कला मर्मज्ञहरूको नजरमा अद्भूत चित्रकलामध्ये पर्ने अर्को एउटा चित्रकला यस पटक प्रस्तुत गरिरहेका छौँ । यो चित्रकला हो, द हन्ट इन द फरेस्ट ।

पाओलो उसेलोले सन् १४७० ताका बनाएको यो तैल र टेम्पेरा मिश्रित चित्रकलाको आकार २९ बाई ६९ इन्चको छ ।

यो चित्रकलाको विशेषता भन्नु नै यसको भव्यता हो । चित्रमा वस्तु जति टाढा हुन्छ, त्यति सानो हुने त्यो बेलाको सीमित कलामध्येमा यो पर्ने गर्छ ।

जंगलमा शिकार गर्न जानु एकताका राजा महाराजाहरूको शानको कुरा हुन्थ्यो । त्यसका लागि जाडो याममा महिनौँ क्याम्प गाडिन्थ्यो । अनि, हरेक दिन जंगलभित्र ठूलो दलबलसहित छिरेर आफ्नो क्षमताअनुसार शिकार गर्ने चलन कतिपय ठाउँमा अद्यापि छँदैछ । यहीँ नेपालमा पनि राजाहरूले त्यसरी शिकार गर्ने गरेको र त्यसका लागि निश्चित ठाउँ चयन गरेको कथा हामीले सुन्दै आइरहेका छौँ । एक समय त्यसरी शिकार गर्न जाने ठाउँहरू नै अहिलेका वन्यजन्तु आरक्षण केन्द्र बन्न पुगेका छन् ।

खैर, यो पेन्टिङ चाहिँ त्यो बेला दलबलसहित शिकार गर्न गइने परम्पराको एउटा विशिष्ट चिनोका रूपमा रहेको छ । जंगलभित्र जुन तयारीका साथ गइन्छ, त्यसलाई यहाँ देखाइएको छ । सेना पूरै युद्धकालीन अवस्थामाझैँ छन्, तिनको मुभमेन्ट यहाँ देखिन्छ, अनि, जंगलभित्र कालो अञ्जान क्षेत्रमा यिनीहरू गइरहेका छन् र त्यो अज्ञात ठाउँको यात्राको रोमाञ्चकता अभिव्यक्त गर्न चित्रकार सफल भएका छन् ।

यो चित्रको नाउँ द हन्ट इन द फरेस्ट राखिएको भए पनि तत्काल त्यसको अर्थ यहाँ खुल्दैन । शिकार गर्न गइने र त्यसका लागि उपयोग हुने दलबल र तयारी देखाएर अरू नै केही कुरा चित्रकारले अभिव्यक्त गर्न खोजेका हुन् कि भन्ने केही कला समीक्षकको धारणा छ । तीमध्ये केहीले चाहिँ त्यो बेलाको निकै चर्चित धर्मयुद्धलाई इंगित गरेको धारणा पनि व्यक्त गर्ने गर्छन् ।

जंगलको अज्ञात र अँध्यारोतिरको यात्रालाई अन्य धेरै सांकेतिक प्रतीकका रूपमा लिनेहरूको पनि कमी छैन ।

को हुन्, पाओलो उसेलो ?
सन् १३९७ मा इटालीको फ्लोरेन्समा जन्मिएका उनको उपनाम उसेलो हो । इटालीमा उसेलो भनेको चरालाई बुझिन्छ । उनले त्यस बखतका चर्चित मूर्तिकार लोरेन्जो घिबर्टीलाई गुरू थापेका थिए । उनीसँग सिक्दै गर्दा आफ्नो कुनै प्रगति नहुने ठानेर उनी भेनिस पुग । सन् १४२५ ताका भेनिसमा सेन्ट मार्कको नाममा स्थापित चर्चमा काम पाए । त्यसअघि नै उनले फ्लोरेन्समा द क्रिएसन अफ द एनिमल र द क्रिएसन अफ एडम नामक दुई चर्चित चित्र बनाएको बुझिन्छ । यस्तै उनले बनाएको ब्याटल अफ सान रोमानो चित्र पनि प्रख्यात चित्रमध्येमा मानिन्छ । उनको सेन्ट जर्ज एन्ड द ड्रागन पनि उत्तिकै प्रख्यात चित्रकला हो ।

यो चित्रमा के के हेर्ने ?
चित्रमा तपाईंले व्यक्तिहरू हेर्नुस् शुरूमा । त्यहाँका यी पुरूषहरूको बनोट उस्तै र उही छ । तिनको भावाभिव्यक्ति पनि उही किसिमको छ । तिनको नाक नक्सा र छालाको पना पनि उही छ । तिनले लगाउने टोप, पहिरन पनि उही छ ।

तपाईंले एउटा घोडचढीलाई हेर्नुभयो भने ऊ चिच्याउँदै गरेको देखिन्छ, त्यस्तै अन्य केही चिच्याइरहेको पनि देख्न सकिन्छ । शिकारमा जाँदा प्रायः होहल्ला हुनु र गरिनु स्वाभाविक हो । त्यही स्वाभाविकता यहाँ प्रकट भएको छ ।

तपाईंले जंगलभित्र दौडिरहेका जरायोहरू देख्न सक्नुहुन्छ । ती कुनै यता दौडिरहेका छन्, कुनै उता ! अचानक आक्रमणकारी आएको अवस्थामा ती अत्तालिएर कता भागूँको अवस्था यहाँ जीवन्त रूपमा प्रकट भएको छ ।

यसैगरी कुकुरहरू पनि तीव्र भुकाईमा छन् । तिनको गोडा बढी नै तन्किएका छन्, त्यसले तिनको गति र वेगलाई जनाउँछ । भुइँमा तपाईंले ख्याल गर्नुभयो भने हरियो घाँसेमैदान पनि देख्नुहुन्छ ।

उसेलोको सबैभन्दा मन पर्ने भनेको जनावरको चित्राकृति बनाउनु हो । यसमा पनि उनले जनावरहरूको आकृतिलाई जीवन्त देखाएका छन् । घोडा त उनको सबैभन्दा मनपर्ने जनावरझैँ देखिन्छ, यहाँ हेर्दा पनि ।

तपाईंले माथि आकाशमा देब्रे कुनातिर हेर्नुभयो भने भर्खर उदाउँदै गर्न थालेको अर्धचन्द्र पनि देख्न सक्नुहुन्छ । यस किसिमको मिहिनताले नै यसलाई महान् कलाकृतिका रूपमा उभ्याएको हो ।

यसमा भएका केही रूखका हाँगा काटिएका छन् । ती रूखका हाँगा नकाटिएका भए तलको दृश्य यति मज्जाले देख्न पाइने थिएन । यही कुरालाई महसुस गर्दै चित्रकारले यसअघि नै त्यहाँ सेना आई रूखका हाँगा काटेर पहिलेदेखि नै शिकार खेल्ने तयारीलाई जनाउ दिएका छन् ।

यी चित्रकारको द ब्याटल अफ सान रोमानो नामक चित्राकृति पनि कम रोचक छैन । तल सान रोमानोमा भएको युद्ध चित्रित गर्ने तस्बिर पनि तल हेर्नु होला ।

त्यसअघि यो प्रख्यात चित्रलाई पुनः एक पटक मज्जाले नियालेर किन नहेर्ने ?