बीट जेरेसनका अग्रणी कवि एलेन गिन्सबर्ग बिसौँ शताब्दीका एक अद्वितीय कवि हुन् । आफ्नो लेखनीको बलले मात्र होइन, आफ्नो व्यवहार, चरित्र र चालचलनले समेत विश्वव्यापी चर्चा हासिल गर्न सफल गिन्सबर्गले आफ्नो जीवन स्वयंलाई काव्य रुपमा परिणत गरिदिएका थिए– सरल भैकन बुझ्न कठिन र कठिन भैकन पनि जनजीवनसँग सीधा सरोकार राख्ने विशेषतासहित ।

एलेन गिन्सबर्गको जन्म सन् १९२६ को जून ३ का दिन न्यू जर्सी अमेरिकाको प्याटर्सन भन्ने स्थानमा भएको थियो । उनका पिता लुइस गिन्सबर्ग अंग्रेजीका शिक्षक थिए र कवित्वले व्याप्त थियो उनको मस्तिष्क । उनी लङ्गफेलो परम्परागत कविता लेख्न रुचाउँथे । उनकी आमा नाओमी गिन्सबर्ग भने आफ्नो युवावस्थामा राजनैतिक कार्यकर्ता थिइन् र रुसबाट आएकी आप्रवासी थिइन् । तर पछि तिनी पागल भइन्, जसको प्रभाव एलेन गिन्सबर्गको जीवनमा मात्र होइन, लेखनमा पनि पर्याप्त परेको देख्न सकिन्छ ।

प्यार्टसन, न्यू जर्सीमा आफ्नो स्कुले शिक्षा प्राप्त गरिसकेपछि एलेन गिनसबर्गले सन् १९४३ मा कोलम्बिया विश्वविद्यालयमा प्रवेश गरे । त्यतिखेर उनको उमेर १७ वर्षको थियो तर २ वर्षपछि उनी विश्वविद्यालयबाट निकालिए । उनलाई कक्षा कोठाको झ्यालमा यहुदीविरोधी अश्लील शब्दावली लेखिएको आरोपमा निकालिएको थियो । उनले धूलोले फक द ज्यूज (Fuck the Jews) लेखेका थिए ।

कोलम्बिया विश्वविद्यालयमा छँदा गिन्सबर्ग सम्बन्धित अधिकारीहरूको टाउको दुखाइको कारण बनेका थिए– उनका अराजक क्रियाकलापका कारण । यस समयमा उनी ज्याक केरोआकको मित्रतामा बाँधिन पुगे । त्यस्तै उनका अर्का सहपाठी थिए, विलियम बोरो । पछि यिनीहरू र अन्यसहित एलेन गिन्सबर्ग बीट जेनरेसनको आन्दोलनको प्रमुख स्थल सान फ्रान्सिस्कोमा एक साथ भए । ज्याक केरोआकबाट उनले छाँटकाँट बिना लेख्न सिके । साह्रै उग्र भएर अभिव्यक्त गर्न असक्षम भएको बेला एलेन गिन्सवर्गले ‘लागु पदार्थ’ समेत ग्रहण गर्न थाले ।

कोलम्बिया छाडेपछि एलेन गिन्सबर्गले घुमक्कड जीवनको सुरुवात गरे । उनले व्यापक रुपमा भ्रमण गरे र अनगिन्ती प्रकारका काममा हात हाले । उनले क्याफ्टेरियाको भुइँ पुछ्ने कामदेखि बजार अनुसन्धानको काम समेत गरे ।

सन् १९४८–४९ ताका उनले विलियम ब्लेकको रहस्यवादी दृष्टिकोण अपनाउन खोजे र पछि झण्डै आठ महिना जसो उनले मानसिक अस्पतालमा बिताउनु पर्‍यो । सन् १९५० तिर उनले न्यूजविक पत्रिकामा पुस्तक समीक्षकको रुपमा काम गरे । सन् १९५४ मा मेक्सिकोको भ्रमण गरेपश्चात् उनी सान फ्रान्सिस्कोमा स्थायी रुपले बसोबास गर्न थाले ।

सन् १९५६ मा लरेन्स फरलिङ्गेट्टीको सिटी बुक्सले उनको पहिलो र बेजोड कृति ‘हाउल एण्ड अदर पोइम्स‘ (चित्कार र अरु कविताहरू) प्रकशित गर्‍यो । यो कृति प्रकाशनका लागि प्रकाशकले अश्लीलताको विधान उल्लंघन गरेको आरोप खेप्नु पर्‍यो –क्यालिफोर्निया राज्यको । गिन्सबर्गले यस कविताको सम्बन्धमा भने –“यो गद्यको बिजबाट, दिनपञ्जीबाट, कन्याइबाट लिएको हुँ … अमेरिकाली सोचको वक्तव्य एवं विलियम क्यारोलस विलियम्सको बिम्बवादी चिन्ताबाट लिएको हुँ ।” यो कविता प्रतिबन्धित समेत भयो ।

