हालको इटाली र त्यो बेलाको सिएना गणराज्यमा १३ औँ शताब्दीमा जन्मिएका डुसिओ डि बुओनिसेग्ना (डुसिओ)ले बनाएको ‘द म्याडोना इन्थ्रोन्ड’ संसारकै अद्भूत चित्रकलामध्येमा पर्छ ।
करिब साढे दुई बाई झण्डै चार मिटरको यो चित्रकला इटालीको सिएनामा हेर्न सकिन्छ ।
मध्यकालीन समयमा बनाइएको उनको यो चित्रलाई एउटा अभूतपूर्व उपलब्धिका रूपमा हेरिन्छ ।
डुसिओको पालासम्म चित्र बनाउँदा अनुहारको भाव भंगिमालाई दुरूस्त प्रकट गर्ने कार्यलाई निरूत्साहित नै गरिन्थ्यो । उनले त्यो नियम भने मिचेर आफ्नो कामलाई अघि बढाए ।
स्वर्गको सभामा सन्तहरूको वरिपरि बसेर कुनै विषयमा गम्भीर छलफल गरेको दृश्य यसको मुख्य विषय हो ।
चित्र मुन्तिर होली मदर अफ गड, बेस्टो पिस अन सिएना कुँदिएको छ ।
यो चित्र बनाउनका लागि अफगानिस्तानबाट नीलो रङको कच्चा पदार्थ मगाइएको थियो, फ्लोरेन्सबाट अन्य रङहरू मगाइएका थिए । यो चित्र सन् १३०८ मा शुरू भएर पूरा हुन तीन वर्ष लागेको थियो ।
अहिलेको जुन स्वरूपमा तपाईंले यो चित्र देखिरहनु भएको छ, त्यो क्षति पुगेर सीमित रहेको आकार मात्र हो । विज्ञहरूका अनुसार यो चित्र अहिले देखिएभन्दा व्यापक र ठूलो थियो । देखिएका यी चित्र र अन्य सहायक चित्रहरू भने समयक्रममा उक्काएर, भत्काएर तिनलाई अन्यत्रै लगेर बेचिएको केहीको धारणा छ ।
एउटा अनुमानअनुसार डुसिओको जन्म १२५५ मा भएको थियो भने उनको मृत्यु यो चित्र कुँदिसकेपछि वा त्यसको एक वर्षपछि भएको अनुमान छ ।
उनी कहाँ जन्मिए, उनका अभिभावक को थिए भन्नेबारेमा भने कुनै प्रमाण फेला परेको छैन । उनका बारेमा पहिलो पटक कतै उल्लेख गरिएको भनेको सन् १२७८ मा मात्र छ । खासगरी त्यो बेला सबै नागरिकले अनिवार्य रूपमा सैन्य सेवा गर्नु पर्दथ्यो तर उनले सैन्य सेवा गर्न अस्वीकार गरेकाले त्यसबारे रेकर्ड भएको देखिन्छ ।
डुसिओ र त्यो बेलाका अन्य कलामा बेजान्टाइन साम्राज्यका बेलामा फस्टाएको कलाको यिनले मज्जाले नक्कल गरे भने नक्कल गरिएका चिजमा आफ्नोतर्फबाट भव्यता पनि थपे । जसका कारण उनको सिर्जनशीलता अहिलेसम्म अद्भूत मानिएको हो ।
त्यो बेला रोमन साम्राज्य दुई भागमा बाँडिएको थियो । पश्चिम रोमन साम्राज्यले हालको ग्रिससम्मको भाग ओगट्थ्यो भने पूर्वी रोमन साम्राज्यमा ग्रिस पूर्वका भूभाग पर्दथ्यो । पूर्वी रोमन साम्राज्यका बेलामा उदाएका कलाहरू बेजान्टाइन साम्राज्य भएका विविध ठाउँमा देख्न सकिन्छ । सन् ३३० मे ११ देखि १४५३ सम्मको अवधिमा फलेफुलेको पूर्वी रोमन साम्राज्यको कला, संस्कृतिले पश्चिममा पनि ठूलो प्रभाव पारेको थियो । त्यही प्रभावलाई बेजान्टाइन साम्राज्यको प्रभाव भनिन्छ ।
यो चित्रमा भर्जिन मेरी देखिन्छिन्, एक बालकसहित । उनको महत्त्व कति छ भन्ने बुझाउन चित्रमा सबैभन्दा बढी भाग उनैलाई दिइएको छ । भर्जिन मेरीलाई स्वर्गकी रानीका रूपमा चिनाइएको छ । त्यस्तै स्वर्गमा रहेका अन्य एन्जेलहरू (दूत)को अनुहारको भावभंगिमा पनि सुस्पष्ट देखिन्छ । स्वर्गका दूतहरू लिंगबेगरका र तिनको प्वाँख हुन्छ भन्ने धारणा यो चित्रमा प्रस्टिएको छ ।
यसमा एक जना सन्त घुँडा टेकेको देखिन्छ । उनलाई सिएनाको अभिभावकका रूपमा यहाँ प्रस्तुत गरिएको छ । त्यस्तै सन्त जोन द बप्टिस्ट (दाह्रीवाल) पनि यहाँ देखिएका छन् । खासमा यी जोनलाई जिसस क्राइस्ट जत्तिकै सक्षम सन्तका रूपमा हेरिन्छ । त्यसैले स्वर्गका धेरैजसो पेन्टिङमा उनी छुट्दैनन् ।
उनको यो कलाबाट प्रभावित भएर पछिका कयौँ सर्जकहरूले यसलाई नक्कल गरेका छन् ।
उसो भए यसलाई फेरि दोहोर्याएर किन नहेर्ने त ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।