शनिबार हामीले कलाका विविध आयामहरू पस्किरहेका छौँ । तीन सातायता हामीले संसारका प्रसिद्ध पेन्टिङ, आर्टबारे हरेक शनिबार जानकारी गराइरहेका छौँ ।
विभिन्न पुस्तकहरूमा आधारित रहेर संसारकै प्रख्यात कलाहरूबारे जानकारी दिने हाम्रो उद्देश्य हो । यस सन्दर्भमा ऐतिहासिक कालक्रम अनुसारका भव्यतम कलाकृतिहरूलाई पस्किने गरेका छौँ ।
यसै मेसोमा आज हामीले जिसस क्राइस्टको पछुतो शीर्षकको चित्रकलाबारे चर्चा गर्न लागेका छौँ ।
१८३ बाई २०० सेमीको यो चित्र इटालीको पाडुआस्थति स्कोभेग्नी चापेलमा हेर्न सकिन्छ ।
यो चित्रको सबैभन्दा प्रभावशाली पक्ष भनेको अनुहारको विषादलाई प्रभावशाली तरिकाले पस्कन सक्नु नै हो ।
जब जिसस क्राइस्टलाई क्रुसमा टाँगियो र उनको मृत्यु भयो, जिससका केही साथीहरूले उनलाई क्रुसबाट निकाल्छन् । निकाल्दै गर्दाको दुःख, पीडा, विषाद यो चित्रमा अंकित गरिएको छ ।
पश्चिमा समाजमा जिसस क्राइस्टको जीवनमाथि विभिन्न चर्चहरूमा चित्र बनाउनु संस्कृतिकै एक अंग थियो । सन् १३०५ ताका त्यस बेलाका चर्चित चित्रकार गिओट्टो बोन्डनले यो चित्र बनाएका थिए । यसको ख्यातिका कारण यसको नक्कल गरेर अनेकन् चित्रहरू बनेका छन् ।
सन् १२६७ मा जन्मिएका गिओट्टो कलाको इतिहासमा अति प्रभावशाली चित्रकारका रूपमा चिनिन्छ । उनलाई आधुनिक चित्रकलाको आधारपुरूषका मानिन्छ । फ्लोरेन्स नजिकको कोली डि भेस्पिग्नानोमा जन्मिएका उनले सिमाबुको सामीप्यमा रहेर चित्रकला सिकेका थिए ।
उनले जीवनकालमा कयौँ चित्र बनाए पनि तिनको संरक्षण हुन सकेन । यो चित्र मात्र संरक्षण गर्न सकिएको छ ।
यो चित्रमा पात्रहरूबीचको दुरी, तिनको अनुहारको विषाद र दुःख, तिनको झुकाइ आदिले चित्रलाई प्रभावशाली बनाएको हो । उनको यो शैलीलाई उनीपछिका कयौँ कलाकारले पछ्याएका छन् ।
गोडा समाएर रोइरहेकी मेरी म्याग्डेलिन, जिससकी आमा भर्जिन मेरीले मृत छोरालाई काखमा राख्दाको भाव, छेउछाउका मानिसहरूको भाव यी सबैले चित्रलाई निकै प्रभावशाली बनाएको हो । यति मात्र होइन, आकाशका देवदूतहरूसमेत रोइरहेको दृश्यले यसलाई अझ बढी प्रभावशाली बनाएको छ । चित्रकारले भित्तामा कोरेको यो चित्र कलाकारिताका विद्यार्थीका लागि मात्र होइन, जिज्ञासुका लागि पनि उत्ति नै प्रेरणादायी छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