प्रागमा सन् १९५५ मा ‘महको राजा’ (May King) को उपाधिले विभूषित उनलाई चेकोस्लोभियाली प्रहरीले तत्कालै निकाला गरिदिएको थियो । त्यस्तै सन् १९६६ मा लागुपदार्थ, एलएसडीको प्रयोगको अनुसन्धान गरिरहेको एक सिनेटलाई उनले भने –“यदि हामीलाई हाम्रो दृष्टिकोण परिवर्तनका लागि एलएसडी प्रयोग गर्न निरुत्साहित गर्ने हो भने समाजमा यस्तो परिवर्तन ल्याउनु पर्‍यो कि कसैले पनि यो प्रयोग गरेर सहानुभूति प्राप्त गर्न नसकोस्, त्यसरी उत्साहित गर्नुपर्छ हामीलाई ।” उनले प्रत्युत्तरमा आफ्नो कपडा खोलिदिए ।

‘चित्कार’ कविताले अमेरिकाली कविता र संस्कृतिमा तरङ्ग नै ल्याइदियो । सन् १९५५ मा उनको यस कविताको पहिलो ऐतिहासिक वाचन कार्यक्रमपश्चात् उनका घनिष्ठ मित्र प्याक केरोआकफले चिच्याउँदै भनेका थिए–“गिन्सवर्ग ! यो चित्कार कविताले तिमीलाई सान फ्रान्सिस्कोमा प्रख्यात तुल्याउनेछ ।” तर सानफ्रान्सिस्कोका कवि केनेथ रेक्सरोथले सच्याए–“होइन, यो कविताले तिमीलाई पुलदेखि पुलसम्म प्रख्यात तुल्याउनेछ ।” यथार्थमा यो कविताले उनलाई विश्व विख्यात बनाइदियो ।

वास्तवमा यो चित्कार कविता कविको विगतलाई समाविष्ट गरेर लेखिएको व्यक्तिगत कविता हो । उनका मित्रहरूको वृत्तसमेत यस कवितामा छन् । त्यति हुँदाहुँदै पनि यो मसिलो पत्रले छोपिएको आत्मकथात्मक रचना हो । विलियम कार्लोस विलियमले भनेका छन् –“गिन्सबर्गका कविता नर्कदेखि चमत्कार बीचको यात्रा हो, जुन गिन्सबर्गले भोगे र कवितामा उतार्न सक्षम भए ।”

गोविन्द गिरी प्रेरणा (अमेरिका)

एलेन गिन्सबर्गको लेखन यात्राकै क्रममा निल कासेडीसँगको भेट, मित्रता र प्रेमले उनको जीवन र काव्य रचनामा ठूलो प्रभाव पारेको देखिन्छ । उनीहरु बीचको पत्रलेखन पनि एक दस्तावेजको रुपमा रहेको पाइन्छ । उनले एक पत्रमा निललाई लेखे –“म एक्लो छु, निल, एक्लो र म सधैं त्रसित हुन्छु । म कोही चाहन्छु जसले मलाई माया गरोस्, चुम्बन गरोस् र मसँग सुतोस् । केवल यौटा बालक हुँ म र मसँग बालकको मस्तिष्क नै छ… म तिमीलाई भन्छु, प्रार्थना गर्छु, कृपया निल, मेरी निल, म भए ठाउँमा आऊ, मलाई नष्ट नगर, मलाई नछाड ।… तिमीले छाड्यौ भने म मृत्युपर्यन्त एक्लो हुनेछ ।”

तर गिन्सबर्ग र निल कासेडी बीचको सम्बन्ध टुट्यो । यसको पीडा र उदासीको अवस्थामा उनी हार्लेमको एपार्टमेण्टमा कैयन् लामा महिनाहरू एक्लै बसे– ऐकान्तिकतामा ।

गिन्सबर्गका यस्ता दु:ख र पीडाका समयहरु ‘रित्तो ऐना (१९६१)‘ एवं क्रोधका ढोकाहरू, लयबद्ध कविताहरु” (१९७३) मा प्रतिबिम्बित भएका छन् ।

हाउल अर्थात् चित्कारकै चरमोत्कर्षको बेला लेखिएको उनको अर्को चर्को कविता हो “अमेरिका” (१९५६) युद्धविरोधी र एक प्रकारले आफ्नै मुलुक अमेरिकाविरोधी यस कविताले उनलाई चर्चाको चुलीमा पुर्‍याइदियो। उनले यस कवितामा लेखे–“गो फक योर सेल्फ वीथ योर एटम बम” । यसबाट उनको युद्धविरोधी भावनाको तीव्रता महसुस गर्न सकिन्छ । उनले लेखे–
“अमेरिका तिमी कहिले मानवयुध्द अन्त्य गर्छौ ? … अमेरिका किन तिम्रा पुस्तकालयहरू अश्रुपूर्ण छन् ? … म क्याथोलिक भए पनि मेरो महत्त्वाकांक्षा राष्ट्रपति हुनु हो । … अमेरिका तिमी साँच्चै युध्दमा होमिन चाहँदैनौं । …”

