यस्तो भयो, भनेर सोध्नु हुँदा च्‌च्य्वीयान् संग कुरा गरेर त्यस्तो भएको भन्ने थाहा पाउनु भएपछि च्‌च्य्वीयान्‌लाई डाक्न लगाएर, “ए अलच्छिना केटी, तैंले पाओय्विसंग के कुरा गरिस् त्यस्तो?” भनेर सोध्नु भयो । च्‌च्य्वीयान्‌ले रोएर “मैले त खालि मेरी मालिक्नी सूचउ फर्किंदै हुनु हुन्छ भनेर ठट्टा गरेर भनेकी थिए, वहाँलाई यस्तो भयो” भनिन् । चिया माताले “ठट्टा गरेर भनेको कुरालाई साँच्चै ठानेर त्यस्तो भएको रहेछ,” भन्नुभयो र पाओय्विलाई “तिम्री लीन् बहिनी कतै पनि जाँदिनन्, तिमी चिन्ता नगर” भन्नु भयो । पाओय्विको अवस्था बिस्तारै ठीक हुँदै आयो ।

च्‌च्य्वीयान्‌ले केही कुरा भनेर पाओय्वि बिरामी भयो भन्ने थाहा पाएर लीन् ताइय्वि उनीसंग रिसाइन् । च्‌‌च्य्वीयान्‌ले लीन् ताइय्विलाई “यो सबै मलाई तपाईंको चिन्ता लागेर भनेकी हुँ, तपाईंलाई यहाँ साँच्चै माया गर्ने बज्यै एक जना मात्रै हुनु हुन्छ, वहाँले तपाईंको र पाओय्विको सम्बन्धलाई अघि बढाउनु भएन भने अरू कसैले गर्नु हुनेछैन, त्यसैको चिन्ता लाग्छ” भनिन् । च्‌च्य्वीयान्‌को कुरा सुनेर लीन् ताइय्विले चूपचाप आँसु बगाउन थालिन् ।

स्य्वे पाओछाइकी आमा स्य्वेयीमालाई पनि लीन् ताइय्वि र पाओय्वि एकले अर्कालाई मन पराउँछन् भन्ने राम्रो थाहा थियो । एक दिन लीन् ताइय्वि च्‌च्य्वीयान्‌लाई लिएर स्य्वेयीमा कहाँ गएकी थिइन् । स्य्वे पाओछाइले स्य्वेयीमाको अगाडि बच्चाले पिरोले जस्तो व्यवहार गर्न लागेको देखेर लीन्‌ ताइय्विले स्य्वे पाओछाइलाई व्यङ्ग्य गर्दै “यी पाओदिदी अघिपछि त जेठीबाठी देखिन्छिन्, आफ्नी आमाको अगाडि चाहिं सानी बच्ची जस्ती हुने रहिछिन् ।” एकै छिनमा लीन् ताइय्वि त्यहीं आफ्नो आमाबाबु कोही पनि नभएको सम्झिंदै रुन थालिन् । स्य्वेयीमाले लीन् ताइय्विलाई छातिमा टाँसेर माया गरेर “छोरी, तिमी दुःख नमनाउ, हामी छँदैछौं नि” भन्नुभयो । लीन् ताइय्विले “त्यसो भए म तपाईंलाई मेरी धर्ममाता बनाउँछु, मलाई धर्मपुत्री बनाउनु हुन्छ?” भनेर सोधिन् । स्य्वेयीमाले खुशी भएर “भइहाल्छ नि” भन्नुभयो । स्य्वे पाओछाइले तुरुन्तै “हुँदैन आमा, हुँदैन, कुनै दिन उनी तपाईंकी बुहारी पो बन्छिन् कि?” भनिन् । स्य्वेयीमाले “यी लीन् नानीलाई तिम्रो दाइसंग मिलाउने? अरू सबैले माने पनि म मान्दिन । लीन् नानीको पाओय्विसंग मात्र जोडी मिल्छ ।” यो कुरा सुनेर लीन् ताइय्वि लाजले रातै भइन्, च्‌च्य्वीयान्‌ले “त्यसो भए स्य्वेयीमाले बज्यैसंग त्यो कुरा चलाइदिनुस् न्” भनिन् । स्य्वे पाओछाइले च्‌च्य्वीयान्‌लाई हप्काए जस्तो गरी “यो केटी पनि अचम्मकी रहिछ, विवाहबारीको कुरा गर्ने बज्यै भइहाल्नु हुन्छ नि, तिमी हामीले त्यस्तो कुरा गर्दै हिंड्ने हो ?” भनिन् ।

नीङ्-कुओ-फूका चिया चन्‌का बाबु धेरै वर्ष पहिले नै आफ्नो पदवी र परिवार छोडेर नजिकैको ताउ मन्दिरमा गएर साधना गर्दै बस्नुभएको थियो । त्यहीं वहाँको मृत्यु भयो । वहाँको मृत्यु भए पछि चिया परिवारका सबैजना अन्त्येष्टि संस्कारका लागि ताउ मन्दिरमा पुगे, दुईचार हप्ता उनीहरू सबैलाई त्यहीं बस्नु पर्ने भयो । नीङ्-कुओ‍-फूमा कोही पनि नभएको हुँदा चिया चन्‌की श्रीमतीकी सौतनी आमा र उनका दुई छोरीलाई घर हेर्नका लागि डाकियो । ती दुई छोरी मध्ये ठूलीको नाम यउ आर्‌चिए र सानीको नाम यउ सान्‌चिए थियो ।

दिनभरि ताउ मन्दिरमा अन्त्येष्टिको संस्कार गरेर चिया चन् आफ्ना काकाको छोरा चिया लियान्‌लाई साथ लिएर रातमा यउ थरका दुई साली भेट्न आउँथे । चिया चन्‌ले चिया लियान्‌लाई यउ आर्‌चिएसंग विवाह गर्न भनिरह्यो । चिया लियान्‌लाई घरकी श्रीमती वाङ् सिफङ्‌को डर भए पनि उनी यउ आर्‌चिएसंग गोप्य विवाह गर्न तयार भए । यउ आर्‌चिए पनि चिया लियान्‌की उपपत्नी बन्न तयार भइन् । चिया लियान्‌ले यउ आर्‌चिएसंग गोप्य रूपमा विवाह गरी उनीलाई बाहिर एउटा घर किनेर राख्यो । उनीको सेवा गर्न दुईजना सेविका पनि राखिदियो । यउ आर्‌चिएलाई चिया लियान्‌संग विवाह गराइदिएर आफूले यउ सान्‌चिएलाई उपपत्नीको रूपमा भित्र्याउने चिया चन्‌को विचार थियो । एक दिन त्यसबारे कुरा निकाल्नासाथ यउ सान्‌चिएले चिया चन् र चिया लियान्‌लाई भन्नु नभन्नु भनेर गाली गरिन् । चिया लियान्‌ले यउ सान्‌चिएलाई लेउ थर भएको स्य्वे फान्‌लाई पिट्ने कलाकार केटो मन पर्ने रहेछ भन्ने थाहा पाए पछि आफूले उनलाई चिनेको र उसंग कुरा बढाइदिने वचन दिए ।

