हामीले विगत दुई महिनायता संसारका अद्भूत चित्रकलाका बारेमा चर्चा गरिरहेका छौँ । संसारभरिका प्रख्यात विद्वानहरूले यी चित्रकलाको भाव, भंगिमा, प्रस्तुत गरेको तौरतरिकालाई अनेकन् मापन शैलीबाट यिनलाई उत्कृष्ट र अद्भूत चित्रकलाको तहमा राखेका हुन् । यसै क्रममा यस पटक हामीले इटालीको फ्लोरेन्सस्थित उफिजीमा रहेको बर्थ अफ भेनस शीर्षकको यो चित्रकलालाई प्रस्तुत गरिरहेका छौँ ।
१७२.५ बाई २७८.५ सेन्टिमिटरको यो चित्रकला सान्द्रो बोटिसेलीले बनाएका हुन् ।
रोममा क्रिश्चियानिटीको जरो गाढिनुअघि हिन्दू धर्मकै जस्ता देवीदेउताहरू मानिन्थे । खासगरी साइप्रस वरपरका लोकोक्तिमा हाम्रा कामदेवजस्तै पश्चिमा लोककथामा भेनसलाई प्रेम, सुन्दरता, उत्पादनकी देवी मानिन्थ्यो । वसन्तको पालुवा लाग्ने बेलामा भेनसको आगमन भएको मानिन्थ्यो ।
यो चित्रमा तिनै प्रेम, सुन्दरता र उत्पादनकी देवीको महत्ता स्थापित गरिएको छ । चित्रको ठीक बीचमा भेनस छिन् । उनको हाउभाउ, शारीरिक संरचना, छालाका रङजस्ता कुरालाई यति मिलाएर चित्र बनाइएको छ कि हरकोही मुग्ध भएर यो चित्र हेरिरहन्छ ।
केहीको भनाइ छ, यो चित्र त्यो बेलाको फ्लोरेन्सका निकै धनी तथा सांसद, मेडिसी परिवारका चर्चित व्यक्ति लोरेन्जोले आफ्नो घरमा टाँग्नका लागि बनाउन लगाएका थिए । त्यो बेला उनीहरू फ्लोरेन्स नजिकैकत्र कास्टेलोमा एउटा भव्य महलमा बस्थे ।
त्यो बेला शायद यी चित्रकारलाई ग्रिसेली शास्त्रीय कथा र रोमन मिथकका बारेमा निकै गहिरो ज्ञान हुनुपर्छ । साथमा उनी प्लेटोको दर्शनबाट पनि प्रभावित भएको हुनुपर्छ । त्यसैले पनि उनको यो चित्रमा भेनसमा दैवीय सुन्दरताका सबै गुणहरू अक्षरशः कुँदिएको देख्न सकिन्छ ।
रेनेसाँ इटली अर्थात् त्यो बेला इटालीमा पुनर्जागरणकाल थियो । हरकोहीले केही नयाँ शिल्प, शैली र नयाँ अभिव्यक्तिको उपाय मूर्तिकला, चित्रकलामा ल्याइरहेको थियो । हरेक उम्दा कलाकारलाई आफूले के नयाँपन दिन सक्छु भन्ने हरदम सोचिरहेको थियो । यस्तोमा उनले यो चित्र बनाएको हुनसक्छ ।
त्यो बेला भव्य चर्चमा भव्यतम् चित्रकला बनाइँदा बाइबलका कथा, मिथक र प्रसंगहरूलाई चित्रांकित गरिन्थ्यो । बाइबल इतरका चिजबिजहरूलाई काठमा खोपिन्थ्यो । यो चित्र बनाउँदा भने बोटिसेलीले परम्परा त्यागेर धार्मिक चित्रजस्तै भव्य तरिकाले यसलाई बनाए ।
को हुन् त सान्द्रो बोटिसेली ?
