एन एक्स्पेरिमेन्ट अन अ बर्ड इन द एयर पम्प नामक यो चित्रकला संसारकै प्रख्यात चित्रकलामध्ये एउटा पर्छ । यसको खास कारण चाहिँ एउटै मात्र प्रकाशको स्रोत रहेको बल्बको प्रकाश जति वटा अनुहारमा परेको छ, त्यसको ठ्याक्कै ज्यामितीय कोणअनुसार मिलेको छ । छायाँमा यसरी खेलिएको अन्य चित्र यसअघि बनेको थिएन र पाउन पनि दुर्लभ नै छ । घरेलु वातावरणमा देखाइएको वैज्ञानिक प्रयोग र त्यो प्रयोगप्रतिको उत्सुकता, उद्वेलना, जिज्ञासा सबै सबै यो चित्रमा मज्जाले प्रस्फुटित भएको छ ।
यो चित्र यस कारणले पनि महत्त्वपूर्ण छ कि चित्र लगभग आदमकदको छ र त्यहाँ देखिएका सबै पात्रको अनुहारको भाव बेग्लाबेग्लै प्रकट भएको छ ।
यो चित्रलाइ डर्बीका जोसेफ राइटले बनाएका हुन् । मैनको प्रकाशमाथि यति उम्दा चित्रकला यसअघि नबनेको केही विज्ञहरूको दाबी छ ।
सन् अठार सयको अवधिमा बेलायतमा नयाँ नयाँ वैज्ञानिक प्रयोगहरू भइरहेका थिए । यो चित्रले तिनै वैज्ञानिक प्रयोगहरूलाई जनाएको छ । त्यो बेला बेलायतको हुनेखाने वर्गले नयाँ नयाँ वैज्ञानिक प्रयोग गर्न रूचाइरहेको थियो । सम्भवतः यी चित्रकार पनि तिनै प्रयोगमध्ये केहीमा सहभागी भएको हुनुपर्छ । सोही जिज्ञासाले उनलाइ यो चित्र बनाउन उद्वेलित पारेको हुनसक्छ ।
उसो भए यो प्रयोग के हो त ? एउटा ज्यूँदो चरोलाइ ठूलो सिसाको फ्लास्कमा राखिएको छ । फ्लास्कबाट हावा सबै निकालेर खाली बनाइएको छ । हावा निकालिसकेपछि एउटा ज्यूँदो चरोले कसरी श्वास फेर्न सक्दैन र अक्सिजनको कमी भएपछि उसको ज्यान कसरी जान्छ भन्ने प्रयोग भइरहेको हुनुपर्छ ।
अथवा, सबै हावा वा अक्सिजन प्रयोग भइसकेपछि कसरी चरो छटपटाउँछ र त्यहाँ जब पुनः अक्सिजन पठाइन्छ, चरो कसरी ज्यान जाँदाजाँदै बाँच्न पुग्छ भन्ने विषयमा अध्ययन भएको पनि हुनसक्छ ।
तर जे जस्तो कुरा भए पनि यहाँ एउटा वैज्ञानिक प्रयोग भइरहेको कुरालाई चित्रकारले अभिव्यक्त गर्न खोजेका छन् । उनको त्यो अभिव्यक्ति यति सजीव बनेको छ कि सोही सजीवताले यसलाई संसारकै अद्भूत चित्रकलाका रूपमा उभ्याएको छ ।
चेयर्सक्युरो नामले चिनिने एउटा विशिष्ट शैली यो चित्रकलामा प्रयोग गरिएको छ । प्रकाश र छायाँमा खेलिने त्यो खेल नै चेयर्सक्युरो हो । यहाँ त्यो उम्दा तरिकाले प्रष्फुटित भएको छ ।
युरोपेली पुनर्जागरण काललाइ बुझाउन यो चित्र काफी छ ।
को हुन् जोसेफ राइट ?
सन् १७३४ मा जन्मिएका डर्बीका जोसेफ राइट एक प्रमुख बेलायती चित्रकार हुन् । लन्डनबाहिर जन्मिएका उनी सरकारी वकिलका छोरा थिए । डर्बी शहरमा जन्मिएका हुनाले उनले सधैँभरि आफ्नो नामको पछाडि डर्बी जोडिरहे ।
हुन पनि जीवनको महत्त्वपूर्ण समय उनले डर्बीमै बिताए । जब उनले डर्बीमा लोकप्रियता कमाए, अनि मात्र लन्डन गए । त्यहाँ पनि उनले आफ्नो प्रिय विधा ल्यान्डस्केपमा पनि आफ्नो कला निखारिरहे ।
उनका अन्य सिर्जनामध्ये अ फिलोसफर गिभिङ अ लेक्चर अन द ओरे तथा ग्रान्ड फायर वर्क एट द क्यासल अफ सेन्ट एन्जेलो, रोम पनि उत्तिकै चर्चित छ ।
जीवनका अन्तिम दिनहरूमा उनी आफ्नै जन्मस्थान डर्बीमै बिताएका थिए ।
यो चित्रकलामा के हेर्ने ?
