
मध्यरात भित्तामा एकोहोरो हेर्छ कहिलेकाहीँ हरिया आँखा र तिक्खर कालो शरीर भएको एउटा प्राणी. भन्छन्, बिरालोले भूत देख्छ. बच्चै छ मेरो बिरालो. ऊ धेरै कुरा जीवनमा पहिलोपल्ट देख्दैछ. मसँग आएर उसले आगो देख्यो, पुतली देख्यो, उदाउँदा र अस्ताउँदाको घाम देख्यो. उसको जीवनकै पहिलोपटक.
मेरो बिरालो हैन, हाम्रो बिरालो. हाम्रो आश्रमको बिरालो. तपाईंहरुको बिरालो.
आश्रम आउने हरेकले उसलाई आफैंले रोजेको प्राइभेट नाम दिएका छन्. कोही उसलाई ब्रो भन्छन्, कोही कबिर. मैले सुरुमा पोथी भन्ठानेर राजकुमारी राखिदिएँ उसको नाम. भाले बिरालो भनेर थाहा भएपछि राखिदिएँ राजाकुमारी. फेरि सोचें, किन बाधौँ म उसलाई नामले, अनि मैले राखेका सारा नाम क्यान्सिल गरिदिएँ.
ओछ्यानमा घुस्रिन आउँछ राती तर हामीलाई एकअर्काको नाम थाहा छैन अब. हामी उस्तै छौं धेरै कुरामा. दिनभर कुनै एउटा कुनामा सुतेर बस्ने. उठ्यो कि पुतली र चरा लखेट्ने. बादलसँगै निहुँ खोजिदिने कहिलेकाहीँ. के मतलब ! अथवा चन्द्रमासँग. मात्र घाम प्यारो. पल्टिरहुँ आँखा बन्द गरेर दिनभर.
ध्यानीको अर्को नाम बिरालो. बिकाउको अर्को नाम कुकुर. एक टुक्रो बिस्कुट खाएर जिन्दगीभरि पुच्छर हल्लाउने नालायक. बिरालोलाई काखमा राखेर मासुभात खुवाउनु होस् जिन्दगीभर. उसलाई मुड नचल्दासम्म छुने हैन त्यहाँ.. ! नत्र दुई चार हिस्स्.. र ङ्यार्रको लागि तैयार हुनुहोस्. अथवा बन्चरो जस्तो नङ्ग्राले अनुहारमा एक थप्पड.
हात पछाडि सुर्केर नाकमा चस्मा अड्याएर अनुगमन गर्न निस्किनु भएकी हजुरआमा पनि हुनुहुन्छ वहाँ. एक एक कुनाको जाँच पड्ताल नगरी छोड्नुहुन्न. मन नपरे, फेरी ङ्यार्र…. मीठो र सुरिलो म्याउँ त दिनमा तीनपल्ट मात्र. हग्नु पर्दा, भोक लाग्दा. प्यास लाग्दा. नत्र यो संसार कोही र केही हैन वहाँका लागी.
प्राचीन इजिप्सियनहरुको देउता ऊ. मभन्दा के कम. बेलाबेला खेलिरहेको ठाउँबाटै अन्तर्ध्यान हुन्छ. फेरि आफैं त्यहीँ उत्पन्न हुन्छ केहीबेरमा. बिरालाहरु वर्महोलको प्रयोग गरेर टाइम ट्राभल गर्छन्.
चोर आएर घर लुटेर लगोस्, ऊ उठ्दैन. चोर उसलाई नाघेर जान्छ, ऊ कबिर भजन गाएर सुतिराख्छ. ”कबिरा खडा बाजार में लिए लुकाठी हाथ. घर जराए जो आपना चले सो हमारे साथ…”
घर के नै हो र साथी, आगो लगाइदे घरसर. अनि आकाश अलि फराकिलो देखिन्छ. संसारले सधैं भन्यो, अरुलाई माया गर. बाउआमा, मास्टर मास्टरनी, काका काकी आदीलाई माया गर्. कहिले भनेन्, आफैंलाई माया गर् सुरुमा. आफूलाई माया गरेर माया सिकेपछि बल्ल अरुलाई गर्न सक्ने हुन्छस्. आफैंलाई माया गर्न नजानेको मान्छेले अरुलाई के गरोस्. कस्तो गरोस्. बिरालोलाई नछुनुहोस् हातले. तपाईंले छुनुभयो भने बित्थामा उसले आफैंलाई चाटेर सफा गर्नुपर्छ.
एकादेशमा, मायु कागी गुम्बाका रिम्पोचेसँग एउटा बिरालो रहेछ. उनको प्राण. ध्यान गर्न बस्दा पनि बिरालो छेउमा राख्नै पर्ने. रिम्पोचे मरे एक दिन. बिरालो के गर्ने अब भन्ने छलफल भयो त्यो दिन. गुरुको आदर र स्मरण गर्दै बिरालोलाई ध्यान कक्षमा सधैं राख्ने निर्णय गरियो. बिरालो समेत ध्यान गर्न बस्ने गुम्बा भनेर विस्तारै गुम्बा लास्ट फेमस हुँदै गयो. त्यो बिरालो मर्यो, अर्को बिरालो ल्याइयो. मायु कागी गुम्बाको ध्यान पद्दतीमा बिरालो अनिवार्य भयो. छेउका अन्य गुम्बाले पनि बजारमा मायु कागी क्याट मेडिटेसनको प्रभाव र माग देखेर आफ्ना मेडिटेसन क्लासेजहरुमा बिरालोको प्रयोग अनिवार्य गरे. धर्मगुरुहरुले बिरालोको प्रयोग कसरी र किन भनेर किताब लेखी लेखी बिएमडब्ल्यु र रल्स रोयस किने. अहिलेसम्म पनि धर्मको ठेकेदारी सम्हालेर बसेकाहरु ध्यानमा बिरालोको प्रयोगको व्याख्या हानेर बसेका छन्. आफूले आची गरेको आफैं पुर्नु.
होस आउँदा तपाईंको बिरालो छिमेकीको बार्दलीमा इन्तु न चिन्तु भएर ओर्लन र उक्लन दुवै नसकी म्याउँ म्याउँ गरिरहेको हुन सक्छ. होस नगुमाउनु.
जागृति !!
चियर्स !!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 







