नाम कमाउन मात्र गाह्रो हो, त्यसपछि दाम कमाउन कुनै गाह्रो छैन । प्रायः यस्तो अभिव्यक्ति कुनै नामचीन व्यवसायीले दिइरहेका हुन्छन् । अहिले सामाजिक सञ्जालको युगमा तपाईंले नाम पनि कमाइरहनु पर्दैन । तपाईंका फलोअर जति बढी भए, तपाईंले कमाउने सम्भावना पनि उत्तिकै बढ्न सक्छ ।

उम्दा कलाकार र सेलिब्रिटीहरुले उपभोक्ता बजारमा नयाँ¬–नयाँ शैली अपनाएर आम्दानीको दह्रो स्रोत बनाइरहेका छन् । उनीहरुको काम गर्ने शैली नेपाली कलाकारले सिक्न सक्लान् ?

विज्ञापनको विश्व बजारमा प्रख्यात सेलिब्रिटीले आफ्नो प्रसिद्धिलाई राम्रो आम्दानीको माध्यम बनाउन थालेका छन् । अथवा, यसो भनूँ कि तपाईंले सामाजिक सञ्जालमा बढीभन्दा बढी फलोअर कमाउन सक्नुभयो भने त्यसले तपाईंलाई राम्रो आम्दानी पनि दिलाउन सक्छ ।
हलिउडका सेलिब्रिटीहरुले त एक कदम अघि बढेर आफ्नो प्रसिद्धिलाई विज्ञापनमा मात्र सीमित नगरी आफूलाई उद्यमीकै रुपमा स्थापित गर्ने प्रयास गरिरहेका छन् । कतिले त यो प्रयासमा सफलतासमेत हात पारेका छन् ।
प्रख्यात गायक जस्टिन बिबरकी पत्नी हेली बिबरको परिचय चर्चित मोडलका रुपमा थियो । अहिले उनले आफ्नै मेकअप ब्रान्ड ‘रोड’ बनाइन् । त्यसको मोल एक अर्ब डलर पुगेपछि उनले बेचिदिइन् ।
रियालिटी टेलिभिजनकी प्रख्यात अनुहार किम कार्दशियनको पहिरन ब्रान्ड ‘स्किम्स’को वार्षिक व्यापार एक अर्ब डलरभन्दा बढी छ । यो यति प्रख्यात छ कि अहिले यसलाई शेयर बजारमा सूचीकरण गर्ने तयारी भइरहेको छ ।
अर्की गायिका रिहाना अर्बपति भइसकेकी छन् । उनको आम्दानी गायनबाट बढेको होयन । उनको पनि सौन्दर्य ब्रान्ड ‘फेन्टी ब्यूटी’को चर्चा सर्वत्र छ ।
हलिउडका अभिनेता रायन रेनोल्ड्सले टेलिकम, एभिएसन इन्फोटेन्मेन्ट र अनलाइन सेक्युरिटीजस्ता विभिन्न क्षेत्रमा लगानी गरिरहेका हुन्छन् ।
यी सबैको अर्थ के भने, पहिले कलाकार वा संगीतकर्मीले अरुका लागि व्यापार बढाइदिने काम गर्थे । अरुको व्यापार बढाउन आफ्नो अनुहार प्रयोग गर्थे । व्यापार त आफ्नो क्षेत्र होइन भन्नेमा उनीहरु विश्वस्त हुन्थे । त्यो अब पुरानो कुरा भइसक्यो । उनीहरु व्यवसायीमा परिणत भइसके । त्यो पनि सफलतम् व्यवसायी ।

प्रचारदेखि स्वामित्वसम्मको यात्रा
बास्केटबलका महान् खेलाडी माइकल जोर्डनले नाइकसँगको ४० वर्षे साझेदारी गरेका थिए । यो साझेदारीबाट उनले डेढ अर्ब डलरभन्दा बढी कमाए । कफी कम्पनी नेस्प्रेसोले अभिनेता जर्ज क्लूनीलाई ब्रान्ड एम्बेसडर बनाउन चार करोड डलर बढी खर्च ग-यो ।
दुई दशकअघि पहलवान् हल्क होगनले ‘हल्कस्टर’ नामक चिजबर्गर बजारमा मद्दत गरेका थिए । हुँदाहुँदा यस्तो काम गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि अगाडि नै देखिए । उनले आफ्नो पहिलो कार्यकाल सकिएपछि एउटा सेन्ट (पफ्र्युम)लाई बजारमा जारी गरे । उनको एउटा सेन्टको मूल्य २ सय ४० डलर पर्छ । बजारमा पाइने अनेकन् पफ्र्युमको तुलनामा यो निकै महँगो हो ।
रोचक त, यी सारा सामग्रीहरु सर्वसाधारणले सगर्व खरीद गर्छन् । प्रख्यात कलाकार, खेलाडी तथा राजनीतिज्ञसमेतले आफ्नो दशकौंदेखि बनाएको छवि र प्रतिष्ठा विभिन्न कम्पनीको उत्पादनमा प्रयोग गर्ने पुरानो शैलीलाई परिवर्तन गरेर आफैं त्यस्तो उत्पादनको मालिकका रुपमा चिनाउन थालेका छन् ।
पुराना र नयाँ सेलिब्रिटीहरुमा फरक के छ भने पहिले उनीहरुले आफ्नो अनुहार र प्रख्याति बेच्थे, अहिले स्वयं सामग्री नै बेच्छन् । बेच्ने मात्र होइन, कम्पनी खडा गरेर तिनलाई व्यवस्थापन पनि राम्रोसँग गर्छन् । सेलिब्रिटीहरु भनेको केवल देखाउने अनुहार मात्र होइन भन्ने प्रमाणित नै गरेका छन् ।
धेरैजसो अवस्थामा कम्पनी निर्माण गर्ने, व्यवस्थापन, सञ्चालनदेखि त्यो कम्पनीको महत्वपूर्ण अंशियारसमेत हुने गरेका छन् । सामाजिक सञ्जालको सहज प्रयोग र तिनको व्यापक पहुँचका कारण सेलिब्रिटीहरुले आफ्ना प्रशंसकहरुसँग प्रत्यक्ष सम्पर्क गर्ने बाटो खुलाएको छ । यसले परम्परागत विज्ञापन सम्झौता र शैलीको मूल्यांकन गर्ने परम्परामा पुनर्विचार हुन थालेको छ । प्रत्यक्ष¬–उपभोक्ता वितरण मोडलले उत्पादनलाई बजारमा पु-याउन अझ सजिलो बनाएको छ । वास्तविक लाभ ब्रान्ड निर्माण र स्वामित्वमा नै निहित भएकाले धेरै सेलिब्रिटीहरूले आफ्नै उत्पादन सुरु गर्ने रणनीति अपनाएका छन् ।

