नेदरल्यान्डका यान भान हाइसम पनि कम प्रख्यात चित्रकार होइनन् । चित्रकलामा उनले रोजेको बेग्लै शैली र शिल्पका कारण उनी प्रख्यात बन्न पुगे । उनको प्रख्यातिको कारण उनले बनाएका चित्रकलाहरू नै थिए र त्यसमा पनि खासगरी फलफूललाई जुन रूपमा प्रस्तुत गरे, त्यसले उनलाई चित्रकारहरूको भिडमा अलग्गै उभ्याएको छ ।
फल र फूलहरूमा उनले प्रत्येक पत्र र पुष्प, डाँठ मात्र होइन, फल र फलका प्रत्येक कोणलाई उनले सटीक रूपमा आकृति दिएका छन् । चित्रकलामा ठ्याक्कै रङ निकाल्न आवश्यक पर्ने तत्त्वहरूका बारेमा उनले कसैलाई पनि जानकारी दिँदैनथे । र, जुन रङ निकाल्थे र ठ्याक्कै प्राकृतिक रङ देखिन्थ्यो, सबै चकित पर्थे । उनले मिहिनभन्दा मिहिन कुरामा यति ध्यान दिन्थे कि डाँठदेखि फूलसम्मका अनि फलदेखि त्यसमा देखिने छायाँसम्म उत्तिकै उम्दा प्रतीत हुन्थ्यो ।
उनले चित्र बनाउँदा कुनै कुरा चित्त बुझेन भने वर्षौंसम्म कुर्थे । मानौँ, उनले कुनै फलको चित्र उतार्नु पर्यो भने र त्यो सिजन फलको छैन भने अर्को सिजनसम्म कुरेर, फललाई नियाल्ने र चाहेको रङ सिर्जना गर्ने गर्थे । यत्तिको मिहिनेत र मिहिनतामा ध्यान दिएकै कारण उनको नाम अमर छ ।
त्यसो त उनका आलोचकहरूले जाबो फल र फूलका चित्रलाई पनि मिहिन तरिकाले हेर्नु पर्छ र ? भनी प्रश्न गर्ने गर्छन् । तर उनीहरू सँगैमा के पनि प्रशंसा गर्न बिर्संदैनन् भने तिनै फल र फूलहरूका बीचमा जे जस्ता बिटविन द लाइनका प्रसंगहरू छिराउनु पर्ने हो, त्यो पनि छिराउँछन् । जस्तो कि, यो तस्बिरलाई तपाईंले गहिरिएर हेर्नुभयो भने पहेँलो रङमा केही रेखाचित्र देखिन्छन् । तिनले चित्रको प्लेफुलनेस जनाइरहेको हुन्छ ।
को हुन् यान भान हाइसम ?
प्रायः ल्यान्डस्केपहरू बनाउन रूचाउने यान भान हाइसम नेदरल्यान्डको राजधानी एम्सटर्डममा जन्मिएका हुन् । उनको परिवार त्यहाँको निकै धनिमानी थियो । उनी देश छाडेर कहिल्यै कतै निस्किएनन् । उनी राजधानी वरपर लाग्ने फूल प्रदर्शनीका कार्यक्रममा नियमित रूपमा जान्थे । चित्र बनाउन थाल्दा उनका वरिपरि ताजा फलफूलहरू राख्थे र एक एक नियालेर हेर्थे ।
उनलाई चित्रकला उनकै बुवा जस्टस भान हाइसमले सिकाएका थिए । जस्टस पनि त्यो बेलाका चल्तीका चित्रकारमध्ये नै पर्थे । बुवाका माध्यमबाट बनेका ग्राहक दूरदेशसम्म फैलिएका थिए । त्यसैले पनि उनका चित्रकलाहरू त्यो बेलाको युरोपका शक्तिशाली शासकहरूको दरबारमा टाँगिन पुगेका थिए । तीमध्ये पोल्यान्ड र प्रसियाका दरबारमा उनका कलालाई विशेष महत्त्व दिइएको थियो । हाइसमको प्रशंसामा त्यस बेला निकै चर्चित गायकगायिकाले गीतसमेत बनाएका थिए ।
चित्रकलामा के हेर्ने ?