एकपटक स्य्वे फान् व्यापारको सामान गाडामा लिएर सेवकहरूसंग गइरहेका थिए । एकान्त ठाउँमा अचानक केही लुटेराहरूले आक्रमण गरी स्य्वे फान् र उनका सेवकहरूलाई बेसरी पिट्न थाल्यो । स्य्वे फान्‌ले ठूलो स्वरले “गुहार, गुहार” भनी कराएको त्यहींबाट गइरहेका पहिले स्य्वे फान्‌लाई घाइते हुने गरी पिटेर भागेका लेउ थरका कलाकारले सुनेर त्यहाँ आएर लुटेराहरूलाई पिटेर धपाइदिए । लेउ थरका कलाकारले त्यहाँ स्य्वे फान्‌लाई देखेर पहिले त्यसरी पिटेकोमा माफी माग्यो । स्य्वे फान्‌ले पनि अहिले त्यसरी संकट पर्दा बचाइ दिएकोमा लेउलाई धेरै धन्यवाद दियो । उनीहरू फेरि साथी बने । उनीहरू एक ठाउँमा बसेर कुरा गरिरहेको बेलामा सरकारी काममा हिँडेका चिया लियान् पनि त्यहीं आइपुगे । लेउलाई देखेर चिया लियान्‌ले यउ सान्‌चिए भन्ने केटीले पाँच वर्षदेखि उनलाई एकतर्फी प्रेम गर्दै आएकी कुरा बताए । यो कुरा सुनेर लेउ धेरै प्रभावित भई त्यो विवाहको प्रस्ताव उनलाई मञ्जुर भएको कुरा बताउँदै आफूले भिरिरहेको तरवार चिया लियान्‌लाई वाचा स्वरूप दिए ।

स्य्वे फान्‌संगै लेउ पेइचीङ् शहरमा गए । त्यहाँ पुगेर उनले सबैभन्दा पहिले पाओय्विलाई भेट्यो । पाओय्विसंग यउ सान्‌चिएबारे सोद्धा पाओय्विले “उनी अतिसुन्दरी असल स्वभावकी छिन्” भने । तर यउ सान्‌चिए चिया चन्‌की साली भनेपछि उनलाई यउ सान्‌चिएको चरित्रमाथि शङ्का लाग्यो, किनकि चिया चन् केटीहरूको मामिलामा बदनाम थिए । पाओय्विले जति सम्झाए पनि लेउ त्यो विवाह नगर्ने नै निर्णयमा पुगे र चिया लियान्‌लाई भेटेर आफूले दिएको त्यो तरवार फिर्ता मागे । चिया लियान्‌ले आफूले वचन दिइसकेको कुरा तोड्न नहुने, कुरा पक्का गरेर दिएको वस्तु फिर्ता माग्न नहुने कुरा गरे, दुई जनाको बीच भनाभन हुने अवस्था आयो । दुईजनाको कुरा भित्र कोठामा बसेर सुनिरहेकी यउ सान्‌चिए लेउको तरवार लिएर त्यहा आइन् र लेउलाई “के तपाईंले तरवार फिर्ता लैजानै खोज्नुभएको हो ?” भनेर सोधिन् । लेउले “हो” भनेर तरवार लिन हात अगाडि बढाए पछि यउ सान्‌चिएले तुरुन्तै म्यानबाट तरवार निकालेर आफ्नो घाँटी रेटी त्यहीं आत्महत्या गरिन् । त्यहाँ भएका सबै स्तब्ध भए । लेउ तत्कालै पछुताएर रुन थाल्यो । उ धेरै बेरसम्म यउ सान्‌चिएको लाशलाई अँगालो हालेर रोइ राख्यो, धेरै बेरपछि उ विक्षिप्त अवस्थामा त्यहाँबाट हिंड्यो । एकदुई दिन पछि मानिसहरूले उनलाई एक ताउ साधकसंग बहुला जस्तो देखिने गरी हिंडिरहेको देखेका थिए, त्यसपछि उनलाई कहिले पनि कसैले पनि देखेनन् ।

उता रोङ्-कुओ-फूमा वाङ् सिफङ्लाई आफ्नो लोग्ने चिया लियान्‌ले चिया चन्‌की सालीसंग विवाह गरेर बाहिर घर किनेर राखेका छन् भन्ने थाहा भयो । सेवकहरूको माध्यमबाट यउ आर्‌चिएलाई राखिरहेको घर पत्ता लगाई वाङ् सिफङ्ले उनीलाई फकाएर महलभित्र ल्याइन् । चिया लियान् घर फर्किदा यउ आर्‌चिएलाई महल भित्र देखेर वाङ् सिफङ् उनीसंग रिसाइनन् भन्ठाने । तर वाङ् सिफङ्ले यउ सान्‌चिएलाई तरह तरहले दुःख दिई आत्महत्या गर्न विवश बनाइन् । यउ आर्‌चिएको कुरा रोङ्-कुओ-फूका धेरै जनालाई थाहै भएन ।

केही महिनादेखि कविगोष्ठी आयोजना गर्न सकिएको थिएन । यस पटक लीन्‌ ताइय्विले कविगोष्ठी आयोजना गर्ने भइन् । पाओय्विका बाबु एक वर्ष देखि घरमा हुनुहुन्थेन, त्यसैले पाओय्विले ढुक्क भएर रमाइलो गर्न पाइरहेका थिए । अब छिटै बाबु फर्किन लाग्नुभएको खबर आएकोले पाओय्वि चिन्तित हुन थालेका थिए । सबैजना दिदी बहिनीहरूले पाओय्विलाई लेखहरू लेख्न सघाइदिए, अब बाबुले आफूले लेखेका लेखहरू हेर्न चाहे पनि देखाउन सक्ने भए पछि पाओय्वि ढुक्क भए ।

चिया माता असी वर्ष पुग्नुभयो । असी वर्षको जन्मदिन भएर भव्यरूपमा मनाउने व्यवस्था गरियो । जन्मदिनमा शुभकामना र उपहार दिन राजदरबारबाट समेत पदाधिकारीहरू आए । आठ दिनसम्म विभिन्न कार्यक्रम गरी जन्मोत्सव मनाइयो । जन्मोत्सवको अन्तिम दिन राति चिया माताकी मुख्य सेविका य्वीयान्‌याङ्ले उपवन भित्रै हिंडिरहदा अँध्यारो ठाउँमा एकजोडी केटाकेटी देखिन्, उनीले तर्सेर कराउँदा दुबैजना उनीको अगाडि आई घुँडा टेकेर य्वीयान्‌याङ्लाई यो कुरा कसैलाई नभन्न बिन्ती गरे । ती केटी माहिली चिया यीङ्छुन्‌की सेविका स्‌छी थिइन् । य्वीयान्‌याङ्ले कसैलाई नभन्ने वचन दिइन् र “आइन्दा त्यस्तो नगर्नू” पनि भनिन् ।

