अहिलेको नजरले उहिलेको चित्रकला हेर्दा हामीलाइ खास नलाग्न सक्छ तर जब कुनै ‘चिज’ इतिहास बन्छ, त्यसभित्रका अनेकन् कथा हुन्छन् । त्यसैले यो चित्रकला झट्ट हेर्दा तपाइलाइ खास नलागे पनि चित्रकलाको इतिहासमा यसलाइ खास मानिन्छ । त्यसैले पनि त्यो युगको यो एउटा महत्त्वपूर्ण सिर्जनाका लागि पारखीहरूमाझ यो स्मरणीय बन्न पुगेको छ ।
यो चित्र हो, ‘ला पितुरा’ । आर्टेमिसिया जेन्टिलेसीद्वारा सिर्जना गरिएको यो चित्र सन् १६३८-३९ ताका सिर्जना गरिएको हो । ३८ बाइ २९ इन्चको यो चित्र हाल बेलायती राजदबारको निजी संकलनमा रहेको छ ।
चित्रमा हामी एक जना महिलाले निमग्नताका साथ केही कोरिरहेको यो चित्र चित्रकार जेन्टिलेसीले त्यो बेलाको इंग्ल्यान्ड भ्रमणका क्रममा बनाएको केहीको दाबी छ ।
यो चित्रको महत्त्व किन छ भने, पितृ सत्तात्मक त्यो युगमा विरलै कुनै महिलाको चित्र बनाइन्थ्यो । त्यो पनि चित्रकार स्वयंको चित्रलाइ विरलै महत्त्व दिइन्थ्यो । तर जेन्टिलेसीले आफ्नै चित्र मात्र बनाइनन्, आफ्नो सुन्दर मुहारलाइ चित्रमा भव्य देखाउनुको साटो कामप्रतिको आफ्नो समर्पणलाइ उनले जोड दिइन् । काम नै आफ्नो पूजा हो भन्ने सन्देश उनले यस चित्रमार्फत् अभिव्यक्त गरिरहेकी छन् ।
त्यसो त विवाद झिक्नेहरूले चित्रकार स्वयंको यो चित्र नभएको पनि नभनेका होइनन् । तर एउटा ठूलो जमात भने चित्रकलामा सेल्फी लिने कलाकार जेन्टिलेसी नै भएको दाबी गर्छन् ।
सन् १६३८ देखि १६४८ सम्म लन्डनमा रहँदा उनले राजा चार्ल्स प्रथमका लागि पनि केही चित्र बनाएकी थिइन् । सन् १६५४ मा उनको देहान्तपछि भने उनको लोकप्रियता स्वात्तै घटेको केही इतिहासकारहरू बताउँछन् । उनी त्यसपछि गुमनामझैँ भइन् तर सन् १९६० को दशकमा जब पुराना चित्रकलाहरूको खोजी हुन थाल्यो, उनको लोकप्रियता पुनः चुलियो ।
उनलाइ त अहिले नारीवादीहरूले समेत एक महत्त्वपूर्ण पात्रका रूपमा उभ्याउने गर्दछन् ।
को हुन् जेन्टिलेसी ?
महिला चित्रकारमध्येमा प्रख्यात र सम्मानका साथ नाम लिइने व्यक्ति हुन्, आर्टेमिसिया जेन्टिलेसी । त्यो बेला पनि एउटी महिलाले सशक्त चित्र बनाएको भन्दै सम्मान गरेको थियो, अचेल भने उनी नारीवादीहरूका लागि एक नायिकाका रूपमा चिनिन्छिन् ।
रोममा जन्मिएकी आर्टेमिसियाका पिता ओराजियो जेन्टिलेसी पनि चित्रकार थिए । उनले आफ्नो चित्रकलाको गुरू काराभाजियो हुन् भनी घोषणा गर्थे । सानै उमेरदेखि चित्रकलामा उनले आफ्नो खुबी देखाएकी थिइन् । १७ वर्षको उमेरमा उनकै समकालीन चित्रकार अगोस्टिनो टास्सीले उनलाइ बलात्कार गरे । जब कुरा अदालतसम्म पुग्यो, अगोस्टिनोले उनलाइ बलात्कार गरे नगरेको प्रमाण दिन लगाइयो ।
निकै विवादमा परे पनि उनलाइ पुरूषहरूप्रति विश्वास लाग्न छाड्यो । त्यसपछि पनि उनले बिहे त गरिन् तर त्यो बिहे लामो समय जान सकेन । एक दशकको वैवाहिक सम्बन्ध त्याग्दै उनले स्वतन्त्र जीवन बाँच्ने निर्णय लिइन् । उनले चित्रकारितामा सधैँ नयाँ प्रयोगमा जोड दिइन् । उनको त्यही साहसका कारण चित्रकला संसारले उनलाइ बिर्सिएको छैन ।
शुरूका केही वर्ष रोममा जीवन बिताएकी उनले त्यसपछि नेपल्समा केही समय गुजारिन् । त्यसपछि उनी फ्लोरेन्स, भेनिस तथा बेलायतजस्ता ठाउँमा आफ्नो ठाउँ र ठहर खोज्दै हिँडिरहिन् ।
यस चित्रमा के हेर्ने ?
१. पाखुरी सुर्केको अवस्था
चित्रमा पाखुरी सुर्केर कुनै चित्र कोरिरहेकी महिला देखिन्छ । पाखुरी सुर्कनु भनेको कुनै कुरामा जोरी खोज्नु हो, महत्त्व देखाउनु वा देख्नु हो । यहाँ उनले पाखुरी सुर्केर कुनै चित्रमा लागिपरेकी छन् ।
२. अनुहार र कपाल
ध्यानमग्न तर कपाल अस्तव्यस्त भएको अवस्थामा उनी कति गहिरिएर काम गरिरहेकी छन् भन्ने यहाँ देखिन्छ । झुन्डिरहेको लकेट पनि त्यो बेलाको गहना जनाउने एउटा रोचक पक्ष छ ।
३. प्लेट र ब्रस
देब्रे हातमा उनले चित्र कोर्नका लागि आवश्यक रङसहितको प्लेट र ब्रुसहरू बोकेकी छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।