संसारका अद्भूत चित्रकलाको शृंखलामा यस पटक फ्रा एन्जेलिकोले बनाएको यो चित्र प्रस्तुत गरेका छौँ । फ्रा सन्त थिए । उनी उम्दा चित्रकार थिएनन् तर उनले जुन कुराको प्रयास गरे, त्यसले उनलाई अहिलेसम्म जीवित तुल्याएको छ ।
आखिर यो चित्रमा के छ त ?
यो चित्रमा बाइबलको कथालाई चित्रांकित गर्ने प्रयास गरिएको छ । जहाँ ईश्वरका दूत ग्याब्रियलले भर्जिन मेरीलाई ईश्वरले उनलाई जिसस जन्माउन चुनेको खबर सुनाइरहेका छन् । मेरीको कोखबाट जिससको अवतार अवतरण हुने कुरा बताउँदै गर्दा ग्याब्रियल र मेरीको भावभंगिमाले यस चित्रलाई विशेष बनाएको छ ।
खबर सुनाइँदै गर्दा मेरीको शिरमा सूर्यको प्रकाश परेको छ । उनको पहिरन, रङ छनोट आदिले मेरीको शालिनतालाई प्रकट गर्छ ।
त्यस्तै देवदूत ग्याब्रियलको उज्यालोपन, उनको पखेटा र पहिरनको मिहिनताले यसमा लागेको मिहिनेत स्पष्ट हुन्छ ।
तपाईंले चित्रलाई छेउमा हेर्नुभयो भने त्यहाँ दुई स्त्री पुरूष र अर्का एक देवदूत पनि देख्नुहुन्छ । यो चाहिँ कसरी ईश्वरको कोपभाजनमा परेर इडनको बगैँचाबाट एडम र इभ निकालिए भन्ने दर्शाइएको छ । सोही पाप पखाल्न ईश्वरले अब ग्याब्रियललाई दूत बनाई पृथ्वीमा पठाएको कथा सम्झाउन छेउमा एडम र इभलाई पनि राखिएको हो ।
यो चित्रलाई गहन तरिकाले हेर्न शुरूमा मेरीको भावभंगिमा र उनको झुकाव हेर्नुस्, भाव पनि पढ्नुस् । त्यस्तै ईश्वरका दूत ग्याब्रियलको भावभंगिमा याद गर्नुस् । उनका पखेटा हेर्नुस् । त्यसपछि सूर्यको किरणसँगै देखापरेको एउटा श्वेत परेवालाई पनि ख्याल गर्नुस् । त्यसपछि बगैँचामा रहेका एडम र इभको भावदशा ख्याल गर्नुस् । बगैँचाको भव्यतालाई पनि हेर्नुस् ।
यी सबै कुरा याद गरिसकेपछि तपाईंले यो चित्र किन अरू चित्रभन्दा भिन्न र यादगार छ भन्ने तपाईंले बुझ्नु हुनेछ ।
‘द एन्ननसिएसन’ शीर्षकको यो चित्रका कारण संसारभरि नै यसको नक्कलमा हजारौँ चित्रहरू बनेका छन्, बनाइएका छन् ।
को हुन् त फ्रा ?
फ्रा एन्जेलिकोको शुरूवाती नाम गुइदो डि पेट्रो थियो । उनी बाल्यकालदेखि नै चित्रकलाका सोखिन थिए । उनी फ्लोरेन्स नगरदेखि अलि परको फिएसोल भन्ने ठाउँमा जन्मिएका थिए । अलि जान्ने भएपछि उनी त्यो बेलाको चर्चित ठाउँ फ्लोरेन्स गए र आफ्नो कलालाई तिखारे ।
उनका बारेमा उत्ति धेरै कुरा थाहा नभए पनि सन् १३९५ मा जन्मिएको र १४५५ मा उनको निधन भएको बताइन्छ । उनका बारेमा जिअर्जिओ भसेरीका टिप्पणीमा केही जानकारी पाइन्छन् । उनी पछि चर्चका पादरीसमेत भएका थिए ।
यो चित्रको प्रभाव यस्तो पर्यो कि संसारका विभिन्न ठाउँमा त्यसैको नक्कल देख्न सकिन्छ । यहाँ तीमध्ये केही उदाहरण छन् । जसमध्ये मलाई लियोनार्दो दा भिन्सीको (ठीक तलको) प्रस्तुति भव्य लाग्छ । तपाईंलाई कुन मन पर्यो, तल लेख्नुस् न है ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।