एलेन गिन्सबर्गले विश्वका प्रमुख राष्ट्रहरू र प्रमुख शहरहरूको भ्रमण गर्ने तथा तत् स्थानहरूमा काव्य वाचन एवं व्याख्यान दिने काम गरे । यस क्रममा उनले जनवादी चीन, पूर्व सोभियत संघ, स्क्याण्डिनेभिया, पूर्वी युरोप र भारत आदि देशहरूमा आफ्नो प्रतिभा प्रदर्शन मात्र गरेनन्, उनले पूर्वीय दर्शनलाई अमेरिकासम्म पुर्‍याउने महत कार्यसमेत सर्वप्रथम गर्ने गौरव प्राप्त गरे । उनको भारत बसाइको आलेख अर्थात् नोट बुकहरू, डायरी, अन्य लेखनहरु ”इण्डियन जोर्नल्स” मा सङ्कलित र प्रकाशित छ । उनले त्यस पुस्तकमा लेखेका छन्, “यदि कविको मस्तिष्क सुन्दर भयो भने उसको कला पनि सुन्दर हुन्छ ।”
समलिङ्गी सम्बन्धमा पनि एलेन गिन्सबर्गको नाउँ प्रमुख रुपमा आउँछ । उनको “छानिएका समलिङ्गी कविताहरू र पत्राचार” (१९७९) पनि प्रकाशित छ । त्यतिमात्र होइन, उनको आत्मप्रेम पनि उत्तिकै चर्चित प्रसङ्ग हो र उनले ‘रित्तो ऐना’ भित्रका कविताहरूमा यस्ता प्रकारका कविताहरू लेखेका छन्–
“मैले मैलाई प्रेम गरें
ऐनामा, आफ्नै ओठ चुम्बन गरेर
भन्दै म आफूलई प्रेम गर्छु
म तिमीलाई अरु कसैलाई भन्दा प्रेम गर्छु ।”

एलेन गिन्सवर्गको अर्को प्रख्यात कविता ‘कद्दीश’ मा आफ्नी आमाको चित्रण गरेका छन् । स्वास्नीमान्छे देख्नेबित्तिकै आफ्नी मानसिक सन्तुलन गुमाएकी आमाको याद उनलाई आउने हुनाले उनले यस लामो कवितामा यिनै भावुकतालाई अभिव्यक्ति दिएका छन् । उनी भन्छन्–“स्वास्नीमान्छे देख्ने बित्तिकै मेरी आमा नाओमीको गन्ध आउँछ ।”

कविताबाट सुरु भएको एलेन गिन्सबर्गको साहित्य यात्रा कवितादेखि कवितासम्म भए पनि उनले नाटक पनि लेखे । त्यस्तै ‘कद्दीश’ लाई नाट्य रुपान्तर गरेर मञ्चन पनि गरियो ।

उनका “संकलित कविताहरु – १९४७–१९८०, सेता कात्रो : कविताहरू १९८०–१९८५, सार्वभौम अभिवादन : कविताहरू १९८६–१९९२ क्रमश: १९८४, १९८५ र १९९४ मा प्रकाशित भए । यी उनका मृत्युपूर्वका महत्त्वपूर्ण काव्य ग्रन्थ हुन् । त्यस्तै उनका कैयौं खण्ड तस्बिरका पुस्तकहरूसमेत प्रकाशित छन् ।

यस्ता आजीवन काव्य साधना, काव्य प्रवचन, भ्रमणजस्ता सिर्जनशील उत्तम कर्ममा सदा लीन हुन मन पराउने कवि गिन्सबर्ग ५ अप्रिल १९९७ मा सदाका लागि यो धरतीबाट ब्रम्हलीन भए । उनलाई कलेजोको क्यान्सर भएको पत्तो लागेको थियो तर उनको मृत्यु भने हृदयघाटबाट भयो ।

एलेन गिन्सबर्गले आफू दुनियाँबाट गए पनि अमेरिकालाई घरिघरि झस्का दिने ‘अमेरिका’ र “चित्कार” जस्ता कविता र विश्वलाई अनगिन्ती काव्याभिव्यक्ति छाडेर गएका छन् —
म तिमीसँग रकलैण्डमा छु
जहाँ हामी अंकमाल गर्छौं र चुम्बन गर्छौं
संयुक्त राज्यलाई र हाम्रो तन्नामुनि
संयुक्त राज्य रातभरि खोकिरहन्छ
र हामीलाई सुत्न दिंदैन ।
(“चित्कार”बाट)