नेपालको इतिहासमा २०३६ साल विशेष मानिन्छ । राजा वीरेन्द्रले विद्यार्थी आन्दोलन भड्केपछि सुधारिएको पञ्चायती व्यवस्था वा बहुदल रोज्नका लागि ऐतिहासिक जनमत सङ्ग्रहको घोषणा गरेका थिए यही साल । यो समयमा नेपालका पञ्चायत इतरका सबै विचारधाराका कवि लेखकहरु एकै कित्तामा उभिएका थिए-पञ्चायत विरोधी र बहुदलपक्षीय रुपमा । नेपालको इतिहासमै सर्वाधिक कवि लेखकहरुले एउटै मञ्चबाट विरोधको काव्यिक स्वर उरालेको घटना सडक कविता क्रान्ति थियो । त्यो समयमा अधिकांश कविहरु विद्रोही देखा पर्थे, पुराना पुस्ताकादेखि नयाँ पुस्ताका सम्म । यसै समयमा काठमाडौंको काव्यिक जगतमा तरङ्ग ल्याउने एउटा कविताले डंका पिट्यो-
काठमाडौं एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लाउन सक्दैन
यो कविताका कवि थिए कृष्ण भूषण बल । यो कविताले उनलाई लोकप्रियताको शिखरमा पुर्यायो, उनको पर्यायवाची नै बन्यो यो कविता एक प्रकारले । त्यस ताकका उनी उपस्थित कवि गोष्ठीमा तथा जमघटमा उनलाई सबैले यही कविताको फर्मायस गर्ने गर्थे । उनी आफ्नो मौलिक शैलीमा त्यसलाई वाचन गर्थे ।
इलामको रवि माल्टेनीमा विसं २००४ चैत्र १ गते मा जन्मेका यी कवि राष्ट्र बैंकमा जागिरे थिए र बसाई काठमाडौं थियो त्यतिबेला । उनको नाम शुरुमा स्कूल पढुन्जेल टीकाराम तामाङ थियो, पछि साहित्यिक क्षेत्रमा पाइलो हालेपछि कृष्णभूषण बल भएका हुन् । काठमाडौंमा उनी एक्लै बस्थे । फुक्का फाल थिए । थोरै कविता लेख्थे । साँझलाई उनी दुई प्रकारले उत्सवीकरण गर्थे, मदीरापान गरेर अथवा मखनका गल्लीहरुमा त्यतिखेर भूमिगत रुपमा भिडियोमा देखाइने नीलो चलचित्र हेरेर । क्रान्तिकारी, विद्रोही कविता, मदीरा र नीलो चलचित्र मेलै खाने कुरा थिएन । तर त्यो मेल कृषणभूषण बलमा सम्भव थियो । मनका सफा, स्पष्ट भन्दिने र चित्त नबुझेको कुरामा रनक्क रन्केर पूर्वेली झोंक देखाउने उनको स्वभावलाई मित्रगणले सहज र स्वाभाविक रुपमै लिन्थे ।
म त्रिभुवन विश्वविद्यालयको आन्तरिक लेखा परीक्षण शाखामा लेखापालको रुपमा काम गर्थें । नेपालको मेचीदेखि महाकालीसम्मका त्रिभुवन विश्वविद्यालयको बजेटमा चल्ने क्याम्पसहरुको लेखापरीक्षणका लागि टूर गैरहनु पर्थ्यो । कृष्णभूषण बल नेपाल राष्ट्र बैङ्कको निरीक्षण महाशाखामा काम गर्थे र उनी पनि नेपालका बैङ्कहरुको निरीक्षणका लागि विभिन्न जिल्लाहरु गैरहनु पर्थ्यो । एकपल्ट कुरै कुरामा थाहा भो, उनी धरान र तेह्रथुम जाँदैछन् । मैले सोचें, उनी जाने रुटमा मैले पनि विश्वविद्यालयको आन्तरिक लेखा परीक्षणको काम मिलाउन पाए सँगै यात्राको मजा लिन पाइन्थ्यो ।
