साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

माताहरि: युरोप हल्लाउने जासूस सुन्दरी

व्यक्तित्व

सन् २०१६ मा विश्वविख्यात उपन्यासकार पाउलो कोहेलोको नयाँ उपन्यास देखा पर्यो, “द स्पाई” । यो उपन्यास माताहरिको जीवनमा आधारित थियो । त्यसै साल ब्राजिलमा मूल पोर्तुगाली भाषामा यो उपन्यास प्रकाशित भएको थियो । यो उपन्यासले विश्वका पाठकहरुको ध्यान खिंच्यो ।

पाउलोले पुस्तकको भूमिकामा लेखेका छन्, “मैले यो उपन्यास माताहरिको जीवनको वास्तविक घटना र तथ्यहरुमा आधारित भएर लेख्न कोसिस गरेको छु ।”

को हुन् त माताहरि ?

bahulako diary small and inside post

नेदरल्याण्डका सफल टोपी ब्यापारी तथा इन्धन उद्योगका लगानीकर्ता आदम सेले तथा आन्से मौलिनका जेठी छोरी मार्गारिथा जेलेका रुपमा उनको जन्म ७ अगस्त १८७६ मा भएको थियो । उनको बाल्यकाल शौखपूर्वक बित्यो । तर उनका पिताको लगानी डुबेपछि १८८९ मा उनी टाट पल्टिए । त्यसपछि पारिवारिक विघटन भयो । मार्गारिथाका पिता माताको पारपाचुके भयो र उनको लालनपालन धर्म पिता भिस्सरबाट भयो ।

मार्गारिथाको जीवनमा आकस्मिक र नौलो मोड आयो, स्कूले जीवनमा घटेको यौटा घटनाले । उनको र स्कूले शिक्षक बीचको यौन सम्बन्धको विवादास्पद घटनाले गर्दा धर्मपिता क्रुध्द भए र त्यो स्कूलबाट मार्गारिथालाई निकाले । त्यसपछि उनी भागेर हेगस्थित काकाको घरमा पुगिन् । त्यहीँ बस्दा नै उनले अखबारमा यौटा विज्ञापन देखिन् । हालको इण्डोनेसिया र तत्कालीन इस्ट इण्डिजमा कार्यरत डच सेनाको कर्णेल रुडोल्फ म्याक्लियोडले श्रीमतीको आवश्यकताको विज्ञापन गरेका थिए । आफूभन्दा २१ वर्ष जेठो भए पनि उनले बिहे गर्ने निधो गरिन् । कर्णेलले त देख्नेबित्तिकै मन पराए, राम्री कलिलो उमेरकी सुन्दरी मार्गारिथालाई । अनि सन् १८९५ मा उनीहरुको बिहा भयो र बिहालगत्तै जाभा गए ।

कर्णेल जँड्याहा थियो र भित्रिनीहरु राखेर मोजमज्जा गर्ने, ऐशआराम र मस्तीको जीवन बिताउने खालको थियो । मार्गारिथाले पनि प्रेमी बनाएपछि उनीहरुको दाम्पत्य जीवनमा खलल पुग्यो । तर यसै बीच मार्गारिथाले इण्डोनेसियाली संस्कृति पनि अध्ययन गरिन् । त्यहाँको संगीत र नृत्यमा उनको चाख बढ्यो ।

कर्णेल रुडोल्फ र मार्गारिथाबाट दुई वटा सन्तान भए, एक छोरा र एक छोरी । सन् १८९९ मा दुवै छोराछोरी नराम्रोसँग बिरामी परे र छोराको मृत्यु भयो । छोराको मृत्युको कारण यकिन नभए पनि भिरिङ्गीको कारणले भएको भन्नेमा मार्गारिथा ढुक्क थिइन्, यसले पनि पारिवारिक तनाव बढायो । मार्गारिथाले आफ्नो पितालाई लेखिन्, “म यो नालीको किराजस्तो मान्छेसँग जीवन बिताउन सक्दिनँ । म छुट्टै बस्छु र छुट्टै खान्छु र त्यसले फेरि स्पर्श गर्नुअघि बरु म मर्न चाहन्छु । मेरा बाबुनानीलाई त्यसको नराम्रो रोग सर्यो ।”

