‘साइप्रेसको रूख’ शीर्षकको यो चित्रकला जापानको चित्रकलाको स्वर्णयुग बताउन काफी छ । यसलाई कानो इटोकुले बनाएका हुन् ।
कानो क्योटोमा जन्मिएका थिए । १६ फरवरी १५४३ मा जन्मिएका उनको निधन १२ अक्टोबर १५९० मा भयो ।
उनी जापानका प्रख्यात चित्रकारहरूको खान्दानमा जन्मिएका थिए । उनका पुस्ताले नै जापानको विशेष चित्रकला शैली जन्माएका थिए । आजुकी-मोमोयामा युगका रूपमा यो शैलीलाई अद्यापि जानिन्छ ।
उनी कानो मोटोनोबुका नाति थिए । उनले कानो स्कुल भनेर चित्रकलाको ज्ञान बाँड्ने स्कुल खोलेका थिए । नातिको सानै उमेरमा चित्रकारिता प्रतिको झुकाव देखेर आफ्नै रेखदेखमा उनको खुबी निखार्ने काम गरे । पछि उनले आफ्नै विशिष्ट चिनियाँ शैलीको चित्रहरू बनाएर ख्याति बटुले । उनका चित्रमा चरा, जनावरहरू, वृक्षहरू, फूलहरू, ढुंगा लगायतका चिजबिजहरू पाइन्छन् र यो लामो पात्रो (प्यानल) मा बनाइन्छ ।
उनको यो शैली कतिसम्म रूचाइयो भने उनीपछिका कयौँ पुस्ताले यसको नक्कल गरिरहे ।
यो चित्रमा के हेर्ने ?
यो चित्र विशिष्ट बनाउने कारण चाहिँ यसको जीवन्तता नै हो । यसमा हेर्नैपर्ने केही कुरा छन्ः
१. जरा र मुख्य डाँठः
रूखको जरालाई उनले जीवन्त बनाएका छन् । यो तीन प्यानलसम्म फैलिएको छ । आठ प्यानले चित्रको मुख्य भागमा यसको भव्यता दर्शाउन तीन प्यानलसम्म यसलाई ठाउँ दिइनुको कारण नै यसको महत्ता स्थापित गर्न हो । महत्ता कति भने यो रूखको न त टुप्पो यस चित्रमा अटाउन सकिएको छ, न त जरा नै देखाउन भ्याइएको छ । यसको अर्थ यो कति सशक्त छ र वृहद् छ भनी भव्यता पस्कनु हो ।
२. अडबाङ्गे हाँगाः
उबडखाबड र अडबाङ्गे हाँगाहरू यस चित्रकलाको अनुमप प्रयोग हो । जंगलमा पाइने सबै रूख सुन्दर, राम्रा र सुलुत्त परेका हुन्छन् नै भन्ने छैन । र, चित्रकारले जुन रूख खोजेका छन्, त्यो यति उबडखाबड र अडबाङ्गे छ कि त्यसले खपेका सदियौँका चोट बयान गरिरहेका छन् । हाँगाहरूको जुन गति यहाँ देख्न पाइन्छ, त्यसले पनि कला मर्मज्ञहरूलाई यसले सदियौँदेखि लोभ्याइरहेको हो । शायद त्यस बखतको जापानका युद्ध सरदारहरूको परम्परा, तिनको सशक्तता अभिव्यक्त गर्नका लागि यो रूख (साइप्रेस)को सहयोग लिएको हुनसक्छ ।
३. सुनौला बादल र हरिया पातः
यसका पातहरूको सुन्दरता थप्न पृष्ठभूमिमा रहेको सुनौलो बादलले पनि भूमिका खेलेको छ । बादलको आकारले यसरी पृष्ठभूमिको काम गरेको छ कि यसका हाँगा र पातहरू जीवन्त देखिएका छन् । जब रात पर्छ, मैनबत्तीको मधुरो प्रकाशमा यो सुनौलो रङ चम्चमाउन थाल्छ र पातहरू अझै गाढा हरिया देखिन थाल्छ । युद्ध सरदार यो देखेर पक्कै पनि मख्ख परेको हुनुपर्छ ।
४. ढुंगा र पानीः
यसमा देब्रेतिर देखिने ढुंगा र पहाड अनि नीलो पानीको संयोजन उम्दा देखिन्छ । यो निर्जन ठाउँको ढुंगामा कुनै काई वा रूख वा घाँसपात देखिदैन । उजाड ढुंगे पहाडसँगै गहिरो नीलो रङको पानीले एक किसिमको कन्ट्रास प्रस्तुत गरिरहेको छ । पहाडसँग सधैँ जोरिखोजिरहने पानीको स्वभाव यहाँ अभिव्यक्त गर्न खोजिएको पो हो कि ?
५. मिहिन केस्राः
एउटा आश्चर्य यहाँ के देखिन्छ भने रूख बूढो छ तर यसमा पलाएका नयाँ हाँगाहरू तीक्ष्ण छन् । खिरिला यी नयाँ हाँगा सुलुत्त परेर नयाँ पालुवाको संकेत गरिरहेका छन् ।
६. दागधब्बाः
पहेँलो पृष्ठभूमिमा खैरो रूखको बीचबीचमा सेता धब्बा त्यहाँ देखिन्छन् । यी सेता धब्बाले रूखको प्राचीनता झल्काउँछ । त्यति मात्र होइन, त्यसले सेड्स अफ कलरको गहन प्रभाव यहाँ प्रस्तुत गरिरहेको छ ।
आउनुस्, यसलाई अझ गहिरिएर हेरौँः
Kano_Eitoku_-_Cypress_Trees.jpg (20880×7822) (wikimedia.org)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