दुनियाँमा मिलाउन चाहे मिलाउन नसक्ने कुरै के हुन्छ र ? मैले एकजना अधिकृत फकाएँ र धरान, धनकुटा अनि तेह्रथुम क्याम्पस आन्तरिक लेखा परीक्षणका लागि जाने काज स्वीकृत गराएँ ।
धरानमा त्यतिबेला कलाकार मुकेश मल्ल, अशेष मल्लका सहोदर दाजु दिनेशको जुत्ता पसल रुँगेर बस्थे । उनले एक साँझ कृष्णभूषण वल र मलाई सायँकालीन निमन्त्रणा गरे । उनीकहाँ एक बोतल मदीरा कुनै मदीरा कम्पनीले उपहार दिएको रहेछ, सो चखाएर आतिथ्यता गर्न चाहन्थे । तर मुकेशको एक्लो बसाई अनि भात भान्साको व्यवहारिकताबाट टाढा उनले स्न्याक्सको भने व्यवस्था मिलाउन सकेका रहेनछन् । हामी बाहिर निस्केर मूला, गोलभेंडा र भूजा अर्थात मुरई लिएर आयौं र त्यसको साथमा मदीरापानमा रमाउन थाल्यौं, साहित्य कलाका कुरा गर्दै । अशेषको कुरा गर्दै । मुकेश त्यतिबेला दिनेश को. जुत्ता पसलले बन्धनमा बाँधेको अनुभव गर्दै थिए र त्यो बन्धन चुँडाल्ने प्रयत्नमा लागिरहेको बेला थियो । हामीले उनका असन्तुष्टि पनि सुन्यौं ।
मदीराको शक्तिलाई कमजोर स्न्याक्सले थाम्न हम्मे हम्मे परिरहेको थियो । हामीले बोतल रित्याउँदा बोतलले हामीलाई हल्लिने बनाइसकेको थियो । टाउको चड्काउन शुरु गरिसकेको थियो । काठमाडौंका निख्खर बासिन्दा मेरा अधिकृत गम्भीमान सिं डंगोल पनि हल्लिएका थिए, सामान्यतः हल्लँदै नहल्लिने मान्छे पनि । बोतल रित्तिएपछि धेरै बेर त्यहाँ टिक्न सक्ने अवस्था भएन र हामी माथिल्लो तल्लाबाट ओर्लन थाल्यौं घर पछाडिको भर्याङ्बाट । तर भर्याङ्बाट ओर्लँदा ओर्लँदै हामी तीनै जनाको उदरबाट मदीरा र स्न्याक्स हुँडलिएर मुखबाट हुत्तिन थाल्यो । तीनैजनाले अलिकति पेट खाली गरेपछि म र मेरा अधिकृत विज्ञान क्याम्पसको अतिथिगृह हात्तीसारतिर उकालो लाग्यौं । कृष्णभूषण पनि आफ्नो बासतिर लागे । मात्ने गरी धेरै पिए पनि छाद्ने गरी पिएको देखेको चाहिँ त्यो नै पहिलो र अन्तिम घटना थियो ।
धरानबाट हामी तेह्रथुम जाने भयौं । धनकुटासम्म गाडी अनि त्यसपछि पूरै पैदल ।
धनकुटा पुगेपछि हामी पैदल लाग्यौं हाम्रो पहिलो बास हिलेमा पुग्ने लक्षसहित । हिलेमा तोङ्वा र सुकुटीको स्वादमा रमाइयो । अनि भोलिपल्ट बसन्तपुरमा बिहानको खाना खाएर जिरेखिम्तीमा बास बस्यौं । बीचमा अर्को एक बासपछि तेह्रथुमको सङ्क्रान्ति बजारमा पुगेपछि हाम्रो सहयात्राको बिसौनी भयो । तर हरेक साँझको रमझम र बाटोभरि साहित्यिक गफगाफ यो यात्राको रमाइलो पक्ष थियो । राष्ट्र बैंकका कृष्ण भूषणका हाकिम जो आफूलाई कीर्तिनिधि बिष्टको भतिजा भन्थे, तिनको बास व्यवस्थापन कला भने परिपक्व थियो । हामी त अनुभवहीन थियौं नै, कृष्णभूषण साँझ परेपछि खाना अगाडि मदीरा लिन थालेपछि खाना खानुअघि नै यसरी तनक्क तन्किन्थे कि भोलिपल्ट बिहान नभई उनको त्यो तन्काई खुम्चिंदैनथ्यो ।
