सैनिकहरू बन्दुक तेर्स्याएर उभिएका छन्, ज्यान लिन । ज्यानका पर्वाह हुनेहरू कसैले आत्मसमर्पण गरेका छन् त कसैले अनुहार छोपेका छन् । बन्दुक तेर्स्याउनेहरू मार्न उद्दत देखिन्छन् । तिनका आँखाले निशाना साधिरहेका छन्, काँध केही झुकाएका छन् ।
आत्मसमर्पण गर्ने व्यक्ति श्वेत वस्त्रमा छन् र उनको हातको पोजिसन यस्तो छ, मानौँ अर्को जिसस क्रुसिफाइड हुन लागिरहेका छन् र एउटा निर्दोषको बित्थामा ज्यान जान लागिरहेको छ !
यो चित्र बनाएका हुन्, फ्रान्सिस्को डि गोयाले । फ्रान्सका शासक नेपोलियनले छिमेकी मुलुकलाई निल्दै अघि बढिरहेका बेला स्पेनका सर्वसाधारणले उनको सो कदमको विरोध गरेका थिए । यसलाई स्पेनीहरूले पेनेसुलर वार (१८०८-१४)का रूपमा चिन्दछन् ।
जब युद्ध हुन्छ, त्यहाँ विद्रोह पनि हुन्छ र सबैभन्दा पुछारका मान्छे धुलोपिठो हुन पुग्छन् । यहाँ सर्वसाधारणको सोही अवस्था दर्शाइएको छ ।
गोयाको पेन्टिङको सबैभन्दा सशक्त पक्ष भनेको उनले युद्धको पीडा यहाँ अभिव्यक्त गरेका छन् । धेरै चित्रकारले युद्धलाई गर्वका रूपमा उभ्याएका छन् । यु्द्धमाथि बनाइएका चित्रकलाले शासकको शानलाई अभिव्यक्त गरिरहेको हुन्छ । यहाँ भने सर्वसाधारणको पीडालाई ठाउँ दिएकाले उनले शासकहरूको युद्धमोहमाथि विद्रोह गरेका छन् ।
को हुन्, फ्रान्सिस्को डि गोया ?
सन् १७४६ मा स्पेनको सारागोसामा एउटा मध्यम वर्गीय परिवारमा गोया जन्मिएका थिए । उनमा चित्रकारिताको लक्षण बाल्यकालदेखि नै देखिएकाले उनलाई उनका अभिभावकले त्यसैमा करियर बनाउन छाडिदिए । सन् १७८९ सम्म आइपुग्दा उनी स्पेनको दरबारिया चित्रकार बनिसकेका थिए । सन् १७९२ मा उनी नराम्रोसँग बिरामी परे र उनले श्रवणशक्ति नै गुमाउन पुगे ।
उनले श्रवणशक्ति गुमाए पनि चित्रकारितामाथिको विश्वास कहिल्यै गुमाएनन् । त्यसैले शृंखलाबद्ध चित्रहरू बनाइरहे । जीवनको अन्तिम क्षण भने उनले फ्रान्समा बिताए र त्यहीँ सन् १८२८ मा उनको निधन भयो ।
यो चित्रमा के हेर्ने ?
१. शहीद
पेन्टिङको सबैभन्दा केन्द्रमा एक जना श्वेतवस्त्रधारी व्यक्ति देखिन्छन् । तिनलाई शहीद नामकरण गरिएको छ । उनी आफूलाई गोली हान्नुअघि तम्तयारीको अवस्थामा छन् । आँखा ठूला छन् । ती आँखामा आक्रोश झल्कन्छ । उनको हात खुला छ र आइपरेको क्षणलाई स्वीकृतिको भावले स्वीकार गरिरहेका छन् । घुँडा टेकेका यिनी फ्रान्सेली सेनाभन्दा ठूला छन् भन्ने कुरा भीमकाय शरीर हेर्दा थाहा हुन्छ । यदि उनी उभिएका भए कत्रा देखिन्थे होला भन्ने कल्पनाशीलता भर्न यी पात्र काफी छन् ।
२. लालटिन
सेनाहरूको घुँडा छेउमा एउटा लालटिन देखिन्छ । अँध्यारो रातमा प्रकाशको स्रोतका रूपमा यही एउटा लालटिन छ, जसले सबैको अनुहारको भाव झल्काएको छ ।
३. भिक्षु
देब्रेतिरको छेउमा एक जना भिक्षु प्रार्थनामा मग्न छ । उसको हातको जुन पोजिसन छ, त्यसले प्रार्थनाको अवस्था र हत्यामा उद्दत सेनाका लागि ईश्वरसँग प्रार्थना गरिरहेको छ । सामूहिक हत्याको अवस्था आइपरे पनि कोही पनि भागाभाग गर्ने अवस्थामा छैनन् । अवस्थालाई उनीहरूले स्वीकार गरेको देखिन्छ ।
४. सेना
फ्रान्सेली सेना लाइन लागेर सर्वसाधारणको हत्याका लागि तम्तयार भएको देखिन्छ । यस्तो सामूहिक नृशंशतामा मान्छेको वैयक्तिकता हराउँछ । यहाँ सेनाको सामूहिकता प्रकट भएको छ र उनीहरूको अनुहार देखिएको छैन । मात्र उनीहरू हत्यारा समूहमा परिणत भएका छन्, कुनै व्यक्तिका रूपमा उनीहरू पहिचान गरिएका छैनन् ।
५. शहर
पर पृष्ठभूमिमा शहर देखिन्छ । शहरभन्दा टाढा यहाँ घटना भएको यसले झल्काउँछ । शहरबाहिर सेनाले घेरा राखेको यहाँ देखिन्छ ।
६. विविध प्रतिक्रिया
यहाँ केही अन्य मानिसहरूको भिन्दाभिन्दै प्रतिक्रिया देखिन्छ । केहीले अनुहार छोपेका छन्, एक जनाले भने सिधा सेनासँग आँखा जुधाएको देख्न सकिन्छ ।
७. लाश
सेनाले मारेका कयौँ मानिसहरूको प्रतिनिधित्व त्यहाँ एउटा रगत लत्पतिएको ठाउँमा लडेको एउटा लाशले देखाउँछ ।
आउनुस्, पुनः यस चित्रलाई गहिरो गरी हेरौँः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

