
विश्वका अद्भूत चित्रकला शृंखलामा यस पटक हामीले एन्टोनी भान डिकले सिर्जना गरेको इंग्ल्यान्ड, स्कटल्यान्ड तथा आयरल्यान्डका राजा चार्ल्स प्रथम (१६००-१६४९) को चित्रकलालाई प्रस्तुत गर्दैछौँ । चार्ल्स घोडामा चढेर शानका साथ उभिएको यो दृश्य साँच्चिकै मनमोहक छ ।
यी राजा जनतामाझ भने उति लोकप्रिय थिएनन् । उनी आफूलाई ईश्वरले राज्य गर्न पठाएको विश्वास गर्थे । निरंकुश शासन आफ्नो अधिकार ठान्थे । आफ्नो छवि जनतामाझ उच्च बनाउनका लागि उनले अनेक हतकण्डा अपनाउने गर्थे । यो चित्र जनतामाझ हौवा सिर्जना गर्न बनाइएको थियो । तापनि जस्तो चित्र, जसरी बनाइएको छ, त्यसले भने यसलाई संसारकै उम्दा कला सिर्जनामा उभ्याइदिएको कला मर्मज्ञहरूको धारणा छ ।
छेउमा ओकको रूख देखिन्छ । जसले सशक्तताको परिचय दिन्छ । हुन पनि उनको शासनकाल सशक्तताका कारण ‘चार्ल्स, किङ अफ ग्रेट ब्रिटेन’ भनी सम्बोधन गरिन्थ्यो ।
भान डिक चार्ल्सको दरबारमा आधिकारिक चित्रकार थिए । यस चित्रमा केही फेन्टासी उम्रिएको देख्न सकिन्छ । खासगरी चार्ल्स तुलनात्मक रूपमा होचा राजा मानिन्छन् । तिनै होचालाई अलि अग्लो देखाउन यहाँ कसरत गरिएको छ । अग्लो घोडामाथि चढेका राजा अग्लै हुन् कि भन्ने भान पारिएको छ ।
रोचक कुरा त के छ भने अंग्रेज राजाहरूलाई विरलै घोडामाथि सवार भएको देखाइएको छ ।
यी राजाको दुखान्त चाहिँ के थियो भने यति धेरै क्रूर थिए कि पछि जनताले यिनप्रति विद्रोह गरिदिए । जनताले उनलाई सार्वजनिक रूपमा झुण्ड्याएर मारिदिए ।
को हुन् त भान डिक ?
सन् १५९९ मा जन्मिएका एन्टोनी भान डिक त्यो बेलाका चर्चित चित्रकार थिए । कति भने यत्तिका शताब्दीपछि पनि हामी उनको चित्रकलाको चर्चा यहाँ गरिरहेका थियौँ ।
१८ वर्षको उमेरबाट नै चित्रकारिता गर्न थालिसकेका थिए । २० वर्षको उमेरसम्म आइपुग्दा त उनले अन्तर्राष्ट्रिय रूपमा विभिन्न खान्दानहरूका चित्र बनाउन थालिसकेका थिए । उनले कयौँ धार्मिक चित्रकलाहरूसमेत बनाएका थिए ।
इटालीमा १६२१ देखि १६२७ सम्म बस्दाका बेला उनका कयौँ चित्रहरूले ख्याति बटुलेका थिए । पछि त उनी चित्रकलाका पारखी भनी चिनिएका राजा चार्ल्सले उनलाई आफ्नो दरबारिया चित्रकार हुन निम्तो नै दिए । त्यसपछि १६३२ देखि उनी बेलायती दरबारमै रहेर विभिन्न चित्रकलाहरू बनाए ।
यो चित्रमा के हेर्ने त ?
१. चार्ल्स
राजा चार्ल्स प्रथमका अन्य चित्रभन्दा यो अलि फरक छ । यहाँ उनले सिधा दर्शकतिर हेरेका छैनन् । अन्यत्रै हेरेका छन् । घोडामा उभिएर दूर क्षितिज नियालिरहेका राजाको माथा उज्यालो देखिन्छ । कपाल लामो र जिउमा युद्धमा लगाइने विभिन्न पहिरन लगाएको देखिन्छ । त्यसमध्ये उनले घाँटीमा झुण्ड्याइएको लकेट देख्न सकिन्छ । यो चाहिँ सन्त जर्जको चिह्न हो । कथनअनुसार सर्वसाधारणलाई ड्रागनबाट जोगाउँदा-जोगाउँदै सहिद भएका जर्ज अंकित लकेट लगाएर आफू जर्जभक्त भएको देखाउन खोजेका छन् । जर्ज चाहिँ बेलायतको संरक्षक सन्त पनि हुन् ।
२. राजाको बुट
घोडा चढ्नका लागि सन्तुलनमा बस्न जुन एडी चाहिन्छ, त्यसमा राम्रोसँग घुसारिएको बुट यहाँ रोचक देखिन्छ ।
३. घोडा
राजा चार्ल्स घोडा भन्नेबित्तिकै हुरूक्क हुन्थे । उनी जस्तोसुकै घोडालाई पनि तह लगाउन सक्थे रे ! हेर्दैको सख्त यो घोडालाई विजय गरी यसमाथि चढ्नु या यसलाई कज्याउनु चाहिँ गाह्रै विषय हुँदो हो । तर पनि चित्रकारले यत्रो अजंगको घोडालाई कज्याएर त्यसमाथि सवार राजा देखाउन चुकेका छैनन् ।
आउनुस्, तपाईं पनि यो भव्य चित्रकला हेर्नुस् र अन्य रोचक कुराहरू पनि पाउनुस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