उनको पहिलो कृति ” दाजु मलाई तिम्रो हात चाहिन्छ ” काव्य थियो । त्यो चर्चित थियो र त्यसको अंश गीतको रुपमा पनि गाइएको थियो । तर त्यसको व्याप्ति यथेष्ट हुन पाएन ।
तर २०४१ सालमा प्रकाशित “भोलि बास्ने बिहान” ले भने उनलाई तरुण पुस्ताका शक्तिशाली कविको रुपमा उभ्याइदियो । तर यो सङ्ग्रहमा आउँदा उनको चर्चित कविता “काठमाडौं एक्लैले अब काठमाण्डू बोक्न सक्दैन” का शब्द परिवर्तन भएका थिए । उनले चर्चामा रहेको बेला र अनौपचारिक रुपमा सुनाउँदाका हरफ यस्ता थिए:
किन थाहा भएन तिनलाई एउटा रौंलाई मात्र भनिन्न केश
किन थाहा भएन तिनलाई एउटै मात्र वंशको हुँदैन देश
तर किताबमा आउँदा “वंश” शब्दको साटो “इतिहास” शब्द प्रयोग भएको थियो । वंश शब्दले सिधै राजतन्त्रमाथि धावा बोलेको अर्थ लाग्थ्यो, लेखेका पनि त्यही थिए, तर पञ्चायतको जगजगीको बेला, सकृय राजतन्त्रको बोलवाला भएको बेला उनले “वंश” शब्द प्रयोग गर्ने आँट गर्न सकेनन् ।
यो पुस्तकको विमोचन २०४१ सालमा भएको थियो । पुस्तक विमोचन भव्य नै थियो । हामीहरु सबैको सहयोग र साथ थियो । औपचारिक कार्यक्रम सकिएपछि हामीहरु नजिकका साथीहरुलाई उनले कमलपोखरीको एउटा चिया खाजा पसलमा लगे । उनी त्यो विमोचन समारोहमा वक्ताहरुले बोलेका उनका कविताको विश्लेषण, तारिफ र चर्चा सुन्दै रमाइलो खानपानको मूडमा थिए । पहिलो चरणमा चिया अर्डर भयो । क्यासेट प्लेयर साथमै थियो, जसबाट सो कार्यक्रमको ध्वनि रेकर्ड गरिएको थियो । साहुजीले चिया बनाएर दिन थालेका थिए । केही साथीहरु चियाको चुस्की लाउन थालिसकेका थिए । उनी भने क्यासेट प्लेयर बजाउन टुपिन जोड्ने ठाउँ खोज्न थाले । पाइयो । क्यासेट प्लेयर अन भयो । उज्यालो अनुहार लाएर उनी र हामी सबै क्यासेटबाट आउने आवाजको प्रतीक्षा गर्न लाग्यौं । स्वाईंईं आवाज आयो । शुरुमा यस्तै हुन्छ भन्ने ठान्यौं र वक्ताहरुको भीषण भाषणको प्रतीक्षा गर्न लाग्यौं । तर आवाज त्यही स्वाईंईं भन्दा अरु आएन । कृष्णभूषणको मुड बिग्रन शुरु भयो । फास्ट फरवार्ड गर्दा पनि र पुन: रिवाइण्ड गर्दा पनि स्वाईंईं भन्दा अरु आवाज नआएपछि रेकर्डिङमा गडबड भएको पक्का भयो । उनी अलिअलि कालो वर्णको मान्छे, पूरै कालो भए । नीलो भए । अनि एक्कासि साहुजीलाई भन्न थाले, “खाजा साजाको सबै अर्डर क्यान्सिल ! सबै क्यान्सिल !”