रोङ्‌-कुओ-फूको आर्थिक अवस्था बिग्रिंदै गइरहेको थियो । राम्रो उब्जनी नभएको भनेर बिर्ता भूमिबाट हुनु पर्ने आम्दानी भएको थिएन, तर विभिन्न प्रकारका खर्चहरू भने बढ्दै गइरहेको थियो । वाङ् सिफङ्ले महलको पैसा बढी व्याजमा अरूलाई सापटी दिएर त्यसबाट व्यक्तिगत फाइदा गर्न खोज्दा मानिसहरूले समयमा पैसा नफर्काउने आदिले गर्दा पनि पैसाको समस्या आइपर्दथ्यो । त्यस्तै वेलामा पहिले रानी माइती फर्किदा सँगै आएका राजदरबारका दूत फेरि पैसा सापटी लिन आइपुगे । राजदरबारका दूतलाई पैसा सापटी नदिने कुरा पनि हुँदैन थियो, तर त्यस दूतले वाङ् सिफङ्सँग दुई वर्षमा धेरैपटक पैसा सापटी लिएर गइसकेका थिए, तर एक पैसा पनि फर्काएका थिएनन् ।

          केही समय यतादेखि रोङ्-कुओ-फू महलमा विभिन्न खालका घटनाहरू घट्न थालेका थिए । हरेक दिन जस्तो महलको पर्खाल चढेर मान्छेहरू भित्र आउँथे । महलको ढोकानिर सेवकहरू र प्रौढ सेविकाहरू राति रक्सी पिउँदै जुवा खेल्ने गर्दथे । माहिली चिया यीङ्छुन्‌को कोठाको सुनको जलप लगाइएको सजावटको वस्तु पनि हराएको थियो भने, महलभित्र एउटा अश्लील चित्र कोरिएको कपडाको थैली पनि भेटिएको थियो ।

यी सबै कुराहरूबाट वाङ् फूरेन् क्रुद्ध हुनुभयो र वहाँले महलको सबै ढोकामा राम्ररी निरीक्षण गर्न र सबै सेविकाहरूको सरसामानको तलाशी लिन आदेश दिनुभयो । वाङ् फूरेन्‌को आदेशबाट वाङ् सिफङ्‌ले तलाशी लिन सुरु गरिन् । माहिली चिया यीङ्छुन्‌की सेविका स्‌छीको सामानहरूमा अरू अश्लील चित्रहरू भेटिए भने, कान्छी सीछुन्‌की सेविकाको सामानमा केही पैसा भेटियो । वाङ् फूरेन्‌ले स्‌छीलाई महलबाट निकाली दिनुभयो । चिया सीछुन्‌ले आफ्नी सेविकाको बचाउका लागि केही नभनेकी हुनाले चिया सीछुन्‌की सेविका पनि दण्डित भइन् ।

त्यसवर्षको मध्यशरद् पर्वमा चिया माताले रातभर रमाइलो गर्न विचार गर्नु भयो र लोग्नेमानिसहरू सबैलाई सुत्न पठाई स्वास्नीमान्छेहरूसंग कुरा गर्न लाग्नु भयो । पूर्णिमाको चन्द्रमा हेर्दै नजिकैबाट आइरहकेो बाँसुरीको धुन सुनेर चिया मातालाई पहिले समृद्ध आफ्नो परिवार बिस्तारै पतन हुँदै गइरहेको अनुभव भयो, यस्तो अनुभव हुनासाथ चिया मातालाई रातमा रमाइलो गर्ने मन पनि लाग्न छोड्यो । वहाँले सबैलाई फर्किनलाई भनेर आफू पनि कोठामा फर्किनु भयो । लीन् ताइय्वि र श्‌र् सियाङ्य्वीन् दुईजना चाहिं तुरुन्तै कोठामा फर्केनन्, उनीहरूले उपवनको पोखरी वरपर हिंड्दै प्रत्येकले एक एक हरफ जोड्दै कविता रच्न थाले । दुबै जनाको आमाबाबुको मृत्यु भइसकेको हुँदा आफ्नो भविष्यप्रति दुबैको एकै प्रकारको चिन्ता रहेको थियो ।

महलमा घटेका ती घटनाबाट वाङ् फूरेन्‌को रिस मरिसकेको थिएन । त्यही रिसको झोंकमा वहाँले पाओय्विका सबैभन्दा सुन्दर सेविका तीनजनालाई पनि महलबाट निकाली दिनुभयो । त्यसरी निकालिनेमा छीङ्वेन् पनि थिइन् । आमाको आदेश अगाडि पाओय्वि केही गर्न सक्दैनथे । छीङ्वेन्‌लाई पाओय्विलाई अनेक हाउभाव गरी आकर्षित गर्न खोजेको भन्ने आरोपमा निकालिएको थियो । छीङ्वेन्‌लाई त्यो आरोप बिल्कुलै चित्त बुझेको थिएन, किनकि उनीले कहिले पनि पाओय्वि त्यसरी आकर्षित गरेर फँसाउन खोजेकी थिइनन् । महलबाट निकालिंदा उनी बिरामी थिइन्, आफू निकालिएको कारणबारे उनी जति सोच्थिन्, उनीलाई त्यति नै रिस उठ्थ्यो । उनीलाई त्यसरी अपमानित भएर बाँचिरहन पनि मन लागेन र औषधि उपचार गर्न पनि छोडिदिइन् । एकदिन अरूले थाहा नपाउने गरी पाओय्वि उनीलाई भेट्न गए । छीङ्वेन्‌ले यतिका वर्षसम्म आफूलाई राम्रो व्यवहार गरी राखेकोमा पाओय्विलाई धन्यवाद भनिन् र केही उपहार दिँदै आफू अब धेरै दिन नबाँच्ने कुरा बताइन् । विवश पाओय्वि त्यहाँबाट दुःखी भएर फर्के । दुई तीन दिनमै छीङ्वेन् मरेको खबर आयो । पाओय्वि दिनभर रोएर बसे, साँझ पर्न थालेपछि छीङ्वेन्‌को सम्झनामा लामो श्रद्धाञ्जली लेखे । त्यो श्रद्धाञ्जली लिएर बगैंचामा गएर छीङ्वेन्‌को सम्झनामा उनले धूप पनि बाले ।

स्य्वेयीमाले आफ्नो छोरो स्य्वे फान्‌को विवाह राजधानी शहरकै एक ठूला व्यापारीकी छोरीसंग गरिदिनुभयो । ती बुहारी एकदम कडा स्वभावकी थिइन्, बाहिर सधैं उपद्रव गर्दै हिंड्ने स्यवे फान् पनि उनीसंग एकदम डराउँथे । ती बुहारीले माइतीबाट एक सेविका साथमा लिएर आएकी थिइन् । स्य्वे फान्‌को आँखा उनीमाथि पर‌्‌यो, विवाह भएको धेरै दिन नहुँदै स्य्वे फान्‌ले उनीलाई पनि उपपत्नी बनाए । स्य्वे फान्‌का ती दुई श्रीमतीको कारण घरमा कहिले पनि शान्ति भएन, स्य्वेयीमा र स्य्वे पाओछाइ दिक्क भए, तर स्य्वे फान् आफै उनीहरूसंग डराउने भएको हुँदा केही उपाय पनि थिएन ।

