हातमा बुरुस लिएर अर्को घात गर्न ठिक्क परेका चित्रकार ठूलो क्यानभासअगाडि उभिएर हेरिरहेका छन् । छेउमा बालिकाहरुको एउटा दल नै छ । ती बालिकाहरुलाई रेखदेख गर्न दुई दरबारिया परिचारिका बसेर आपस्तमा केही गफिइरहेका छन् । छेउमा पालिएको कुकुर आनन्दले बसिरहेको छ ।

सर्सर्ती हेर्दा यो एउटा सामान्य पेन्टिङजस्तो देखिए पनि यो असमान्य चित्रकला हो । तीन सय वर्षयता यो पेन्टिङको मोह कति छ भने हरकोहीले विविध रुपमा यसको विश्लेषण गरेका छन् ।

हुन पनि यो कति जीवन्त चित्रकला छ भने कोण कोणबाट यसलाई विश्लेषण गर्ने आधारहरु छन् ।
स्पेनको चित्रकलाको इतिहासकै सबैभन्दा उम्दा चित्रकलाका रुपमा यसलाई मानिन्छ । सन् १८५६ मा डिएगो भेलेक्वेजले बनाएको यो चित्र भव्य हुनुको अर्को कारण चाहिँ अभिव्यक्त गर्न खोजेको विषयसँगै यसको आकार र भव्यता पनि हो । एक मान्छेभन्दा केही ठूलो यो चित्रकला वास्तवमै अनुपम देखिन्छ ।

पहिले यो चित्रलाई द फेमिली अफ फिलिप द फोर्थ भनी चिनिन्थ्यो । पछि यसलाई लास मेनिनास भनी नामकरण गरियो । मेनिनास भन्नाले मेइड अफ अनर ।

यो चित्रलाई गहिरिएर हेर्ने हो भने राजा फिलिप चतुर्थ र उनकी रानी मायारिना पनि देखिन्छन् । उनीहरुलाई झल्काउन एउटा सानो ऐनाको सहारा लिइएको छ । ऐनामा राजा र रानी देखिन्छन् । मारियाना राजाकी दोस्री रानी थिइन्, अष्ट्रियाकी राजकुमारी थिइन् उनी ।

यो चित्रका बारेमा विद्वानहरुले विभिन्न अट्काल काट्ने गर्छन् । सबैभन्दा बढी अर्थ लगाइएको र बढी लेखिएको पेन्टिङका रुपमा यसलाई लिइन्छ । आफैँ चित्रमा देखिएका चित्रकार, राजारानीलाई किनारीकृत गरेर यसरी बनाइएका सम्भवतः कमै चित्रकलाहरु होलान् ।

डिएगो को हुन् त ?
सन् १५९९ मा दक्षिणी स्पेनमा जन्मिएका भेलेक्वेज डिएगो उनले बनाएका पोट्रेट चित्रका कारण प्रख्यात छन् । उनको युवाकालको अधिकांश समय राजधानी मेड्रिडमा नै बिताए । मेड्रिडका दिनहरुमा उनले दैनिक जीवनयापन र मिथकीय पात्रहरुमाथि उनले निकै राम्रा चित्रकलाहरु तयार पारेका थिए ।

जब उनका चित्रहरुले चर्चा बटुल्दै गए, त्यसपछि दरबारले पनि उनलाई चासो दिन थाल्यो । यही कारण २४ वर्षको उमेरमा उनी स्पेनी राजदबारको चित्रकारका रुपमा छानिए र खासगरी राजा फिलिप चतुर्थका उनी प्यारा चित्रकार बन्न पुगे ।

त्यो बेलाको समयमा रोम जान पाउनु एउटा ठूलो उपहारजस्तो हुन्थ्यो । उनले रोमको भ्रमण दुई पटकसम्म गरेका थिए । एक पटक १६२९ देखि १६३१ सम्म त्यहाँ रहे भने अर्को पटक सन् १६४८ देखि १६५१ सम्म यात्रा गरेका थिए । दोस्रो भ्रमणका क्रममा उनले पोप इनोसेन्स दसौँको चित्र बनाएका थिए । त्यो चित्र बन्नेबित्तिकै मास्टरपिसका रुपमा चर्चित बन्न पुगेको थियो ।