जजसले चिया समातेका थिए, पाइहाले, अरुले चिया पनि पाएनन् । बडो बेमज्जा भयो । उनलाई साह्रै दु:ख लाग्यो । म पनि त्यो दुर्दान्त क्षणमा केही नबोली बाटो लागें ।
“भोलि बास्ने बिहान” काठमाडौंको साहित्यिक वृत्तमा चर्चाको विषय बन्यो । साप्ताहिक विमर्शमा डा. ध्रुवचन्द्र गौतमले आफ्नो स्तम्भमा पूरै यो किताब र कृष्णभूषण वलमाथि लेखिदिए । त्यो धेरै पढिने चर्चित साप्ताहिक अखबार थियो त्यतिबेला ।
तीसको दशकका कवि लेखकहरु निकै उत्साह र लेखनमा नयाँपनको लेप लिएर आउँदै गर्दा पनि स्थापित समालोचकहरुले वास्ता नगरेको, लेखनको मूल्याङ्कन नगरिएको जस्तो आरोप लाग्ने गरेको थियो । विशेष डा. वासुदेव त्रिपाठी, कृष्णचन्द्र सिंह प्रधान, अभि सुवेदी जस्ता वरिष्ठ समालोचकहरुले नयाँ पुस्ताका कवि लेखकको समीक्षा समालोचना नगरेको गुनासो हुने गर्थ्यो । हुन पनि ठूला समालोचकहरु नामै लिन समेत अन्कनाउँथे । तर कृष्णचन्द्र प्रधानले कृष्णभूषण बलको बारेमा खुलेरै भव्य समालोचना लेखिदिए एकेडेमीको कविता पत्रिकामा । उनले बललाई “मर्द कवि”को उपमा दिंदै गोपालप्रसाद रिमाल, वैरागी काइँलाको लहरमा तिनको उत्तराधिकारी कविको रुपमा चर्चा गरिदिए । उनले लेखे: ” वास्तवमा बल स्वतन्त्रता, प्रजातन्त्र र मानव-अधिकारका गायक हुन्, अनुचित र अव्यवस्थित व्यवहारलाई मोड्ने मनोकाङ्क्षाका आस्थावान्-कवि हुन् ।….कोमलता उनको कविताको प्रकृति होइन, यसकारण पोथी कवि उनी भएनन् । पुंसत्व उनको कविताको स्वभाव हो, त्यसैले उनीलाई मर्द कवि भन्नुपर्छ ….बल दोबाटाका बाटा हुन् । क्यै भन्न परेकोले उनी कविता लेख्छन्, कविता नलेखी बस्नै नसकेकोले क्यै भनिरहेका हुन्छन् । यसरी दुवैले दुवैको समझदारीलाई जुन वातावरणमा स्वीकार गरी सम्झौता गरेका छन् र अस्तित्वको सम्मान राख्न सके, तिनै कविलाई कृष्णभूषण भनेको हूँ-यसभन्दा अघिकालाई वैरागी काइँला र अझ अघिकालाई गोपालप्रसाद रिमाल ।”
यो समालोचना प्रकाशित भएपछि कृष्णभूषण बल यति धेरै खुशी भए कि त्यसको सिमाना नै रहेन । उनले कृष्णचन्द्र सिंह प्रधानलाई फोन गरेर, भेटेर पटक पटक, अनेक पटक कृतज्ञता जाहेर गरेपछि कृषणचन्द्र सिंह प्रधानलाई अस्वाभाविक मात्र लागेन वाक्कब्याक्क समेत लागेको उनले प्रशङ्गवस मलाई पनि सुनाएका थिए । नयाँ पुस्ताको बारेमा लेख्दा हुने यौटा जोखिम यो पनि हो । साँच्चै कृष्णचन्द्र सिंह प्रधान आफैंले त्यो समालोचना लेखेर कृष्णभूषण बलको