१. बालिकाहरू
यहाँ प्रयोग भइरहेको छ । जहाँ एउटा चरोको देह खतरामा छ । यो कुरा छेउमा प्रयोग हेरिरहेका दुइ बालिकाहरूमध्ये एकले आँखा छोपिरहेकी छन् भने अर्कीले जिज्ञासापूर्वक हेरिरहेकी छन् । आँखा छोपिरहेकी बालिकालाइ अभिभावकले सम्झाउने प्रयास गरिरहेका छन् ।
२. वैज्ञानिक
यो प्रयोगमा महत्त्वपूर्ण भूमिका खेलिरहेका वैज्ञानिकको अनुहारमा भरपूर जिज्ञासा छ । उनको आँखा र ओठ खुला छ । उनको हात प्रयोगात्मक भाँडोतिर बढेको छ । ताकि चरोलाइ केही भइहाले, उसको ज्यानको रक्षा गर्न सकियोस् ।
३. चरो
सेतो रङको जुरेली परेवाले यसको पवित्रतालाइ जनाउँछ । साथै, विज्ञानलाइ धार्मिक कसीमा समेत यसले उभ्याउँछ । यसमा चित्रकारले सामान्य चरो (मानौँ भँगेरो)लाइ ठाउँ दिएका छैनन् । त्यसको साटो दुर्लभ सिउर भएको चरोलाइ ठाउँ दिएका छन् । प्रयोग भनेको दुर्लभ चिज हो । यसले जे कुराको बलि माग्छ, त्यसले आउँदा दिनमा धेरै कुरा बदलिदिन्छ ।
४. जार
चित्रको मध्यमा उज्यालो जार देखिन्छ । यसमा भेउ नपाइने किसिमको केही चिज देखिन्छ । वैज्ञानिकको दाहिने हातले त्यो कुरा इंगित गरिरहेकाले यो पक्कै कुनै दुर्लभ कुरालाइ बुझाउन खोजेको हो कि भन्नेहरूको पनि कमी छैन ।
५. गम्भीर सोचमा एक वृद्ध
छेउमा एक वृद्ध हात चिउँडोमा राखेर सोचमग्न देखिन्छ । ऊ आफ्नै कल्पना र सोचमा मग्न भइरहेको भाव त्यहाँ झल्किरहेको छ । उसको आँखा सिधा जारमा छ, जारमा मृत्यु कुरिरहेको चरोले उसलाइ पक्कै मृत्युको सोचले घोत्लिन बाध्य पारेको हुनुपर्छ भन्ने सन्देश यहाँ दिन खोजेको छ ।
६. एक बालक, एक युवक
चित्रकलामा एउटा बालक टाउको ढल्काएर परीक्षण हेरिरहेको छ । ऊ सँगैको एक युवक भने सिधासिधा प्रयोगमा ध्यान दिइरहेको छ । बालक प्रयोगबाट मुग्ध भएको छनक त्यहाँ दिइएको छ ।
७. झ्याल छेउको केटो
एउटा केटो झ्याल छेउमा केही टाँगिरहेकोजस्तो देखिन्छ । उसको ध्यान प्रयोगमा केन्द्रित छ तर हातको डोरी भने खुकुलिएको छैन ।
८. एक जोडी प्रेमी
चित्रको सबैभन्दा रोचक पक्ष एक जोडीको प्रेमलीला पनि हो । यहाँ भर्खरका नवयुवक र नवयुवती प्रयोगमा भन्दा पनि एकअर्कामा रूचि लिइरहेका छन् । चित्रमा यो जोडी थोमस कोल्टम्यान र उनकी नवदुलही मेरी बार्लो रहेको केहीको दाबी छ । राइटले पछि यो जोडीलाई लिएर मि. एन्ड मिसेज कोल्टम्यान चित्र नै बनाएका थिए ।
आउनुस्, यो चित्रलाई अझ गहिरिएर हेरौँ । के थाहा, अझै नयाँ नयाँ कुरा तपाइँले पत्ता लगाउनु हुन्छ कि ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

