ठूलो बजार र ठूलो रकमका कारण हरकोही अहिले चीनमा आफ्ना फिल्म चलाउन खोजिरहेका छन् । हलिउडले व्यापारको लोभका कारण चीनले चाहेजस्तो फिल्म बनाएर अकुत पैसा बटुल्ने बाटो अवलम्बन गरिरहेको केहीलाई मन परेको छैन

केही समयअघि चीनमा रिलिज गर्ने तयारी भइरहेको फिल्म फास्ट एन्ड फ्युरियसको नवौं संस्करणका अभिनेता जोन सिनाले एउटा भिडियो विज्ञापन बनाए । त्यस भिडियोमा उनले ताइवानलाई बेग्लै मुलुक भएको टिप्पणी गरेका थिए । यसबाट चीनका प्रशंसक यति रिसाए कि उनले माफी नै माग्नु पर्यो ।

चीनको नजरमा ताइवान एउटा प्रान्त हो । उसको प्रान्तलाई कसैले अलग्गै मुलुकका रुपमा अथ्र्याउँदा चिनियाँहरुलाई दुख्छ । सिनाले चिनियाँहरु अधिकांशले बोल्ने मन्डारिन भाषामै माफी माग्दै प्रशंसकहरुको चित्त दुखाएकोमा तीन पटक सरी भनेका छन्  ।

यतिबेला टप गन फिल्ममा नायक टम क्रुजले लगाउने ज्याकेटमा ताइवानको झण्डा गायब भएको छ । यो पहिलो फिल्मको सिक्वेल हो । पहिलो भागमा भने ज्याकेटमा ताइवानको झण्डा स्टिकर लगाइएको थियो । यस पटक त्यो झण्डा गायब भएको भन्दै सामाजिक सञ्जालमा ठूलो होहल्ला मच्चाइयो ।

यस्तै २०२० मा रिलिज भएको मुलान फिल्ममा चीनको सिनजियाङ प्रान्तका अधिकारीहरुलाई धन्यवाद दिइएको छ । यो त्यही ठाउँ हो, जहाँ चिनियाँ अधिकारीहरुले अल्पसंख्यक उइगुर मुस्लिमहरुलाई आतंकवादीको आरोप लगाउँदै ‘पुनर्शिक्षा’ कार्यक्रम चलाएको थियो । यसो गर्नु मानव अधिकारविरुद्धको कार्य भएको आवाज उठिरहेको थियो ।

फिल्म निर्देशक जुड एपाटो भन्छन्, ‘चीनको अकुत पैसाले हाम्रा सिद्धान्तहरुको बुझो लागेको छ ।’

यस्तो अवस्था कसरी आयो ?

चीनले विश्व बजारबाट सन् १९९० को दशकदेखि मनोरञ्जन गराउन बजार खुला गर्न थाल्यो । यसले विश्वभरिका फिल्ममेकरहरुलाई पैसा कमाउने राम्रो बाटो फेला पर्यो । अर्बौं रकमको आम्दानी हुने भएपछि अमेरिकी स्टुडियोहरुले चिनियाँ सरकारले चाहेजस्तो फिल्म बनाउने, फिल्मका कन्टेन्टमा फेरबदल गर्ने क्रम शुरु भयो । सन् १९९७ मा डिज्नेले मार्टिन स्कर्सिसको ‘कुन्दन’ फिल्म निर्माण गरेको थियो । १४ औँ दलाई लामाको जीवनीमा आधारित यो फिल्म १९५० मा चिनियाँहरुको तिब्बत हस्तक्षेप र दलाई लामाको भारत प्रवासमाथि बनेको थियो ।