उपभोक्ता उद्योगको पुनर्निर्माण

तस्वीर साभारः हलिउड रिपोर्टर

यस प्रवृत्तिले उपभोक्ता वस्तु उद्योगको गतिशीलतालाई नै परिवर्तन गरिदिएको छ । पहिला जसरी औषधी कम्पनीका दिग्गज सञ्चालकहरूले नयाँ औषधीको पाइपलाइनको खाली ठाउँ भर्न बायोटेक स्टार्टअपहरू अधिग्रहण गर्ने गर्थे र अहिले पनि गरिरहेका छन्, ठीक त्यसैगरी प्रमुख उपभोक्ता कम्पनीहरूले सफल सेलिब्रिटी ब्रान्डहरू खरीद गरिरहेका छन् । रोचक त के भने, यो साझेदारी पूर्णतया तर्कसंगत छ । कुनै पनि ब्रान्डको लागि पहिलो एक लाख युनिट बिक्री गर्नु नै सबैभन्दा चुनौतीपूर्ण हुन्छ, तर सेलिब्रिटीहरूसँग पहिले नै वफादार प्रशंसक समुदाय छ । तिनले आफ्ना प्रिय सेलिब्रिटीको उत्पादनलाई हातहातै किनिदिन्छन् । ब्रान्डको यो शुरुवाती सफलतापछि, ठूला उपभोक्ता कम्पनीहरूले आफ्नो वैश्विक उत्पादन र वितरण नेटवर्कमार्फत यसलाई अझ विस्तार गर्छन् ।

उल्लेखनीय सम्झौताहरू
यसको प्रमाण विभिन्न ठूला व्यापारिक सम्झौताहरूमा देख्न सकिन्छ । सन् २०१४ मा प्रविधि दिग्गज एप्पलले संगीत निर्माता डा. ड्रेले अर्का एक जना साथीसँग मिलेर स्थापना गरेको बीट्स इलेक्ट्रोनिक्सलाई तीन अर्ब डलरमा खरिद गरेको थियो । यति धेरै रकम एप्पलले ति-यो भन्दा धेरैलाई आश्चर्य लागेको थियो । त्यसैगरी, मदिरा निर्माता कम्पनी डिएजिओले जर्ज क्लूनीले अर्का एक साझेदारसँग स्थापना गरेको टकिला कम्पनीलाई एक अर्ब डलरमा किनेको थियो । त्यस्तै अर्का हलिउडका कलाकार रायन रेनोल्ड्सको जिन डिस्टिलरीलाई ६० करोड डलरमा अधिग्रहण गरिएको थियो ।

सफलताका पछाडिका चुनौतीहरू
प्रसिद्ध नाम मात्रले खराब उत्पादनलाई सफल बनाउँदैन । कुनै पनि कस्मेटिक्स पसलमा हेर्दा रोजी हन्टिङ्टन¬व्हाइट्लेको सौन्दर्य उत्पादन वा सारा जेसिका पार्करको सुगन्धित पदार्थहरू छूटमा पाइन सक्छ । ट्रम्पको नयाँ सुगन्धित पदार्थ पनि यस्तै भाग्य हुन सक्छ । एउटा सुगन्ध समीक्षा वेबसाइटले ट्रम्पको ‘भिक्टोरी ४५/४७’ (पुरुष उत्पादन) लाई ‘खासै याद गर्न लायक छैन’ भनी टिप्पणी गरेको छ ।
अहिलेका उपभोक्ताहरू सामाजिक सञ्जालमा तुरुन्तै समीक्षा गरिहाल्छन् । प्रशंसकहरूले आफूलाई मनपर्ने सेलिब्रिटीको उत्पादन एक पटक अवश्य प्रयास गर्न सक्छन् तर गुणस्तरले निराश पा-यो भने एकै पटक जमिनमा थचारिदिन्छन् । सेलिब्रिटी ब्रान्डहरू नवीन र लाभदायक हुन सक्छन् तर चलचित्रजस्तै यसमा असफलताको सम्भावना पनि उच्च हुन्छ । यसले देखाउँछ कि प्रसिद्धिको आधारमा मात्र दीर्घकालीन व्यावसायिक सफलता हासिल गर्न सकिँदैन । गुणस्तर, नवीनता र उपभोक्ता आवश्यकताको बुझाइ नै निर्णायक हुन्छ ।
अझै पनि रोचक पक्ष चाहिँ के हो भने, अहिलेका सेलिब्रिटीहरु पहिलेका सेलिब्रिटीभन्दा लगानीका सन्दर्भमा स्मार्ट हुन थालेका छन् ।