Jan_Vermeer_-_The_Art_of_Painting_-_Google_Art_Project.jpg (6209×7377) (wikimedia.org)

जोहानेस भर्मिर १७ औँ शताब्दीका उम्दा चित्रकारका रूपमा चिनिन्छन् । युरोपमा उनको कलाको त्यो बेला नै चर्चा भएको थियो । उनले मध्यम वर्गीय परिवारको घर र दैनिकीलाई मज्जाले चित्रमार्फत् उधिनेका छन् ।

जीवनकालमा कहिल्यै पैसाका लागि मरिहत्ते नगरेका जोहानेस भर्मिरको परिवारले उनको निधनअघि नै कंगालीको जीवन बिताउनु परेको थियो भने उनको निधनपछि त झनै उनकी विधवा पत्नी र सन्तानले पूरै ऋण बोक्नु परेको थियो ।

उनको काम गर्ने शैली अरूको भन्दा फरक थियो । उनी सुस्त गतिमा काम गर्थे तर जब गर्थे, उनका सिर्जना मास्टरपिस बन्न पुग्थे ।

उनको गरिबीका बारेमा एक जना साहित्यकार हान्स कोनिङ्सबर्गरले लेखेका छन्, ‘उनका चित्रकलामा प्रायः अनुहारहरू दोहोरिएका छन् । उनले काम गर्ने जुन स्टुडियो थियो, वर्षौंसम्म उही र उस्तै सामग्रीले भरिएका थिए । नत्र त उनका अधिकांश सिर्जनामा उही सरसामग्री बारम्बार नदोहोरिनु पर्ने हो ।’

जोहानेसको कलाको सुन्दर पक्ष चाहिँ उनले जुन चित्र बनाउँछन्, त्यसमा दुरूस्त फोटो खिचेजस्तो बनाइदिन्छन् । क्यामेराले बोक्ने घनत्व उनले हातले नै सिर्जना गर्ने भएकाले पनि उनी त्यसबखतको नेदरल्यान्डमा निकै चर्चित थिए ।

आजको प्रख्यात र अद्भूत चित्रकला शृंखलामा द आर्ट अफ पेन्टिङ परेको छ । लगभग आधा मान्छे बराबरको क्यानभासमा यो पेन्टिङ हाल अस्ट्रियाको राजधानी भियनास्थित एक म्युजिममा राखिएको छ ।

यो चित्रकला हिटलरको मन पर्नेमध्येको एक रहेको र उनले यसलाई निजी संकलनमा राखेका थिए । उनको निधनपछि भने यसलाई अस्ट्रिया नै फर्काइएको थियो ।

जोहानेसका अनेकन् कलाकृतिमध्ये हाल जम्माजम्मी ३५ वटा मात्र फेला परेका छन् । एक कथनअनुसार उनका कृतिहरूलाई उनका सन्तानले गरिबीका कारण अरू कलाकारकै भनेर बेच्नु परेको थियो । तर हाल त्यसमा सत्यताको अंश कति छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था भने छैन ।

जोहानेसका कृतिहरू लामो समयसम्म छायाँमा परिरहे तर सन् १८६० ताका भने एक फ्रान्सेली लेखक थियोफाइल थोरले उनका बारेमा निकै जानकारी उत्खनन गरेपछि भने उनी चर्चामा आएका थिए ।

यो चित्रकलामा उनले सम्भवतः आफ्नो कौशल के हो भनी अभिव्यक्त गर्न खोजिरहेका छन् । केहीको भनाइ छ, उनलाई यो चित्रकला यति प्यारो थियो कि अत्यन्त गरिबीका बीच पनि उनकी विधवा पत्नीले यसलाई नबेच्न सक्दो प्रयास गरेकी थिइन् । बरू यसको साटो उनले अन्य सामग्री र गरगहना बेच्नु परेको थियो ।

को हुन् जोहानेस भर्मिर ?
दुई शताब्दीसम्म उनका बारेमा कुनै सोधखोज गरिएन । उनले गुमनाम मृत्यु बेहोरे । उनी नेदरल्यान्डबाट कहिल्यै बाहिर नगएको र जीवनभर त्यहीँ जीवन बिताएको केहीको कथन छ । उनी त्यो बेलाको चौथो ठूलो शहर डेल्फमा जन्मिए, त्यहीँ करियर बनाए र त्यहीँ उनको मृत्यु भयो । त्यो बेला आफ्नो शहरमा भने उनी राम्रै चर्चा बटुल्न सफल थिए । त्यसैले त दुई पटकसम्म चित्रकला संघको गभर्नर चुनिएका थिए ।