रोचक त के छ भने यी चित्रकार आफूलाई महान् ठान्थे । त्यसैले दरबारद्वारा प्रदान गरिने हरेक उम्दा पदक आफूले पाउनुपर्छ भन्ने मान्यता राख्थे तर दरबार भने कलाकारहरुप्रति उति राम्रो धारणा राख्दैनथ्यो । दरबारका नजरमा कलाकारहरु भनेका सबैभन्दा तल्ला सदस्य हुन् । तिनीहरु माथिल्लो वर्गमा पर्नै सक्तैनन् । त्यसैले उनले जीवनभर नाइटहूड (माथिल्लो सम्मान)को चाहना गरिरहे र दरबारले उनलाई त्यसका लागि अयोग्य साबित गरिरह्यो । अन्ततः उनले रोमका पोपको सोर्स फोर्स लगाइकन उनी त्यसको हकदार भइछाडे । तर दुःखको कुरा, उनले नाइटहूड सम्मान पाएको केही वर्षमा सन् १६६० मा उनको निधन भयो ।

चित्रमा के हेर्ने ?
१. मेइड अफ अनर
राजकुमारी मार्गरिटाको छेउमा रहेकी एउटी बालिका चियाको किस्ती बोकेर तयारीको अवस्थामा छे । उसले घुँडा टेकेर राजकुमारीको आदेश कुरिरहेकी छ । राजकुमारीकै उमेरकी यो बालिकालाई आधार मानेर नै यस चित्रकलाको नाम मेइड अफ अनर राखिएको हो ।

२. राजकुमारी मार्गरिटा
सुनौलो कपाल भएकी सुन्दर बालिका राजकुमारी मार्गरिटा हुन् । उनलाई इन्फान्टा मार्गरिटा भनेर पनि चिनिन्थ्यो । मार्गरिटा राजा फिलिपका सात सन्तानमध्ये कान्छी थिइन् र उनी राजाकी प्रिय थिइन् । २१ वर्षको उमेरमै चार सन्तान जन्माएर दुःखद् मृत्यु वरण गरेकी मार्गरिटालाई राजा फिलिपले जोय (आनन्द) नामकरण गरेका थिए ।
रोचक के छ भने, राजा फिलिपका दुई रानीबाट सात सन्तान जन्मिएका थिए भने ३० सन्तान भने अन्य ल्याइतेहरुबाट जन्मिएका थिए ।

३. मारिबार्बोला
छेउकी अर्की एउटी बालिकाजस्ती महिला होचीपुडकी मारिबार्बोला हुन् । उनी राजकुमारीकी साथी थिइन् । होचाहरुका बारेमा शायद यही नै प्रथम पेन्टिङ भएको हुनुपर्ने केहीको मत छ ।

४. भेलाक्वेज स्वयं
हातमा बुरुस लिएर स्ट्रोकका लागि ठिक्क परेका व्यक्ति चित्रकार भेलाक्वेज स्वयं हुन् । चित्रलाई कुन रुपमा बबाल राम्रो बनाऊँ भन्ने सोचका साथ ढल्कीढल्की पेन्टिङ हेरिरहेका छन् । उनले जीवनमा कहिल्यै पनि व्यापारका लागि चित्र बनाएनन् । जहिले पनि एउटा बौद्धिक क्रियाकलापका रुपमा यसलाई लिइरहे । सोही गम्भीरता यस चित्रमा झल्किरहेको छ ।

५. भित्ताका पेन्टिङ
भित्तामा दुई वटा ठूला पेन्टिङ देखिन्छन् । स्पष्ट रुपमा ती नदेखिए पनि कुनै मिथकीय पात्रहरुमाथि कलाकार स्वयंले बनाएका चित्रहरु रहेको आँकलन गरिन्छ ।

६. जोशे निटो
ढोकामा जाउँ कि बसौँ भएर उभिएका व्यक्ति जोशे निटो हुन् । उनी रानीका मुख्य विश्वासपात्रमध्ये एक हुन् ।

७. राजारानी
ऐनामा दुई पात्र देखिन्छन् । ती चाहिँ राजा फिलिप र रानी मारियाना हुन् । रोचक के छ भने यी राजा र रानीको कहिल्यै पनि संयुक्त चित्र कोरिएन । तर यहाँ मात्र दुवैको चित्र देखिएको छ ।