बिरालो म्याउँले मात्र बोल्दैन,पुच्छरले पनि बोल्छ. उसको पुच्छर हेरेर ऊ खुसी छ वा दुखी वा खेल्न खोज्दैछ तपाईँसँग भनेर तपाईंले थाहा पाउनुपर्छ. सानोमा कुकुर वा बिरालो पाल्छु भन्दा घरकाले कहिले दिएनन्. “मासु खान पाइन्छ त्यसको ?” वा “फोहोर गर्छ त्यसले” जस्ता कुतर्क गर्थे तिनीहरु. मन लागेको कुरा गर्नैपर्ने एकबारको जुनीमा मेरो जिन्दगी मेरो हो भन्ने थाहा पाएपछि मैले मनलाग्दी गर्दै जान थालें. बर्बाद हुन्छस् तँ, भोकै मर्छस्, एक्लो पर्छस् भन्नेहरुलाई माझी औंला देखाउँदै.

मैले “मेरो घर” भन्न कहिले मन पराइनँ. घर मात्र किन, कुनै पनि व्यक्ति वा वस्तुलाई मेरो भन्न चाहिनँ. कसैको नबनेर सुरुमा म आफ्नो बन्छु भन्ने घोषणा गरेपछि मैले मेरो जिन्दगीको पहिलो पालुवा जन्तु पाल्ने निर्णय गरें. विन्टर सकिनलाग्दाको पानी परेको एउटा दिन केटाहरुले कुनै एनिमल सेल्टरबाट कालो बिरालो लिएर आए. अब बिरालो र म दिनमा सयपल्ट एकअर्काको बाटो काट्छौं. बिरालो मेरो हात चाट्छ. कहिलेकाहीँ उसको खाक्सी जस्तो जिब्रोले मेरो कपाल पनि कोर्दिन्छ. कालो बिरालो सरहका अरु कति अन्धविश्वास पालेर बस्नुभएको छ जिन्दगीमा ? म कालै रङ्गको कोठामा बस्छु. के भन्छ तपाईंको वास्तुशास्त्रले ?

गहिराईको रङ्ग हो कालो. जसका पुर्खाले बिहानीको उदाउँदो घामको अघि उभिएर गायत्री मन्त्र जपे र दिउँसोको घाममा माटोसँग खेल्न सिके, उनीहरुको रङ्ग कालो. गोरो छाला राम्रो हैन. कालो राम्रो. हैन, आफ्नो जस्तो छ अनुहार त्यस्तो राम्रो. जे छैन सधैं त्यही चाहने मान्छेको कमजोरीको शोषण हो ब्युटी इन्डस्ट्री. यति बुझे जिन्दगीका लाख टन्टा खतम हुन्छन् .

बिरालोको भाषा लेखिएको भित्तामा अडेस लागेर म लेख्छु. माथि लुङ्गदार झुण्डिएका छन्. पाँच रङ्गका ध्वजा. मन्त्र खोपिएका. प्रकृति एक मात्र वस्तु हैन, जति धेरै भए पनि राम्रो देखिने. यी लुङ्गदार पचासवटा झुण्डयाउँदा जति सुन्दर देखिन्छन्, पचास हजारवटा झुन्ड्याउँदा पनि उत्तिकै सुन्दर देखिन्छन्. यिनमा खोपिएका मन्त्र जब हावामा हल्लिन्छन्, ती मन्त्र बतासको घोडा चढेर तपाईंको सम्झना बोकी स्वर्ग जान्छन्. म कहिले बरण्डामा राखिएको सोफामा उत्तानो परेर पल्टिएर हावामा नाचेका यिनै लुङ्गदार हेरेर दिन बिताइदिन्छु. कुनै दिन यी लुङ्गदारका छायाको हम्काइले छुने जति क्षेत्रफलमा बनेको चिटिक्कको बगैंचाअघि टोलाएर दिन बिताइदिन्छु.

बगैंचाअघि ढुङ्गेधारा छ. हर्मन हेस्सेको सिद्धार्थ कतैबाट आयो यहाँ भने उसलाई पानीको आवाज मिस नहोस् भनेर हामीले एउटा सानो ढुङ्गेधारा बनाएका छौं. बगैंचाको बीचमा. लेख्दा सोचेर, तौलिएर किन लेख्नु. म दिमागमा जे आउँछ त्यस्तै लेखिदिन्छु. कहिलेकाहीँ लेख्छु. नत्र कहिले बगैंचा त कहिले झरना अगाडि टोलाएर मेरो दिन बित्छ. कहिलेकाहीँ पढ्छु. कहिलेकाहीँ गीत गाउँछु, कहिलेकाहीँ सुन्छु. साथीहरु आउँछन्, सुनाउँछन्. म सुन्छु. आश्रमको बन्दै गरेको भान्सामा टाइल्स प्लास्टर गर्न आउनुभएको दाइ एक जना चेलवा लिएर आउनुभएको छ. गुरु शिष्यको यो परम्परा अझै जिउँदो देखेर म खुसी हुन्छु. दाइ चेलवाको सिकायत गर्नुहुन्छ मसँग. “मोटो बुद्धि छ… बलले काम गर्न खोज्छ बुद्धिले हैन”

“थरिथरिका गीतहरु सुन्ने गर्नु भाइ. दिमाग चलाख हुन्छ.” म भन्छु. ऊ खुसी हुन्छ.

हाम्रो बगैंचामा आजभोलि पुतलीहरु आउँछन्. चराहरु अलिअलि आएका हुन् कि भन्ने भ्रम मैले पालेर राखेको छु तर त्यस्तो देखिने नै गरीचाहिँ ती आइसकेका छैनन्.

तर एक दिन अवश्य आउँछन्. म विश्वस्त छु. हाम्रो आँगनमा चराहरु नाच्नेछन् एक दिन. खासै केही गर्नुपर्दैन. हराभरा बनाएर राखिदिए पुग्छ. बाँकी चमत्कार माता प्रकृतिले गरिबक्सनु हुनेछ. हामीले रातको तीन बजेसम्म लगातार तीन दिन लगाएर बनाएको झरनामा एक दिन लेउ लाग्नेछ. कङ्क्रिट र ढुङ्गा प्रयोग गरेर बनाएको झरना हराभरा हुनेछ. म अनि त्यहीँ एउटा कुर्सी राख्नेछु र बसेर लेख्नेछु. यस्तो छ छुट्टीको जिन्दगी बिताइरहेको एउटा मान्छेको सबैभन्दा ठूलो महत्वाकांक्षा.