उनका सन्तान धेरै थिए । तिनलाई पाल्न उनलाई धौधौ थियो । बेलायत र फ्रान्सबीच सोही बेला युद्ध चर्किएपछि उनको आर्थिक समस्या चर्किएको थियो । किनभने त्यो युद्धले नेदरल्यान्डको चित्रकला बजार खस्केको थियो । ४३ वर्षकै उमेरमा उनको निधन हुँदा उनका ११ सन्तान थिए ।

चित्रमा के हेर्ने ?
१. पुस्तक
एक जना महिला छिन्, जसले पुस्तक हातमा बोकेकी छन् । यो एक प्राचीन पुस्तक हुन् । पुस्तकको नाम द म्युज अफ हिस्ट्री हो । म्युज भन्नाले सिर्जनशीलताकी देवी, प्रेरणाकी देवी हुन् । तिनको इतिहास त्यहाँ महिलाले बोकेकी छन् । उनको अर्को हातमा एउटा सांगीतिक बाजा ट्रम्पेट पनि देखिन्छ । ट्रम्पेटले प्रख्याति बुझाउँछ । पहेँलो किताबले भने इतिहासको लेखोटलाई जनाउँछ । सिसारे रिपाले लेखेको पुस्तक आइकोनोलोजियामा क्लियो देवीका बारेमा उल्लेख पाइन्छ । १७ औँ शताब्दीमा विभिन्न पेन्टिङमा ती देवीको निकै नै प्रयोग गरिएको पाइन्छ ।

२. चित्रकार
कुनै चित्र बनाउनका लागि ठिक्क तयार परेको चित्रकारको बस्ने शैली, उसको समाएको बुरूस, क्यानभासजस्ता कुराले उसको गम्भीरता देखाउँछ । जुन टुलमा चित्रकार बसेको छ, त्यसको कलात्मकता पनि देखिन्छ । यी व्यक्ति स्वयं जोहानेस थिए भन्ने उनको हाउभाउबाट प्रस्टिने केही विज्ञको धारणा छ ।

३. भित्ता
भित्तामा ख्याल गर्नुभयो भने त्यहाँ नक्सा देखिन्छ । यो नक्सा सन् १६३६ मा छापिएको केही विज्ञले पत्ता लगाएका छन् । चित्रकार जोहानेसको समयमा नेदरल्यान्डको नक्सा ठ्याक्कै देख्न सकिन्छ । यस नक्साले त्यस बखतको सीमारेखाको जानकारी पनि दिन्छ । यहाँ स्पेनी नेदरल्यान्डका केही भाग पनि परेको छ भने केही बेल्जियमका भाग पनि देखन सकिन्छ ।

४. भुइँ
चेस खेल्न ठीक परेको पत्ताजस्तो चित्रकारको भुइँ रोचक किन छ भने उनका अधिकांश चित्रकलामा यो भूइँ देखिन्छ । कम्तीमा पनि एक दर्जन पेन्टिङमा उनको भुइँ यही सेतो कालो चेसको मैदानजस्तो देखिएको छ ।

५. मुखुण्डो
टेबुलमा एउटा मुकुन्डो देखिन्छ । यो मुकुन्डो किन त्यहाँ राखिएको होला भनेर धेरै समीक्षकले अनेकन् अड्कल काट्ने गरेका छन् ।

६. पर्दा
सबैभन्दा सशक्त रूपमा देखाइएको कुनै चिज छ भने यहाँ पर्दा छ । त्यहाँ एउटा बुट्टेदार भारीभरकम पर्दा दोब्र्याइएको छ । यसको आकार र यसका बुट्टाहरू पनि उत्तिकै भव्य छ ।

Jan_Vermeer_-_The_Art_of_Painting_-_Google_Art_Project.jpg (6209×7377) (wikimedia.org)

जोहानेस भर्मिरको अर्को पेन्टिङ पनि उत्तिकै प्रख्यात मानिन्छ । द गर्ल विद इयर पर्ल रिङ शीर्षकको उनको त्यो पेन्टिङमाथि उपन्याससमेत लेखिएको छ र सो उपन्यासमाथि फिल्मसमेत बनेको छ ।

Meisje_met_de_parel.jpg (4095×4794) (wikimedia.org)

यो पनि पढ्नुस्ः

डच मोनालिसा र भूमण्डलीकरण

https://sahityapost.com/top-news/7907/डच मोनालिसा र भूमण्डलीकरण | साहित्यपोस्ट (sahityapost.com)