१. ओइलाएको गुलाबः
सबै फूलहरूमध्ये गुलाबलाई राजा फूल मानिन्छ । कलामा यसलाई बढी नै महत्त्व दिइएको हुनाले पनि यसले फूलहरूको राजा उपमा पाएको हुनसक्छ । जे होस्, भर्जिन मेरी र गुलाबलाई सँगै प्रस्तुत गरिएको हुनाले पनि धेरैको मनमा गुलाब भन्नेबित्तिकै भर्जिन मेरी जत्तिकै पवित्र फूल भन्ने मानेको हुनुपर्छ । भर्जिन मेरीलाई भने काँडाबिनाको गुलाब भनी चिनिन्छ, पापरहित र पवित्र ! त्यही स्तरको पवित्रता काँडाबेगर यहाँ प्रस्तुत गरिएको छ ।
२. टुलिपको पत्र
हाइसमका चित्रकलाहरूमा नियमित रूपमा टुलिप फूल देखा परिरहन्छन् । उनको यस चित्रमा पनि यो टुलिप टुप्लुक्किएको छ । सन् १६ औँ शताब्दीमा नेदरल्यान्डमा यो फूल मुस्लिम शासकहरूले र खासगरी अटोमन साम्राज्यका बेला भित्र्याएका थिए ।
३. आरूका फल र कीराहरू
चित्रकलामा पुतली र कीराहरूको उपस्थितिलाई विशेष अर्थ लगाइन्छ । कीरा भन्नु छोटो जीवनको प्रतीक हो । त्यस्तै पुतली चाहिँ एउटा जीवनबाट अर्को जीवनको पुनर्जन्म या एउटा संघर्ष जितेर अर्को जीवन प्राप्त गर्नु हो । आरूका फलमा छोटो जीवन पाएका कीराहरू आकर्षित भएको यहाँ देखाइएको छ । आरू पनि हेर्दैको आकर्षक र खाउँखाउँ लाग्ने छ ।
४. पृष्ठभूमिको उपयोग
चित्रमा एउटा निलो पृष्ठभूमि र हरियो पात पनि देखिन्छ । प्रायः जसले यस्ता चित्रहरू त्यस बखतमा बनाउँथे, तिनले पृष्ठभूमि अँध्यारो तथा कालो बनाउँथे । त्यसो गर्दा बनाइएका वस्तुहरू तिखा र सुस्पष्ट भएर आउँथे । यसै परम्परालाई ध्यानमा राखेर उनले पनि हल्का अँध्यारो पृष्ठभूमिमा गाढा हरियो पात र छेउमा पुतली उडाइदिएका छन् । उनले यो शैलीलाई पछि निकै सराहना गरिएको थियो ।
५. अंगुर
यी अंगुर देख्दा कतै र कसै गरी पनि चित्रकला हो भन्ने भान हुँदैन । यी अंगुर यहाँ जीवन्त देखिन्छन् । यिनका गोलो आकारले दर्शकलाई मोहित बनाइदिन्छन् ।
६. रङ संयोजन
एकै क्यानभासमा यिनले जसरी रङहरू विविध प्रकारमा खेल्छन्, छायाँहरू बनाउन जसरी उनी खप्पिस छन्, त्यसको कुनै जवाफ छैन । सेतो घन्टी फूल, त्यसको छेउमा पहेँला फूल र त्यसको ठीक माथि केसरी रङको फूलले यो चित्रमा रङहरूको संयोजनलाई यति कन्ट्रास्टमा देखाएका छन् कि त्यस्तो त्यो बेला विरलै देख्न पाइन्थ्यो ।
७. छिर्केमिर्के फूल
त्यहाँ एउटा छिर्केमिर्के अर्थात् केसरी र श्वेत रङको एउटा अलग्गै फूल देख्न पाइन्छ । कार्नेसन फूल पनि प्रेम र रोमान्सको फूल हो । यसलाई पनि उनले बडो प्रेमपूर्वक अलग स्थान दिएका छन् ।
८. प्रकाश संयोजनः
तिखो कन्ट्रास्टमा खेल्न रूचाउने भान हासम आकार, टोन र टेक्स्चरमा पनि उत्तिकै खेल्थे भन्ने उदाहरण यहाँ पनि प्रशस्त देखिन्छ । उनी एकातिर भर्खरै ओइलाउन थालेको पूर्णतः फक्रिएको गुलाब देखाउँछन्, त्यसमाथि अर्को भर्खर कोपिला लागेको र फक्रने यात्रामा रहेको गुलाब पनि राखेका छन् । त्यसको वरिपरि उनले अलि गाढा नीलो र लगभग कालो रङलाई पृष्ठभूमिमा ठाउँ दिएका छन् । यसले कोपिलाको महत्त्व दर्शाइरहेको छ ।
आउनुहोस्, अझ विस्तारमा हामी यसलाई हेरौँः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।