कवित्वको हत्या भएको समेत महसूस गरे । हुन पनि त्यसपछि उनका कविताहरु भोलि बास्ने बिहानका कविता भन्दा उम्दा हुन सकेनन् । त्यो समालोचनाले कृष्णभूषणलाई एकातिर बिगार्यो भने अर्कोतिर कृष्णचन्द्र सिंह प्रधानले नयाँ पुस्ताको समालोचनै गर्न उपयुक्त समय भैनसकेको ठहर गरे । फलत: समालोचना लेख्नका लागि उनले तयार पारेका नयाँ पुस्ताका कवि लेखकहरुको सूची कृष्णभूषण बलबाट शुरु भएर लगभग उनैमा अन्त्य भयो । निकै पछि मात्र उनले पोखराका सरुभक्तलाई समाते ।
कृष्णभूषणले काठमाडौं बसाइलाई अन्त्य गरेर विराटनगरलाई गृहनगर बनाए । उनी राष्ट्र बैंङ्कको केन्द्रबाट विराटनगरको क्षेत्रीय कार्यालयमा सरुवा भएका थिए । उनी विराटनगर बस्न थालेपछि काठमाडौंको यौटा साप्ताहिक अखबारमा “सुनाखरी लामा, विराटनगर” को नामबाट निकै चोटिला लेखहरु प्रकाशित हुन थाल्यो स्तम्भकै रुपमा । त्यो स्तम्भ छोटो समयमै निकै चर्चित भयो । त्यो स्तम्भ लेख्ने लेखक अरु कोही नभई स्वयम् कृष्णभूषण बल नै थिए ।
विराटनगर झरेपछि पनि कृष्णभूषण बलले झरिला कविता लेख्न सकेनन् । “अब त बिसाउँ होला थापाजी” जस्ता आत्मस्वीकृतिजन्य घतलाग्दा कविताको फाट्टफुट्ट सिर्जनामा भने उनले आफूलाई लगाई नै रहे । उनी परशु प्रधान अध्यक्ष रहेको वाणी प्रकाशन संस्थाको उपाध्यक्ष थिए । परशु प्रधानले काठमाडौं फर्कने निर्णय गरेपछि वाणी प्रकाशनको अध्यक्षको कार्यभार कृष्णभूषण बलले पाएका थिए । तर संस्था चलाउने संयन्त्रको जानकार नभएका उनले वाणी प्रकाशनलाई पूर्ववर्ती कालखण्डको तुलानामा अघि बढाउन सक्षम भएनन् ।
सधैं प्रातकालीन भ्रमणमा निस्कने कवि एकदिन नियमित ढङ्गले प्रातकालीन भ्रमणमा निस्किएपछि घर आएर नुहाउँदै गर्दा बेहोस भएर लडे । उनलाई उपचारार्थ अस्पताल पुर्याइयो । तर उनी ढलेको ढल्यै भए र २०६९ साल असार ११ गते दिवङ्गत भए ।
उनको मृत्युको एक महिनाको अन्तरालमा म क्यालिफोर्नियामा थिएँ र साहित्यकार बासु ढकालको निवासमा क्यालिफोर्नियाकै अर्का साहित्यकार ध्रुव थापासहित केही साहित्यप्रेमीको उपस्थितिमा हामीले यौटा सानो श्रध्दान्जली कार्यक्रम पनि गर्यौं र दिवंगत कविको सम्झना गर्यौं ।
तर उनले त्यो बेला गरेको ‘काठमाडौं एक्लैले अब काठमाण्डू बोक्न सक्दैन, काठमाडौं एक्लैले अब सिङ्गै नेपालको अर्थ लाउन सक्दैन’ भन्ने उद्घोष समयक्रमले प्रमाणित नै गरेर छाड्यो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