उता सेनाबाट पनि रुडोल्फलाई अनुशासनहीन व्यवहार र चरित्रका कारण बर्खास्त गरियो । अनि रुडोल्फ, मार्गारिथा र छोरी जाँ लुइस नेदरल्याण्ड फर्किए र त्यसको लगत्तै उनीहरुको पारपाचुके भयो ।

मार्गारिथा छोरीलाई प्राणभन्दा प्यारो गर्थिन् । उनी आफैंसँग राख्न चाहन्थिन् । तर आर्थिक समस्याले त्यसो गर्न सम्भव भइरहेको थिएन । रुडोल्फ यही मौकाको फाइदा उठाउन चाहन्थ्यो र छोरीलाई आफ्नो साथमा राख्न चाहन्थ्यो । अन्तत: भयो पनि त्यस्तै । रुडोल्फले कतिसम्म गर्यो भने स्थानीय अखबारमा विज्ञापन छापेर “मार्गारिथालाई कुनै पनि पसलले उधारो नदिनू, किनभने म त्यो पैसा तिर्ने वाला छैन । मेरो कुनै जिम्मेवारी छैन” हल्ला पिटायो ।

यसपछि निरुपाए भएर मार्गारिथाले छोरी जानलाई रुडोल्फको जिम्मा लाएर आफ्नो नयाँ भाग्यको परीक्षा गर्न पेरिसको बाटो लागिन् ।

पेरिसको महानगरीमा सुन्दरी मार्गारिथालाई पहिलो पेट पाल्ने काम वेश्यावृत्तिले दियो । उनले आफ्नो शरीरको पसल थापिन् । तर सर्कसमा घोडचडीको काम पाउनेबित्तिकै उनले वेश्यावृत्ति त्यागिन् । त्यसपछि उनले नृत्य प्रस्तुत गर्न थालिन् । उनको नृत्य जम्न थाल्यो । मानिसहरु आकर्षित हुन थाले । अनि उनले आफूलाई जाभानेली हिन्दु राजकुमारीको नयाँ परिचय दिन थालिन् र आफ्नो नाम माताहरि राखिन् मलाया भाषामा जसको अर्थ हुन्छ “दिनको आँखा” अर्थात् “सूर्योदय”। उनले आफ्नो नामको कहानी रचिन् । आफ्नो परिचयको काल्पनिक कथा बुनिन् । उनी भारतीय मन्दिरकी नृत्यकारकी छोरी हुन् । उनी जन्मपछि नै टुहुरी भइन् र जाभाको जङ्गलमा हुर्किइन् आदि । यी कथा कहानी पनि आकर्षणको पहेली बन्यो ।

उनले शुरुमा घरघरमा प्राइभेट डान्सबाट आफ्नो नृत्यकारिता शुरू गरेकी थिइन् तर उनका बारेमा शहरमा चर्चा चल्न थालेपछि माग बढ्न थाल्यो । पैसा वर्षिन थाल्यो । सन् २००८ सम्ममा पेरिसमा उनको नृत्य कमसेकम एकपल्ट नहेर्ने शायद कोही भएनन् । माताहरिको मोहक, अनौठो नृत्यले बजार लियो । एक प्रकारको सनसनी फैलायो । उनको पूर्वीय नृत्य पहिरनको सजावट नै आकर्षक, कमनीय र पुरुषहरुलाई आशक्त पार्ने खालको हुन्थ्यो । उनी नाच्दै गएपछि एकएक वस्त्र उतार्दै जान्थिन् र अन्त्यमा उनको शरीरमा धातुको ब्रेसियर मात्र बाँकी रहन्थ्यो जसलाई उनी कहिल्यै फुकाल्दैनथिन् ।