चिनियाँ अधिकारीहरुका अनुसार चीनले तिब्बतलाई स्वतन्त्रता दिलाएको थियो । दलाई लामा भगौडा हुन् । तर फिल्मले त्यसको ठीक विपरीत कथा भनिरहेको थियो । त्यसैले अधिकारीहरु खुब रिसाए । डिज्नेका त्यो बेलाका प्रमुख कार्यकारी माइकल एस्नरले चिनियाँ अधिकारीसँग यति राम्रो सम्बन्ध बनाए कि उनले हङकङ र सांघाईमा डिज्ने थिमपार्क खोल्न चीन विशेषज्ञ तथा राष्ट्रपति रिचर्ड निक्सनका दाहिने हात मानिएका हेनरी किसिङ्जरलाई प्रयोग गरे । सम्बन्ध सुधारका लागि एस्नरले चिनियाँ अधिकारीहरुसँग व्यक्तिगत रुपमा पनि माफी मागे । उनले कुन्दन फिल्म बनाउनु नै बेवकुफी रहेकोसमेत टिप्पणी गरे । यो माफीनामापछि डिज्नेका थिम पार्क बने र चिनियाँ सिने बजार उसका लागि खुला भयो । कतिसम्म भने सन् १९९९ मा बनाइएको कार्टुन (एनिमेटेड) फिल्म  ‘मुलान’ चिनियाँ सिनेमा घरहरुमा प्रदर्शन भयो । यो चिनियाँ लोककथाले चिनियाँ दर्शकको मन जित्यो ।

त्यो बेला चीनले मार्टिन स्कर्सिसको कुन्दन एक दशकभन्दा बढी समयसम्म चीनमा प्रतिबन्धित रह्यो । यसबाट हलिउडले चीनलाई कसरी लोभ्याउने भन्ने सूत्र फेला पारे ।

चीनमा चलाउन छेडछाड ?

 

गत वर्ष पेन अमेरिका नामक लेखकहरुको समूहले एउटा प्रतिवेदन निकाल्यो । ‘मेड इन हलिउड, सेन्सर्ड बाई बेइजिङ’ शीर्षकको सो प्रतिवेदनमा हलिउडका निर्णायक व्यक्तिहरु चिनियाँ अधिकारीहरुलाई खुसी पार्न फिल्मका कन्टेन्ट, पात्र, कलाकार, कथानक, संवाद तथा सेटिङहरु नै परिवर्तन गर्न थालेको निष्कर्ष दिइएको थियो ।

उदाहरणका लागि मिसन इम्पोसिबल ३ मा सांघाईका बाल्कोनीहरुमा सुकाइएका लुगाहरुको दृश्य काट्न आदेश दिइएको थियो । चिनियाँ अधिकारीहरुले देशका राम्रा कुराहरु मात्र फिल्ममा आओस् भन्ने अपेक्षालाई मनन गर्दै स्टुडियोहरुले अमेरिकामा रिलिज गरिएका फिल्ममै पनि चीनलाई चित्त नबुझ्ने दृश्यहरु काट्न थाले । सन् २०१२ मा बनेको फिल्म ‘रेड डन’को रिमेकमा यस्तै भयो । पहिलेको फिल्ममा चिनियाँ सेनाले अमेरिकामाथि आक्रमण गरेको कथानकलाई पूरै परिवर्तन गरेर उत्तर कोरियाली सेनाले गरेको आक्रमण भनी बनाइयो । यो फिल्म चीनमा रिलिज हुँदा पनि उत्तर कोरियाको आक्रमण देखाइएको थियो र अमेरिकामा रिलिज हुँदा पनि त्यही देखाइयो ।

चीन सरकारले वर्षमा जम्मा ३४ वटा विदेशी फिल्मलाई मात्र रिलिज गर्न दिन्छ । संसारकै बढी पैसा कमाइने यो ठाउँमा आफ्ना फिल्म परुन् भन्ने जो कोहीलाई लाग्छ । चीनको यो लोभलाग्दो बजारलाई ध्यानमा राख्दैहलिउडले लेखक तथा सर्जकहरुलाई कथानक सोच्दा चिनियाँ दर्शकलाई पनि रुच्ने हिसाबले प्रस्तुत पात्र, प्रस्तुति, कथानक नै परिवर्तन हुन थाल्यो । पेन अमेरिकाको रिपोर्टले भन्छ, ‘त्यसो गर्नुको कुनै तुक छैन ।’स्टुडियोले अरु के गरे ?

