संसारका अद्भुत चित्रकला शृंखलामा यस पटक जाँ अगस्टे डोमिनिक इन्ग्रेसको यो पेन्टिङको चर्चा गर्नेछौँ ।

सुरूमा यो चित्रको नाउँ, सिटेड वुमन थियो । लुभ्र दरबारमा सन् १८७९ मा जब यो चित्र ल्याइयो, त्यसपछि यसको नाउँ परिवर्तन गरी द भल्पिन्कन बाथर नाम राखियो ।

इन्ग्रेसको उर्वर समयका बेला फ्रान्समा राजनैतिक उथलपुथल भइरहेको थियो । फ्रेन्च एकेडेमीमा उनी एउटा असल र प्रतिभाशाली विद्यार्थीका रूपमा उदाएका थिए । सन् १८०६ देखि १८१० सम्म उनी त्यहाँ अध्ययरत थिए । त्यहाँबाट पुरस्कृत भएपछि उनी रोममा थप अध्ययनका लागि वृत्ति पाए । तर इटालीमा रहँदा उनले पाउनुपर्ने रकम हात पार्न भने सकेनन् । तथापि त्यो वृत्ति बापतको रकम प्राप्त गर्न भने विद्यार्थीले आफ्ना चित्रकलाका धेरै प्रतिहरू फ्रान्स पठाउनु पर्थ्यो । ताकि फ्रान्सले तिरिरहेको रकमको सही सदुपयोग भइरहेको छ कि छैन भन्ने निर्क्यौल हुन सकोस् । यो चित्र त्यो बेला चित्रकार इन्ग्रेसले पठाएका अनेकन् चित्रहरू मध्येको थियो ।

यो चित्रलाइ त्यो बेला नै सराहना गरिएको थियो तर केही आलोचकहरूले भने यो चित्रमा त्रिआयामीय कोणमा नभएको भन्दै आलोचना गरिरहेका थिए । हुन पनि त्यो बेला त्रिआयामिक चित्रकलाहरूको बोलवाला थियो । त्यसको ठीक विपरीत उनले भने द्विआयामीय चित्र बनाएका थिए ।

उनका गुरू ज्याक्स लुइस डेभिडबाट उनी निकै प्रभावित थिए । डेभिडले नियोक्लासिकल चित्रकलालाइ चर्चित बनाइरहेका थिए र खासगरी ग्रिसेली तथा रोमन चित्रकला । तिनै चित्रकलाबाट उनी ज्यादै प्रभावित थिए । रोममा छँदा उनी राफेलसँग पनि उत्तिकै प्रभावित भए ।

को हुन् जाँ अगस्टे डोमिनिक इन्ग्रेस ?
१९ औँ शताब्दीको फ्रान्सेली कला इतिहासमा एउटा छुटाउनै नहुने पात्रका रूपमा इन्ग्रेस चिनिइन्छन् । उनको आफ्नै मौलिक शैलीका कारण उनी चिनिए । खासगरी उनले चित्रकारितामा निजत्व र आशक्तिलाइ बडो मिठो तरिकाले पस्किएका छन् ।

इन्ग्रेसको सिर्जनालाइ धेरैजसो कला समीक्षकहरूले दुइ भागमा विभक्त गरेका छन् । पहिलो चाहिँ पेरिसमा रहँदाको र दोस्रो इटालीताका रहँदाको । विद्यार्थीकालमा उनी इटालीमा १८०६ देखि १८२४ सम्म अध्ययन गर्न बसेका थिए । पछि उनी इटालीस्थित एकेडेमीको निर्देशकका रूपमा सन् १८३५ देखि १८४१ सम्म बसे ।

पहिलेका उनका कला निकै विवादास्पद हुन्थे वा त्यो बेला विवादास्पद सिर्जना गर्थे । पारम्परिक समीक्षकलाइ उनका सिर्जनाको त्यो अप्ठेरो पाटो सधैँ आँखी बनिरह्यो ।

जब उनको उमेर ढल्कँदै गयो, उनको ख्याति चुलिदै जान थाल्यो । उनले स्त्री नग्नतामाथि बनाएका चित्रहरूको चर्चा चुलिन थाल्यो ।

उनी जन्मिएको ठाउँमा अहिले उनकै नाउँको म्युजियम छ ।

यो चित्रकलामा के हेर्ने ?
१. ढाड
चित्रको अधिकांश भाग ढाड देखाइएको छ र यसलाइ केही समीक्षकले म्याजेस्टिक एब्स्ट्राक्ट शैली मानेका छन् । यहाँ हाडको कुनै उपस्थिति देखिँदैन । भरिभराउ मासुको शरीर छ ।
यो चित्र पहिलो पटक पेरिसमा १८५५ मा प्रदर्शनीमा राखिदा चित्रकार इन्ग्रेसलाइ नग्न पेन्टिङका बादशाह भनी समीक्षकहरूले प्रशंसा गरेका थिए । खासगरी शरीरको अंकको जुन रङ यहाँ पोखिनुपर्ने हो, ठ्याक्कै त्यही निकाल्न सक्नुलाइ धेरैले ठूलो खुबी मानेका थिए ।

२. टाउको र अनुहार
नुहाउन ठीक परेकी यी महिलाको अनुहार थोरै देखिएको छ । त्यसैले उनको सबैभन्दा बढी ध्यान आकृष्ट हुने चिज भनेको बाँधिएको जुरो र त्यो जुरो छोप्न प्रयुक्त कपडा नै हो ।
कपाल छोप्न यसरी बाँधिने जुरो युरोपेली चित्रकलामा १५ औँ शताब्दीदेखि नै देखिन थालेको हो । तर यहाँ भने यस्तो कपडा प्रयोग गरिएको छ, जुन अन्य चित्रकलामा देखिदैन । केही अध्येताहरूले यस किसिमको कपडा मध्यपूर्व, इजिप्टतिर बढीभन्दा बढी प्रयोग गरिने भनी लेखेका छन् ।
नेपोलियनले सन् १७९८ मा इजिप्टमा आक्रमण गरेपछि त्यहाँका फेसनहरू युरोपभरि लोकप्रिय बनेको थियो ।
इन्ग्रेसका चित्रकलामा त्यो बेला इजिप्टका यौनदासी र हरेमका यौनकर्मीहरूलाइ पनि देख्न सकिन्छ ।

३. काँध
यी महिलाको काँधमा जुन किसिमको अनियमितता, असंगतता देखिन्छ, त्यो ठ्याक्कै एउटी साधारण महिलाको जस्तो देखाउन उनले मिहिनेत गरेका छन् ।

४. पर्दा
इन्ग्रेसले यहाँ पर्दा देखाएका छन् । यसको रङ केही गाढा हरियो र अँधेरो पनि देखाएका छन् ।

५. देब्रे कुइनोमा बेरिएको कपडा
चित्रकारले नग्न ढाडको ठीक विपरीत सेतो वस्त्र त्यहाँ देखाएका छन् । यसो गर्दा चित्रमा कन्ट्रास्ट देखिन्छ र त्यसमा सुन्दरता थपिन्छ ।

६. सिंहको मुखको पाइप
गोडाको अगाडिपट्टि सानो पहेँलो दागजस्तो देखिने चिज वास्तवमा सिंहको चित्र हो । सिंहको मुखमा पानीको पाइप लगाएको देखिन्छ । यसबाट यो ठाउँ दूरदराजको कुनै प्राचीनता झल्काउने ठाउँ हो भन्ने सन्देश चित्रकारले दिइरहेका छन् ।

यो चित्रलाइ आउनोस् पुनः हेरौँः