त्यसै महिना माहिली यीङ्छुन्‌को पनि विवाह भयो । त्यो विवाह नगराउन चिया माता र चिया चङ्ले धेरै प्रयास गर्नुभएको थियो । वहाँहरूलाई त्यो केटो क्रुर स्वभावको भएकोले उनले यीङ्छुन्‌लाई राम्रो व्यवहार गर्दैन भन्ने लागेको थियो । तर चिया यीङ्छुन्‌का बाबु चिया शले कसैको कुरा नसुनी केटा पक्षसंग पैसा लिएर चिया यीङ्छुन्‌को विवाह गरिदिनु भयो । विवाह भएको एक महिना पछि चिया यीङ्छुन्‌ माइती फर्किदा उनीको शारीरिक र मानसिक अवस्था एकदम बिग्रिसकेको थियो । लोग्नेले उनीलाई दिनदिनै गाली गरेर पिट्दथ्यो, “तँलाई पैसा तिरेर किनेर ल्याएको हुँ” भनेर अपमान गर्दथ्यो । वाङ् फूरेन्, वाङ् सिफङ् आदि चिया यीङ्छुन्‌को कुरा सुनेर अति दुःखी भए । पाओय्विले आफ्नी आमालाई “त्यसो भए माहिली दिदीलाई अब यहीं राख्नुस्, लोग्नेको घर नपठाउनुस्” भन्दा वाङ् फूरेन्‌ले “विवाह भइसकेकी छोरीलाई कहाँ त्यसरी राख्न मिल्छ र?” भन्नुभयो । फेरि लोग्नेको घरमा गएको केही महिना नै चिया यीङ्छुन्‌को मृत्यु भएको खबर आयो ।

आफू घरमा नभएको वर्षभरि नै पाओय्विले राम्ररी नपढेको थाहा पाएर चिया चङ्ले पाओय्विलाई एक अध्यापक कहाँ लगेर उनको पढाइको व्यवस्था गरिदिनुभयो र वहाँले अध्यापकलाई पाओय्विलाई कडाइका साथ पाठ पढाउन पनि भन्नुभयो । तर दोस्रै दिन पाओय्वि पढ्ने कक्षाकोठामा ढीलो पुगे । त्यो देखेर अध्यापकले अति रिसाएर पाओय्विलाई पढ्ने कामलाई त्यसरी ख्याल ठट्टाको रूपमा लिन नहुने, र ख्याल ठट्टाको रूपमा लिने भए कहिले पनि राम्ररी पढ्न नसकिने कुरा बताउनुभयो । पाओय्विले पनि पछिदेखि पढ्ने कामलाई गम्भीरता पूर्वक लिने वचन दिए ।

लीन् ताइय्विको स्वास्थ्य बिग्रिंदै गयो । उनीलाई खोकी लागिरहन्थ्यो । कहिलेकाहीं ज्वर पनि आउँदथ्यो । दुईचार पटक खोक्दा खकारमा रगत पनि आएको थियो । औषधि त उनीले खाइ नै रहेकी थिइन्, तर फाइदा भने भएको थिएन । एक रात उनीले एउटा सपना देखिन्, सूचउका आफ्ना नातेदारहरूले उनीलाई सूचउ फर्काएर त्यहीं विवाह गरिदिएछन्, उनीहरूले उनीलाई पेइचीङ्‌मा लिन आउदा चिया परिवारका कसैले पनि उनीहरूलाई रोक्न खोजेनन्, ….. सपनाबाट ब्युँझे पछि उनी दुःखी भएर रुन थालिन् । सेविका च्‌च्य्वीयान्‌ले सपनामा देखेको कुरा सम्झेर नरुनु होला भनेर सम्झाइन् । लिन् ताइय्विको स्वास्थ्य अझ बिग्रिंदै गयो ।

उता राजदरबारबाट पनि य्वीयान्‌छुन् रानी बिरामी हुनु भएको खबर आयो, माइतीका चारजना महिला सदस्यलाई राजदरबार भित्र गई रानीलाई भेट्नका लागि बोलावट भयो । चिया माता, वाङ् फूरेन् आदि रानीलाई भेट्न राजदरबार जानु भयो । रानीको स्वास्थ्य समस्या सामान्य नभएकोले चिया माता चिन्तित भएर फर्किनुभयो ।

पाओय्विले वचन दिए जस्तै परिश्रम गरेर पढ्न थालेको हुँदा उनको पढाइमा छिटै प्रगति पनि हुँदै गयो । पहिले सँधै पाओय्विलाई पढेन भनेर गाली गर्ने, पिट्न खोज्ने चिया चङ् अहिले उनी प्रति सन्तुष्ट हुनुहुन्थ्यो, उनले आफ्ना साथीभाइहरूसंग कुरा गर्दा पनि पाओय्विको प्रशंसा गर्न थाल्नुभयो । उच्चकुलीन धनी परिवारका पाओय्वि पहिले पढ्नमा अभिरुचि नराख्ने, सधै केटीहरूको बथानमा रमाएर बस्ने हुँदा मानिसहरूले उनलाई बिग्रिएको खराब केटो सम्झिन्थे । तर अहिले उनले पढाइमा ध्यान दिएर प्रगति पनि गर्न थालेकोले धेरै कुलीन परिवारहरूले उनीलाई आफ्ना छोरी दिई वैवाहिक सम्बन्ध राख्न प्रस्ताव गर्न थाले । तर चिया माताले ती सबैलाई कुनै न कुनै कारण देखाएर अस्वीकार गर्दै जानु भयो ।

यसैबीच चिया चङ्को पदोन्नति भयो । वहाँलाई बधाइ दिन धेरै मानिसहरू घरमा आए । चिया चङ् आफूलाई बधाइ दिन आएका मानिसहरूसंग कुरा गरिरहुनभएकै बेलामा स्य्वे फान्‌ले बाहिर फेरि अर्को मान्छेलाई पिटेर मार्‌यो भन्ने खबर आयो । चिया चङ् स्तब्ध हुनुभयो, स्य्वेयीमाको परिवारलाई आफ्नै महलमा राख्दा स्य्वे फान्‌ले बाहिर गएर फेरि उपद्रव नगर्ला भन्ने वहाँले सोच्नु भएको थियो, तर त्यस्तो भएन । स्य्वे फान्‌ले मान्छे मारे पछि त्यहाँको स्थानीय अड्डाले उनलाई पक्रेर लगेको थियो । ज्यानमारालाई मृत्युदण्ड हुने त्यस बखतको कानुन भएको हुँदा स्य्वे परिवार र चिया परिवारले स्य्वे फान्‌लाई बचाउन स्थानीय अड्डाका पदाधिकारीलाई धेरै घूस दिए । ती पदाधिकारीले घूस लिएर स्य्वे फान्‌ले कर्तव्य गरी ज्यान मारेको नभई गल्तीले ज्यान गएको भन्ने व्यहोरा बनाई मृत्यदण्डबाट घटाएर देशनिकालाको सजायँ सुनाए ।