उनी पेरिसका धनीमानी, रइस, सेनाका माथिल्ला तहका अफिसरहरुको अँगालोमा पालैपालो बेरिन पुग्थिन् । उनको जीवनशैली शून्यबाट आकाशमा पुगेको थियो । उनी भन्ने गर्थिन्, “आजको रातको खाना राजकुमारसँग ! भोलि राजासँग ! यदि मलाई नाच्नु छैन भने म फलानो महोदयसँग शयरमा हुन्छु । म गम्भीर सम्बन्धहरुलाई वास्ता गर्दिनँ । म सबै मनमौजीहरुलाई सन्तुष्ट पार्दछु ।”

उनी पेरिसमा मात्र सीमित भइनन् । उनको माग युरोपभरि थियो । उनी अस्थायी प्रियतमहरुलाई कतै उठाउँदै, कतै छाड्दै, कतै साथै हुँदै युरोपको यात्रा गर्ने गर्थिन् । यसबाट उनको आम्दानी भन्दा उनको भड्किलोपनाले खर्च बढी हुन्थ्यो तर उनी उदारतापूर्वक कमाईको सारा पैसा उडाउँथिन्, मनमौजी थिइन् । बेफिक्री थिइन् ।

एकजना स्टकको दलालले उनलाई यौटा महल नै किनिदिएको थियो । अर्कोले साइन नदीको किनारमा घर किनिदिएको थियो र टाट नपल्टेसम्म उसले उनलाई पैसा वर्षाइरहेको थियो । तर पनि उनले आफ्नो हिसाबले खर्च गर्न छोड्दैनथिइन् । पैसाले अलि गारो परे उच्च स्तरीय शरीर व्यापार समेत गर्न हिच्किचाउँदैनथिइन् ।

उनको खर्चालु बानीले आर्थिक कठिनाई बढ्न थाल्यो । सन् १९१४ मा उनले जर्मनीको मेट्रोपोलमा ६ महिना नृत्य गर्नका लागि अनुबन्धित भएपछि उनको आर्थिक सङ्कटमा कमी आयो । सम्झौताअनुसार उनले सेप्टेम्बरदेखि नाच्नुपर्ने थियो । तर अगस्तबाटै युरोपमा युध्द छेडियो । उनी जर्मनीको राजधानीमा बेखर्ची भइन् । उनको फरको कोट र पैसा जफत भएको थियो । तर उनले यौटा डच व्यापारीलाई खुशी पारेर आम्स्टरडामसम्मको रेल टिकट किनाइन् ।

त्यहाँ उनको भेट पूर्वप्रेमीसँग भयो, जो उनीजस्तै मनमौजी थिए । धनाढ्य र रइस पनि । त्यहीं उनलाई जर्मनीका काउन्सिल कार्ल क्रोमर भेट्न आए । उनले जर्मनीका लागि जासूसहरू भर्ती गर्दै गरेको बताए र २० हजार फ्राङ्क र कोड नं एच२१ प्रदान गरे ।

माताहरिले पैसा खुरुक्क लिइन् । उनलाई पैसाको जरुरत थियो, जासूसीसँग उनको कुनै सरोकार थिएन । फेरि उनको यौटा मनले भनिरहेको थियो, यो जर्मनीमा मेरो जफत भएको फरको कोट र पैसाको क्षतिपूर्ति हो ।

उच्च तहका अफिसरहरुसँगको सम्पर्क र सम्बन्धले उनी यूरोपमा जताततै निर्वाध यात्रा गर्न सक्थिन् । तर हल्याण्डबाट फ्रान्स जाने क्रममा उनलाई रोकियो । उनका बारेमा रिपोर्ट गरियो, ” फ्रान्सेली, अङ्ग्रेजी, इटालेली, डच र सम्भवतः जर्मन पनि बोल्ने । ह्याण्डसम, बोल्ड प्रकारकी आइमाई” भनेर ।

