‘अप्प दिपो भवः’ बुद्धले भनेका रे ! अर्थात् आफ्नो उज्यालो आफैँ बन । दिउँसो मुस्किलले घाम छिर्ने ठमेलको एउटा अँध्यारो गल्लीमा पहिला जस्तो टुरिस्टको चहलपहल छैन, बुद्धको ग्ल्यामर भने घटेको छैन । हलुका खुइलिएको जिन्सको नीलो हाफ कट्टु लगाएकी एउटी केटी बटर रङको तर आकारमा केराको थामजस्तो तिघ्रामा बुद्ध खोपाउँदैछे ट्याटु पार्लरमा ।
आर्टिस्ट बुद्धजस्तो एकाग्रताका साथ केटीको तिघ्रामा आफ्नो सियो चलाउँदैछ । यो पनि एउटा महान् साधना नै हो । मलाई भए शायद हार्ड अन भइसक्थ्यो त्यो जीवन्त तिघ्रामा एक हातले समाउँदै अर्को हातले ट्याटु मेसिनको सियो चलाउँदा । स्टुडियो भित्रको एउटा भित्तो पूरै बुद्धको मुरलमा रंगिएको छ । यी हुन् सच्चा बुद्धिस्ट- यो केटी र ट्याटु आर्टिस्ट । यहाँ अभ्यास हुँदैछ बुद्धका सन्देशको ।
म पनि कम हैन । आफ्नो उज्यालो आफैँ बन्ने क्रममा हिँडेको यात्री जो हुँ ! जिन्दगी माया र मोहभन्दा लोभ र डरभन्दा माथि छ । जिन्दगीका एक-एक क्षण होसपूर्वक बिताउनु छ भन्ने याद रहोस् भनेर आफ्नो शरीरको मन्दिरमा एउटा नयाँ मूर्ति सजाउन, एउटा नयाँ ट्याटु हान्न आएको । यी अँध्यारा गल्लीमा भौंतारिने मान्छेका मन असाध्यै उज्यालो हुन्छ । बुद्धले भनेको उज्यालो हृदयमा बलेका मान्छे । भीमकाय शरीरको ट्याटु आर्टिष्ट मलाई हेरेर मह मुस्कुराउँछ ।
केटीको तिघ्रामा कोपर्दै गरेको उसको हात केहीबेर रोकिन्छ । केटी आङ तान्छे । मतिर हेर्छे । हामी मुस्कानको भाषामा थ्रिसम गर्छौं । केटी, ट्याटु आर्टिस्ट र म । चुरोट खाने ? ऊ मलाई सोध्छ । न हाई न हेल्लो । न के छ खबर । कुनै पर्खाल न कुनै नक्कल ! जरुरी छैन यहाँ केही पनि । यस्ता ठाउँको भाषा म बुझ्छु । जुत्ता बाहिरै छाडेर भित्र छिरिने मन्दिरजस्तो ।
भीमकाय शरीरको ट्याटु आर्टिष्ट मलाई हेरेर मह मुस्कुराउँछ ।
मनका नक्कली जुत्ता बाहिरै छाडेर छिर्नू यस्ता ठाउँमा । ऊ मलाई चुरोट राखेको ठाउँ देखाउँछ । म बट्टाबाट एउटा रेड निकालेर सल्काउँछु । भित्तामा चारैतिर काठका मुकुण्डो छन् । कुनै भैरवको, कुनै बुद्धको, कुनै खोपडीको ।
मरेपछी भैरव र बुद्ध दुवै एकै हुन्, दुवैका खोपडी उस्तै हुन्, भन्न खोजे जस्तो । म यहाँ आएको रुद्राक्ष बनाउन, बायाँ हातमा । हत्केला भन्दा अलि तल । भन्नलाई म मेरो अन्तिम ट्याटु हान्न आएको हुँ यहाँ । अब जीउका देखिने ठाउँमा खासै खाली ठाउँ बाँकी छैनन् । यही एउटा ठाउँ छ खाली । म यो ठाउँ महादेवको आँसुले सजाउन चाहन्छु, रुद्राक्ष ।
पोहोर गोसाइँकुण्ड जाँदा बाटोमा भेटेको एउटा जोगीले रुँदै भनेको थियो, “यत्रो तीर्थ, व्रत, दान, धर्म गर्छ मान्छे । महादेवको आत्मा बसेको रुद्राक्ष चाहिँ कस्तो नलगाएको ! खासमा रुद्राक्ष हैन, त्यो त रुद्र हंस हो- महादेवको आत्मा ।”
महादेवको आत्मा ! ठीकै छ । रुद्राक्ष लगाउने हैन, बरु रुद्राक्षको एउटा ट्याटु हान्दिन्छु । त्यही बेला मैले सोचेको थिएँ । लगाउने र बोक्ने कुरामा मलाई कहिले इन्ट्रेस्ट भएन । न घडी, न सिक्री, न पेटी, न पर्स !