          एक पटक पाओय्वि लीन् ताइय्विलाई भेट्न जाँदा लीन् ताइय्वि एउटा पुस्तक हेर्दै थिइन् । पाओय्विले “के पुस्तक हो, म पनि हेरुँ न” भनेर हेर्न थाले । पाओय्विले त्यस्तो पुस्तक कहिले पनि देखेका थिएनन् अनि “यो केही पनि नबुझिने के पुस्तक हो ?” भनी सोधे । लीन् ताइय्विले त्यो चीनिया परम्परागत तार बाजा “छीन्‌”को स्वरलिपिको पुस्तक हो भनी त्यसलाई पढ्ने तरिका समेत पाओय्विलाई बताइ दिइन् । शरद ऋृतु आउन लागेको हुँदा सूचउतिरको शरद ऋृतु सम्झेर दुःखी भएर छीन् बाजा बजाउने विचार गरेर लीन् ताइय्विले त्यो पुस्तक निकालेर पढ्न थालेकी थिइन् । पाओय्विको अनुरोधमा लीन् ताइय्विले छीन् बाजा बजाएर एउटा धून सुनाइन् ।

केही दिन पछि पाओय्वि फेरि लीन् ताइय्वि कहाँ जाँदै गर्दा बाटोमा भिक्षुणी म्याउय्विलाई भेटे । उनी पनि लीन् ताइय्विकहाँ नै जान लागेकी रहिछिन् । उनीहरू एकसाथ लीन् ताइय्विको कोठा बाहिर पुग्दा त्यहाँ छीन् बाजाको धून सुने । म्याउय्विले भनिन् “पहिले देखि नै छीन् भन्ने सुन्ने वस्तु हो, हेर्ने वस्तु होइन, त्यसैले हामी यहीं बसेर छीन् बाजाको धून सुनौं, बजाइरहेको हेर्न भित्र नजाऔं ।” दुबैजना बाहिरै बसेर धून सुन्न थाले । अकस्मात् छीन्‌बाजाको आवाज बिग्रिन थाल्यो र एउटा तार चुँडिएको आवाज आयो । त्यस्तो आवाज सुनेर म्याउय्वि आकुलव्याकुल भइन् । पाओय्विले “के भयो ?” भनेर सोध्दा पनि उत्तर नदिई फरक्क फर्केर त्यहाँबाट गइ हालिन् । आफ्नो बौद्ध विहारमा पुगेपछि पनि म्याउय्वि शान्त हुन सकिनन्, उनीले वैद्य डाकेर आफूलाई जाँच्न लगाइन् ।

चिया माता ८१ वर्ष पुग्नु भयो । आफ्नो स्वास्थ्य र परिवारजनको भलाइको कामना गर्दै वहाँले बौद्ध धारणी हृदयसूत्र एक पटक सार्ने विचार गर्नु भयो । त्यसबेला चीनमा ग्रहदशाको खराब असर हटाउन तथा पुण्यसंचय गर्न हृदयसूत्र सार्ने चलन थियो र अहिले सम्म पनि छ । चिया माताले कान्छी नातिनी चिया सीछुन्‌लाई त्यो कामको लागि अह्राउनु भयो ।

हिउँद ऋृतु प्रारम्भ भयो, बाहिर धेरै जाडो हुन थाल्यो । सीरेन्‌ले पाओय्विलाई बाहिर लगाउने एउटा बाक्लो बाहिरी पहिरन ल्याएर दिइन् । त्यो बहुमूल्य बाहिरी पहिरनमा परेको प्वाल छीङ्वेन्‌ले टालेकी थिइन् । त्यो बाहिरी पहिरन देख्ना साथ पाओय्विलाई छीङ्वेन्‌को याद आउन थाल्यो र उनी टोलाएर आँसु बगाएर बस्न थाले । त्यसदिन बेलुकी उनले खाना पनि खाएनन्, भोलिपल्ट बिहान उठेर पाओय्विले छीङ्वेन्‌को सम्झनामा धूप बाले ।

ती दिनहरूमा पाओय्विको विवाहको कुरा खुबै चल्न थालेको थियो । त्यो रोङ्-कुओ-फूमा बसेका सेविकाहरूको कुरा गर्ने एक प्रमुख विषय बन्न गएको थियो । एकदिन लीन् ताइय्विले पाओय्विको विवाहको कुरा छिनिसकेको भन्ने सुनिन्, उनीलाई अकस्मात् छटपटी भयो । उनीलाई अब जीवित रहने इच्छा नै हुन छोड्यो, उनीले औषधि पनि खान छोडिन्, सिरकले ओढ्न पनि छोडिन् । सेविका च्‌च्य्वीयान्‌ले कति सम्झाइन्, तर लीन् ताइय्विलाई सम्झाउन सकिनन् । दुई दिन पछि पाओय्विको विवाहको कुरा छिनिसकेको होइन भन्ने सुने पछि लीन् ताइय्विको स्वास्थ्यमा केही सुधार आयो ।

स्य्वे फान्‌लाई देश निकालाको सजायँ भएपछि स्य्वे परिवारको अवस्था बिंग्रिंदै गयो । स्य्वे फान् अब फर्केला नफर्केला भन्ने सोची उनका श्रीमतीहरू स्य्वे फान्‌को काकाको छोरासंग नजिकिन कोशिस गर्न थाले । त्यस बेला चीनमा विधवा भाउजूको देवरसंग विवाह गर्ने चलन पनि रहेको थियो । तर स्य्वे फान्‌को काकाको छोरा आफ्नो भाउजूहरूसंग नजिक पर्दै परेनन् । स्य्वे परिवारको दुर्दशा देखेर चिया माताले पााओय्विको विवाह स्य्वे पाओछाइसंग गरिदिने हो कि भन्ने विचार गर्न थाल्नु भयो ।

तलाशी लिंदा अश्लील चित्रहरू भेटिएर महलबाट निकालिएकी (चिया यीङ्छुन्‌की सेविका) स्‌छी आफ्नै घरमा बसिरहेकी थिइन् । उनीकी आमा दिन दिनै उनीलाई छिटो विवाह गर्न दबाब दिइरहन्थिन् । स्‌छीले आफ्नो फुफूको छोरा मन पराएकी हुँदा अरूसंग विवाह गर्न मान्दै मानिनन् । एकदिन स्‌छीले मन पराएको केटो स्‌छीकी आमासंग छोरी माग्न स्‌छीको घरमा आइपुग्यो । त्यही केटोको कारणले स्‌छी महलबाट निकालिएकी हुन् भन्ने सोचेकी स्‌छीकी आमाले आफू जिउँदो हुञ्जेल कुनै हालतमा पनि स्‌छीको विवाह उसंग गर्न नदिने भनिन् । स्‌छी र केटोले अनेक बिन्ती गर्दा पनि आमाले नमाने पछि स्‌छीले त्यहीं कोठाको भित्तामा टाउको ठोक्काएर आत्महत्या गरिन् । स्‌छी त्यसरी मरेको देखेर केटाले पनि तत्कालै चक्कू निकालेर आफ्नो घाँटी रेटेर आत्महत्या गर्‍यो । स्‌छीकी आमाको कारण दुईजनाको अकालमा ज्यान गएकोले छिमेकीहरूले स्‌छीकी आमालाई ज्यानमारा भनेर पाता कसेर अड्डामा पुर्‍याए ।

