https://images.metmuseum.org/CRDImages/ep/original/DP-14286-007.jpg
जियाम्बाटिस्टा टाइपोलोले बनाएको एलिगोरी अफ द प्लानेट्स एन्ड कन्टिनेन्ट्स एउटा अहं तैलचित्रका रूपमा इतिहासले सम्झिरहेको छ । अवाक् बनाउने चित्रकारिताका कारण अढाई सयभन्दा बढी समयपछि पनि हामीले यो पेन्टिङका बारेमा चासो र चिन्ता लिनपर्ने अवस्था आइपरेको छ ।
को हुन् जियाबाटिस्टा टाइपोलो ?
अठारौँ शताब्दीका महान् इटालेली चित्रकारका रूपमा चिनिने टाइपोलो इटालीको भेनिस शहरमा जन्मिएका थिए । उनले अधिकांश समय भेनिसमा नै बिताए । त्यसो त रोजगारीका क्रममा उनी उत्तरी इटालीका अनेकन् भागको यात्रा मात्र गरेनन्, उनले जीवनका उर्वर आठ वर्ष स्पेनका राजा चार्ल्स तृतीयकहाँ सेवा गर्न पनि भ्याए । उनको त्यो बेलाको बसाइ म्याड्रिडमा हुने गर्थ्यो । यसका अतिरिक्त जर्मनीको वुजबर्गमा समेत केहीसमय बिताए । त्यसो त यसअघि उनले स्विडेनका राजा फ्रेडरिक प्रथमको निमन्त्रणालाई उनले अस्वीकार गरेर स्टकहोमको दरबारमा जानै चाहेनन् ।
दरबारका सिलिङमा कोरिने अद्भूत चित्रकलाका लागि उनी निकै प्रख्यात रहे । उनले वृद्धावस्थामा पनि अनेकन् मनोहर चित्र सिर्जना गरेका छन् ।
यो चित्रमा के हेर्ने ?
१. अपोलो
केन्द्रमा उदाएको सूर्य छेउमा दुई हात फराक पारेर उभिएको भगवान् रोमन र ग्रिसेलीहरूको भगवान् अपोलो हुन् । अपोलोलाई पारम्परिक रूपमा सुन्दर, युवा तथा सभ्यताका गुण अनि कामलाग्दा सोचहरू उत्पादन गर्ने भगवानका रूपमा मानिन्छ ।
२. मार्स र भेनस
बादलमा यात्रारत रहेका दुई सुन्दर देवीदेउताहरूमध्ये एक युद्धका देवता मार्स छन् भने अर्कोतर्फ प्रेमकी देवी भेनस छिन् । मार्स क्रूर छन् तर भेनसको प्रेममा परेका छन् । प्रेमले कसरी क्रूरतालाई जित्छ भन्ने सन्दर्भमा मार्स र भेनसको प्रेमकथालाई प्रस्तुत गर्ने गरिन्छ ।
३. मर्करी
प्रिन्स बिसपको छेउमा अर्का देउता बुध छन् । उनको एउटा गोडामा चप्पल देखिन्छ र टाउकामा ह्याट । उनको टोपले गति जनाउँछ । उनी सञ्चारका देवताका रूपमा पनि चिनिन्छन् । उनी अरूलाई असल भाग्य मात्र दिँदैनन्, मानिसमा वाक्पटुता भर्ने भगवानका रूपमा पनि चिनिन्छन् ।
४. युरोपा
युरोपेली भेगलाई एउटा स्त्रैण चरित्रका रूपमा यसमा प्रस्तुत गरिएको छ । भगवानहरूकी रानी जुनोका गुणहरू युरोपामा देख्न सकिन्छ । जुपिटरले जब एक पटक युरोपालाई देख्यो, उसको सौन्दर्यबाट मुग्ध भयो । त्यसपछि जुपिटरले आफ्नो रूप गोरूका रूपमा धरेपछि युरोपालाई अपहरण गर्यो ।
५. एसिया
यस चित्रमा एसियालाई पनि हात्तीमाथि चढाइएको छ । देब्रे हातले कुनै आदेश दिइरहेकी देखिन्छिन् ।
६. अमेरिका
टाउकामा प्वाँखहरू राखेर औँलाले कतै इंगित गरिरहेकी महिला अमेरिकाको प्रतिनिधित्व गरिरहेकी छन् । त्यो बेला युरोपेलीहरूले रेड इन्डियनहरूलाई सभ्य विरलै मान्थे । तर यहाँ उनले एउटी नारीको वीरता देखाउने प्रयास गरेका छन् । उनी यहाँ कुनै शिकारमा निस्केको भान हुन्छ ।
७. अफ्रिका
अमेरिकाजस्तै अफ्रिकी महिलाले पनि छाति खुल्लै छाडेकी छन् । तर उनको पहिरन सुन्दर देखिन्छ । उनले सुनको माला लगाएकी छन् र कानमा पनि सुनकै गहना देखिन्छन् । उनी उँटमाथि सवार छिन् । अफ्रिकाको सम्पन्नता यहाँ प्रकट गरिएको छ ।
८. बाबु र छोरा
चित्रकार टाइपोलोले आफू र उनको ठूलो छोरो जियाडोमेनिको (डोमेनिको)लाई यहाँ प्रस्तुत गरेका छन् । टाइपोलोका दस सन्तान थिए । तीमध्ये डोमेनिको र लोरेन्जोले बाबुकै पेशालाई अपनाएर राम्रै चित्रकारका रूपमा ख्याति बटुलेका थिए ।
यी सबै कुरा उनले एउटा चित्रमा भव्य रूपमा देखाएका छन् । यसरी उनले युरोप, अमेरिका, एसिया र अफ्रिकालाई प्रतिनिधित्व मात्र गराएका छैनन्, अन्य विविध पुराकथा र लोकोक्तिलाई पनि ठाउँ दिएका छन् । यसरी उनले एउटा दरबारको सिलिङलाई युगयुगसम्म बाँचिरहने जीवन दिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

