बेलायती गाउँले पेन्टिङ निकै राम्रा बने/बनाइएका छन् । यो चित्रकलामा चित्रकार जोन कन्स्टेबलले बालापनमा गाउँमा छँदा गरेका मस्ती, रमाइलो र बदमासीको सम्झना यस पेन्टिङमा गरेका छन् ।

चित्रमा एउटा गाडा खोलाको बीचबाट छ । गाडालाई घोडाले तानिरहेको छ । गाडामा दुई व्यक्ति देखिन्छन् । परसम्म फैलिएको खेत, ठाउँठाउँमा ठाँटका साथ उभिएका कयौँ वर्ष पुराना रूख, पर खेतमा बाली उठाइरहेका किसान, नदी किनाराको घर र घरमा काम गरिरहेकी महिलाले खोलाबाट उगाइरहेको पानीजस्ता दृश्य एउटै पेन्टिङमा अटाउँदा पूरै गाउँको महक यसले दिन सफल भएको छ ।

सन् १८२१ मा पहिलो पटक जोन कन्स्टेबलको यो चित्र प्रदर्शनीमा राखिएको थियो । शुरूमा यस चित्रलाई खासै गतिलो मानिएको थिएन । तीन वर्षपछि पेरिसमा यो चित्र प्रदर्शनमा राख्दा भने निकै राम्रो प्रतिक्रिया पाएको थियो ।

चित्रमा प्रयोग गरिएको टेक्निकमा धेरैको ध्यानाकर्षित भएको थियो । यो पेन्टिङले स्वर्ण पुरस्कार प्राप्त गरेको थियो । र, फ्रान्सेली चित्रकारहरूबाट निकै वाहवाही पाएको थियो ।

बालापनमा बिताएको गाउँको सम्झनाले भुतुक्क हुँदा उनले यो चित्र बनाएका थिए । यो चित्रमा सबैभन्दा सुन्दर आकाश छ । यो यति वास्तविक र गहिरो छ कि त्यसले नदीको पानी र खेतसँग बडो मज्जाले कन्ट्रास्ट सिर्जना गरेको छ र यसैले यो पेन्टिङ सुन्दर देखिएको छ ।

कन्स्टेबल निकै सुस्त तरिकाले काम गर्थे । झन् ठूलो आकारको पेन्टिङ बनाउनु त उनलाई दुसाध्य नै लाग्थ्यो । तैल चित्रकलामा यो उत्कृष्ट मानिन्छ र यो चित्रलाई रानी भिक्टोरियाले यति रूचाएकी थिइन् कि पछि यसलाई आफ्नो निजी सङ्कलनमा राखेकी थिइन् ।

को हुन् जोन कन्स्टेबल ?
बेलायती ल्यान्डस्केप पेन्टिङमा ठूलो नाम बनाउन सफल जोन उनले ल्यान्डस्केपमा ल्याएको नयाँ स्वतन्त्र शैली र सिर्जनशीलताका लागि प्रख्यात भएका हुन् । बेलायतमा उनको जीवनकालमा त्यति धेरै चर्चित नभए पनि फ्रान्सेलीमाझ उनको ठूलो इज्जत थियो ।

बेलायतको सफ्फकमा १७७६ मा जन्मिएका उनी सानै उमेरदेखि नै चित्रकलामा आकर्षित भएका थिए । उनले प्रायः आफैँ चित्रकला सिके । निकै पछि २० वर्षको उमेरमा मात्र उनी रोयल एकेडेमी स्कुलमा पेन्टिङ पढ्न छिरे ।

शुरूमा उनका गुरू र प्रभाव भनेका १७ औँ शताब्दीका चर्चित डच चित्रकार गेन्सबोरो थिए । तर पछि उनले आफ्नै नौलो शैली बनाए । उनले प्रकाश र वातावरणलाई आफ्ना सिर्जनाको आवाज बनाए र ती आवाज यति सशक्त थिए कि उनको काममा सबैले ध्यान दिनै पर्यो ।

उनको समयमा शास्त्रीय विषय निकै चल्तीमा थिए । उनले आफ्नो प्रतिभा त्यस्ता विषयमा ध्यान केन्द्रित गर्नुको साटो गाउँले कुरामा केन्द्रित गरेका आलोचना गर्ने गरिन्थ्यो ।

उनी निकै पछि १८२९ मा मात्र रोयल एकेडेमीको पूर्ण सदस्यका रूपमा चुनिएका थिए । उनको निधन १८३७ मा भएको थियो ।

यो चित्रमा के हेर्ने ?
१. घर
चित्रको देब्रेतिर एउटा घर देखिन्छ । यो घर जोनका बुवाको थियो । खोला किनारमा रहेको यो घर जोनका बाले विल्ली लट नामका किसान परिवारलाई भाडामा बस्न दिइएको थियो । हिजोआज यो क्षेत्रलाई कन्स्टेबल कन्ट्री भनी चिनिन्छ ।

२. किसानहरूको उपस्थिति
पर खेतमा किसानले खेती उठाइरहेको देख्न सकिन्छ । एक गाडा पराल त्यहाँ देख्न सकिन्छ भने बाली काटेको, सुकाइएको, खेतमा व्यस्त रहेका अन्य मानिसहरू पनि देख्न सकिन्छ । चित्रबाट थाहा हुन्छ, यहाँ भर्खर बाली काट्न थालिएको छ ।

३. गर्मी याम
चित्रमा यो समय गर्मी यामको हो भन्ने कुरा माथिको खुला आकाश र थोरै बादलहरूको उपस्थितिबाट जनाइएको छ ।

४. गाडा
चित्रकार कन्स्टेबलको यो चित्रको सबैभन्दा ठूलो केन्द्र चाहिँ घोडाले तानिरहेको गाडा हो, जुन पानी हुँदै अगाडि बढिरहेको छ । गाडा निकै पुरानो छ, मानौँ कयौँ वसन्तहरू यसले पार गरिसकेको होस् । शायद घोडाहरूलाई पानी खुवाउनका लागि यहाँ ल्याइएको हो कि ?

५. पानी भरिरहेकी महिला
देब्रेतिर एक जना महिलाले पानी भरिरहेकी छ । सम्भवतः ऊ लुगा धोइरहेकी छ । पानीमा पहुँचका लागि ऊ घुँडा धसेर थोरै झुकेकी छ ।

६. कुकुरको उपस्थिति
गाउँ हुनु र त्यहाँ कुकुर नहुनु ! यो प्रायः असम्भव छ । यहाँ कुकुरले गाडातिर हेरिरहेको छ । उता गाडामा रहेको एउटा मानिसको ध्यान पनि यो कुकुरतिर देखिन्छ ।

यी बाहेक तपाईंले अन्य कुरा पनि देख्न सक्नुहुन्छ । के के पाउनु भयो त ? फेरि एक चोटि नजर लगाउनुस् तः

John_Constable_-_The_Hay_Wain_(1821).jpg (6128×4226) (wikimedia.org)