पाओय्विको कोठा अगाडिको चोकमा एउटा पाखरी फूलको रूख थियो । दुई चार वर्ष अघि नै त्यो रूख सुकेर मरिसकेको थियो । अहिले त्यहीं सुकेर मरिसकेको रूखमा फेरि अनायास फूल फुल्यो । चिया माता आफ्ना छोरा बुहारी नाति नातिनी सबै साथ लिएर त्यो फूल हेर्न आउनु भयो । वहाँले यसलाई एउटा पतन हुन लागेको परिवारको पुनर्जीवनको रूपमा बुझ्नु भएको थियो । तर जेठो छोरा चिया शले यसरी मरिसकेको रूखमा फेरि फूल फुल्न अशुभ हो, यो रूख तुरुन्तै काट्नु पर्छ भन्नुभयो । जेठो छोराको कुरा सुनेर चिया माता खूब रिसाउनु भयो, अरूले केही बोल्ने आँट गरेनन् । चिया माताको मनमा पनि कुनै अनिष्टको शंका भयो । वहाँ पनि गम्भीर हुनु भयो ।

          केही दिन पछि नै राजदरबारबाट य्वीयान्‌छुन् रानीको मृत्यु भएको खबर आयो । छोरीको मृत्यु भएर दुःख हुनाको साथ साथै अबदेखि राजदरबारमा आफ्नो परिवारको अभिभावक नभएको कुराले चिया माता, चिया चङ्, वाङ् फूरेन् आदि सबै त्रस्त भए । रानीको अन्त्येष्टि संस्कारका लागि चिया परिवारका मुख्य व्यक्तिहरू दिनदनै राजदरबार जान थाले ।

रानीको अन्त्येष्टि संस्कार नै पूरा भइसकेको थिएन, एक दिन पाओय्विको कोठाबाट उनको जेड हरायो । बिहान टेबुलमा राखेको जेड साँझ त्यहाँ थिएन । पहिले कसैले लुकाए होलान् भन्ने विचार गरे, तर सबैसंग सोधेर सबैतिर खोज्दा पनि नभेटिएपछि सबै जना अति चिन्तित हुन थाले । जेड हराए देखि पाओय्वि झोक्राउन थाल्यो, कसैले केही सोधे पनि नबोल्ने, टोलाएर मात्र बस्ने गर्न थाल्यो । पाओय्विको त्यो अवस्था देखेर चिया माताले त्यो जेड फेला पारेर ल्याउनेलाई ठूलो इनाम दिने घोषणा समेत गर्नु भयो । तर कसैले पनि त्यो सक्कली जेड खोजेर ल्याउन सकेनन् ।

पाओय्विको अवस्थामा सुधार नआएको देखेर चिया माताले यदि पाओय्विको विवाह गरिदिए केही सुधार आउँथ्यो कि भन्ने सोच्न थाल्नुभयो । वहाँले वाङ् फूरेन् र वाङ् सिफङ्लाई डाकेर त्यसबारे सल्लाह गर्नु भयो । यो कुरा सीरेन्‌लाई थाहा भएपछि उनीले वाङ् फूरेन्‌लाई पाओय्विले साँच्चै मन पराएको लीन् ताइय्विलाई हो, अरूसंग विवाह गरिदिंदा संकट आउन सक्ने कुरा भनिन् । वाङ् फूरेन्‌ले “यो चिया माताको निर्णय हो, हामी के गर्न सक्छौं ?” भन्नुभयो । वाङ् सिफङ्ले पाओय्विको विवाहको यथार्थ पाओय्वि र लीन् ताइय्वि दुईजनाबाट लुकाइराख्नु पर्ने कुरा गरिन् । पाओय्वि आफ्नो विवाह लीन् ताइय्विसंग हुने भयो भनेर खुशी भए, उनको अवस्थामा पनि देखिने गरी सुधार भयो ।

लीन् ताइय्विले पनि पहिले त पाओय्विको विवाह आफूसँगै हुन लागेको सुनेकी थिइन्, त्यसैले उनी पनि खुशी भएकी थिइन् । तर छिटै महलकी अर्की सेविकाले पाओय्विको विवाह स्य्वे पाओछाइसंग हुन लागेको कुरा लीन् ताइय्विलाई सुनाइन् । लीन् ताइय्वि निराश भइन् र आफ्नो अन्तिम घडी छिटै आउन लागेको थाहा पाई च्‌च्य्वीयान्‌लाई मकलमा आगो बालेर ल्याउन अह्राइन् । अनि खाटमै बसेर आफूले कविता लेखेका कागजहरू एक पछि अर्को गरी आगोमा जलाउँदै गइन् ।

लीन ताइय्विले यसरी आफूले कविता लेखेका कागजहरू जलाउँदै गर्दा उता पाओय्विको विवाहको संस्कार भइरहेको थियो । संस्कार सकिएपछि पाओय्विले दुलहीको मुख छोपेको रातो कपडा हटाएर हेर्दा त्यहाँ लीन् ताइय्विलाई देखेनन् । दुलहीको रूपमा स्य्वे पाओछाइलाई देख्दा तत्कालै फेरि चेतनाविहिन भई टोलाउन थाले ।

कविता लेखिएको कागज जलाउन सकिए पछि लीन् ताइय्विले च्‌च्य्वीयान् आफू मरे पछि आफ्नो लाश सूचउमै पुर्‍याइदिन अह्राइन् र त्यसको केही छिन पछि लीन् ताइय्विले अन्तिम सास लिइन् ।

पाओय्विले पाताल लोकमा गई लीन् ताइय्विलाई खोज्न गएको सपना देखे । उनले सपनामा कसैले “यो आयु नसकिएको मान्छे यहाँ कसरी आयो ?” भनेको सुन्यो र त्यसको लगत्तै पछि कसैले सानो ढुङ्गाले आफ्नो छातिमा हानेको देखेर पाओय्वि झसंग भई ब्युँझे । उनलाई लीन् ताइय्विले यो संसार छोडेर गएको थाहा भयो । भोलिपल्ट बिहानै लीन् ताइय्विको कोठामा हेर्न जाँदा उनीको लाश काठको बाकसमा राख्ने काम भइसकेको थियो । पाओय्वि त्यहीं घण्टौंसम्म रोएर बसिरह्यो ।

