कबिर छाड्न मन लाग्दैन अचेल. म कबिरजस्तो साधु बन्न चाहन्छु. संसारमा बसेर जागृतिको गीत गाउने साधु. बजार जाँदा नाच्दै जाने साधु. भर्खर चार-पाँच लाख फुकेर एउटा आश्रम चलाएर आएँ. हजारौँलाई सकिनँ, पचासौँको आत्मालाई सल्काएर आएँ. आत्मा सल्काउने काममा भगवानले सपोर्ट गर्छन्. मेरा संसारभर रहेका साथीहरु भगवान् बनेर आए र डोनेट गरे. भगवानहरुलाई भगवानको स्वाद दिन भगवानहरुले सहयोग गरे. अब फेरि अर्को सुरु गर्छु. दम छ. कबिरबाटै पाको दम हो. अचेल त गीत कबिर, कविता कबिर, सिनेमा कबिर, ब्याण्ड कबिर. कबिरको रङमा रंगिएको छु म. कबिरको बास्ना आउँछ अचेल जिन्दगीमा. घट घट पन्छी बोलता. तपाईं नै डण्डी तपाईं नै तराजु. तपाईं नै बसेर तौलता. तपाईं नै बगैँचा, आप नै माली, फेरि कोहीबेला चैने आपले नै कटक्क पारेर कोपिला नै निमोठ्ता. अहिले पनि म नाम लिंदासमेत पाप लाग्ला जस्तो इम्पोसिबल स्वर भएका गायक कुमार गन्धर्वको आवाजमा कबिर नै सुन्दैछु. उड जाएगा, हंश अकेला… जति नै र जसलाई नै आफ्नो ठाने पनि एक दिन तिमी एक्लै मर्नुपर्छ. मुत्न जानसमेत साथी चाहिन्छ हामीलाई. हुन्छन् पनि त्यस्तो साथ दिने साथी. ज्यानै दिने साथी पनि हुन्छन् तर मर्दा एक्लै मर्ने हो. जुम् सँगै मरुम् भनेर भीरबाटै फाल हाने पनि आ-आफ्नो आत्मा एक्ला एक्लै जाने हो अनन्तको यात्रामा. न बाउ, न आमा, न बूढी न सन्तान. मेरो मृत्युको यात्रा म आफू एक्लैले गर्ने हो. मोह नराख्नु. एक-एक लाइन मन्त्र जस्तो कबिर दासजीको लिरिक्स अनि त्यसमाथि कुमार गन्धर्वजस्ता स्वरका देउताको आवाज ! नेपालीमा यस्ता गीत बनाउनु पर्छ अब. म बनाउँछु.

अनुपम पाेखरेल

कबिरको जादु कस्तो भने, मेरो घरका चरम र परम सांसारिक मान्छेसमेत आजभोलि घटघट पन्छी बोलता… गुन्गुनाउन थालेका छन्. किशोरी अमोनकर भर्सन.