“यो भ्रमण जर्मनीलाई फाइदा हुने मिसनका लागि फ्रान्समा खास उद्देश्यका लागि जान लागेको” रुपमा अर्थ्याइयो तर पछि उनलाई यात्रा गर्ने अनुमति मिल्यो ।

पेरिस पुगेर माताहरिले आफ्नो पुरानो तडकभडकपूर्ण जीवनशैलीलाई पुनर्जीवित गराइन् । उनी ग्राण्ड होटलमा बसेकी थिइन् । उनका वरिपरि उच्चपदस्थ बर्दीवालहरु झुम्मिएका थिए तर उनलाई त्यो भीडमा दुईजना गुप्तचर प्रहरीहरु पनि छन् भन्ने पत्तै भएन ।

उनलाई यस पटक फ्रान्समा सबभन्दा महत्त्वपूर्ण काम थियो, उनीभन्दा १८ वर्ष कान्छो रसियाली कप्तान भादिरमसँग भेट्न भिट्टल शहर जानु, जोसँग उनी गहिरो प्रेममा परेकी थिइन् । त्यसका लागि फ्रान्सेली गुप्तचर विभागका प्रमुख कप्तान जोर्ज लाडोक्सलाई आवेदन दिनुपर्ने थियो । ऊ माताहरिलाई वेश्याभन्दा अलि माथिल्लो हैसियतकी ठान्दथ्यो र माताहरि उसलाई सानो विचारको मान्थिन् । उनले भिट्टल जाने अनुमतिका लागि अनुरोध गरिन् । उसले फ्रान्सका लागि गुप्तचरी गर्ने शर्तमा अनुमति दियो ।

अब माताहरि एकैसाथ जर्मनी र फ्रान्सको जासूस भएकी थिइन् ।

१० फरवरी १९१७ का दिन फ्रान्सेली युध्द मन्त्रीले माताहरिको गिरफ्तारीका लागि वारेण्टमा सही गरे र त्यसको तीन दिनपछि पुलिस अधिकारीहरु उनको होटलको ढोका ढकढकाउन पुगे । त्यतिबेला उनी ब्रेकफास्ट खाइरहेकी थिइन् ।

उनलाई ५० हजार फ्रान्सेलीहरुको ज्यान जाने गरी जर्मनीका लागि जासूसी गरेको आरोप लाग्यो । फ्रान्सेली विदेश मन्त्री हेनरी द मारगुरी जो माताहरिका प्रेमी पनि थिए, उनले बचाउन सक्दो प्रयास गरे । उनलाई लागेको आरोप झूठो भएको बताए तर उनको क्यै लागेन । उनलाई सेनाको टोलीले सामूहिक गोली हानेर प्राणदण्ड दिने फैसला भयो । उनलाई सोधपुछ गरेर यो निर्णयसम्म पुर्याउन पियरे बुखारडोनको मुख्य हात थियो । उसले आफ्नो डायरीमा माताहरिलाई “मान्छे खाने” भनेर चित्रित गरेको थियो ।

माताहरिलाई पेरिसको भयावह लाग्ने जेलमा राखियो । लामखुट्टे र झिंगा लाग्ने तथा मुसैमुसा भएको कोठरीमा उनलाई राखिएको थियो । सरसफाईका लागि साबुन पनि थिएन । उनलाई आफ्ना लुगा पनि मगाउन दिइएन । औषधी उपचारको सुविधा पनि दिइएन । खाना र चिट्ठीका लागि हुलाक टिकटसम्म दिइएन । उनका प्रेमी तथा वकिल एडोर्ड क्लुनेटसँग कहिलेकाहीं भेट्नसम्म पाउँथिन् ।

उनको मृत्युदण्डको लागि क्षमादानको अपिल पनि खारेज भएपछि माताहरिलाई पक्का भइसकेको थियो, उनलाई मृत्युदण्ड हुन्छ भनेर ।

१५ अक्टोवर १९१७ को बिहानी समयमा माताहरि मस्त निद्रामा थिइन् । जेलको कोठरीमा पादरी आरवाउक्स, समाजसेवी दिदीवहिनी, कप्तान बुखार्डोन र मैत्र्येय क्लनेट, उनका वकिलले प्रवेश गरे । समाजसेवी दुई दिदीबहिनीहरुले माताहरिलाई झक्झकाएर बिउँझाए । उनीहरुले समय भएको बताए ।

माताहरिले शान्तपूर्वक सोधिन्, ” के म दुईवटा चिट्ठी लेख्न सक्छु ?”