चिनियाँ दर्शक लोभ्याउन हलिउड स्टुडियोहरुले कहिलेकाहीँ यस्तो गर्छन् कि दर्शक पनि हाँस्छन् । जस्तो कि, आइरन म्यान ३ फिल्ममा एक जना चिनियाँ कलाकार देखिन्छन् र उनले चिनियाँ लोकप्रिय दुध ब्रान्ड गु लि गुओ पिउँछन् । अर्को, स्टुडियोहरुले चिनियाँ लगानीकर्तासँग मिलेर फिल्म निर्माण गरिरहेका छन् । यसो गर्नुको कारण चाहिँ वर्षमा तोकिएको कोटामा नपरोस् भन्नु थियो । जस्तो कि सन् २०१८ मा वार्नर ब्रदर्सले चिनियाँ कम्पनीसँग मिलेर बनाएको सार्कजस्तै देखिने डायनासोरमाथि बनेको थ्रिलर ‘द मेग’को उदाहरण काफी छ । यो फिल्म अधिकांशतः चीनमा सुटिङ भयो, यसमा लोकप्रिय चिनियाँ कलाकार पनि देखिए, त्यसमाथि हलिउडका चल्तीका हिरो जेसन स्टासन पनि थिए । यसरी हलिउडका प्रभावशाली फिल्म निर्माण कम्पनी र चीनका उदाउँदा कम्पनीबीचको सहकार्यले त्यो बेलाको सुपरहिट फिल्म जन्मियो । यसो गर्दा न त चिनियाँ अधिकारीको वक्रदृष्टि झेल्नु पर्यो, न त बाहिरी बजारका लागि पनि खास केही मिहिनेत गर्नुपर्यो ! अझ चिनियाँ सफ्टपावरको विस्तृतीकरणमा यस्तो क्रियाकलापले भूमिका खेल्ने भएकाले चीनले सहयोग पनि गर्ने नै भयो ।

कतिसम्म भने चीनको पहुँच र प्रभाव हलिउडका स्टुडियोसम्म पुगिसकेका कारण यसलाई रोक्न अमेरिकी राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्रेट्स दुवैका सांसदहरुको एक धारणा हुनुपर्ने भन्दै नेता माइक गालाघरले आवाज उठाइरहेका छन् । उनको भनाइ छ, चिनियाँ कम्युनिस्ट पार्टीको मागअनुसारको कन्टेन्ट बनाउन बन्द गर्नुपर्छ । यसका लागि नयाँ विधेयक ल्याउन र कानुन बनाउनु ढिला भइसक्यो ।’कानुन बन्ला त ?

चिनियाँ प्रभाव रोक्न, चिनियाँ लगानी र तिनले स्टुडियो खरिद गर्ने कुरामा अंकुश लगाउन बन्ने कानुन तत्कालै बन्ने कुनै सम्भावना छैन । बेइजिङलाई खुसी बनाउने अनेकन् प्रयासका बाबजुद चीनमा हलिउड फिल्मको व्यापार क्रमशः ओरालो लागिरहेको छ । हलिउड र बेइजिङ सम्बन्धमाथि अध्ययन गरिरहेका राजनीतिशास्त्री स्टान्ली रोजेन भन्छन्, ‘चीनको फिल्म उद्योग पहिलेजस्तो कमजोर छैन । उसले वार्षिक एक हजार वटा फिल्म बनाइरहेको छ । २०१९ मा एक हजारको संख्यामा उत्पादन गरेको फिल्म महामारी र बन्दाबन्दीले गाह्रो पारेको भए पनि त्यै बेलादेखि नै विदेशी फिल्मको बजार ती फिल्मले घटाउँदै लगेका थिए । डकैतीमाथि बनेको हास्य फिल्म ‘डिटेक्टिभ चाइनाटाउन’को तेस्रो शृंखलाले पहिलो सातामा नै ४२४ मिलियन अमेरिकी डलरको व्यापार गरेको थियो । यो व्यापार कुनै चिनियाँ फिल्मले घरेलु बजारमा पहिलो सातामा कमाएको सबैभन्दा बढी थियो । सन् २०२० मा घरेलु फिल्मले ८० प्रतिशत बजार कबजा गरेका थिए । त्यो बेला सबैभन्दा बढी कमाउने १० फिल्ममा या त हङकङमा बनेका थिए या त चीनमा । ‘चीनले हलिउडबाट पर्याप्त सिकिसकेको छ, अब उसलाई हलिउडको कुनै आवश्यकता छैन,’ सांसद रोजेनको टिप्पणी छ ।

(द विक म्यागेजिनको अगस्त ६, २०२१ को अंकमा प्रकाशित रिपोर्ट)