पाओय्विका बाबु चिया चङ् फेरि पदोन्नति भएर दक्षिणतिर कार्य भार सम्हाल्न जानुभयो । राजधानी शहरमा सरकारी कार्यहरू छिटो छरितो र स्वच्छ रूपमा हुने गर्दथ्यो । चिया चङ्‌ले दक्षिणमा पुगेर पनि आफ्नो अन्तर्गतका कर्मचारीहरूलाई पनि राजधानी शहरमै जस्तो गरी काम गराउन खोजे, जसले गर्दा कर्मचारीहरू भकाभक काम छोडेर जान थाले । यो देखेर चिया चङ्ले आफू चाहिं छिटो छरितो र स्वच्छ रहने, आफ्नो अन्तर्गतका कर्मचारीलाई धेरै वास्ता नगर्ने नीति अपनाए । तैपनि त्यहाँ चिया चङ्लाई मन नपराउने मानिसहरू धेरै भए ।

दक्षिणमै पदाधिकारी भएर रहँदा चिया परिवारको पुरानो पारिवारिक मित्रले आएर चिया चङ्सँग आफ्नो छोरोको विवाहका लागि साहिंली चिया थान्‌छुन् मागे । ती मित्रको परिवार त्यसवेला चीनको सीमावर्ती क्षेत्रमा बसिरहेको थियो । चिया चङ्ले घर फर्केको बेलामा वाङ् फूरेन्‌संग त्यसबारे सरसल्लाह गर्नुभयो । पाओय्विले यो कुरालाई थाहा पाए पछि चिया थान्‌छुन्‌लाई धेरै टाढा विवाह गरेर नपठाउनु होला भनेर खुबै अनुरोध गरे । कोठा फर्किसके पछि पनि पाओय्वि साहिंली बहिनी चिया थान्‌छुन्‌को विवाहको कुरालाई लिएर दुःखी भइरहेको देखेर स्य्वे पाओछाइ र सीरेन्‌ले पाओय्विलाई “त्यसो भए के दिदी बहिनीहरू सबै तपाईं बूढो नभएसम्म तपाईंकै साथ रहनु पर्‍यो ? के उनीहरूको आफ्नो जिन्दगी छैन ?” भनेर सम्झाउन खोजे । पाओय्विले “त्यस्तो भनेको होइन, खालि सबैजना यसरी छिटै बिदा भएर गए भनेर दुःखी भएको हुँ, म मरेर गए पछि मात्र गए हुन्थ्यो भनेर मात्र सोचेको हुँ” भने ।

          चिया चङ् दक्षिणमा पदाधिकारी भएर रहँदा वहाँलाई मन नपराउनेहरूले वहाँको विरुद्ध उजुरी गरे । त्यहीं उजुरी परेर वहाँ कार्यभार मुक्त भई पेइचीङ् फर्किनुभयो । वहाँको सरकारी पदमा तीन दर्जा अवनति पनि भयो । तैपनि घर फर्किन पाएकोमा वहाँलाई एक किसिमको सन्तोष पनि भएको थियो । चिया चङ् घर फर्किनु भएपछि वहाँलाई स्वागत गर्न सबैजना उपस्थित भए । चिया चङ्ले त्यहाँ उपस्थित भएकाहरूलाई हेर्दै “आज मैले यहाँ भाञ्जी (लीन्‌ ताइय्वि) लाई देखिन नि” भन्नुभयो । भर्खरै घर फर्केकालाई दुःख नहोस् भनेर वाङ् फूरेन्‌ले “उनी बिरामी भएकी छिन्” भन्नुभयो । लीन् ताइय्वि बारेको कुरा सुनेर पाओय्वि फेरि दुःखी भए, तर सबैको अगाडि संयमित भएर बसे । राति वाङ् फूरेन्‌ले आफ्ना श्रीमान्‌संग घरको कुरा गर्दा भाञ्जी लीन् ताइय्वि मरिसकेको कुरा बताउनुभयो, चिया चङ्ले दुःखी भएर आँसु बगाउनुभयो, वाङ् फूरेन् पनि रुनुभयो ।

चिया चङ् घर फर्कनुभएको केही दिन मात्र भएको थियो । एक बिहान वहाँ केही पाहुनाहरूसंग कुरा गर्दै हुनुहुन्थ्यो, अचानक राजदरबारबाट आएको दूतले चिया चङ्का दाजु चिया श र नीङ्-कुओ-फूका चिया चन् दुईजनालाई पक्राउ गरी उनीहरूको सम्पति जफत गर्ने आदेश पढेर सुनायो । दूतको साथसाथै सम्राटका टाढाका नातेदार रजौटाहरू र सिपाहींहरू पनि आएका थिए । सिपाहींहरूले तुरुन्तै दुईजनालाई पक्राउ गरी उनीहरूको सम्पतिको सूचि बनाएर त्यहाँबाट लिएर गए । चिया श र चिया चन् दुई जनाको विरुद्ध धेरै जनाले सर्वसाधारण जनताको सम्पति लुटेको, चेलीबेटी हडपेको आदि उजुरी गरेका रहेछन् । उनीहरू दुबै जनाको पुर्ख्यौली पद खारेज गरियो । तर पछि चिया शको पुर्ख्यौली पद उनका भाइ चिया चङ्लाई दिइयो ।           सम्पन्न शक्तिशाली चिया परिवारको आफ्नो जीवनकालमै त्यसरी पतन भएको देखेर चिया माता अति दुःखी हुनुभयो । आफ्ना छोरा नातिहरूले गरेका पापहरूको सबै दुष्फल आफूमाथि परोस्, छोरा नातिहरूलाई केही नहोस् भन्ने कामना गरी वहाँले धार्मिक अनुष्ठान गराउनु भयो ।

स्य्वे पाओछाइको विवाह आफूले पाओय्विसंग गराइदिएको, तर पाओय्विले स्य्वे पाओछाइलाई पछिसम्म पनि मन नपराएको हुँदा चिया मातालाई कहिलेकाहीं ठूलो पछुताउ पनि हुन्थ्यो । स्य्वे पाओछाइलाई अलिकति भए पनि सान्त्वना होला कि भनेर चिया माताले त्यस वर्ष आफ्नै खर्चले स्य्वे पाओछाइको जन्मोत्सव आयोजना गराउनुभयो । पाओय्विलाई त्यसको केही प्रभाव परेन । हरेक पटक लीन् ताइय्वि पहिले बस्ने गरेको कोठा अगाडिबाट जाँदा पाओय्विलाई कोठाभित्रबाट कोही रोइरहेको आवाज सुने जस्तो लाग्दथ्यो र त्यस्तो आवाज सुने पछि पाओय्वि दिनभर दुःखी भएर टोलाएर बस्दथ्यो ।