मैले धेरै कुरा कबिरको पाठशालामा सिकें. जिन्दगी जिउन पनि कबिरबाटै सिकेँ केही हदसम्म. रागहरुको बारेमा मैले कबिर सुन्दासुन्दै चाल पाएको हुँ. सातै सुरका नाम छन् भन्ने मलाई थाहै थिएन. सारेगमपधनीसाका फुलफर्म छन् भन्ने मलाई थाहै थिएन. नाट्यशास्त्र जो इशापूर्व २०० ताका लेखियो, को अठारौँ अध्यायमा संसारको पहिलोपल्ट सारेगमपधनिसाको उल्लेख गरियो. तिनका फुलफर्म समेत. षडज-सा, ऋषभ-रे, गान्धार-ध, मध्यम-म, पंचम-प, धैवत-ध, निषाद-नी. सा चाहिँ दुईपल्ट हुने भएकाले ट्विन्स. हाल सन्तान नभएकाले म ती सुरहरुलाई नै आफ्नो सन्तान वा सोसरह मान्छु. सात सुरका सातै नाम सेक्सी. सात सन्तान जन्माउँ जस्तो तिनै नाम राख्न भए पनि ! आर.डी. बर्मनको म्युजिकल जिनियसलाई मानेर साथीहरु उनलाई पंचम भनेर बोलाउँथे रे ! त्यसैगरी मैले एक-एक रागसँग पनि प्रेम गर्ने अवसर पाएँ. सानोमा त्यही रागहरु रेडियोमा बज्दा रेडियो बहुलायो जस्तो लाग्थ्यो. आजभोलि रागमा आधारित नभएका र ईश्वरको पुकार नभएका गीत गीत जस्ता लाग्दैनन्. तुरीका गीतमा मलाई रुचि छैन. प्रेमका गीत पनि भजनजस्ता हुन सक्छन्. शरीरले मात्र प्रेम गर्न जानेकाहरु तुरीका गीत बनाउँछन् र गाउँछन्. आत्माले गर्ने प्रेम बुझेकाहरुले बनाएको गीतले आत्मा नै छुन्छ. रागहरुको संसार चमत्कारको संसार हो. त्यही चमत्कारको कथा हो, आजको एपिसोड. मैले लास्टै प्रेम गरेका मान्छेहरुमध्ये एक भगवान कृष्ण हुन्. जहाँ पनि छन्. रासलीलादेखि गीतासम्म. म पनि जिन्दगीको स्वाद त्यसरी नै लिन चाहन्छु. त्यसैले म फेसबुकदेखि टिन्डरसम्ममा छु. त्यसैले कृष्ण के गर्थे देखि के खान्थे देखि के लाउँथेसम्ममा मलाई रुचि छ. आजको युगमा भगवान कृष्ण राइटर भएका भए मेरा फेभरेट राइटर हुने थिए. छैनन्, त्यसैले म सोच्छु- हुँदा हुन् त कस्तो लेख्दा हुन् ? म त्यस्तै लेख्न चाहन्छु. नटखट नन्दलाल. त्यसैले मेरो फेभरेट राइटर म आफैं हुँ. आफूलाई जस्तो पढ्न मन लाग्छ, त्यस्तो लेख्ने. उनै भगवान कृष्णले इन्भेन्ट गरेको राग हो राग यमन. यो थाहा पाएपछि भनेपछि मलाई नचुसी भएन राग यमनको रस. भगवान कृष्णको बाँसुरीमा पहिलोपल्ट खेलेको राग, राग यमन. अनि मैले राग गाउन जान्ने एक-एक साथीलाई समात्दै यमन गाउन लगाउँदै गरेँ. राग यमन साँझको राग हो भन्थे. साँझमा राग सुनेर बस्ने फुर्सद हुन्थेन पहिला. अचेल म आफ्नो मालिक आफैँ भएकोछु र मेरा साँझहरु मेरा हुन्. त्यस्तै एउटा साँझ हामी कीर्तन गर्न बसेका थियौं, सितार-गितार-तबला जगाएर. मेरो निम्तो मानेर आएको स्वर साधक एउटा साथी राग यमनमा आधारित गीतहरु गाउन थाल्यो उभिएरै. अर्को साधु साथी तबला ठोक्न थाल्यो, अर्को सितारबादक साथी सितार कोट्याउन थाल्यो. चमत्कार भयो !! साँझको त्यो राग ठ्याक्कै घाम अस्ताउन लागेको साँझको बेला गाएको सुनेर घर फर्कंदै गरेका चराहरु टक्क रोकिए केहीबेर र सँगै गाउन थाले…. प्याउ… प्याउ…. साथीको लागि अब हाम्रो तालीको के औकात ! चराहरु भएतिर फर्केर निहुँरिँदै उसले भन्यो, ‘धन्यवाद !! थ्यान्क्यु भेरी मच !!’