सन् १४४५ मा फ्लोरेन्समा जन्मिएका उनको पूरा नाम एलेसान्द्रो डि मारियानो फिलिपेपी भए पनि सान्द्रो बोटिसेलीका रूपमा प्रख्यात भए । त्यो बेलाको चर्चित चित्रकला सिकाउने गुरू फ्रा फिलिप्पो लिपीको स्टुडियोमा उनले सबै कला सिके ।
उनको काम भनेको चर्चहरूलाई सिँगार्नु हुन्थ्यो, यस्तै यस्तै चित्रकलाहरू बनाउनु हुन्थ्यो । यसबापत त्यो बेलाका शक्तिशाली बैंक सञ्चालन गर्ने परिवार मेडिचीबाट उनले जीवन गुजाराका लागि रकम दिने गर्थे ।
सन् १४८१ मा उनलाई रोमबाट सिस्टिन च्यापल नामक प्रख्यात चर्चलाई यस्तै चित्रकलाहरूबाट सजाउने अवसर हात पर्यो । तर उनलाई सहयोग गर्ने मेडिसी परिवार त्यो बेला कंगाल हुन पुगे र उनले रोममा आफ्नो कला अभिव्यक्त गर्न पाएनन् । उनको वृद्धावस्था ज्यादै गरिबीमा बित्यो र दयनीय अवस्थामा उनको मृत्यु भयो । सन् १५१० मा उनको निधन भयो । १९ औँ शताब्दीताका मात्र उनका सिर्जनाको सोधिखोजी हुन थाल्यो ।
बर्थ अफ भेनस उनको सबैभन्दा उत्कृष्ट कृति मानिन्छ । त्यस्तै प्राइमाभेरा र द मिस्टिक नेटिभिटी पनि उत्तिकै उत्कृष्टमा गनिन्छ । उनको मिस्टिक नेटिभिटी मात्र एउटा यस्तो पेन्टिङ हो, जसमा उनको हस्ताक्षर र मिति अंकित भएको पाइन्छ । त्यसमा सन् १५०० मा काम सकिएको भनी लेखिएको छ ।
चित्रमा के हेर्ने ?
तपाईंले शुरूमा यो चित्रमा भेनसको गोडा हेर्नुस् । उनी सिपीमा कुनै मोति बसेझैँ उनी उभिएकी छन्, कुनै मोतिजस्तै दुर्लभ चिज बनेर । अथवा, मोतिजस्तै दुर्लभ चिज हुन्, यी सौन्दर्यकी देवी ! उनको जन्म समुद्रमा भएको थियो र सिपी समुद्रमै पाइन्छ ।
अब गोडाबाट माथि हेर्न थाल्नुस् । उनलाई यस चित्रमा एउटी वयस्क स्त्रीका रूपमा चित्रित गरिएको छ, जसको सुनौला कपाल लामो छ र कपालले योनि छोपिएको छ । उनी जसरी उभिएकी छन्, त्यसलाई शास्त्रीय भाषामा भेनस पुडिका भनिन्छ । केही चित्रकारहरूले भेनसलाई कामुक अवतारमा प्रस्तुत नगरेका पनि होइनन् तर उनले १५ औँ शताब्दीमा एउटी स्त्रीको सौन्दर्य मापन गर्ने तरिकाबाट नै यो चित्रलाई प्रस्तुत गरेका छन् । उनको टाउको सानो छ, घाँटी लामो छ, काँध झुकेको र पेट गोलाकार छ । भेनसको माथिल्लो भाग उदाङ्ग भए पनि त्यो अश्लील छैन ।
अन्य चित्रमा भेनससँगै उनको छोरो क्युपिड अर्थात् कामदेव रहने गर्छन् तर यहाँ भने क्युपिड देखिदैनन् ।
छेउछाउमा गुलाबका फूलहरूको वर्षात् भइरहेको देखिन्छ । गुलाबको रङ हेर्दा तपाईंलाई महसुस हुन्छ कि कति मिहिन तरिकाले यी गुलाबी रङमा रङमङ्ग्याइएको छ ! यो रङको गुलाबलाई भेनसको गुलाब भनेर पनि चिनिन्छ । काँडासहितको यो फूलको उपस्थितिलाई भेनसको प्रेमको प्रतीकका रूपमा लिइन्छ ।
यतापट्टि छेउमा एक स्त्री स्वरूप देखिन्छ, जसलाई फ्लोरा भनी चिनाइएको छ । फ्लोरा फूलहरूकी देवी हुन् । फ्लोरालाई बोटिसेलीले प्राइमाभेरामा पनि प्रस्तुत गरेका छन् । यिनले वसन्तको आगमन र पुनर्जन्मको प्रतीक पनि हुन् । यिनको घाँटीमा पातहरू बेरिएका छन् । उनले भेनसको नग्न शरीर छोपिदिन एक विशेष पहिरन ल्याइरहेको देख्न सकिन्छ ।
छेउमा एउटा हरियो बोट देखिन्छ र यो सुन्तलाको बोट हो ।
अर्कोतर्फ एक जोडा स्त्री-पुरूष देखिन्छन् । स्त्रीको कपाल सुनौलो छ । यी दुईलाई जेफिरस र क्लोरिस भनी चिनाइएको छ । यी दुवै ग्रिक देउता हुन् । उनीहरू दुवै भेनस भएतिर समुद्रको किनारतिर हुर्रिंदै आइरहेका छन् । कथाअनुसार जेफिरसले छेउमा देखिएकी अप्सरा क्लोरिसलाई पत्नी बनाउन अपहरण गरी लग्दैछ ।
यो चित्रलाई पुनः एक पटक हेर्ने हो कि ? त्यसपछि उनको अर्को चर्चित चित्र प्राइमावेरा (वसन्त) शीर्षकको चित्र पनि तल हेर्नुहोस्ः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।