बार्बी १.४४ अर्ब डलर
द सुपर मारियो ब्रोज मुभी १.३६ अर्ब डलर
ओपनहाइमर ९५ करोड डलर
गार्डियन्स अफ द ग्यालेक्सी भाग ३ ८५ लाख डलर
फास्ट एक्स (फास्ट एन्ड फ्युरियस फिल्मको १० औँ फिल्म) ७१ करोड डलर
स्पाइडर म्यानः एक्रस द स्पाइडर भर्स ६८ करोड डलर
द लिटल मेरमेड ५७ करोड डलर
मिसनः इम्पोसिबल डेड रेकनिङ भाग १ ५७ करोड डलर
एलिमेन्टल ४९ करोड डलर
एन्ट म्यान एन्ड द वास्पः क्वान्टमेनिया ४६ करोड डलर
हलिउडले नयाँ फिल्मी सूत्र फेला पारेको छ । पहिले संसार प्रख्यात कमिक्स बनाउने, त्यसलाई पुस्तकाकार रूपमा हिट बनाउने, जब सबैले चिन्ने पात्रका रूपमा हिट भइसक्छ, त्यसपछि धमाधम फिल्म बनाउने ।
पछिल्लो समय मार्भल स्टुडियोजले यही काम गरिरहेको छ । पहिले मार्भल कमिक्स र डिसी कमिक्सले निकै चर्चित कमिक्स पात्रहरू बनाए । अहिले तिनै पात्रहरूलाई भजाउने काम फिल्म उद्योगले गरेको छ ।
वाल्ट डिज्नेले केही वर्षअघि जब मार्भल कमिक्सका पात्रहरूमाथि फिल्म बनाउनेबारे सोच्यो, त्यसलाई मूर्त रूप दिन मार्भल कमिक्सले मार्भल फिल्म स्टुडियो निर्माण गर्यो । यही स्टुडियोले पछिल्ला एक दशकमा ३२ वटा फिल्महरू बनाएको छ । ती ३२ वटा फिल्मले संयुक्त रूपमा ३० अर्ब डलरभन्दा बढी कमाएका छन् ।
यस्तोमा केही फिल्महरू फ्लप भए पनि स्टुडियोलाई खासै फरक नपर्ने अवस्था आएको छ । जस्तो कि, गएको साता वाल्ट डिज्ने कम्पनीको स्वामित्वमा रहेको मार्भल स्टुडियोले निर्माण गरेको फिल्म ‘द मार्भल्स’ले अपेक्षितभन्दा कमै रकम कमायो । यसले फिल्म रिलिजयता जम्मा ४ करोड ७० लाख डलर मात्र कमायो । यो मार्भलका फिल्महरूमध्ये सबैभन्दा कमजोर र चिन्ताजनक कमाई हो ।
यस्तोमा केहीले मार्भलको सिनेम्याटिक युनिभर्सको चमत्कार खिइँदै जान थालेको हो कि भन्ने आशंका गर्न थालेका छन् । किनभने, २०२० मा कोरोना महामारीपछि सिनेमा हलहरू खुल्दा यिनै मार्भलका फिल्महरूको कमाई एक सातामा १ अर्ब ३६ करोड हुने गरेको थियो ।
त्यसो त केही विश्लेषकहरूले मार्भलको यो समस्या फिल्म उद्योगकै समस्या हो भन्न थालेका छन् । सन् २०२० मा कोरोना महामारीअघि औसतमा डिज्नेले तीन वटा मार्भल फिल्महरू रिलिज गर्ने गरेको थियो, सन् २०१६ यता । यी मार्भल फिल्मले कमाउने आम्दानी वर्षभरि हलिउडले कमाएको औसत कमाईमध्ये १७ प्रतिशत यिनैको भागमा पर्थ्यो ।