कपडा चाहिँ लोकलाजले लगाउनु परेको छ । त्यो पनि खोलेरै बस्न पाए हुने ! रुद्राक्ष कहाँ लगाउनु ? बरु छालामा खोपायो, आनन्द !
चुरोट सकेर म भन्छु, “अब लास्ट एउटा हान्ने हो, यही ब्रो !”
हामी तिनै जना हाँस्छौँ । थाहा छ- त्यो लास्ट भनेजस्तो हुँदैन । उनीहरूलाई पनि र मलाई पनि थाहा छ- नो ट्याटु इज लास्ट ट्याटु ! हरेकपल्ट एउटा ट्याटु बनाएर जाँदा मान्छे सोच्छ, यो चाहिँ अन्तिम हुन्छ । फेरि त्यो ट्याटुले आत्मामा बालेको दियोको उज्यालो हल्का कम हुँदै जान्छ । अनि बुद्धले भनेको मान्नु परिगो- अप्प दिपो भवः ! आफ्नो दियो आफैँसँग बोकेर हिँड्नु । त्यसपछि अर्को ट्याटु खोपिन्छ, त्यसपछि फेरि अर्को र फेरि अर्को । अनि जिउ नै रङ्गिन्छ बिस्तारै । ठीकै छ ।
मलाई चाहिँ मेरो लास पनि इन्ट्रेस्टङ देखिन्छ भन्ने कुराले रोमाञ्चित हुन्छु । मलामीहरूलाई पनि लास्टै सरप्राइज ! चाख मानेर हेरुन्, जलाउनुअघि !
मलाई अर्को एउटा बुद्ध याद आउँछन्, युजी कृष्णमूर्ति, जो भन्थे, ”तँलाई राम्री लागेकी केटी, तैँले सुत्न चाहेकी केटी, देख्दै तँलाई हार्ड अन हुने केटी, बाघको लागि एक छाक मात्र हो ।”
केटीको ट्याटु बनिसक्यो । सेता तिघ्रामा बुद्ध मुस्कुराउँदै छन्, शान्तिको सन्देश दिँदै ।
“कतिवटा छ ?” म सोध्छु ।
“पाँच वटा,” ऊ भन्छे ।
“यो सहित कि ?”
“ओह ! यो सहित त छ वटा हुन्छ ।”
तिघ्रामा एउटा, ब्युटी बोनमा एउटा रहेछ । अरु कहाँ-कहाँ होलान् त ! ती सबै हेर्न पाए हुने भन्ने लोभ जाग्छ मलाई । होस्, यो दिशामा नजाउँ अहिले….।
आर्टिस्ट आराम गर्दैछ, चुरोट तान्दैछ । अबको पालो मेरो । मेरो हातमा खोप्दा उसलाई शायद केटीको तिघ्रामा खोप्दा जस्तो मजा नआउँदो हो तर त्यो मेरो भ्रम हुन सक्छ । तिघ्राहरुमा बुद्ध खोप्दाखोप्दा उसले बुद्धत्व प्राप्त गरिसकेको हुन सक्छ । मेरो हात र केटीको तिघ्रा दुवै उसलाई उस्तै लाग्न सक्छ ।
मलाई अर्को एउटा बुद्ध याद आउँछन्, युजी कृष्णमूर्ति, जो भन्थे, ”तँलाई राम्री लागेकी केटी, तैँले सुत्न चाहेकी केटी, देख्दै तँलाई हार्ड अन हुने केटी, बाघको लागि एक छाक मात्र हो ।”
बुद्धम शरणम् गच्छामी !!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 







