संसारका अद्भूत चित्रकला शृंखलामा यस पटक भारतीय चित्रकारको चित्र पनि परेको छ । अकबरको जमानामा दरबारमा पालिएका चित्रकारहरूमध्येका एक बसवानले बनाएको हात्ती बौलाएको र त्यसलाई नियन्त्रणमा लिएको दृश्यलाई केही विज्ञहरूले संसारका अद्भूत चित्रकलामध्येमा गन्ने गर्छन् ।
१६ औँ शताब्दीमा भारतमा शासन गरेका अकबर महानको शासन काल तुलनात्मक रूपमा शान्त र समृद्ध उत्तर भारतका रूपमा चिनिन्छ । उनका गतिविधिहरूलाई अकबरनामा पुस्तकमा शृंखलाबद्ध रूपमा राखिएको छ । यो चित्र सन् १५९० देखि १५९६ मा बनाइएको विश्वास गरिन्छ ।
यो चित्रमा अकबर महानको हिम्मत र कुशलता प्रकट भएको छ । अचानक हात्ती नियन्त्रणबाहिर पुग्छ र सो अवस्थामा अकबरले कसरी हात्तीहरूलाई शान्त पार्छन्, सोही अवस्थालाई यहाँ दर्शाइएको छ ।
दरबार छेउको घटनामा वरपर कस्तो हलचल मच्चिन्छ, आफ्ना शहंशाहलाई जोगाउन चलेको अफरातफरी यहाँ हेर्न लायक छ ।
मुगल कालमा देखिएको चित्रकलाको यो कुशलताले त्यसबखतको सिद्धता पनि प्रकट गरेको छ । केही विद्वानहरूले यो चित्रमा पश्चिमा कलाको प्रभाव पनि देख्छन् ।
को हुन् बसवान ?
मुगल दरबारका उम्दा चित्रकारमध्येमा उनी पर्छन् । हिन्दु धर्मावलम्बी भए पनि उनले मुगल दरबारमा राम्रो स्थान पाएका थिए । उनले मुगल दरबारमा करिब ४० वर्ष सेवा गरेको बुझिन्छ ।
त्यसो त त्यस बेला भारतभरिका कलाकारहरू दरबारमा सेवा गर्न तत्पर भएर आउँथे । त्यहाँ पर्सियाली कलाकारहरूले तिनलाई कलामा सिद्धता प्राप्तिका लागि सिकाउने गर्थे । सोही क्रममा बसवानले १५६१ ताका यो चित्र बनाएका हुन्, हवाई नामक ढोईको दिमाग सड्किएका बेला शहंशाह अकबरले कसरी त्यसलाई नियन्त्रणमा लिए भन्ने कुरालाई उनले सकुशल अभिव्यक्त गरेका छन् ।
उनलाई यस चित्रमा अर्का सहयोगी चेतरले सघाएका थिए। चेतरले रङ संयोजनको भूमिका खेलेका थिए । अकबरनामा नामक पुस्तकमा यी र यस्ता कयौँ चित्र अंकित भएको पाइन्छ ।
रंगको कडा प्रभाव हिन्दु संस्कृतिअनुकूल रहेको केही विज्ञको भनाइ छ ।
चित्रकलामा के हेर्ने ?
१. अकबर र हवाई
शहंशाह अकबर कति चतुर, बलिया र फुर्तिला थिए भन्ने अनेक किस्सा अकबरनामामा अंकित छ । पछि त उनका किस्सा अकबर र वीरबलका रूपमा बेग्लै पुस्तकसमेत निस्कियो । सो पुस्तक हिजोआज बालबालिकाहरूले रमाइलोका लागि पढ्ने गर्छन् ।
यहाँ हवाई नामक ढोई अनियन्त्रित भएपछि फुर्तिका साथ उसलाई नियन्त्रण गरिरहेको देख्न सकिन्छ । यो ढोईलाई नियन्त्रण कसैले गर्न सक्दैन, मात्र अकबरले सक्छन् भन्ने किस्सा पछिसम्म कायम थियो । सोही कुरा पनि यहाँ देखाउने प्रयास गरिएको हुनसक्छ । अकबर यस्तो बेलामा पनि शान्त देखिन्छन् ।
२. हवाईसँगै रहेको रण बाघ हात्ती पनि उत्तिकै उन्मत्त देखिनछ ।
३. जमुना नदीको किनारमा यो घटना घट्दा पुल नै भत्किएको कथा छ । सम्भवतः हात्तीका कारण एक जनाले ज्यान गुमाएको देखाउन त्यहाँ अस्तव्यस्त लम्पसार एक जना देखाइएको छ ।
४. नदीमा अत्तालिएका सर्वसाधारण, उसरी नै हतारमा रहेका अन्य दरबारिया, नाउमा तिनको हतारो, छेउका सैन्य टुकडीको अफरातफरी यहाँ हेर्न लायक छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।