एक दिन चिया माताले आफूलाई बेसरी रिंगटा लाग्यो भन्नु भयो । त्यसपछि वहाँ उठ्न सक्नु भएन, दुई दिनपछि वहाँको देहान्त भयो । पूरा चिया परिवारकी मूली, वहाँको अन्त्येष्टि संस्कार भव्य रूपमा गर्नुपर्दछ भनेर सेविका य्वीयान्‌याङ्ले खूबै अनुरोध गरिन् । तर पूरा महलको व्यवस्था गर्न बसेकी वाङ् सिफङ्ले अन्त्येष्टि संस्कार भव्य रूपमा गरिनन् । उनीको यस कार्यबाट परिवारका धेरै जना उनीसंग चिढिए । चिया माताको अन्त्येष्टि संस्कारपछि वहाँलाई लामो समय देखि सेवा गर्दै आएकी सेविका य्वीयान्‌याङ्ले परलोकमा पनि वहाँको सेवा गर्न जानका लागि भनेर आत्महत्या गरिन् ।

चिया माताकी कान्छी नातिनी चिया सीछुन् बेग्लै स्वभावकी थिइन् । उनीलाई महलभित्र हुने गरेका कतिपय घटनाहरू मन पर्दैन्थ्यो । केही समय पहिेलेदेखि नजिकको बौद्ध विहारका भिक्षुणीहरूसंग उनीको हेलमेल बढेको थियो । ती भिक्षुणीहरूले उनीलाई पनि घर छोडेर भिक्षुणी बन्न आउन प्रोत्साहित गर्दै आएका थिए । तर एक सम्पन्न शक्तिशाली परिवारकी छोरीलाई त्यसरी भिक्षुणी बन्न जानु सजिलो कुरा थिएन । लामो समयसम्म उनीको भिक्षुणी नै बन्न जाने दृढ संकल्प देखेर वाङ् फूरेन् र सीङ् फूरेन्‌ले उनीलाई भिक्षणी बन्ने अनुमति दिनुभयो, उनी कपाल खौरेर भिक्षुणी बनिन् ।

चिया माताको देहान्त भएको समाचार पाएर लेउ लाओलाओ दुख मनाउन रोङ्-कुओ-फू आउनुभयो । पहिलेको महलको शान अहिले पूर्णरूपले हराइसकेको देखेर लेउ लाओलाओ अति दुःखी हुनुभयो । वाङ् सिफङ्‌ले आफ्नो स्वास्थ्य बिग्रिसकेको र आफूलाई केही भएमा आफ्नी छोरीको हेरविचार गरिदनु होला भनेर लेउ लाओलाओलाई अनुरोध गरिन् । उनीको कुरा सुनेर लेउ लाओलाओलाई अचम्म लाग्यो ।

वाङ् सिफङ्को पनि केही समय पछि नै मृत्यु भयो । वाङ् सिफङ्‌का दाजुले आएर उनीको अत्येष्टि संस्कार भव्य रूपमा गरिदिए । धेरैले बहिनीप्रतिको स्नेहले उनले त्यस्तो गरेका होलान् भन्ठाने । तर उनले आफ्ना ज्वाइँ चिया लियान् घरमा नभएको बेला पारेर बहिनीकी छोरीलाई समेत बेचिदिन खोजे । वाङ् सिफङ्की सेविका फीङ्अर्‌ले उनको षडयन्त्र थाहा पाएर वाङ् सिफङ्की छोरीलाई साथमा लिएर लेउ लाओलाओको घरमा शरण लिन पुगिन् र बेचिनबाट बचाइन् ।

लीन् ताइय्विले अन्तिम सास लिंदा पाओय्वि उनीकहाँ थिएनन्, त्यसैले लीन् ताइय्विले त्यसबेला के भनिन्, किन कविता लेखेका कागज जलाइन् यसबारे जान्न पाओय्विलाई साह्रै मन लागेको थियो । त्यसैले उनले लीन् ताइय्विकी सेविका च्‌च्य्वीयान्‌लाई डाक्न सीरेन्‌लाई पठाए, तर च्‌च्य्वीयान्‌ आउन मानिनन् । च्‌च्य्वीयान् पाओय्विलाई नै आफ्नी मालिक्नीको अकाल मृत्युको प्रमुख कारण मान्दथिन् । त्यसैले पाओय्वि आफै गएर उनी बसेको ठाउँमा ढोका ढकढकाउँदा पनि उनीले ढोका खोल्दै खोलिनन् ।

पछिका दिनहरूमा पाओय्वि संयमित र गम्भीर देखिए । उनले मन लगाएर सरकारी सेवा प्रवेश परीक्षाका लागि आवश्यक पुस्तकहरू पढ्न थाले, अभ्यास गर्न थाले । परीक्षा दिन जानु अघि पाओय्विले आमा वाङ् फूरेन्‌लाई घुँडा टेकेर प्रणाम गरे र “परीक्षामा राम्रो अङ्क ल्याई उत्तीर्ण भई माताको ऋृण तिर्छु” भने । वाङ् फूरेन्‌ले पनि पाओय्विलाई शुभकामना दिनु भयो । चिया पाओय्वि आफ्ना भतिजा चिया लान्‌सँगै परीक्षा दिन गए । केही दिनपछि चिया लान् परीक्षाको परिणाम लिएर घर फर्क्यो, पाओय्वि परीक्षा उत्तीर्ण हुनेहरूको सातौं स्थानमा थिए भने, चिया लान् १३० औं स्थानमा थिए । चिया परिवारले पुनः मेहनत गरेर सरकारी सेवामा आउन खोजेको देखेर सम्राट्ले चिया परिवारको पदवीको पुनर्बहाली गरिदिए र पहिले जफत गरिएको सम्पति पनि फिर्ता गरिदिए ।

परीक्षा दिन गएका पाओय्विको परीक्षा सकिएपछि अत्तोपत्तो भएन । चिया लान्‌ले पनि आफ्ना काका पाओय्वि कता गए भन्न सकेनन् । केही समय पछि आफ्नो सजायँको अवधि पूरा गरेर स्य्वे फान् घर फर्के । उनका दुवै श्रीमतीहरूको मृत्यु भइसकेको हुँदा सेविका सियाङ्लीङ्लाई श्रीमती बनाए । सीरेन्‌को पहिले पाओय्विले अनजानमा सीरेन्‌को रुमाल दिएका चियाङ् थरका कलाकारसंग विवाह भयो । चिया चङ् आफ्नी आमा चिया माताको शव गाड्नका लागि नानचीङ् जानुभएको थियो । त्यहाँबाट फर्किंदा बाटोमा वहाँले एक बौद्ध भिक्षु र एक ताउ धर्मीका साथ आफ्नो छोरो पाओय्वि पनि गइरहेको देख्नुभयो । तुरुन्तै रोकिएर उनीहरू गइरहेको दिशातर्फ दौडेर वहाँले पीछा गर्न खोज्नुभयो, तर उनीहरू नदेखिने भइसकेका थिए, वहाँले आफ्नो अगाडि केवल एक उजाड ठाउँ मात्र देख्नुभयो ………….

स्रोतः नेपालस्थित चीनियाँ सांस्कृतिक केन्द्र