कप्तान बुखार्डोनले तत्कालै अनुमति दिए र उनलाई कलम, कागज र खाम उपलब्ध गराए । उनले खाटमा बसेर फटाफट दुईवटा चिट्ठी लेखिन् । अनि वकिललाई हस्तान्तरण गरिन् ।
अनि उनले आफ्नो पहिरन लगाउन थालिन् । सबै पहिरनले सुसज्जित भएपछि उनले बिस्तारै भनिन्, “म तयार भएँ ।”

बाहिर पर्खिराखेको मोटरमा बसेपछि गाडीले गति लियो । घडीले साढे पाँचको समय देखाइरहेको थियो । मृत्युदण्डका लागि तोकिएको स्थान सेजर द भिन्सेन्समा पुगेपछि गाडी रोकियो । सबै गाडीबाट उत्रिए । त्यहाँ १२ जना सिपाही राइफल तयारी अवस्थामा राखेर प्रतीक्षामा थिए । तिनको अफिसर भने तरवार तल घोप्टो पारेर तिनीहरुको पछि उभिएको थियो ।

यौटा फ्रान्सेली अफिसर सेतो कपडा बोकेर आयो ।

“आँखामा पट्टी बाँधिदेऊ,” उसले दुई दिदीबहिनीलाई भन्यो ।

“त्यो बाँध्नै पर्छ र !” माताहरिले आफ्नो वकिलतर्फ हेर्दै भनिन् ।

मैत्र्येय क्लनेटले प्रश्नसूचक नेत्रले फ्रान्सेली अफिसरतिर हेरे ।

“यदि म्याडम चाहन्न्न् भने यसले केही फरक पर्दैन,” अफिसरले हतारिंदै जवाफ दियो ।

माताहरिको हातखुट्टा बाँधिएको थिएन । आँखामा पट्टी पनि बाँधिएको थिएन । तिनी मजासँग सामुन्ने हेरिरहेकी थिइन् । बिस्तारै पादरी, दिदीबहिनीहरु, अनि उनको वकिल उनीबाट टाढा भए ।

माताहरि अटल, अविचल भएर उभिइरहिन् । तरवार हातमा लिने अफिसरले तरवार हावामा चलायो र जमिनमा रोप्यो । सबै सिपाहीको राइफलबाट माताहरिको छातीको निशाना बनाएर गोली चल्यो । माताहरिले शरीरको कुनै भाग चलाइनन् । हात पनि उठाइनन् । गोली प्रहारपछि उनी ढलिन् तर उनको अनुहार आकाशतर्फ फर्केको थियो । उनी उत्तानो परेकी थिइन् । उनी गतिहीन भएकी थिइन् । लेफ्टिनेण्टको साथमा रहेको यौटा अफिसरले आफ्नो कम्मरबाट पेस्तोल निकाल्यो र माताहरीको कञ्चटमा ताकेर नजिकैबाट गोली चलायो र फुस्फुसायो- “माताहरि पक्कै मरी ।”

४१ वर्षको उमेरमा धरतीबाट साहसिलो मृ्त्यु वरण गरेकी माताहरि के साँच्चै जासूसै थिइन् ? के उनलाई यसरी मृत्युदण्ड दिनै पर्ने थियो ? यो प्रश्न भने अनुत्तरित नै रह्यो । उनी फिल्मको विषयवस्तु बनिन् । उपन्यासको विषयवस्तु बनिन् । उनी मरेर पनि बाँचिरहिन् ।

प्रतिक्रिया
Loading...