तर पछिल्लो समय भने यो सिनेम्याटिक चमत्कार कम हुन थालेको महसुस हुन थालेको छ । मार्भलबाहेक एकताका सबैभन्दा बढी व्यापार गर्ने फिल्मका रूपमा चिनिएको मिसन इम्पोसिबलका सिक्वलहरू गत जुलाईमा रिलिज हुँदा अहिलेसम्मकै सबैभन्दा कमजोर व्यापार गरेको थियो । अचम्म त के छ भने, वार्नर ब्रदर्स डिस्कभरीले बनाएका डिसी कमिक्सका सुपरहिरो फिल्महरू यो वर्ष सबै फ्लप भए ।
एकातिर डिसी कमिक्सका सुपरहिरोका सबै फिल्म फ्लप हुनु, अर्कोतिर टम क्रुजकै फिल्मले पनि आशातित व्यापार गर्न चुक्नु र पछिल्लो समय मार्भल कमिक्सका पात्रहरू पनि लोभलाग्दा हुन छाड्नुले हलिउडको व्यापार सन् २०१९ भन्दा १८ प्रतिशतले कम भएको देखाएको छ ।
तर हलिउडले जहाँ नयाँ कुरा पस्कियो, त्यसप्रति दर्शकको मोह भने अचाक्ली देखिएको पनि छ । जस्तो कि, बार्बी, सुपर मारियो ब्रोज मुभी, ओपनहाइमरजस्ता तीन फिल्मले संसारभर नै गज्जबको व्यापार गर्न सफल भए । यी तीन वटै फिल्महरू सिक्वल थिएनन् । पहिला दुई फिल्मले १ अर्ब डलर व्यापार गर्न सफल भए पनि ओपनहाइमर एक अर्बभन्दा थोरै कम व्यापार गर्न सफल भयो ।
यी पछिल्ला सफलताका कथा केही अनौठा पनि छन् । ६४ वर्षभन्दा पुरानो बालबालिकाले खेल्ने बार्बी खेलौनाको कथाले दर्शक तान्नु कम चमत्कार होइन । त्यस्तै सुपर मारियो भन्ने भिडियो गेम सन् १९८१ देखि कम्प्युटरमा सर्वसाधारणले खेल्दै आएको कुरा फिल्ममा रूपान्तरण हुनुलाई धेरैले नयाँपनका रूपमा लिए । ओपनहाइमर अणुबमका प्रणेताका रूपमा नाम कमाइसकेको र अणुबम आफैँमा सेलिब्रिटी भएकाले संसारभरका दर्शक यो फिल्मप्रति आकर्षित भए । तर यी सूत्रहरू पुनः पुनः दोहोर्याइरहन हलिउडलाई गाह्रो छ ।
तर के कमिक्सका पात्रहरूको बक्स अफिस असफलताले ती फिल्महरूका प्रशंसकले नयाँ फिल्महरू हेर्न गाह्रो हुने हो त ? अवश्य पनि सुपरहिरोका ब्रान्डलाई अहिले हलिउडले त्यस्तै र यत्तिकै छाड्ने छैनन् । सुपरहिरो फिल्म भनेका हलिउडका लागि यतिबेला इन्जिनसरह बनिसकेका छन् । त्यो इन्जिन फ्याट्ट निकालेर नयाँ इन्जिन हालेर चलाउन गाह्रै हुन्छ । अर्कोतर्फ, जुन प्रख्यात नाउँहरू छन्, ब्रान्डहरू बनिसकेका छन्, तिनको तुलनामा नयाँ पात्रहरू स्थापित गर्न ठूलो खर्च र लगानी डुब्ने खतरा उत्तिकै रहन्छ ।
कतिसम्म भने, जब निटेन्डो नामक जापानी गेम बनाउने कम्पनीले यसको जेल्डा नामक भिडियो गेमलाई फिल्ममा रूपान्तर गर्ने घोषणा गर्नेबित्तिकै निटेन्डोको सेयर बजार ह्वात्तै बढ्यो । यसबाट थाहा हुन्छ, बजारले स्थापित ब्रान्ड, भिडियो गेम र अन्य कुराहरूलाई नै विश्वास गर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।