सिनेमा हल र नेटफ्लिक्समा एकसाथ रिलिज भएको पर्यावरणीय सिनेमा ‘डन्ट लुक अप’ले नेटफ्लिक्सले कीर्तिमान बनाएको छ । यो फिल्म डिसेम्बरको अन्त्यमा रिलिज भएयता एक सातामा नै १ करोड ५२ लाख घण्टा हेरिएको छ । यति धेरै हेरिएको नेटफ्लिक्सको इतिहासमा यो तेस्रो हो ।

पहिलो सातामा सबैभन्दा बढी हेरिएको फिल्ममा दरिएको यो फिल्म दोस्रो सातामा दोस्रो नम्बरमा परेको छ ।

नेटफ्लिक्समा अहिलेसम्म सबैभन्दा बढी घण्टा हेरिएको फिल्म ‘रेड नोटिस’ परेको छ । एक्सन मुभी ‘रेड नोटिस’मा ड्वेन जोन्सन, रेन रेनोल्ड तथा इजरायली अभिनेत्री गल गडोटले अभिनय गरेका थिए । दोस्रोमा ‘बर्ड बक्स’ परेको छ । यसमा अस्कर विजेता अभिनेत्री सान्द्रा बुलकको दमदार अभिनय रहेको छ ।

‘डन्ट लुक अप’ भने इतिहासमै बढी हेरिएको तेस्रो फिल्म बन्नुका पछाडि लियोनार्दो डिक्याप्रियो र अभिनेत्री जेनिफर लरेन्सको उपस्थितिसँगै यसले हास्यपुटसहित उचालेको राजनीतिक प्राणीहरूको सुदखोर प्रवृत्ति र विषयको संवेदनशीलतामाथिको असंवेदना नै हो ।

डिक्याप्रियो र लरेन्सले वैज्ञानिकको भूमिकामा देखिएका छन् भने बहुचर्चित अभिनेत्री मेरिल स्ट्रिप अमेरिकी राष्ट्रपतिको भूमिकामा छिन् ।

फिल्म निर्देशक एडम म्याक्केले द वाल स्ट्रिट जर्नलसँग भने, ‘म यस्तो कमेडी फिल्म बनाउन चाहन्थेँ, जुन फिस्स हाँसो उठ्ने नहोस् । मज्जाले चिच्याइचिच्याई दर्शकहरू हाँसून् ।’

त्यसो त नेटफ्लिक्सले आफ्ना फिल्महरू कसले कति हेरे भनेर सूचीबद्ध गर्न थालेको धेरै भएको छैन । केही समययता भने उसले संसारभरिका दर्शकहरूले के कति कस्ता चिज हेरिरहेका छन् भनेर सूची निकाल्न थालेको छ । यसअघि कम्पनी पारदर्शी नभएको आलोचना खेप्दै आएका कारण उसले यो सूची जारी गरेको हो ।

डन्ट लुक अपमा के छ ?
यो एउटा व्यंग्यात्मक साइन्स फिक्सन फिल्म हो । यसमा दुई जना वैज्ञानिकहरूले खगोलीय पिण्डबारे अध्ययन गरिरहेका हुन्छन् । जसमा जेनिफर लरेन्सले एउटा पिण्ड पृथ्वीतिर ताक्दै आएको भेउ पाउँछे । उसको अध्ययनलाई अर्को वैज्ञानिक लियोनार्दोले पुष्टि गर्छ ।

यस्तो गम्भीर समस्या बुझाउन जब उनीहरू ह्वाइट हाउस पुग्छन्, उनीहरूको संवेदनाहीन व्यवहार देखेर दुवै वैज्ञानिक चकित पर्छन् ।

उनीहरूले यो कति गम्भीर र खतरनाक समस्या हो भनेर बुझाउनका लागि टेलिभिजन कार्यक्रममा जान्छन् तर उनीहरू त्यहाँ जोकर बनाइन्छन् ।

राजनीति, सञ्चार माध्यम, सामाजिक सञ्जाल सबैतिर गम्भीरता नदारत तर आत्मरतिमा भने हरकोही रमाइरहेको छ । कतिपय अवस्थामा त यी वैज्ञानिकलाई पागल नै ठहर्याइन्छ । विषयको गम्भीरता बुझ्नेहरूले एउटा अभियान चलाउँछन्, माथि हेर । विषयान्तर गर्नेहरूले अभियान चलाउँछन्, डन्ट लुक अप ।

[embedyt] https://www.youtube.com/watch?v=RbIxYm3mKzI[/embedyt]

सरकार, सेना र वरिपरि कस्ता मानिसहरू छन् भन्ने बुझाउन फिल्मले सेनाको एउटा लेफ्टिनेन्टको भूमिकाबाट प्रस्ट्याउन खोजेको छ । जहाँ बिहानदेखि भोकभोकै राष्ट्रपतिको दर्शनभेट पाउन बसेकाहरूलाई सेनाको लेफ्टिनेन्टले कफी र केही खानेकुराका लागि महँगो रकम तिराउँछ । पछि जेनिफरले त्यो चिज सित्तैमा पाइँदोरहेछ भन्ने चाल पाउँछे ।

सत्ताबाहिर रहेका मानिसहरू, चाहे ती ठूला वैज्ञानिकहरू नै किन नहुन्, तिनलाई कसरी ह्वाइट हाउसका भित्रियाले बेकुप बनाउँछन् भन्ने बुझ्न यही एउटा दृश्य काफी छ ।

फिल्ममा धेरै कुरा राम्रा छन् । फिल्मको अन्तिम दृश्य कथार्सिसमा राष्ट्रपतिलाई एउटा जनावरले कप्लक्क खाइदिएको दृश्य चाहिँ सर्वसाधारणको रिस हो । यसरी नै मरे हुने नि भन्ने रिस मार्न निर्देशकले यो चलख्याइँ देखाएका छन् ।

समग्रमा राजनीतिक व्यंग्यमाथि धेरै पछि एउटा राम्रो फिल्म तयार भएको छ । शायद यही कारणले पनि ठूला स्टारसँग कथानकले यो फिल्मलाई सातामा सबैभन्दा बढी हेरिएको फिल्म बनाएको हुनसक्छ ।

[embedyt] https://www.youtube.com/watch?v=XYWq1SP4r-c[/embedyt]